coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘बैंकहरूमा लगानीयोग्य पुँजीको अभाव छ’

हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत अशोक राणाको बैंकिङ क्षेत्रमा लामो अनुभव छ । बैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको अभाव भएका कारण ठूलो ऋण दिन सक्ने अवस्थामा बैंकहरु नरहेको बताउने राणाले यस्तो समस्या लामो समय रहे बैंकिङ क्षेत्रलाई मात्र होइन अर्थतन्त्रलाई नै अप्ठ्यारो पर्नेे बताउँछन् । हाल बैंकिङ क्षेत्रले भोग्नु परेका समस्या, मुलुकको आर्थिक अवस्थालगायतका बारेमा नागरिक परिवारका लागि बिष्णु बेल्वासेले राणासँग गरेको कुराकानी : 

बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव छ भनिन्छ । के साच्चै नै बैंकहरु ऋण दिन नसक्ने अवस्थामा पुगेका हुन् ?

बैंकहरुमा लगानीयोग्य रकमको अभाव हुँदै गएको यथार्थ हो । सानोतिनो रकम दिन बैंकहरुलाई समस्या नभए पनि ठूलो ऋण लगानी गर्ने पैसाको अभाव हुँदै गएको छ । असोजमा बैंकहरुले ७२ अर्ब लगानी गरेका छन् भने २१ अर्ब मात्र निक्षेप संकलन गरेका छन् । लगानी र निक्षेपबीचको अन्तर (ग्याब) बढी छ । यसले पनि बैंकहरुलाई समस्या पारेको हो ।

केही बैंकलाई मात्रै हो कि सबै बैंकहरुलाई यस्तो समस्या भएको हो ?

प्रायः सबै बैंकलार्ई लगानीयोग्य पुँजीको समस्या छ । केहीलाई बढी समस्या भइसकेको छ भने केहीलाई अलि कम समस्या होला । तर, बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव भएको यथार्थ हो । बैंकहरुले सय रुपैयाँ निक्षेप संकलन गर्छन् भने ८० रुपैयाँ मात्र लगानी गर्न पाउँछन् । यसको अर्थ निक्षेप संकलन सय रुपैयाँमा भयो भने २० रुपैयाँ लगानी गर्न पाउँदैनन् । अहिलेको अवस्था हेर्ने हो भने धेरै जसो बैंकहरुले निक्षेप संकलन गरेको रकममध्ये ७८/७९ रुपैयाँ लगानी गरिसकेका छन् । यसो भन्नुको अर्थ बैंकको कर्जा–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) ७८/७९ प्रतिशत पुगिसकेको छ । त्यस्तो सिसिडी रेसियो ८० प्रतिशतभन्दा बढी लानु हुँदैन । ८० प्रतिशत माथि जानासाथ नेपाल राष्ट्र बैंकले कारबाही गर्छ ।

तपाईंले निक्षेप संकलन भएको रकममध्ये बैंकहरुले लगानी गर्न सक्नेसम्मको रकम लगानी गरिसके भन्न खोज्नुभएको हो ?

हो । बैंकहरुले आफूसँग भएको रकम लगानी गरिसकेका छन् । थप लगानी गर्न पैसाको अभाव छ । निक्षेप संकलन नगरिकन अब थप लगानी गर्न सक्ने अवस्थामा बैंकहरु छैनन् । 

लगानीयोग्य पुँजीको अभाव हुनुको कारण के हो ?

सरकारी ढुकुटीमा रहेको रकम खर्च नभएकै कारण बैंकहरुमा लगानीयोग्य रकमको अभाव भएको हो । सरकारले विकास निर्माणका लागि छुट्याइएको रकम खर्च गरेको भए यो अवस्था आउने थिएन । जहिले पनि आर्थिक वर्षको अन्त्यमा बजेट सिध्याउन सरकारले खर्च गर्ने जुन परिपाटी छ । त्यसलाई बदल्नु पर्छ । आर्थिक वर्षको अन्त्यमा आएको रकमले एक दुई महिनाका लागि बैंकहरुलाई लगानी गर्न पैसा भए पनि बाँकी महिनाका लागि योग्य रकम अभावको समस्या हुने गरेको छ । गत वर्ष पनि यही समस्या थियो । अहिलेको वर्ष पनि त्यही समस्या दोहोरिएको छ । 

लगानीयोग्य रकम नभएपछि त बैंकहरुलाई समस्या नै भयो नि हैन त ?

