coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

स्रष्टालाई कमलराज रेग्मी स्मृति पुरस्कार

काठमाडौं – बुद्ध शान्ति फाउन्डेसनद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा राजनीतिज्ञ एवं साहित्यकार तथा समाजसेवी स्व. कमलराज रेग्मीका तीन कृतिहरू ‘कमलराज रेग्मीका कविताहरू’, ‘संस्मरणका छालहरू’ र ‘सदाबहार कमलको सुवास’ लोकार्पण गरियो। सबै कृतिको सम्पादन र प्रकाशन फाउन्डेसनकी अध्यक्ष सन्ध्या रेग्मीले गरेकी हुन् भने विमोचन प्राडा अभि सुवेदीले गरे। कमलराज रेग्मीको जीवन, जीवन यात्रा र जीवन दर्शन झल्काउने तीनै कृतिमा शिवत्व, सत्य र बुद्धत्वका मानवीय सन्देश भएको कार्यक्रमका वक्ताहरूले बताए।

कार्यक्रममा यस वर्षको ‘बुद्ध शान्ति कमलराज रेग्मी साहित्य तथा समाजसेवा पुरस्कार २०७५’ अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कोण्डन्य महास्थविरलाई प्रदान गरियो। प्रमुख अतिथि प्राडा सुवेदीले नगद ५० हजारको उक्त पुरस्कार र सम्मानपत्र भिक्षु कोण्डन्यलाई प्रदान गरे। त्यस्तै गरी यस वर्षको ‘बुद्ध शान्ति विमला रेग्मी समाजसेवा पुरस्कार’ नगद ५० हजार नेपाल स्पाइनल कर्ड इञ्जुरी खेलकुद संघका मेरूदण्डघात भएका पाँचजना संघर्षशील प्रतिभाशाली खेलाडीहरूलाई जनही १० हजार रूपैंयाँ र सम्मान–पत्र प्रदान गरियो। खेलाडीहरुमा हिमाल अर्याल, ऋषिराम ढकाल, अमृता ज्ञवाली, लाली डोल्मा शेर्पा, यमी झाक्री मगर छन्।

पुरस्कारको स्थापना बुद्ध शान्ति फाउण्डेशनका संस्थापक अध्यक्ष सन्ध्या रेग्मीले गरेकी हुन्। कार्यक्रममा प्राडा अभि सुवेदी, प्राडा ज्ञानू पाण्डे, खगेन्द्र संगौलाले विमोचित पुस्तकमाथि टिप्पणी गरेका थिए। साथै, पूर्वप्राज्ञ बूँद राना, डा. विष्णु प्रभातका साथै बौद्धिक मञ्चका डा केबी रोकायाले पनि मन्तव्य राखेका थिए।

कार्यक्रममा ललितकलाको माध्यमबाट बुद्ध आकृति कोर्ने कालकार सन्ध्या रेग्मीलाई ‘बुद्ध शान्ति सम्मान २०७५’ बाट सम्मान गरियो। कार्यक्रममा सुवेदीले बुद्ध शान्ति फाउण्डेशनको यस्तो सह्रानीय कार्यको प्रशंसा गर्दै समाजका ओझेलमा परेका वर्गलाई र बौद्ध भिक्षुहरूको सम्मान–गान गर्ने यस प्रतिष्ठानको मौलिकताबाट आफू अन्यन्त प्रभावित भएको बताए। अर्का वक्ता समालोचक प्राडा ज्ञानू पाण्डेले विमोचित कृतिमध्येका सबैभन्दा उत्तम संस्मरणका छालहरूले राजनीतिक, साहित्यिक इतिहास बोकेको कृति भएको हुँदा त्यो एकपटक सबैले पढ्दै पर्ने बताइन्। खगेन्द्र खंग्रौलाले कमलराज रेग्मीको राजनीतिक, साहित्यिक र समालोचकीय व्यक्तित्व पनि यी कृतिहरूले उजागर पारेको बताए। पुरस्कृत व्यक्तित्व भिक्षु कोण्डन्यले यस पुरस्कार रकम भृकुटीमण्डप बौद्ध विहारको जीर्णोद्वार र धार्मिक–परोपकारी कार्यमा लगाउने बचनबद्धता दिए।
 

प्रकाशित: २ पुस २०७५ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App