७ वैशाख २०८१ शुक्रबार
अर्थ

१२ वटा ट्यांकरको पिडिओ रोक्का

काठमाडौं - नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ ढुवानी गर्ने १२ वटा ट्यांकरको प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) रोक्का गर्ने निर्णय गरेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट निगमको विराटनगर डिपोमा डिजेल ल्याएको ट्यांकरबाट २५ सय लिटर डिजेल बीच बाटोबाट चोरी भएपछि उक्त ट्यांकरका सञ्चालक शुकदेव सिंहका १२ ट्यांकरलाई चार महिना पिडिओ नदिने निर्णय गरेको निगमले जनाएको छ । 

तेल चोरीको घटना छानबिन गर्न अख्तियारलाई अनुरोध

समितिले डिजेल चोरी भएको को १ ख ४९६५ नम्बर ट्यांकरको निगमसँगको करार समेत रद्द गर्ने सोमबार निर्णय गरेको हो । उक्त  ट्यांकरका चालक धर्मेन्द्र शाहलाई भविष्यमा इन्धन ट्यांकर गुडाउन अयोग्य ठहर गर्नेसमेत निर्णय गरेको छ । विराटनगरको डिपोमा इन्धन चोरी घटना गम्भीर प्रकृतिको भएकाले ट्यांकरको करार रद्द र चालकलाई भविष्यमा इन्धन ढुवानीमा अयोग्य हुने निर्णय भएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । 
‘एउटा ट्यांकरबाट तेल चोरी भए पनि सञ्चालकलाई जवाफदेही बनाउन चार महिनाका लागि अन्य ट्यांकरको पनि पिडिओ रोक्ने निर्णय भएको छ,’ भट्टराईले भने, ‘चालक अब इन्धन ढुवानीका लागि अयोग्य भएका छन् ।’  सिंहका १२ वटा ट्यांकरले चार महिना इन्धन ढुवानी गर्न पाउने छैनन् ।

निगम सञ्चालक समितिले उक्त डिजेल चोरी घटनाको विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ । आइओसीबाट डिजेल ल्याउँदा डिपोकै कर्मचारी र ट्यांकर चालकको मिलेमतोमा २५ सय लिटर चोरी भएको बताउँदै आएका निगमका उच्च अधिकारीले डिपोका कर्मचारीलाई कानुनी दायरामा नल्याई पन्छाएर अख्तियारमा पठाएका छन् । ‘मिलेमतोमा डिजेल चोरी’ भएको बताए पनि निगम सञ्चालक समितिले अख्तियार गुहारेको हो । 

सेटिङमा भएको तेल चोरीको विषयमा डिपोप्रमुख दिनेश यादवलाई कारबाहीस्वरुप केन्द्रमा तान्ने तयारी भए पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव डिपो प्रमुख यादवको बचाउमा लागेको कारण सञ्चालक समितिले कारबाही नगरी अख्तियारलाई पत्राचार गर्ने निर्णय गरेको हो । निगम व्यवस्थापनले डिपो प्रमुख यादव कै कारण चुहावट र चोरी भएको निष्कर्षसहित उनलाई केन्द्रीय कार्यालयमा तान्नुपर्ने प्रस्ताव सचिव र मन्त्रीसमक्ष राखे पनि कार्बाही नगरी बीचको बाटो रोज्दै अख्तियारको मुख ताकेको छ । डिपो प्रमुख यादवले भने तेल चोरीमा आफ्नो संलग्नता नरहेको बताउँदै आएका छन् ।

निगमले विभिन्न बहानामा उपभोक्ता र निगम ठग्ने ट्यांकरलाई कडाइ गर्दै आएको छ । उपभोक्तालाई कम परिमाण तेल दिएर ठगी गर्ने पम्पलाई पनि निगम र नेपाल गुणस्तर तथा नापतौल विभागले कडाइ गर्दै कारबाही गरेका छन् । 
केही सयमअघि पेट्रोल पम्प सञ्चालकले सफ्टवेयर जडान गरी ठगी गरेको फेला परेपछि विभागले त्यस्ता १२ पम्पलाई कारबाही स्वरुप इन्धन सप्लाई रोक्का गरेको छ । 

काठमाडौं स्वयम्भुको न्यू बगलामुखी आयल स्टोर, बाराको जय विकास आयल स्टोर, विजय आयल स्टोर, ममता आयल स्टोर, स्वस्थानी आयल स्टोर, अमित आयल स्टोर, शंकर आयल स्टोर र हरिओम आयल स्टोर, रुपन्देहीको लुम्बिनी लोटस आयल स्टोर, शंकर पेट्रोलियम, कपिलवस्तुको रिया आयल सप्लायर्स, ओखलढुंगाको खुश्बु फ्युल सप्लायर्स कारबाहीमा परेका छन् । यी पम्पलाई नगद ३० हजार, तीन वर्ष कैद र पेट्रोल पम्प सिलबन्दी गरेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । 

विभागले पहिलोपटक कैद सजाय तोकेको छ । बाराको विजय आयल स्टोरका सञ्चालक सिन्दुदेवीलाई तीन महिना कैद सजाय तोकेको हो । अनुगमनका क्रममा सफ्टवेयर जोडेर उपभोक्ता ठगेको पुष्टि भएपछि क्षेत्रीय कार्यालयले तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना गरेको थियो ।  

पम्पलाई पहिलोपटक कैद सजाय तोकिएको थियो । मुलुकी देवानी (संहिता) ऐन, २०७४ गत भदौ १ गतेबाट लागू गरेपछि विभागले पहिलोपटक कैद सजाय तोकेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । उपभोक्ता संरक्षण ऐन २०७५ मा पनि उपभोक्ता ठगी गर्नेलाई अनुगमनस्थलमै पाँच हजारदेखि तीन लाख रुपैयाँ जरिवानाको व्यवस्था अनुसार विभागले कडाइ गरेको छ । 

 

प्रकाशित: ३ पुस २०७५ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App