समस्या छ । समस्याको समाधानको उपाय निकाल्नु पर्छ ।

सरकारी तवरबाट लगानीयोग्य रकमको अभावको समाधानका लागि केही पहल भएको छ कि ? 

नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालयलाई यसबारेमा जानकारी नै छ । हामीले सर्वसाधारण वा संस्थागत रुपबाट निक्षेप संकलन गरेको रकमको ब्याज ७ देखि १० प्रतिशतभन्दा बढी ब्याजदर नदिने भनेर सहमति गरेका छौँ । त्यसले पनि कर्जाको ब्याजदर बढ्न पाएको छैन । कर्जाको ब्याजदर नबढ्ने सहमति गरेका कारण सरकारलाई पनि ढुक्क भएका कारण यसको समस्या गर्नतिर नलागेको हुनुपर्छ । कर्जाको ब्याजदर नियन्त्रणमा भएकोले पनि सरकार चुप लागेको हुनुपर्छ । सरकारले यसबारेमा कुनै चासो देखाएको छैन ।

राजनीतिक स्थायित्व आएकोले पनि ऋण लिएर व्यवसाय गर्ने बढे भनिन्छ नि ?

राजनीतिक स्थायित्वसँगै सानोतिनो व्यवसाय गर्नेदेखि ठूला विकास निर्माणका काम पनि हुन थालेका छन् । यसले पनि ऋणको माग बढेको हो । निजी तथा सरकारी स्तरबाट जति विकास निर्माणका काम हुन्छन् त्यसले मुलुकलाई समृद्धिको बाटोमा लैजान्छ । तर, विडम्बना नै भन्नुपर्छ सानोतिनो ऋण लिन आउनेलाई बाहेक ठूलो ऋणको माग गर्नेलाई रकम दिन सकिने अवस्था छैन ।

निकै पुरानो हिमालयन बैंकलाई त लगानीयोग्य पुँजीको अभाव छैन होला नि ?

हामीसँग पनि त्यति धेरै लगानी गर्ने पैसा छैन । हाम्रो पनि सिसिडी रेसियो ७९ प्रतिशत पुग्न लागेको छ ।

बैंकहरुले कुन क्षेत्रमा बढी लगानी गरेका छन् ?

पर्यटन, कृषि, जलविद्युत् आयोजना, सिमेन्ट, उद्योग, व्यापारलगायतमा बढी लगानी गरेका छन् । अहिले पनि उक्त क्षेत्रको विकास गर्नका लागि ऋण लिन आउने गरेका छन् । पर्यटन, कृषि र जलविद्युत्को विकासविना नेपालले समृद्धि हासिल गर्न सक्दैन । जुन देशमा जुन–जुन वस्तुको पर्याप्त मात्रामा सम्भावना छ । उक्त क्षेत्रको विकास गरे मात्र देशको आर्थिक अवस्था मजबुत बनाउन सकिन्छ । खाडी मुलुकमा तेलको अथाहा सम्भावना छ । ती देशहरुले तेल बिक्री गरेरै समृद्ध भएका हुन् । नेपालमा पनि पानी अथाहा छ । त्यसको सही उपयोग गर्न सकिएको खण्डमा बिजुली र कृषि उत्पादन बढाउन सकिन्छ । त्यसैगरी, नेपाल सौन्दर्यको धनी देश हो । सबैभन्दा अग्लो हिमाल माउन्ट एभरेष्ट यहीँ छ । त्यसका अलावा गौतमबुद्ध जन्मस्थल लुम्बिनी, हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथ, जानकी मन्दिरलगायतका अन्य थुप्रै मनमोहक धार्मिक तथा पर्यटकीय क्षेत्र यहाँ छन् । ती ठाउँसम्म पुग्नका लागि यातायातको व्यवस्था गर्न सकिएको खण्डमा पर्यटन व्यवसायको विस्तार गर्न सकिन्छ । यसले एक त स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ भने अर्कोतिर उनीहरुले खर्च गरेको रकमले मुलुकको आर्थिक समृद्धिमा योगदान पु-याउँछ ।

