१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नगर परिषद् नहुँदा विकास निर्माणका कार्य अलपत्र

रौतहट - रौतहटका पाँच स्थानीय तहले दोस्राे नगर परिषद् हालसम्म सम्पन्न नगरेकोले विकास निर्माणका कार्य पूर्ण रुपमा प्रभावित बन्दै गएका छन्।

स्थानीय तहको निर्वाचन पश्चात जनप्रतिनिधहरुले जिल्लाका १६ नगरपालिका र २ गाउँपालिकाकाले गत आर्थिक वर्षको विकास निर्माण कार्य गर्नको लागि पौष मसान्तमै योजनाहरु छनौट गरेर पहिलो नगरसभा सम्पन्न गरेका थिए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलो नगर सभाबाट पास भएकालार्इ विनियोजित रकम खर्चेर दोस्राे नगरसभा असार मशान्त भित्र सम्पन्न गरेर दोस्राे आर्थिक बर्षको बजेट खर्च गर्न सर्कुलर जारी गरेको थियो।

जिल्लाका ११ नगरपालिका र २ गाउँपालिकाले आफ्नो नगर परिषद् सम्पन्न गरेर विकास निर्माणको गति अगाडी बढाइरहेको अवस्थामा जिल्लाका पाँचवटा नगरपालिकाको नगर परिषद् हालसम्म सम्पन्न हुन नसकेको कारण अर्बौं रुपैयाँ थन्किदा विकास निर्माण कार्य  प्रभावित भएको छ। जिल्लाका गुजरा, फतुवा विजयपुर, कटहरिया, बौधीमाई, र देवाही गोनाही नगरपालिकाको चालु आर्थिक बर्ष २०७५/०७६ को परिषद् नहुँदा विकास निर्माण लगायतका विभिन्न योजनाहरु अलपत्र परेका हुन्।

स्थानीय सरकार संचालन ऐन अनुसार स्थानीय तहले प्रत्येक बर्ष असार मसान्त भित्र नगर परिषद् अनिवार्य सम्पन्न गरी प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गराउने प्रावधान भएपनि निर्वाचित जनप्रतिनिधि र स्थानीय राजनितिक दलको अड्चनको कारण नगर अधिवेशन हुन नसकेको देखिएको छ।

गुजरा नगरपालिकाका उपमेयर शेख रौशन खातुनले दोस्राे नगर परिषद्का लागि एक महिनाअघि कार्यपालिका बोर्ड बैठक बोेलाईएको तर विभिन्न ५ वटा वडाका वडाध्यक्षहरुले नगरपालिकाको बजेट दामाशायी हिसावले भागवण्डा लगार्इ वडा कार्यालयमा पठाउन अडान लिँदा परिषद् हुन नसकेको बताइन्। पहिलो नगरसभाबाट प्रत्येक वडालाई १ करोड ५० लाख रुपैयाँ दिएको तर त्यसको सदुपयोगको साटो दुरुपयोग भएकोले त्यसरी विकास निर्माणको बजेट वडालाई दिन नमिल्ने मेयर र उपमेयरले अडान राखेपछि परिषद् अन्यौलमा परेको उपमेयर खातुनले बताइन्।

कटहरिया नगरपालिकाको पहिलो नगर सभा तत्कालिन मेयर सियाराम कुश्वाहाको नेतृत्वमा भएकाे थियाे तर उनी पर्सा जिल्लाका विश्व हिन्दु परिषद्का अध्यक्ष काशी तिवारीको हत्याकाण्डमा मुछिएर कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएपछि विगत ८ महिना देखि नगरपालिकाको काम काज राम्ररी सुचारु हुन सकेको छैन। मेयर कुश्वाहा कारागार चलान भएपछि कार्यवाहक नगरप्रमुखको जिम्मेवारी पाएकी उपप्रमुख नुरजाहा खातुनलाई नगर परिषद् गर्न चुनौती थपिएको छ। उनका वडाका वडाध्यक्षहरु खातुनलाई सहयोग गर्नुको साटो असयोग गरेकाे उनले गुनासाे गरिन्।उनले नगरपालिकाको काम इमानदारीपूर्वक गर्न जतिसुकै प्रयास गरेपनि आफ्नै पार्टीबाट निर्वाचित वडाध्यक्षहरुले असहयोग गरिरहेको कारण परिषद् हुन नसकेको बताइन्।

यस्तै फतुवा विजयपुर नगरपालिकाको पनि अवस्था उस्तै छ। कांग्रेसबाट मेयरमा निर्वाचित भएका गोपाल यादवले बोर्ड बैठक नै नबोलाएको कारण नगर अधिवेशन नभएको उपमेयर कान्ति देवीले बताइन्। मेयर यादवलाई नगर अधिवेशन गरी नगरपालिकाको विकास निर्माणको कामकाज सुचारु गर्न पटक पटक आग्रह गरेपनि वैठक नै नबोलाउँदा परिषद् हुन नसकेको उपमेयर कान्तिले नागरिकन्यूजलाई बताइन्।

त्यस्तै बौधीमाई नगरपालिकाको प्रमुख कार्यकारी अधिकृत विरेन्द्र चन्द्रवंशीले निर्वाचित जनप्रतिनिधिहरुबीच आपसी सहमती नहुँदा नगर परिषद्को मिती तोकिन नसकिएको बताए।

यस्तै देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले वडाध्यक्षहरुले जनही १ करोड वडाको बजेट माग गरेको हुँदा अहिले सम्म नगर परिषद् हुन नसकेको बताए। कुल १७ करोड बजेट रहेकोमा नगरपालिकामा विकास तथा भवन बनाउनुपर्नेमा वडाहरुलाई ५० लाख दिने भनिएपनि उनीहरु १ करोड भन्दा कम नलिने अडान राख्दा सहमती नभएको उनले बताए।

चन्द्रपुर नगरपालिकामा दरबन्दी रहेका वरिष्ठ आन्तरिक लेखा परिक्षक किर्तीराज सुवेदीले असार २५ गते भित्र अगामी बर्षको बजेट विनियोजित गरेर नगर परिषद् सम्पन्न गरी सक्नुपर्ने प्रावधान रहेको तर जिल्लाको ५ वटा नगरपालिकामा आन्तरिक राजनीतिक खिचातान तथा जनप्रतिनिधिहरुबीच सहमती नहुँदा नगरको विकास निर्माण अवरुद्ध भएको बताए।

प्रकाशित: १ पुस २०७५ ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App