८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसमा हिन्दू राष्ट्रको आवाज चर्काे, मुस्लिम नेता पनि पक्षमा

फाइल तस्बिर

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महासमिति सदस्यले पार्टीलाई अब एक ढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा नेतृत्वलाई दबाब दिएका छन्। उनीहरुले हिन्दू राष्ट्रको मुद्दालाई पनि जोडदार रुपमा उठाएका छन्। सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनीहरुले हिन्दू राष्ट्रका लागि जनमतसंग्रह वा धार्मिक स्वतन्त्रताको एजेण्डा कांग्रेसले बोक्नुपर्ने माग गरे। 

पूर्व सांसद एवम् महासमिति सदस्य रामहरि खतिवडाले संविधानमै धर्मनिरपेक्षता लेखिएकोले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको जोड दिए। उनले भने, ‘कांग्रेसले अब आफ्ना मुद्दा जनताको बीचमा लैजानुपर्छ।’ खतिवडाले नेतृत्व अब नातावाद र दातावादबाट टाढा रहनुपर्ने सुझाव दिए। उनले भने, ‘पार्टीभित्र अहिले नातावादभन्दा पनि दातावाद हावी भयो। अहिलेपनि कांग्रेसलाई पहिलो पार्टी बनाउन सकिन्छ।’ वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको खतिवडाको टिप्पणी छ। 

‘नेपाली कांग्रेसमा ८७१ महासमिति सदस्यले हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर गरिसकेका छन्। पार्टीले अब धार्मिक स्वतन्त्रताको पक्षमा आफ्नो आवाज बुलन्द बनाउनुपर्छ। हिन्दू राष्ट्रको बारेमा जनमतसंग्रह गर्नुपर्छ। जनमत संग्रहबाट आएको मतलाई पार्टीले सम्मान गर्नुपर्छ।’ 

अर्का महासमिति सदस्य एवम् प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले ८७१ महासमिति सदस्यले हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर गरिसकेकोले यो मुद्दा बैठकमा जोडदारसँग उठ्ने पनि स्पष्ट पारे। पार्टी नेताहरुले अब कार्यकर्ताहरुलाई अर्जुन बनाउनुपर्ने र आफू युधिष्ठिर बन्नुपर्ने उनको सुझाव छ। 

महासमिति सदस्य जगदिशनरसिंह केसीले पार्टीलाइ अब सामूहिक नेतृत्वमा लैजानुपर्नेमा जोड दिए । संविधानमै मुलुक धर्मनिरपेक्ष भएकोले अहिले महासमिति सदस्यहरुले हिन्दूराष्ट्र बनाउनुपर्छ भनेर गरेको मागप्रति आफ्नो सम्मान रहेको उनले सुनाए। नेतृत्वका कारण अहिले पार्टी कमजोर भएको उनको आरोप छ।

महासमिति सदस्य एवम् नेपाली कांग्रेस जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटाले नेपाल धार्मिक सहिष्णुता भएको मुलुक भएकोले आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताइन। पार्टीलाई अब तल्लो स्तरबाटै शुद्धिकरण, सुदृढिकरण र एकतावद्ध बनाउनुपर्ने उनको सुझाव छ। 

महासमिति सदस्य विष्णु धितालले कांग्रेसले अब धार्मिक स्वतन्त्रताको पक्षमा आफ्नो आवाज बुलन्द बनाउनुपर्ने धारणा राखे। हिन्दूराष्ट्रको बारेमा जनमतसंग्रह गर्नुपर्ने उनको माग छ। उनले भने, ‘जनमतसंग्रहबाट आएको मतलाई हाम्रो पार्टीले सम्मान गर्नुपर्छ।’

अर्का महासमिति सदस्य मोहम्मद ईशाद अन्सारीले मुलुकलाई अब धार्मिक स्वतन्त्रतामा लैजानुपर्नेमा जोड दिए। मधेशमा कांग्रेसले आफ्नो जनमत किन गुमायो भन्नेबारे पनि यो महासमिति बैठकमा छलफल हुनुपर्ने उनको भनाई छ। मधेशको विकास र भलाई कांग्रेसले मात्रै गर्नसक्ने उनको जिकिर छ। 

प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस प्रदेश न. ७ का संसदीय दलका नेता डा. रणबहादुर रावलले पार्टीभित्र अब हिन्दूराष्ट्रको पक्षमा उभिनेबारे बहस सुरु भैसकेको भन्दै महासमिति बैठकले नयाँ रणनीति तय गर्नुपर्ने धारणा राखे। 
अर्का महासमिति सदस्य लोकेश ढकालले कांग्रेस अब हिन्दूराष्ट्रको पक्षमा दृढ भएर उभिनुपर्ने धारणा राखे। उनले भने, ‘कांग्रेसले अब आफूलाई वैचारिक रुपमा करेक्शन गर्नुपर्छ।’ बहुमत महासमिति सदस्यहरु हिन्दू राष्ट्रको पक्षमा उभिइसकेकोले अब कांग्रेस यसबाट पछि हट्न नहुने उनको भनाई छ। 

महासमिति सदस्य नगेन्द्र कुमालले भने हिन्दू राष्ट्रको विरोध गरे। कांग्रेसले हिन्दूराष्ट्रको एजेण्डा उठाए कमल थापा नेतृत्वको राप्रपाको जस्तै हालत हुने उनको जिकिर छ। कांग्रेस लोकतन्त्रको हिमायती भएको भन्दै कुनै धर्म विशेषलाई पक्ष बनाएर जान नहुने उनको सुझाव छ। 

पूर्व गृहराज्यमन्त्री एवम् महासमिति सदस्य रामकुमार चौधरीले कांग्रेस कमजोर हुँदा धार्मिक युद्धको अवस्था सिर्जना हुन लागेको चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता समेत कमजोर भएको बताए। उनले पार्टीलाई प्राईभेट कम्पनी बनाउन नहुनेमा जोड दिए।

अर्का महासमिति सदस्य नन्दमणि राईले अहिले हिन्दू राष्ट्र बनाउने कुरा बेमौसमको बाजाजस्तै भएको भन्दै आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारे। 

महासमिति सदस्य सीता देवकोटाले संविधान जारी गर्दा नै हिन्दू राष्ट्र बनाउनुपर्नेमा पार्टी चुकेको गुनासो पोखिन्। उनले कांग्रेसको समाजवाद र कम्युनिष्टले भन्ने समाजवादमा फरक रहेकोले जनतामा यो भ्रम चिर्नुपर्नेमा जोड दिइन। 
महासमिति सदस्य मोहम्मद सिद्दिकीले धर्मनिरपेक्षताको सम्मान गर्ने बताउँदै तर यसको आडमा कसैले गलत उपयोग गरे सहेर नबस्ने चेतावनी दिए। 

त्यस्तै अर्का सदस्य सुर्यदेव दाश उराउले पनि मुलुक धार्मिक स्वतन्त्रता हुनुपर्ने बताउँदै पार्टीले पनि यसबारेमा गम्भीर बन्नुपर्नेमा जोड दिए। 

प्रकाशित: २ पुस २०७५ १३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App