७ वैशाख २०८१ शुक्रबार
अन्य

सायद म एयरहोस्टेज हुन्थेँ होला : छुल्ठिम गुरुङ

नेपाली चलचित्रकी पछिल्लाे समय चर्चित नायिका हुन्, छुल्ठिम गुरुङ । उनले डायरी, नोभेम्बर रेन लगायतका चलचित्रमा अभिनय गरिसकेकी छन् । उनीसँग नागरिक परिवारले गरेको कुराकानी :

तपाईं अभिनेत्री नभएको भए ?

सायद म मेकअप आर्टिस्ट बन्थेँ होला । मलाई आफू होइन अरुलाई मेकअप गर्न एकदमै मन पर्छ । सायद म मेकअफ आर्टिस्ट बन्थेँ कि !

हिरोइन भइसके पछि के कुरा मिस गरे जस्तो लाग्छ ?

यो भन्ने त छैन । म पहिला मिडिया पर्सनका रुपमा काम गरेको भएर होला ।  मैले १४ वर्ष जति भयो मिडियाका मान्छेहरु चिनेको । हिरोइन भइसकेपछि पर्सनल लाइफ हुँदैन जस्तो लाग्छ । कतिपयले हिरोइन भइस्, अलिक मोटाइस् भन्नुहुन्छ । हरेक कुरामा केयर गर्नुपर्ने भएर होला । यही मिस गरेजस्तो लाग्छ । 

तपाईंले जागिर खाँदा पहिलो तलब कति पाउनुभएको थियो ?

लोलेन भन्ने एक कम्पनीमा काम गर्थें । करिब ६ महिना काम गरेकी थिएँ, २००७ मा । मेरो पहिलो तलब त्यो बेला ५ हजार ३ सय  थियो । त्यो तलबको पैसाले मामालाई ब्याग किनेर दिएकी थिएँ । जुन अहिले पनि उहाँले राखिरहनुभएको रहेछ । भर्खरै म त्यहाँ जाँदा मामाले यी हेर त तिम्रो पहिलो तलबले मलाई किनिदिएको ब्याग भन्नुभएको थियो । सारै खुसी लागेको थियो । 

फेरि जिउन मनलाग्ने समय ?

सबैलाई बच्चा बन्न नै मन पर्ला । मलाई पनि बच्चा बेलाको समय फेरि जिउन मन लाग्छ, यदि दोहो-याउन पाइयो भने । सानोमा बुवासँग लेहेंगा किन्न जाँदा एकैपटक धेरैवटा लेहेँगामा हात हालेकी थिए । ममी–बाबाको साथमा हिँड्न नै मन पथ्र्यो । उहाँहरुले हातमा डो-याएर जताजतै लानुहुन्थ्यो । बच्चाको त्यो समयमा म नाच्न मन पराउँथेँ । त्यही भएर मलाई बच्चा भएर नै जिउन मनपर्छ । 

मनोरञ्जन क्षेत्रमा हुनुहुन्छ ? के कुरा तपाईंलाई बढी मनपर्छ ?

मन पर्ने भन्नाले जब हामी सुटिङमा गएको बेला मेकअप गर्दाको समय, अनि खाना खाने समय ग्रुपमा खाने, रमाइलो गर्ने समय बडो मज्जा लाग्छ । त्यो ग्रुपमा रहेको समय र सुटिङ हुँदा क्यामेराले खिचेको बेला यसै मन फुरुङ्ग हुन्छ । मलाई यही मन पर्छ । 

तपाईंलाई के कुरामा दुःख लाग्छ ? 

मलाई कुनै कुरामा दुःख लाग्दैन । म दुःखमा पनि खुसी नै खोज्छु । मान्छेले पोजेटिभ भएर अगाडि बढ्यो भने सफल भइन्छ जस्तो लाग्छ । त्यसैले म दुःखी नै हुन्नँ ।

तपाईंलाई के कुराले चित्त दुख्छ ? 

कहिलेकाहीँ मान्छेको नराम्रो बानीले गर्दा अरुलाई असर परेको हुन्छ । खराब सोचाइ राख्नेहरुदेखि दुःख लाग्छ ।

एक्लै रुममा सुतेको बेला अचानक भुत प्रकट भयो भने के गर्नुहुन्छ ? 

म त हर्ट अट्याटक भएर नै मर्छु होला । भुत हुँदैन भन्न त भन्छन् । भुत भन्ने बित्तिकै मनमा अनेकथरि कुरा आइहाल्छ । सुतेको बेला भुत आयो भने त अरु केही हुन्न, पहिला नै हर्ट अट्याक भएर मरिएला जस्तो लाग्छ ।

नेपालको प्रधानमन्त्री बन्नुभयो भने पहिला के गर्नुहुन्छ ? 

