७ वैशाख २०८१ शुक्रबार
समाज

रौतहटमा झडप, ८ राउण्ड अश्रुग्यास प्रहार

रौतहट– रौहतटको गरुडा नगरपालिका ९ रघुनाथपुर गाउँको बिर्ताटोलमा सोमबार दुई समुदायबीच झडप भएको छ। पुरानो रिइसिबीका कारण भएको झडपले हिंस्रक रुप लिन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ८ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

गत ४ दिनदेखि गाउँमा पुरानो विषयमा विवाद सुरु भएको थियो। सोमवार साँझ विर्ता गाउँमा लागेको हटियामा दुई समुदायबीच समान्य विवाद पश्चात केही उच्छृंखल व्यक्तिले अर्को पक्षमाथि ढुंगामुढा गर्न थालेपछि झडप सुरु भएको थियो। अर्को पक्षले पनि प्रतिकारमा ढुंगामुडा प्रहार गर्न थालेपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिएको हो।

शेख हुसैन सहितका व्यक्तिहरुले दुई दिन अघि अर्थात मंसिर २८ गते गरुडा नगरपालिका ९ का वडाध्यक्ष राजेश सहनी र उनका वुवा हरी सहनीलाई पुरानो विवादको विषयलाई लिएर गाउँमै घेरेर कुटपिट गरेका थिए। कुटपिट पश्चात सोमवार सहनी पक्षले गाउँमै लागेको बजारमा एकत्रित भएर अर्को पक्षमाथि ढुंगा हान्न थालेपछि दोहोरो झडप भएको थियो। उक्त झडपलाई नियन्त्रण गर्न प्रहरीले ६ राउण्ड टियरग्यास र २ राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको रौतहटका प्रहरी प्रबक्ता डिएसपी महेन्द्र मरासिनीले बताए। 

गत असोज ३ गते स्थानीय हरिन्दर सहनीको ६५ बर्यिाया आमा भोगिया देवी सहनीको कालगतिले मृत्यु भएपछि शव जलाउने विषयलाई लिएर दुई समुदायबीच विवाद सुरु भएको थियो। परम्परागत रुपमा बर्षौदेखि शव जलाउँदै आएको स्थानमा नै शव दाहसंस्कार हुनुपर्ने अडान राखेपछि अर्को पक्षले अवरोध गर्दा गाउँको अवस्था पटक पटक तनावपूर्ण हुन थालेको र प्रहरीले बल प्रयोग स्थिति शान्त पारेको थियो। पुस्तौ पुस्तादेखि गाउँदेखि पूर्वमा रहेको नहर छेउमा हिन्दू समुदायका बासिन्दाहरु शव जलाउँथे। उक्त कार्यलाई रोक्न अर्को समुदायले प्रतिवाद गर्न थालेपछि विवाद सुरु भएको थियो।

उक्त घटनामा प्रहरीले २३ राउण्ड टियरग्यास र ३२ राउण्ड गोली हवाई फायर गरेर तीन दिनसम्म घटनास्थलमा नियन्त्रणमा लिई दुवै पक्षविच सहमति गराएर साम्य बनाएको थियो तर विवादको घाउ आन्तरिक रुपमा सल्बलाउँदै गयो। 

स्थानीय राजनीतिक दलले झगडा मिलाउनको साटो सानो कुरालाई निहुँ बनाएर राजनीतिक रुप दिन थालेपछि मंसिर ४ गते पुनः झगडा भयो। सोही झगडाको विषयलाई लिएर गत मंसिर २८ गते पुनः एक समुदायले वडाध्यक्ष सहनी र उनका पितालाई कुटपिट गरेपछि दुइपक्षीय झडप हुँदा प्रहरीले ५ राउण्ड टियर ग्यास र २ राउण्ड हवाई फायर गरेको   थियो। पटक पटक ढुंगामुढा र झडपको घटना भएपनि प्रशासनले अहिलेसम्म कारवाही कसैलाई नगरेको कारण समाजमा अशान्ति फैलाउनेहरु मौलाउँदै गएको स्थानीय देवेन्द्र सहनीले बताए। 

यता डिएसपी मरासिनीले पुरानै विषयमा झडप भएको हुँदा ८ राउण्ड टियरग्यास प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिएको तथा घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरी दोषीलाई नियन्त्रणमा लिने बताए।

प्रकाशित: २ पुस २०७५ १४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App