१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अध्यादेश विरुद्ध कर्मचारी आन्दोलित

रुपन्देही - स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’ विरुद्ध आन्दोलन थालेका छन्। सरकारले कर्मचारी समायोजनकाे काम जारी राखेका बेला स्थानीय तहका कर्मचारी भने आन्दोलीत भएका हुन्।

स्थानीय तहमा कार्यरत कर्मचारीहरु आवद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियन नेपाल लगायतका संघ, संगठनहरुले कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरुलाई विभेद गरेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।

बुटवलमा पनि कर्मचारीहरु सोमबारदेखि आन्दोलनमा छन्। आइतबार बुटवल उपमहानगरपालिकामा पत्रकार सम्मेलन गर्दै उनीहरुले केन्द्रको आन्दोलनका कार्यक्रमहरु सरह नै आफुहरु आन्दोलनमा उत्रिएको कर्मचारी एसोसिएशनका अध्यक्ष ठगिश्वर पोखरेलले बताए।

निजामती कर्मचारी र आफूहरुलाई दिने सेवा, सुविधामा नै विभेद भएपछि सो अध्यादेश विरुद्ध आन्दोलनमा जान बाध्य हुनु परेको स्थानीय तह कर्मचारी संघका प्रदेश संयोजक तथा केन्द्रिय कोषाध्यक्ष सितुप्रसाद श्रेष्ठले जानकारी दिए।

पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्ति अनुसार विरोध स्वरुप धर्नामा बस्ने, कालो पट्टी बाँध्ने र कार्यक्रम अनुसार यही पुस १० गते काठमाडौंमा विरोध सभा आयोजना गर्ने रहेका छन्। कर्मचारीहरुले संघले साविकको स्थानीय निकायमा कार्यरत श्रेणीविहिन कर्मचारीहरुको तह, सेवा र सुविधा तत्काल वृद्धि गर्न पनि सरकारलाई दवाव दिन आन्दोलनको घोषणा गरिएको जानकारी दिएका छन्। संघका बुटवल नगर अध्यक्ष पोखरेलले निजामती कर्मचारीहरुलाई अघि सारेर आफूहरुलाई विभेद नगर्न सरकारलाई पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएकाले देशैभरी एकसाथ आन्दोलन गर्नुपरेको बताए। यस्ता खालका कर्मचारीहरु करिब १७ हजार रहेका छन् भने बुटवलमा मात्रै दुई सय भन्दा धेरै छन्। कर्मचारी आन्दोलनमा उत्रिएपछि सेवग्राही भने मर्कामा पर्ने भएका छन्। 

 

प्रकाशित: १ पुस २०७५ १०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App