बैंकहरुले उत्पादनमूलक क्षेत्रमा भन्दा पनि अनुत्पादक क्षेत्रमा आक्रामक रुपमा लगानी गरेका कारण तरलताको समस्या आएको हो भन्ने गरिन्छ । यसमा वास्तविकता कति छ ?

बैंकहरुले उत्पादनमूलक क्षेत्रमा पनि लगानी गरेका छन् । राष्ट्र बैंकले कृषि, पर्यटन, जलविद्युत क्षेत्रमा बैंकहरुलाई निश्चित प्रतिशत लगानी गर्नका लागि निर्देशन दिएको छ । त्यो अनुसार बैंकहरुले लगानी गर्दै आएका छन् । बैंकहरुले भौतिक संरचना निर्माणमा पनि लगानी गरेका छन् । गाडी, आवास निर्माण, जग्गामा पनि बैंकहरुले लगानी गरेका छन् ।

अनुत्पादक क्षेत्र जस्तै जग्गा, गाडीमा बैंकहरुले धेरै लगानी गरेका छन् भनिन्छ नि ?

ती क्षेत्रमा पनि केही लगानी भएको छ । बैंकहरुले जुनसुकै क्षेत्रमा पनि लगानी गर्न सक्छन् । तर, ती क्षेत्रमा निश्चित प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने भनेर राष्ट्र बैंकले सीमा तोकिदिएको छ । त्यो अधिकतम सीमाभित्र रहेर लगानी गरिरहेका छन् । अनुत्पादक क्षेत्र हो भनेर लगानी नै नगर्ने कुरा पनि त भएन । लगानी गर्दा सीमाभित्र रहेर लगानी गर्नुलाई अन्यथा भन्न मिल्दैन । 

घरजग्गामा लगानी गर्नु भनेको अनुत्पादक क्षेत्रमा लगानी गर्नु हो भनिन्छ । यसमा तपार्इंको धारणा के छ ? 

आधारभूत आवश्यकता भएकाले अनुत्पादक भन्न त मिल्दैन । घरजग्गा बेच्नेले त्यो पैसा अर्को क्षेत्रमा लगानी गर्छ । पैसा त्यत्तिकै घरमा राख्न कसैले पनि जग्गा बिक्री गर्दैन । घरजग्गा बेचेको पैसा बैंकमा लगेर डिपोजिट गरिहाल्छन् । बैंकले त्यस्तो पैसा अन्य क्षेत्र जस्तै व्यापार व्यवसाय गर्ने व्यक्तिलाई ऋण दिने गर्छ । सुन, चाँदीलगायतका बस्तु खरिद गर्नु भनेको अनुत्पादक क्षेत्रमा लगानी गर्नु हो । तर, जग्गामा लगानी गर्नु भनेको अनुत्पादक क्षेत्रमा गरिएको लगानी भन्न मिल्दैन । 

बैंकले बढी लगानी गरेका कारण जग्गाको मूल्य अकासिएको भनिन्छ । घरजग्गाको भाउ अलि बढी भएको होइन ?

