७ वैशाख २०८१ शुक्रबार
अर्थ

वीरगन्ज भन्सारबाट ६६ अर्ब राजश्व

फाइल तस्बिर

बीरगन्ज– वीरगन्जबाट चालु आर्थिक बर्ष २०७५/०७६ को साउनदेखि मंसिरसम्मको ५ महिनामा ६६ अर्बभन्दा बढी राजश्व संकलन भएको छ। ढुवानीमा भार सीमाको समस्या, खराब तथा अपर्याप्त सडकले ढुवानीमा कठिनाई, सीमा पारीको भारतीय नाकामा नेपाली आयातकर्ता र मालवाहक गाडीसंग अनावश्यक आर्थिक दोहन र भन्सार मुल्यांकनमा बेलाबेलामा देखिने आयातकर्ताको असन्तोष लगायतका समस्याका बावजुद वीरगन्ज भन्सारले लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ। 

चालु आर्थिक बर्षको मंसिर मसान्तसम्ममा वीरगन्ज भन्सारले ६६ अर्ब २९ करोड, ६९ लाख ८७ हजार रुपैयाँ राजश्व उठाएको छ। यसअवधिको लक्ष्य ६५ अर्ब २१ करोड २ लाख २१ हजारभन्दा १.६७ प्रतिशतले बढी राजश्व संकलन हो यो। गतबर्षको यसै अवधिको तुलनामा भने यसपालि २२.९२ प्रतिशत बढीले राजश्व संकलन भएको छ। अघिल्लो बर्षको संकलन ५१ अर्ब ६ करोड ९१ लख २२ हजारभन्दा यसपालि १५ अर्ब २२ करोड ७८ लाख ६५ हजार रुपैया बढी राजश्व असुली भएको तथ्यांकले देखाउँछ। 

अन्त शुल्कबाट उठ्ने राजश्वमा सबभन्दा बढी बृद्धि देखिएको छ। अन्त शुल्क लक्ष्यभन्दा ४९ प्रतिशतले बढी संकलन भएको देखिन्छ। भन्सार महशुल ८४.२८ प्रतिशत र मूल्य अभिबृद्धि कर ८०.९५ प्रतिशत उठेको छ। ‘यसपालिको आर्थिक ऐनका केही कुराहरुमा अन्त शुल्क थपिएर आएको छ, अन्त शुल्क लाग्ने बस्तुहरुको पनि बढेको छ, त्यस कारणले अन्त शुल्कबाट उठ्ने राजश्वमा उल्लेखनीय प्रगति भएको छ’, वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी रहेका भन्सार अधिकृत मनिस कुमार महतोले भने, ‘यसपालि समग्रमा लक्ष्य अघिल्लो बर्षभन्दा ३० प्रतिशतले बढाएर राखिएकोमा त्यसलाई कार्यालयले पुरा गर्न सकेको छ।’ 

गाडी सिमेन्ट, प्लास्टिकका समान, तयारी खाद्यान्न, सिमेन्ट, जुस, इनर्जी ड्रिंक, खैनी, फलामका समान लगायतमा अन्त शुल्क यसपालि बढेको छ। राजश्व बढी दिने बस्तुमा इन्धन, जिप कार भ्यान जस्ता गाडी, अरु सवारी साधन, क्लिंकर, औद्योगिक कच्चा पदार्थको रुपमा आयात हुने बिभिन्न खाले फलाम लगायतका सामान रहेका छन्। 

प्रकाशित: २ पुस २०७५ १५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App