coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

तेल ढुवानीमा ‘भेहिकल ट्रयाकिङ सिस्टम’ काे तयारी

काठमाडौं - पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण गर्न सेक्युरिटी लकिङ सिस्टम जडान गरे पनि पूर्णरुपमा चुहावट नियन्त्रण नभएपछि नेपाल आयल निगमले ‘भेहिकल ट्र्याकिङ सिस्टम’ प्रयोगमा ल्याउने तयारी गरेको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट सेक्युरिटी लकिङ सिस्टम जडान गरेर निगमको विराटनगर डिपोमा आएको ट्यांकरबाट २५ सय लिटर डिजल चोरी भएको घटना सार्वजनिक भएपछि यो प्रविधिमा पनि प्रश्न उठेको छ। 

अहिले प्रयोगमा ल्याएको लकिङ सिस्टममा पनि छिटफुट चोरीका घटना भएपछि निगमले अझ उन्नत प्रविधि प्रयोग गर्ने रणनीति बनाएको हो। पहिलो र दोस्रो चरणमा ट्यांकरमा लकिङ जडान गरेपछि ढुवानीमा हुने चोरी पूर्ण रुपमा नियन्त्रण गर्न ‘भेहिकल ट्र्याकिङ सिस्टम’ कार्यान्वनयमा ल्याउने निगमले जनाएको छ।

इन्धन चोरीलाई पूर्ण नियन्त्रण गर्न ‘भेहिकल ट्र्याकिङ सिस्टम’ आवश्यक रहेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए। ‘सेक्युरिटी लकिङ जडान गर्दा पनि छिटफुट रुपमा चुहावट भयो,’ गोइतले भने, ‘पूर्ण रुपमा नियन्त्रण गर्न ‘भेहिकल ट्रयाकिङ सिस्टम’ प्रयोगमा ल्याउनुपर्ने देखियो।’

यो प्रविधिमा हरेक इन्धन ढुवानी गर्ने ट्यांकरमा डिभाइस जडान गरिन्छ। उक्त डिभाइसलाई निगमको केन्द्रीय कार्यालयबाट ट्र्याकिङ गरिन्छ। डिभाइसमा गाडी गुड्ने रुट समेत सेटिङ हुने भएकाले चोरी गर्न नसक्ने निगमले जनाएको छ। ‘यो डिभाइस जडान गरेपछि गाडी कुन लोकेसनमा गएर कहाँ रोकियो भन्नेसम्म थाहा हुन्छ,’ गोइतले भने, ‘जिपिएसले ट्यांकरको मुभमेन्ट ट्र्याकिङ गर्ने भएकाले बाटो छाडेर कुनै गोप्य ठाउँमा गयो भने पनि थाहा हुन्छ।’ यसले ट्यांकरको चालकले लकिङ बिगारेर तेल निकाल्न सक्दैन।

यो प्रविधि आइओसीले प्रयोग गर्दै आएको छ। अहिले प्रयोगमा ल्याएको लकिङमा केही छिटफुट घटना बाहिर आए पनि विगतको तुलनामा धेरै सुधार भएको गोइतले बताए। अहिले आइओसीबाट इन्धन लिएर आउने ट्यांकरमा लकिङ जडान गरेको भए पनि डिपोबाट पेट्रोल पम्पमा जाने ट्यांकरमा जडान गरिएको छैन। पहिलो चरण अन्तर्गत आइओसीबाट डिपोसम्म प्रयोगमा ल्याए पनि दोस्रो चरणमा डिपोबाट पम्पसम्म जडान गर्न बाँकी रहेको निगमले जनाएको छ। डिपोबाट पम्पमा लैजानका लागि ताल्चा नभएकाले खरिद गर्ने प्रक्रिया अघि बढेको गोइतले बताए। ‘आइओसीबाट डिपोमा ल्याउने ट्यांकरमा लगाउने ताला आइओसीले नै दिएकाले सजिलो भयो,’ उनले भने, ‘दोस्रो चरणका लािग ताल्चा खरिद गर्ने तयारीमा छौं।’ 

आइओसीबाट निगमको डिपोमात्र भएर डिपोबाट पेट्रोल पम्पसम्म पनि यो प्रविधि प्रयोगमा ल्याए यसको फाइदा उपभोक्ताले पनि पाउने व्यवसायी बताउँछन्। ‘आइओसीबाट आउने ट्यांकरबाट मात्र होइन डिपोबाट पम्पमा जाने ट्यांकरमा पनि लकिङ जडान गर्नुपर्छ,’पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने, ‘निगमका डिपोबाट पम्पसम्म प्रयोगमा ल्याए त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले पाउँछन्।’  

मुलुकभर करिब १९ सय ट्यांकर र २५ सय डिलर छन्। आइओसीबाट डिपोमा तेल ढुवानी गर्ने ट्यांकरमा ‘लकिङ सिस्टम’ जडान गरेपछि प्रतिट्यांकर करिब ५० लिटर तेल बचत भएको निगमले जनाएको छ। यसले ढुवानीको क्रममा वार्षिक कम्तीमा ६८ करोड रुपैयाँ इन्धन चुहावट (चोरी) नियन्त्रण हुने निगमको दाबी छ। 

विगतमा इन्धन ढुवानीको क्रममा ट्यांकर चालकले बीच बाटोमा तेल चोरी गरेको कारण पूरा परिणाम नआएको निगम र पम्प सञ्चालकले बताउँदै आएका थिए। 

आइओसीबाट दैनिक चार सय ट्यांकरले पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन) ढुवानी गर्दै आएका छन्। एउटा ट्यांकरबाट ५० लिटर बचत हुँदा दैनिक २० हजार लिटर तेल चुहावट हुनबाट रोकिएको निगमको दाबी छ। यसबाट एक महिनामै ६ लाख लिटर पेट्रोलियम पदार्थ जोगिन्छ। 

निगमले आइओसीका विभिन्न रिफाइनरीबाट इन्धन ढुवानी गर्ने सबै ट्यांकरमा यो सिस्टम जडान भएको छ। यो जडानसँगै डिपोमा हुने गरेको प्राविधिक नोक्सानीमा कमी आएको छ। तेल चोरी गर्दै आएका ट्यांकर चालक सेक्युरिटी लकिङ सुरु गरेपछि त्यसको विरोध गर्दै हडतालमा उत्रिएका थिए। यो प्रयासले प्राविधिक ‘लस’का नाममा ठूलो रकम खर्च गरिरहेको निगमको नाफा वृद्धि हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २ पुस २०७५ ०१:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App