७ वैशाख २०८१ शुक्रबार
राजनीति

सार्क छलफल काठमाडाैंमा सुरू, प्रधानमन्त्रीद्वारा उद्घाटन

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को प्रभावकारितासम्बन्धी छलफलको बिहीबार राजधानीमा उद्घाटन गरेका छन् ।

दुईदिने सो छलफलमा सङ्गठनका सदस्य देशहरु नेपालसहित भारत, श्रीलङ्का, भुटान, अफगानिस्तान, बङ्गलादेश, पाकिस्तान र मालदिभ्सका विधायक, कूटनीतिज्ञ एवम् राजनीतिज्ञहरुले भाग लिएका छन् ।

व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा पहिलोपटक आयोजित सो सम्मेलनमा सार्कको तीन दशक, आर्थिक सहयोग, संस्थागत विकासजस्ता पाँच विषयमा सातवटा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

सन् २०१४ मा काठमाडौँमा भएको सार्कको अठारौँ शिखर सम्मेलनबाट नेपालले सार्कको अध्यक्षता ग्रहण गरेको थियो । सार्कको आगामी उन्नाइसौँ शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा तय गरिएको छ । सम्मेलनका क्रममा पाँचजना पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, भीम रावल, नारायणकाजी श्रेष्ठ, कमल थापा र विजयकुमार गच्छदारले अलगअलग सत्रको अध्यक्षता ग्रहण गर्नेछन् ।

छलफलबाट निस्केका निष्कर्षलाई सार्कको आगामी शिखर सम्मेलनमा प्रस्तुत गरिने कार्यक्रम रहेको छ । रासस

प्रकाशित: १३ आश्विन २०७३ ०५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App