coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

अनलाइन सेयर कारोबारले गृहिणीलाई फाइदा

सन्दिप विक्रम राणा,म्यानेजिङ डाइरेक्टर,सेयर संसार डट कम

इन्टरनेटमा आधारित भएर सेयरको अनलाइन कारोबार गरिन्छ। विश्वमा सन् २००० बाट अनलाइन सेयर कारोबारले व्यापकता पाएको देखिन्छ। भारतमा पनि अनलाइन कारोबार छ। विश्वमा सेयरको अनलाइन कारोबार नगर्ने देश कमै होलान्। प्रविधिको प्रयोगले सेयर बजार अवश्य विस्तार र व्यवस्थित हुन्छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०५० बाट सुरु भयो। सुरुवाती दिनमा ओपन आउट क्राई सिस्टमबाट सेयरको कारोबार हुन्थ्यो। जसलाई कराएर गरिने कारोबार भनिन्छ। ब्रोकर नेप्सेको हलमा गएर कराएर कारोबार गरिन्थ्यो। २०६४ सम्म कराएरै कारोबार गरिन्थ्यो। २०६४ पछि नेप्सेले अटोमेटिक सिस्टम ल्यायो। जसलाई सेमी अटोमेटेड ट्रेडिङ सिस्टम भनिन्छ। सेमी अटोमेटेड ट्रेडिङ आएपछि ब्रोकरको कार्यालयबाट सेयरको कारोबार हुन थाल्यो। कराएर सेयरको कारोबार हुने प्रणालीको अन्त्य भयो। सेयरको कारोबार गर्नेले ब्रोकरको  कार्यालमा गएर कारोबार गर्ने प्रणाली लागु भयो। जुन अहिले पनि छ।

घरै बसेर कारोबार
०७५ कात्र्तिक २० गतेबाट नेप्सेले सेयरको अनलाइन कारोबार गर्ने प्रणाली ल्याएको छ। जसलाई नेप्से अनलाइन ट्रेडिङ सिस्टम (एनओटिएस) पनि भनिन्छ। अनलाइन प्रणालीमा घरमै बसेर सेयरको कारोबार गर्न सकिन्छ। अनलाइन प्रणालीमा इन्टरनेटको पहुँच भएको जुनसुकै ठाउँमा बसेर पनि सेयरको किनबेच गर्न सकिन्छ।  सामान्यतः सेयरको अनलाइन कारोबार प्रणालीको सुरुवात भएपछि ब्रोकर कम्पनीमा गएर सेयरको कारोबार गर्नुपर्ने बाध्यता हुँदैन। अनलाइन प्रणालीमा इन्टरनेटको माध्यमबाट विश्वको कुनै कुनामा बसेर सेयरको कारोबार गर्न सकिन्छ।

सुरुवाती चरण
अनलाइन कारोबार प्रणाली नेपालमा भर्खर सुरुवात भएको छ। सबै लगानीकर्ताले तत्काल अनलाइन कारोबारको उपभोग गर्न पाएका भने छैनन्। तर चाँडै नै सबै लगानीकर्ताले अनलाइन कारोबार प्रणालीको उपयोग गर्न पाउँछन् भन्ने आशा गर्न सकिन्छ। नयाँ प्रणाली कार्यान्वयन गर्न केही समय भने अवश्य लाग्छ तर नेपालको सेयर बजारमा अनलाइन प्रणालीको कारोबार गर्न लामो समय पर्खिनुपर्ने अवस्था भने देखिँदैन। 

प्राइमरी र सेकेन्डरी अनलाइन
प्राथमिक बजारको सेयर खरिदका लागि मेरो सेयर अनलाइनको प्रयोग गरिन्छ। मेरो सेयर सिडिएसले जारी गरेको सफ्टवेयर हो भने सेकेन्डरी सेयरको कारोबार गर्ने सफ्टवेयर नेप्सेले जारी गरेको सफ्टयर हो, जुन ब्रोकरमार्फत् लिइन्छ।

प्राइमरी बजारको सेयरको खरिद पूर्णरुपमा अनलाइनबाट गर्न सकिन्छ। कुनै पनि कम्पनीले प्राइमरी सेयर जारी गर्यो भने अनलाइन मार्फतै सेयर भर्न सकिन्छ। दोस्रो बजारको सेयरका कारोबार पनि अनलाइनमार्फतै हुन सुरुवात भएको छ। अनलाइनबाटै प्राइमरी र सेकेन्डरी सेयरको कारोबारले सेयर बजारको बिस्तारमा सहजता आउने देखिन्छ।

२०७४ मा आश्वा प्रणाली लागू भएसँगै प्राथमिक सेयरको खरिद पनि अनलाइनमार्फत् हुन थाल्यो। प्राथमिक सेयर अनलाइनमार्फत् भर्न पाउने भएपछि लाइन बस्नुपर्ने झन्झट पनि हट्यो। आश्वा प्रणालीलाई विद्युतीकरण गरेर प्राइमरी सेयरको खरिद अनलाइनमार्फत् हुन थाल्यो। अनलाइनमार्फत् प्राइमरी सेयरको खरिद हुन थालेपछि बैंक जानु पर्ने झन्झटसमेत हट्यो।

