८ वैशाख २०८१ शनिबार
अर्थ

धमाधम चुक्ता पुँजी बढाउँदै बैंंक

काठमाडौं– बैंक तथा वित्तीय संस्थाले धमाधम चुक्ता पुँजी बढाउन थालेका छन् । केन्द्रीय बैंकले साबिकको तुलनामा यसै आर्थिक वर्षभित्र ३ देखि ४ गुणासम्म चुक्ता पुँजी पु¥याउन निर्देशन दिएपछि उनीहरु पुँजी बढाउन हतारिएका हुन्।

२०७४ असार मसान्तसम्म चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पु¥याउनुपर्ने कठिन मापदण्ड केन्द्रीय बैंकले तोकेपछि वाणिज्य बैंक त्यसको तयारीमा जुटेका छन् । नियमनकारी निकायले तोकेको मापदण्ड पूरा गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेपछि बैंकले पुँजी वृद्धिको लक्ष्य तय गरेका हुन् । यसका लागि उनीहरुले बोनस र हकप्रद सेयर तथा मर्जरको योजना बनाएका छन् ।

१–२ वाणिज्य बैंकलाई बाहेक अन्यलाई चुक्ता पुँजी पु¥याउन कुनै समस्या नभएको नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले बताए । ‘सुरुमा नेपाल राष्ट्र बैंकले बैंकको चुक्ता पुँजी दुई वर्षभित्र ८ अर्ब पु¥याउनु पर्छ भन्दा त निकै डर लागेको थियो,’ उनले भने, ‘अधिकांशले मर्जर, एक्विजिसन, बोनस सेयर र हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी पु¥याउँदै छन् । १–२ ले सकेनन् भने राष्ट्र बैंकले उनीहरुलाई समय थप दिनुपर्छ ।’

बैंक सञ्चालकले पनि छोटो समयमा चुक्ता पुँजी पु¥याउन सकिँदैन भन्दै त्यसको विरोध गर्दै आएका थिए । तर, अहिले ‘तैं चुप मैं चुप’को अवस्थामा छन् ।

चुक्ता पुँजी बढाउन सनराइज बैंक लिमिटेडले एनआइडिसी क्यापिटल मार्केट्स लिमिटेडलाई खरिद गर्ने समझदारी गरेको छ । बैंकले गत आवको नाफाबाट ३३.३३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरिसकेको छ । बोनस सेयर निष्कासन तथा एनआइडिसी क्यापिटल मार्केट्स प्राप्तिपछि हाल ३ अर्ब ९७ करोड रहेको उक्त बैंकको चुक्ता पुँजी करिब ५ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । माछापुच्छ«े बैंकले पनि २ः१ अनुपातमा (चुक्ता पुँजीको ५० प्रतिशत) हकप्रद सेयर जारी गरेपछि चुक्ता पुँजी ५ अर्ब ७९ करोड पुग्ने भएको छ ।
एनएमबी बैंकको चुक्ता पुँजी करिब ४ अर्ब ३८ करोड रहेको पनि पौडेलले जानकारी दिए । ‘विदेशी पार्टनर जेबीले १ अर्ब र उसले नै डेढ अर्बको प्रिमियमा सेयर थप्दैछ,’ उनले भने, ‘त्यो समेत गरेर करिब ७ अर्ब चुक्ता पुँजी पुग्छ । त्यसपछि गत वर्षको लाभांश र चालु आवको नाफाबाट बोनसले पनि चुक्ता पुँजी ८ अर्ब सजिलै पुग्छ ।’

एनआइसी एसिया बैंक पनि असार मसान्तसम्म ८ अर्ब चुक्ता पुँजी पु¥याउने तयारीमा रहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बताए । ‘गत आवको नाफाबाट २६ प्रतिशत बोनस सेयर वितरण गर्र्दैछौं, त्यसपछि १५ प्रतिशत हकप्रद सेयर जारी गछौं,’ उनले भने, ‘त्यसपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ६० करोड हुन्छ ।’ त्यसपछि मर्जरमा गएर र चालु आवको नाफाबाट बोनस वितरण गरेर सजिलै चुक्ता पुँजी पुर्याउने उनले बताए ।

सानिमा बैंकले पनि ८ अर्ब पु¥याउने योजना बनाएको छ । यसले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ३० करोड पुग्ने प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । ‘त्यसपछि ३० प्रतिशत हकप्रद सेयर जारी गर्दा १ अर्ब ६० करोड थपिन्छ,’ उनले भने, ‘नपुग रकम चालु आवको नाफाबाट बोनस वितरण गरेर चुक्ता पुँजी पु¥याउने योजना बनाएको छौं ।’

नेपाल इन्भेस्टमेन्ट बैंकले ८ अर्ब चुक्ता पुँजी पु¥याएको छ । चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गरेलगत्तै यसको चुक्ता पुँजी ८ अर्ब ७० करोड ६६ लाख पुगी नेपालको निजी क्षेत्रको सबभन्दा बढी चुक्ता पुँजी हुने बैंक बनेको छ । अधिकांश बैंक गत आवको नाफाबाट बोनस सेयर जारी गरेर चुक्ता पुँजी बढाउँदै जाने रणनीतिमा छन् ।

