८ वैशाख २०८१ शनिबार
अर्थ

‘करेक्सन’को बाटोमा सेयर बजार

काठमाडौ - मंसिर १९ गते १११८.१३ बिन्दुमा आइपुगेरको नेप्से पुस १ गते ११६७.६७ पुगेको छ। १५ दिनको अवधिमा नेप्से करिब ५० बिन्दुले उकालो लागेको छ। २०७२ साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से घटेर पुनः बढ्नुलाई लगानीकर्ताहरु ‘करेक्सन’को बाटो रोजेको बताउँछन्।

एक साताअघि मुद्रा तथा पुँजी बजारमा देखिएको समस्याबारे अध्ययन गर्न सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो। उक्त समितिले तीन दिनभित्रै समस्या समाधानका उपायसहितको सुझाव अर्थमन्त्रीलाई पेस गर्दैछ। यसले पनि सेयर बजार उकालो लाग्न मद्दत गरेको ब्रोकरको भनाइ छ।

सरकारले एक साताअघि पुँजी बजारमा देखिएको समस्या समाधान गर्न एक समिति गठन गरेको छ। उक्त समितिले तीन दिनभित्रै समाधानका उपाय सहितको प्रतिवेदन पेस गर्दैछ। यसकारण पनि सेयर बजारमा सुधारको संकेत देखिएको विश्लेषकको भनाइ छ। निरन्तर ओरालो लाग्दै आएको पुँजी बजार मापक नेप्से उकालो लाग्दै जानुलाई लगानीकर्ताहरु ‘करेक्सन’ भएको बताउँछन्।

पुँजी बजारको विकासका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन उपाय सहितको प्रतिवेदन समितिले बुझाउने तयारी गरिरहेको समितिमा सहभागी एक सदस्य तथा सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए। ‘पुँजी बजारको विकास सहितको एक सय ४० बुँदे सुझाव समितिले बुझाउँदैछ,’ उनले आइतबार नागरिकसँग भने, ‘त्यसैको सकारात्मक सन्देश पुँजी बजारमा गएकोले नेप्से बढेको हो।’

बैंकको ब्याजदर घट्ने, नागरिक लगानी कोषले स्टक डिलरको रुपमा काम गर्ने, ब्रोकरमार्फत तत्कालै १० अर्ब रुपैयाँ मार्जिन लेन्डिङको व्यवस्था हुने, नेप्सेमा सूचीकृत कम्पनीहरुले लाभांश वितरण गरिरहेको र त्यस्तो लाभांश प्राप्त गर्न सेयर खरिद गरेका कारण पनि बजार उकालो लाग्न पुगेको बताइन्छ।

साताको पहिलो दिन आइतबार सेयर बजार बढ्नुको कारण पनि यिनै सकारात्मक पक्षलाई लिइएको छ। आइतबार नेप्से १८.८९ बिन्दुले उकालो चढेको छ। कारोबार रकम पनि बढेर ४७ करोड ४२ लाख पुगेको छ। नेप्से र कारोबार रकम बढ्नुलाई सेयर बजारमा सुधारको संकेतको रुपमा लिने गरिन्छ। तर, पुस मसान्तमा कर्जाको ब्याज भुक्तान, बजारमा थपिँदो सेयर संख्या लगायत कारणले बिक्रीमा चाप पर्ने र यसले पुनः सेयर बजार ओरालो लाग्न सक्ने अनुमान पनि केही विश्लेषकहरुले गरेका छन्।  
बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव छ। आगामी दिनमा थप लगानीयोग्य पुँजीको अभाव हुने सम्भावना छ। यसको अर्थ बैंकको ब्याज दर उकालो लाग्नै जानु हो। यस्तो अवस्था भएमा पुनः सेयर बजार ओरालो लाग्ने सम्भावना छ।  सेयर बजार अब कता जाला ? आम लगानीकर्ताकर्ताको यो जिज्ञासाको उचित उत्तर पाउन सकेका छैनन्। यसको उत्तर विश्लेषकले समेत दिन सकेका छैनन्।

प्रकाशित: २ पुस २०७५ ०१:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App