८ वैशाख २०८१ शनिबार
खेल

लेवान्डोवस्कीविरुद्ध साकिरी

टाउलोउज- युरोपियन च्याम्पियनसिपमा अहिलेसम्म चम्किन नसकेका रोबर्ट लेवान्डोवस्की र जर्दान साकिरीले शनिबार पोल्यान्ड र स्विट्जरल्यान्ड आमने सामने हुँदा आफूलाई प्रमाणित गर्ने मौका पाउने छन्।

दुवै खेलाडीलाई देशले सबैभन्दा भरपर्दा खेलाडीमा स्विकारे पनि यस प्रतियोगितामा उनीहरूले गोल गर्न सकेका छैनन्।

पोल्यान्डका फरवार्ड लेवान्डोवस्कीले पछिल्लो ६ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेका छैनन्। युक्रेनलाई १–० ले हराएको खेलमा उनले पहिलो हाफमा गोल गर्ने राम्रो अवसर खेर फालेका थिए। तथापि उनले अग्रपंक्तिमा निकै मिहिनेत गरिरहेका छन्। त्यसैले उनी लयमा छैनन् भनिहाल्ने अवस्था भने छैन।

‘उनी जसरी खेल्छन् त्यसअनुसर सबैभन्दा प्रेरणादायी खेलाडी हुन्,’ पोल्यान्डका प्रशिक्षक एडम नवाल्काले भने, ‘उनी हाम्रा लागि सबैभन्दा महत्वपूर्ण खेलाडी हुन्। उनी लोकोमोटिभ जस्तै हाम्रा लागि एक इन्जिन हुन् जसले हामीलाई शक्ति दिन्छ।’

त्यस्तै, साकिरीले आफ्नो क्षमताअनुसर प्रदर्शन गर्न नसके पनि स्विट्जरल्यान्डका प्रशिक्षक भ्लादमिर पेट्कोभिक पनि दुई वर्षअघिको विश्वकपमा होन्डुरसविरुद्ध ह्याटि्रक गरेकाले उनीप्रति विश्वस्त छन्।

‘यस प्रतियोगितामा एक्लैले केही गर्न सक्ने अवस्था छैन,’ पेट्कोभिकले भने, ‘म साकिरीको व्यक्तिगतभन्दा पनि टोली सदस्यका हैसियतमा उनको प्रदर्शनबाट सन्तुष्ट छु। उनले टोलीका लागि सबै दिएका छन्, जुन उनले गर्न सक्छन्। जब टोलीले राम्रो गर्छ त्यसको श्रेय सबैलाई जान्छ।’

दुवै प्राविधिक रूपमा उत्तिकै सफल भएकाले यो टोली राम्रो भन्ने अवस्था छैन। दुवै टोली समूह चरणभन्दा माथि उक्लिएको यो पहिलो युरोपियन च्याम्पियनसिप हो। दुवै टोली गोलका लागि संघर्ष गरिरहेका छन्। समूह चरणका तीन खेलमा दुवै टोलीले २ गोल गरेका छन्।

समूह चरणको अन्तिम खेलमा आइतबार आयोजक फ्रान्ससँग गोलरहित बराबरी खेल्दा स्विट्जरल्यान्डले सुधारिएको प्रदर्शन गरेको थियो। अहिलेसम्म गोल नखाएको पोल्यान्ड पनि जर्मनीपछि दोस्रो स्थानमा रहेर अन्तिम १६ को यात्रा तय गर्न सफल टोली हो। प्रतियोगितामा अघि बढ्न दुवै टोलीको प्रदर्शनमा सुधार आवश्यक छ।

‘हाम्रो प्रयासलाई सफलतामा परिणत गर्न चाहन्छौं र त्यसैअनुरुपको तयारी गरिरहेका छौं,’ स्विट्जरल्यान्डका कप्तान स्टेफन लिस्टेनरले भने, ‘हामीले पोल्यान्डलाई नजिकबाट नियालेका छौं तर हामी हाम्रो क्षमता सुधारमा केन्द्रित छौं। यदि क्षमताअनुसार प्रदर्शन गर्‍यौं भने हामी पोल्यान्डका लागि कठिन प्रतिद्वन्द्वी हुनेछौं।’

प्रकाशित: ११ असार २०७३ ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App