सिडिएसले मेरो सेयरको सफ्टवेयर बनायो। मेरो सेयर भनेको सफ्टवेयर हो। जुन ठाउँबाट डिम्याट खोलिन्छ, त्यहीँबाट यो सफ्टवेयर लिन सकिन्छ। प्राइमरी सेयर भर्दा मेरो सेयर अनलाइनमार्फत् भर्न सकिन्छ। पहिलो पटक अनलाइनबाट प्राइमरी सेयर खरिद गर्दा सिआरएन नम्बर लिनुपर्छ। जसले मेरो सेयर र बैंक खाता लिंक हुन्छ। सिआरएन नम्बर लिएर प्राइमरी सेयर भर्दा बैंक खातामा भएको रकम ब्लक हुन्छ। सेयर प¥यो भने सो सेयर भरेबापतको रकम काटिन्छ। सेयर परेन भने बैंक खातामा भएको रकम केही हुँदैन (यथावत रहन्छ)। अनलाइन कारोबार गर्दा बैंकमा जानु पर्दैन। मेरो सेयरको सफ्टवेयर खरिद गरेबापत वार्षिक ५० रुपैयाँ शुल्क तिर्न पर्छ। ब्रोकरमा गएर सँधै कारोबार गर्नु पर्दैन।

कारोबार गर्ने प्रक्रिया
घरमा बसेर सेयरको कारोबार गर्नका लागि सर्वप्रथम त बैंक खाता खोल्नु पर्छ। डिम्याट खाता हुनु पर्छ। सेयरको कारोबार गर्ने ब्रोकर कम्पनीमा गएर केवाइसी खोल्नु पर्छ। खाता खोलेपछि ब्रोकरले ट्रेडिङ एकाउन्ट उपलब्ध गराउँछ। त्यसपछि सेयरको अनलाइन कारोबार गर्न सकिन्छ। अनलाइन कारोबार गर्दा कुन कम्पनीको, कति मूल्यको, कति कित्ता सेयर खरिद बिक्रीमा छ भन्ने जानकारी अनलाइनमार्फतै थाहा पाउन सकिन्छ। ग्राहकले सफ्टवेयर पाउँछन् र सफ्टवेयर लिएपछि कारोबार गर्न सकिन्छ। अनलाइनमार्फत् सेयरको खरिद गर्दा खरिदकर्ताको बैँक खातामा रहेको रकम काटिन्छ।

नेपालमा भने पूर्ण अनलाइनको कारोबार भने तत्काल भइनसकेको अवस्था छ। नेपाल राष्ट्र बैंकको नियमअनुसार  एक लाख भन्दा धेरै रकम एकैपटकमा अनलाइन कारोबार गर्दा ट्रान्सफर गर्न मिल्दैन। त्यसैले अहिले पनि कारोबार गर्दा एक पटक ब्रोकर कम्पनीमा जानुपर्ने हुन्छ।

अनलाइन सेयर कारोबारमा अनलाइनबाटै सेयर किनबेच हुन्छ। सेयर किन्ने व्यक्तिले अनलाइनबाटै सेयर विक्रेतालाई सेयरको रकम बुझाइन्छ। सेयर किन्ने व्यक्तिले कुन कम्पनीको, कति मूल्य रकमको, कति कित्ता सेयर खरिद गर्ने हो अनलाइनबाटै अर्डर गर्न मिल्छ। सेयर किन्दा आफ्नो बैँक खातामा भएको रकम पनि अनलाइनबाटै विक्रेतालाई ट्रान्सफर गर्न मिल्छ।

गृहिणीको कारोबार बढ्यो
सेयरको अनलाइन कारोबारमा गृहिणीको सहभागिता ह्वात्तै बढेको देखिन्छ। भारतमा हेर्न हो भने पनि अनलाइनबाट सेयरको कारोबार हुन थालेसँगै सेयरको कारोबार गर्ने शिक्षित महिलाको संख्या ह्वात्तै बढेको देखिन्छ। सेयरको अनलाइन कारोबार हुन थालेपछि सेयर बजारमा शिक्षित महिला लगानीकर्ताको संख्या ह्वात्तै बढेको देखिन्छ।

विशेषगरी दक्षिण एसियामा घरायसी काम महिलाले गर्ने चलन छ। नेपालमा पनि महिलाले नै घरायासी कामधन्दा गर्ने चलन छ। महिलाले घरको कामधन्दा सकेर कुनै व्यापार व्यवसाय गर्न पनि कठिन हुन्छ। अझ साना बच्चा हुने महिलाले त झन् गाह्रो हुने नै भयो। घरधन्दा र बच्चाको स्याहारसुसार गर्दा नै दिन बित्न पनि सक्छ। यस्तो अवस्थामा महिलाका लागि सेयर कारोबार उपयुक्त हुन्छ। दैनिक केही घण्टा समय छुट्याएर सेयरको कारोबार गर्न सकिन्छ। अझ अनलाइन कारोबार आएपछि त झन् महिलालाई सेयरको कारोबार गर्न सजिलो हुने नै भयो। इन्टरनेटको सहायताले घरैमा बसेर सेयर भर्नदेखि लिएर सेयरको कारोबार गर्न सकियो।

