८ वैशाख २०८१ शनिबार
समाज

भारतमा बरामद सुन नेपालबाटै गएको आशंका

काठमाडौं - भारतको राजस्व अनुसन्धान विभागले बरामद गरेको ३३ किलो सुन नेपालबाटै गएको आशंका गरिएको छ। ३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणमा अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानबिन समितिले पक्राउ परेका व्यक्ति र परिणामका आधारमा सो सुन नेपालबाटै गएको आशंका गरेको हो।

छानबिन समितिका संयोजक ईश्वरराज पौडेलले त्यहाँ पक्राउ परेका व्यक्ति र सुनको परिणाम हेर्दा नेपालबाटै गएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। समितिको अनुसन्धान प्रतिवेदनमा उल्लेख भएका व्यक्ति र भारतमा पक्राउ परेका व्यक्तिको नाम मिलेपछि नेपालबाटै सुन गएको समितिको आशंका थप पुष्टि भएको छ। सरकारलाई अनुसन्धान समितिले बुझाएको ७ सय ५२ पृष्ठको प्रतिवेदनमा २ सय ९२ व्यक्तिमाथि थप अनुसन्धान गर्नुपर्ने उल्लेख छ। तीमध्ये भारतीय अधिकारीद्वारा पक्राउ राकेशप्रसाद सिंह पाँचौं नम्बर र हेमकुमार शर्मा ४४औं नम्बरमा उल्लेख भएका व्यक्ति हुन्।

सरकारलाई अनुसन्धान समितिले बुझाएको ७ सय ५२ पृष्ठको प्रतिवेदनमा २ सय ९२ व्यक्तिमाथि थप अनुसन्धान गर्नुपर्ने उल्लेख छ। तीमध्ये भारतीय अधिकारीद्वारा पक्राउ राकेशप्रसाद सिंह पाँचौं नम्बर र हेमकुमार शर्मा ४४औं नम्बरमा उल्लेख भएका व्यक्ति हुन्।

‘मेरो नेतृत्वमा बनेको उच्चस्तरीय समितिले बुझाएको प्रतिवेदनमा उल्लेख भएका व्यक्तिको नामसँग त्यहाँ (भारतमा) पक्राउ परेका व्यक्तिको नाम मिलेको छ। हाम्रो महावाणिज्य दूतावासलाई दिएको जानकारीअनुसार ती व्यक्ति र बरामद भएको सुन नेपालबाट गएको हुन सक्नेमा हामी विश्वस्त हुने अन्य आधार पनि छन्’, अध्यागमन विभाग प्रमुखसमेत रहेका पौडेलले बताए। उनका अनुसार आइतबार भारतमा बिदा भएकाले यस प्रक्रियाबारे नेपालले थप बुझ्न पाएको छैन।

भारतीय राजस्व अनुसन्धान विभागका अधिकारीहरुले पश्चिम बंगालको धनकुनीमा ३३ किलो सुनसहित दुई नेपालीलाई एक साताअघि पक्राउ गरेका थिए। भारतीय अधिकारीले स्विफ्ट कारको अगाडिको भागमा फल्स बटम बनाएर तस्करी भइरहेको अवस्थामा सुनका ३३ बिस्कुट बरामद भएको जानकारी पक्राउ परेका सिंह र शर्माको नाम ठेगानासमेत उल्लेख गरेर महावाणिज्य दूतावासलाई गराएका छन्। महावाणिज्य दूतावासमा प्राप्त विवरणअनुसार पक्राउ परेका व्यक्तिहरु सुनसरी इटहरीका राकेशप्रसाद सिंह र हेमकुमार शर्मा हुन्। यस्तो जानकारी प्राप्त भएपछि उनीहरुको बारेमा नेपाली पक्षले चासो राखेको छ। गृह मन्त्रालयले यस विषयमा अनुसन्धान गर्न महावाणिज्य दूतावास र अनुसन्धान समितिलाई आपसमा समन्वय गर्न भनिसकेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर २०७४ माघ पहिलो साता भित्रिएको साढे ३३ किलो सुन हराइरहेको थियो। नेपाली अधिकारीहरुले भारतमा बरामद भएको सुन नेपालबाट हराएको हुन सक्ने भन्दै अनुसन्धान थालेका हुन्। त्यसपछि सरकारले अनुसन्धानका लागि २०७४ चैत २० मा सहसचिव पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो।

पौडेलले भारतमा सुन समातिएपछि शुक्रबार वाणिज्यदूत एकनारायण अर्यालसँग घटनाका विषयमा छलफल गरेको बताए। समितिका अनुसार चूडामणि उप्रेती (गोरे) ले सुन हराएपछि सबैभन्दा बढी आशंका मोहन काफ्लेलाई गरेका थिए। भारतमा पक्राउ परेका दुवैजना काफ्लेसँग नजिकको सम्बन्ध भएका व्यक्ति हुन। ती व्यक्तिका बारेमा काफ्लेले समितिमा बयानसमेत दिएका थिए। ‘धेरै कुराले त्यो विषयमा हामी निकै नजिक छौं भन्ने लाग्छ। सरकारले उनीहरुलाई नेपाल ल्याएर अनुसन्धान गर्ने बाटो खोलिदिए थप प्रस्ट हुने थियो’, पौडेलले भने। उनका अनुसार ३३ किलो नै सुन बरामद हुनु र अनुसन्धान प्रतिवेदनमा उल्लेख भएका नाम मिल्नुमात्र नभएर सन् २०१४ तिर सुनसरीमा बसोबास गरेको बयान उनीहरुले भारतीय अनुसन्धान अधिकारीलाई दिएबाट पनि दुवै व्यक्ति गोरे समूहकै हुन सक्ने सम्भावना छ।

प्रकाशित: २ पुस २०७५ ०३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App