अधिकांश वाणिज्य बैंकले नगद लाभांशको तुलनामा बोनस सेयरलाई प्राथमिकता दिएका छन् । अहिले धेरैजसो वाणिज्य बैंकको चुक्ता पुँजी ४ अर्बभन्दा माथि छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकले ८ अर्ब, राष्ट्रिय स्तरका विकास बैंकले दुई अर्ब ५० करोड, ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकले १ अर्ब २० करोड, १ देखि ३ जिल्ला कार्यक्षेत्र भएकाले ५० करोड पुँजी पुु¥याउनु पर्छ । राष्ट्रिय स्तरको फाइनान्स कम्पनीले ८० करोड, ४ देखि १० जिल्लाकाले ८० करोड र १ देखि ३ जिल्लाकाले ४० करोड पुँजी पु¥याउनु पर्नेछ । राष्ट्र बैंकले ०७४ असार मसान्तसम्म तोकिएको पुँजी नपु¥याउने बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरणमा रोक लगाउने निर्देशन जारी गरेको छ ।

यसअघि केन्द्रीय बैंकले वाणिज्य बैंकलाई २ अर्ब, राष्ट्रिय स्तरका विकास बैंकलाई ६४ करोड र राष्ट्रिय स्तरको फाइनान्स कम्पनीलाई न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ पु¥याउन भनेको थियो ।

अहिले ६५ विकास बैंक छन् । सुरुमा पुँजी वृद्धिको योजना राष्ट्र बैंकले नल्याएको भए हुन्थ्यो जस्तो लागेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले बताए । ‘चुक्ता पुँजी वृद्धिको नियम ल्याएर राष्ट्र बैंकले राम्रो काम गरेको महसुस भएको छ,’ उनले भने, ‘यसले वित्तीय पहँुच बढाउँदै जोखिम

कम गर्नेछ ।’ सबै विकास बैंकले पुँजी वृद्धि गरिरहेको जानकारी पनि उनले दिए ।
‘कतिपयले विकास बैंक आफै पुँजी बढाउन प्रयास गरिराखेका छन्,’ उनले भने, ‘कसैले मर्ज गरी पुँजी बढाइराखेका छन् । हकप्रद पनि जारी गरिराखेका छन् ।’

कैलाश विकास बैंकको चुक्ता पुँजी १ अर्ब ५८ करोड पुगेको जानकारी पनि लामिछानेले दिए । ‘गत आवको नाफाबाट २५ प्रतिशत बोनस सेयर दिएपछि २० प्रतिशत हकप्रद सेयर जारी गर्दा चुक्ता पुँजी २ अर्ब ३० करोड पुग्छ,’ उनले भने, ‘त्यसपछि चालु आवको नाफाबाट सजिलै २ अर्ब ५० कारोड पु¥याउँछौं ।’

यसैगरी फाइनान्स कम्पनी पनि चुक्ता पुँजी बढाउन लागिपरेका छन् । फाइनान्स कम्पनी पनि बोनस र हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी पु¥याउने योजनामा छन् ।

राष्ट्र बैंकले केन्द्रीय स्तरका फाइनान्स कम्पनीको चुक्तापुँजी २० करोड पु¥याउन निर्देशन दिएपछि ८८ वटा रहेका फाइनान्स कम्पनी गाभिएर ४८ मा झरेका थिए । अहिले ८० करोड पु¥याउन भनेको छ । त्यस्तो व्यवस्थाले पनि फाइनान्स कम्पनीको संख्या उल्लेख्य रुपमा घट्ने अनुमान गरिएको छ  ।

अहिले मर्जर वा प्राप्तिमा गएका बाहेक २६–२७ वटामात्र वित्त कम्पनी भएको वित्त कम्पनी सघंका अध्यक्ष सरोजकाजी तुलाधरले बताए । ‘वित्त कम्पनीले ८० करोड चुक्ता पुँजी पु¥याउन मर्जर, एक्विजिसन, बोनस र हकप्रद सेयरको बाटो तय गरेका छन्,’ उनले भने, ‘उक्त बाटो अपनाएर चुक्ता पुँजी पु¥याउने तयारीमा उनीहरु जुटेका छन् ।’ त्यसमध्ये केही मर्जर वा प्राप्तिमा गए भने पनि १५ वटाभन्दा कम हुने सम्भावना नभएको तुलाधरले जानकारी दिए ।

सार्क स्तरमै नेपालका बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी सबैैभन्दा कम छ । नेपालका बैंक, वित्तीय संस्थाको चुक्तापुँजी सार्क राष्ट्रकै कम भएकाले बढाउनुपर्ने स्थिति आएको राष्ट्र बैंकको भनाइ छ ।

ठूला आयोजनामा लगानी गर्न ८–१० वटा वाणिज्य बैंक मिलेर आउनुपर्ने स्थिति भएकाले त्यसबाट मुक्ति दिलाउन पनि पुँजी बढाउनु परेको केन्द्रीय बैंकको भनाइ छ । तर, छोटो अवधिमा राष्ट्र बैंकको पुँजी बढाउने योजना बैंक तथा वित्तीय संस्थालाई भने फलामे चिउरा साबित भएको छ ।
 

प्रकाशित: १३ आश्विन २०७३ ०५:४१ बिहीबार

धमाधम चुक्ता पुँजी बढाउँदै बैंंक