अहिले घरजग्गाको भाउ अलि बढी नै छ । बैंकले सजिलैसँग ऋण दिएका कारण पनि जग्गाको मूल्य बढेको हो । केही वर्षअघि अझै घरजग्गाको भाउ चर्किएको पनि बैंकले अत्यधिक लगानी गरेकै कारण हो । पछिल्लो समय राष्ट्र बैंकले घरजग्गामा जाने ऋणमा लगाम लगाएको छ । यसले गर्दा घरजग्गाको वृद्धि ह्वात्तै बढ्न पाएको छैन । राष्ट्र« बैंकले व्यक्तिगत आवास कर्जाका लागि एक करोड रुपैयाँसम्म दिन पाइने भए पनि व्यापारिक प्रयोजनको रियलस्टेट कर्जालाई भने केही कसिलो बनाएको छ । नयाँ नीतिअनुसार धितो मूल्यांकनको ५० प्रतिशतसम्म मात्र रियलस्टेट कर्जा दिन पाइन्छ ।

आवास आधारभूत आवश्यकता भएकाले पनि सबैको पहिलो रोजाइमा पर्ने गरेको छ । सानो तिनो रकम जोहो हुनासाथ मानिसले घरजग्गामा पैसा लगाउने गरेका छन् । यसले गर्दा पनि घरजग्गा बढ्दो क्रममा रहेको हो ।

राष्ट्र बैंकले घरजग्गामा लगाम लगाउनु आवश्यक हो कि होइन ?

घरजग्गामा जाने लगानीलाई रोक्न सक्ने अवस्था छैन । आवास आधारभूत आवश्यकताभित्र पर्दछ । घरजग्गा अचल सम्पत्ति हो । यस्तो सम्पत्ति जोड्ने चाहाना सबैको हुन्छ । त्यसैले पनि लगाम लगाएर रोक्न सकिँदैन । तर, खुकुलो नीतिलाई राष्ट्र« बैंकले कसिलो बनाउँदा ह्वात्तै बढ्ने सम्भावना भने कम हुन्छ । 
जग्गाको मूल्य अत्यधिक बढेको छ ।

यसले त केवल सीमित व्यक्तिलाई मात्र फाइदा भएको छ । सरकारलाई पनि जति राजस्व पाउनुपर्ने हो त्यही पाएको छैन भनिन्छ नि ?

म केही समयअघि गैंडाकोटको मुकुन्दपुरमा पुगेको थिएँ । त्यहाँ जग्गाको भाउ केही वर्षमै ५ गुनाभन्दा बढीले बढेको रहेछ । तर, त्यस्तो जग्गा खरिद–बिक्री गर्नेलाई मात्र फाइदा भएको छ । सरकारले तोकेको मूल्यभन्दा कैयौं गुणामा कारोबार हुन्छ । तर, उनीहरुले सरकारलाई तिर्नुपर्ने न्यूनतम रकम मात्र राजस्व तिर्छन्, बाँकी रकम उनीहरुले आफूखुसी गर्छन् । सरकारले तोकेको न्यूनतम दरको मात्र राजस्व सरकारलाई आउँछ । त्यति नै रकम वैधानिक हुने भएकाले बैंकहरुमा जम्मा हुने गर्छ । सरकारले तोकेको मूल्यभन्दा बढी मूल्यमा बिक्री गरेको रकम बैंकिङ प्रणालीमा आउँदैन । यस्तो कार्यले न सरकारलाई फाइदा भएको छ न त बैंकहरुले त्यस्तो रकम लगानी गर्न पाएका छन् । यसले गर्दा सरकारले ठूलो मात्रामा राजस्व गुमाएको छ भने क्रेडिटकन्च (लगानीयोग्य पुँजीको अभाव) हुन पुगेको छ ।

तपाईंले अवैधानिक रुपमा आएको रकमले जग्गाको मूल्य बढाउन पुगेको हो भन्न खोज्नु भएको हो ?

हो । अवैधानिक रकमले जग्गाको मूल्य बढाएको छ । त्यसको फाइदा सरकारले लिन पनि सकेको छैन । त्यसले बैंकहरुलाई लगानीयोग्य पुँजीको अभाव गराउन मद्दत मिलेको छ ।

जग्गामा हुने यस्तो किसिमको अवैधानिक रकमका बारेमा सरकारलाई थाहा छैन त ?