म त बाटोघाटो नै बनाउँछु । बाटोघाटोले नै देश विकास हुन्छ । म जति पनि विदेश घुमेँ, त्यहाँ बाटोघाटोको विकास प्राथमिकतामा रहेको पाएँ । किनभने यहाँ १०/१५ किलोमिटर जानु छ भने १/२ घण्टा खर्च हुन्छ । उनीहरु सय–दुई सय किलोमिटर दौडेका हुन्छन् । समयको वचत भयो, धेरै काम गर्न भ्याइयो । अर्को कुरा, बाटो हुनेबित्तिकै जुनसुकै ठाउँको सामान जुनसुकै ठाउँमा पु-याएर बेच्न पाइयो । जसले गर्दा आन्दानी बढ्यो । त्यसैले म त नेपालको प्रधानमन्त्री भएँ भने पहिलो प्राथमिकतामा बाटोलाई नै दिन्छु । बाँकी काम त्यसपछि ।

कस्तो कुराले तपाईंलाई खुसी बनाउँछ ?

म जुनसुकै अवस्थामा खुसी हुने मान्छे हुँ । सानो सानो खुसी मिलेर धेरै खुसी प्राप्त गर्न सकिन्छ भन्ने लाग्छ । त्यसैले मलाई साना साना कुराले नै खुसी बनाउँछ । त्यसैले मलाई खुसी हुन टाइम लाग्दैन । म अलटाइम खुसी हुने मान्छे हुँ ।

केटाहरुको प्रेम प्रस्ताव आउँदा कस्तो लाग्छ ? 

पहिला जस्तो छैन अहिले । पहिला यो हिरोइन हो भनेर जिस्क्याउँथे । अहिले त्यस्तो हुँदैन किनभने धेरैले रेस्पेक्ट गर्नुहुन्छ । माया गर्नु हुन्छ । कुन कुरालाई आफुले लिने भन्ने हो । जे होस्, मलाई ठीकै लाग्छ भन्नु पर्ला ।

प्रेम प्रस्ताव कतिका आए त अहिलेसम्म ? 

सबैलाई थाहा छ, मेरो बिहे छिट्टै भएको थियो र डिभोर्स पनि भयो । म १६ वर्षकी हुँदा मेरो बिहे भयो । मेरो पूर्व श्रीमान्सँग ११ वर्षसम्म बसे । त्यो बेलामा त आएन नै ।

म स्कुल पढ्ने बेलामा त धेरै नै आउँथ्यो । कतिले त रगतले लेखेर चिठी पनि पठाएका थिए । कोही बाटो ढुकेर बसेका हुन्थे । कतिपयलाई त मैले कुटेको पनि छु । कुट्दा अब गर्दिनँ भन्थे फेरि भोलि उही कुरा दोहो-याइहाल्थे । कति प्रेम प्रस्ताव आए, त्यो त याद नै भएन । धेरै नै आएका थिए ।

तपाईको गोप्य कुरा के होला जुन कुरा दर्शकले थाहा पाएका छैनन् ?

स्कुलमा हुने गेमहरुमा म राम्रो थिएँ । खेल्ने र पढाइमा राम्रो थिएँ, जुन अरुलाई थाहा नहोला । मेरो गोप्य कुरा अरु त केही छैन । 

तपार्इंले चाहेर नि गर्न नसकेको काम के होला ?

एयर होस्टेज नै होला । मलाई आकाशमा उड्न मनपर्ने । प्लेनमा काम गर्न पाए कस्तो हुन्थ्यो होला जस्तो लाग्थ्यो । हेर्दा स्मार्ट हुने, मान्छेसँग कुरा गर्न, धेरै देश घुम्न मनपर्ने थियो । त्यही भएर  मैले त्यो बेलामा एयर होस्टेजको लागि परीक्षा पनि दिएकी थिएँ । म नवौँ नम्बरमा पनि परेकी थिएँ तर कलाकारतिर आएकोले त्यो काम गर्न सकिनँ ।

तपाईंको कमजोरी के हो जस्तो लाग्छ ?

हामी कलाकारमा इमोसन बढी हुन्छ । कुनै क्यारेक्टरमा जानुपर्ने हुन्छ, त्यो क्यारेक्टरमा घुल्न सकिँदैन किनभने म त्यो समयमा छुल्ठिम होइन । त्यो बेलामा अभिनय गर्दा क्यारेक्टरमा प्रवेश गरिहाल्न सक्दिनँ । सायद यहि होला मेरो कमजोरी । 

केलाई आफ्नो शक्ति ठान्नुहुन्छ ? 

मेरो आत्मविश्वास नै मेरो शक्ति हो । मेरो आत्मविश्वास मेरो बुबाबाट आउँछ । उहाँले नै मलाई अगाडि बढ्न साथ दिनुहुन्छ ।

चलचित्र र भिजेमा के फरक पाउनु भयो ? 

जे काम ग-यो मलाई त्यही राम्रो लाग्छ । आफू जुन ठाउँमा बस्यो, त्यो ठाउँ नै रमाइलो लाग्छ । पहिला मिडिया राम्रो लाग्थ्यो । अहिले चलचित्र राम्रो लाग्छ ।

आफ्नो मनपर्ने बानी ?

म हरेक कुरालाई पोजेटिभ नै लिन्छु । म सबैसँग घुलमिल भइहाल्छु । सायद मेरो मनपर्ने बानी यही हो जस्तो लाग्छ । 

मन नपर्ने बानी ? 

म अलिक चाँडै रिसाउँछु । सायद मेरो खराब बानी यही होला ।

प्रस्तुति : भोला अधिकारी

प्रकाशित: २ पुस २०७५ १३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App