७ वैशाख २०८१ शुक्रबार
अर्थ

अब आन्तरिक हवाई यात्रुको पनि बिमा बढ्ने

काठमाडौं - हवाई मार्गबाट विदेश आवतजावत गर्ने नेपाली यात्रुको दुर्घटना मृत्यु बिमा शनिबारबाट एक लाख ६० हजार अमेरिकी डलर (एक करोड ७० लाखभन्दा बढी) पुगेको छ।

अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको मन्ट्रियल महासन्धि नेपालमा कार्यान्वयन भएसँगै बिमा रकम बढेको हो।

अब अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा परेर नेपाली यात्रुको मृत्यु भएमा निकट आफन्तले क्षतिपूर्तिबापत बिमा कम्पनीबाट एक लाख ६० हजार अमेरिकी डलर पाउँछन्।तर, आन्तरिक विमानमा यात्रा गर्ने नेपालीको भने पुरानै व्यवस्था अनुसार बिमा हुन्छ। अर्थात आन्तरिक हवाई दुघर्टनामा नेपालीको मृत्यु भए आफन्तले बिमा कम्पनीबाट २० हजार अमेरिकी डलर (करिब २२ लाख नेपाली रुपैयाँ) मात्रै क्षतिपूर्ति पाउँछन्। कारण– आन्तरिक उडानको हकमा मन्ट्रियल महासन्धि लागू भएको छैन। 

शनिबारअघि हवाईजहाजमार्फत नेपालभित्र र बाहिर जाने दुवै यात्रुको लागि एउटै प्रकृतिको बिमा थियो। अर्थात ‘हेग प्रोटोकल’ अनुसार ‘वार्सा अभिसन्धि’मा उल्लेख भएअनुसार बिमा हुन्थ्यो।  त्यसमा जहाजबाट आवतजावत गर्ने यात्रुको बिमा रकम २० हजार डलर तोकिएको छ। 

सन् १९९९ मा जारी भएको मन्ट्रियल महासन्धि अनुसार अन्तर्राष्ट्रिय नेपाली हवाई यात्रुको बिमा आठ गुणा वृद्धि हुँदा आन्तरिक हवाई यात्रुको भने जतिको तत्ति छ।

हवाई यात्रुको बिमा कम भएको आवाज यसअघिबाटै उठ्न थालेको हो। बारम्बार दुघर्टना भइरहने नेपाली आकाशमा यात्रा गर्ने यात्रुको पनि बिमा बढाउनु टड्कारो आवश्यकता देखिएको छ।

‘बिमा रकम कम भएको हामीले पनि महसुस गरेकै हौं,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले भने, ‘मन्ट्रियल महासन्धि अनुसार अन्तर्राष्ट्रिय नेपाली हवाई यात्रुको त बढाइयो। अब आन्तरिक उडान यात्रुको पनि बढाइनेछ।’ यसको लागि छलफल भइरहेको मन्त्री अधिकारीले बताए।

हवाई व्यवसायी समेत आन्तरिक हवाई यात्रुको बिमा बढाउनुपर्ने पक्षमा छन्। वायुसेवा सञ्चालक संघ नेपालका अध्यक्ष पवित्रकुमार कार्कीका अनुसार सरकारलाई यसअघि नै बिमा बढाउन प्रक्रिया थाल्न भनिएको छ। ‘हामीले बिमा रकम बढाऔं भनेर सरकारलाई सुझाव दिइसकेका छौं,’ उनले भने, ‘मन्ट्रियल महासन्धि अनुसार त पार्न सक्दैनौं, सहमतिअनुसार गर्दा हामी स्वागत गर्दछौं।’ उनका अनुसार एक करोड हाराहारी गर्दा ठीक हुन्छ। त्यतिसम्मको बिमा प्रिमियम तिर्न नेपालका हवाई कम्पनीहरु सक्षम छन्। 

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार आन्तरिक हवाई यात्रुको बिमा बढाउने विषयमा छलफल सुरु भइसकेको छ। ‘मन्त्रालयले यस विषयमा कानुनै बनाउने तयारी गरिरहेको छ,’ उनले भने, ‘वायुसेवा सञ्चालकहरुको दायित्वसम्बन्धी ऐन बनाएर बिमाको पनि व्यवस्था गर्न लागेका छौं।’ उनका अनुसार बिमा रकम यति नै राख्ने भनेर कुनै निर्णय भइसकेको छैन। ७० लाखदेखि एक करोडसम्म बिमा रकम हुन सक्ने अनुमान गरिएको छ।

उक्त कानुन नबनेसम्म ६३ वर्षदेखि लागू वार्सा अभिसन्धि अनुसारै हुनेछ। अर्थात आन्तरिक हवाई यात्रामा दुघर्टना भएर नेपालीको ज्यान गएमा तिनका आफन्तले २० हजार अमेरिकी डलर क्षतिपूर्ति पाउनेछन्। ‘हामी यो काम सक्दो चाँडो गर्ने पक्षमा छौं,’ मन्त्री अधिकारीले भने, ‘मन्त्रालयले यसको काम केही महिनाभित्रै सकाएर प्रक्रियामा पठाउनेछ।’ अर्को वर्षको यही समयसम्म कानुन बनेर कार्यान्वयन ल्याउने गरी आफूले काम गर्ने मन्त्री अधिकारीले प्रतिबद्धता जनाए।

 

प्रकाशित: २ पुस २०७५ ०१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App