सरकारलाई किन थाहा नहुनु छ । तर, सरकारले पनि थाहा नपाएको जस्तो मात्र गरेको छ । सरकारले यस्तो कार्य गर्नबाट रोक्नलाई विभिन्न उपायहरु अपनाउन सक्थ्यो । तर, त्यो गर्न सकिरहेको छैन ।

कालोधनलाई नियन्त्रण गर्नुपर्ने होइन र ?

कालोधन कहाँबाट आएको हो भनेर सरकारले नै खोजतलास गर्नुपर्ने हो । स्रोत खोज्ने हो भने समस्या पर्ने थिएन । तर, स्रोत खोज्ने काम भएको छैन । अवैध धनलाई निरुत्साहित गर्न खोजिए पनि सफल हुन सरकारले सकेको छैन । अवैध च्यानलबाट आउने रकमलाई निरुत्साहित गर्नु त पर्छ नै ।

अहिले बजारमा अवैधानिक रुपमा कति प्रतिशत रकम आउँछ होला ?

यकिन तथ्यांक नभएकाले यति नै छ त भन्न सकिँदैन । तर, गैरकानुनी र कानुनी बाटोबाट आउने रकम बराबर छ भनिन्छ । वैधानिक रकम बैंकिङ प्रणालीमा आउँछ । तर, अवैधानिक रकम बैंकिङ प्रणालीमा आउन सकेको छैन । आम्दानीको स्रोत देखाउन नसक्ने रकम जग्गालगायतमा लगानी भएको छ । जग्गामा गएको लगानी सरकारलाई देखाउनै पर्ने रकम मात्र बैंकिङ च्यानलमा आउने गरेको छ । अरु रकम बैंकिङ प्रणालीमा आउँदैन । इन्फरमल क्षेत्रमा रकम बढेकाले जग्गाको मूल्य अत्यधिक बढेको हो ।

मुलुकको अर्थतन्त्रलाई कसरी विश्लेषण गर्नुभएको छ ?

चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने आँकलन गरिएको छ । यसलाई नराम्रो मान्न मिल्दैन । सबै मिलेर देशलाई समृद्ध बनाउन लाग्नुपर्छ । अर्थतन्त्रलाई उकास्न सबैको सहयोग जरुरी छ । सौहार्द्रपूर्ण वातावरण भए देशले विकासमा फड्को मार्नेछ । मुलुकमा अथाहा सम्भावना छन् । तर, त्यसको सही सदुपयोग हुन सकेको छैन । सदुपयोग गर्नतिर लाग्नु पर्छ ।

बैंकहरुका शाखा सबै स्थानीय तह तहमा पु-याउने काम अझै पूरा भएको छैन भनिन्छ । कहिले सम्ममा सबै स्थानीय तहमा पुग्छन् बैंक ?

आगामी पुसभित्र सबै ७५३ स्थानीय तहमा बैंकका शाखा पुग्छन् । भौतिक पूर्वाधारको कमी, सुरक्षालगायतका कारणले बैंकका शाखा ती क्षेत्रमा पुग्न अलि ढिलो भएको हो ।

हिमालयन बैंकले खोल्नुपर्ने शाखा सबै स्थानीय तहमा खोलिसक्यो कि बाँकी छन् ?

हिमालयन बैंकको पनि २ वटा शाखा खोल्न बाँकी छ । केही समयभित्रै खोलिसक्छौं ।

परिवारमा को–को हुनुहुन्छ ? 

म, श्रीमती चन्दा र छोरा अविशेक

श्रीमतीले के गर्नु हुन्छ ?

उनी वातावरणविद् हुन् । अहिले निजगढ एयरपोर्टमा व्यस्त छिन् ।

छोरा के गर्दै हुनुहुन्छ ?

छोरो अमेरिका पढ्दै छ ।

प्रकाशित: १ पुस २०७५ ११:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App