घरमा बसेर कम्प्युटर तथा ल्यापटपको सहायताले गृहिणीले सेयरको कारोबार गरेर घर खर्च चलाउनुका साथै राम्रो आम्दानी गर्न सकिन्छ। तरकारी किन्दा होस् वा अन्य खर्चबाट बचेको सानो सानो रकम घरैमा बसी सेयरमा लगानी गरेर राम्रो आम्दानी गर्न समेत सकिन्छ। अनलाइन सेयर कारोबार गृहिणीका लागि राम्रो अवसर हो।

कलेजका विद्यार्थी आकर्षित
पछिल्लो समय कलेज पढ्ने विद्यार्थी सेयर कारोबारमा आकर्षित भएको देखिन्छ। ११–१२ पढ्ने भन्दा ब्याचलर लेभल (स्नातक तह) का विद्यार्थी सेयरमा बढी आकर्षित भएको देखिन्छ। २०–२२ वर्ष माथिका विद्यार्थीको आकर्षण यसमा देखिन्छ। सामान्यतः ब्याचलर तहका विद्यार्थी पैसा कमाउने काममा लाग्न थाल्छन्। भविष्यको पनि चिन्ता हुन थाल्छ। त्यसैले विशेषगरी ब्याचलर तहका विद्यार्थीले पैसा कमाउने क्षेत्रको खोजी गर्दा सेयर कारोबारलाई रोजेको देखिन्छ। विशेषगरी म्यानेज्मेन्ट तथा फाइनान्सका विद्यार्थीको सेयर मार्केटमा बढी आकर्षण देखिन्छ। प्रयोगात्मक अनुभवका लागि पनि म्यानेज्मेन्टका विद्यार्थीले सेयरको कारोबार गरेको देखिन्छ। नेपालमा विद्यार्थीका लागि म्यानेज्मेन्ट तथा फाइनान्स सिक्ने राम्रो क्षेत्र सेयर मार्केट बनेको छ।

विद्यार्थीले सेयर बजारमा लगानी गरेर सिक्ने मात्रै हैन राम्रो आम्दानी गरेका पनि उदाहरण छन्। सामान्यतः नेपालको धितोपत्र बजारमा एक कित्ता प्राथमिक सेयर एक सय रुपैयाँ अंकित मूल्यमा किन्न पाइन्छ। नेपालमा न्यूनतन १० कित्ता प्राथमिक सेयर खरिद गर्न पाइन्छ। १० कित्ता प्राथमिक सेयरको एक हजार मूल्य पर्छ। प्राथमिक सेयरमा एक हजारबाट लगानी गर्न सकिन्छ भने सेकेन्डरी मार्केटमा विद्यार्थीले कारोबार गर्न सक्छन्। सुरुवाती सानो कमाइको केही रकम बचाएर विद्यार्थीले मज्जाले सेयरमा लगानी गर्न सक्छन्। सेयरमा लगानी गर्नका लागि ठूलै रकम आवश्यक हुन्छ भन्ने छैन। सानो रकमबाट पनि लगानीको सुरुवात गर्न सकिन्छ।

साथीभाइसँग बसेर दैनिक चिया खाने रकम वचत गर्दा पनि विद्यार्थीले सेयरमा लगानी गर्न सक्छन्। फजुल खर्च गर्नुको साटो आज एक हजार सेयरमा लगानी गर्ने हो भने दश वर्षमा पचासौँ गुणा कमाउन सकिने हुन्छ। जसले भविष्य उज्ज्वल बनाउन सकिन्छ।

अझ अनलाइन कारोबारले त झन् विद्यार्थीलाई कारोबारमा सहज नबनाउने कुरै भएन। अनलाइन कारोबारमा दिनभर ब्रोकर कम्पनीकहाँ पुगेर विद्यार्थीले सेयरको कारोबार गर्नुपर्ने झन्झट हटाउने नै भयो। अफिस वा घरमा बसेर क्षण भरमा नै सेयरको कारोबार गर्न सक्ने प्रणाली आएको छ। जुन विद्यार्थी तथा जागिरेका लागि अत्यन्तै उपयोगी छ।

बेफाइदा भन्दा फाइदा धेरै
अनलाइन कारोबारका बेफाइदा भन्दा फाइदा नै धेरै छन्। सुरुवाती दिनमा भद्रकालीस्थित नेप्सेको कोठाबाट कारोबार सुरुवात भएको नेपालको सेयर बजारको बिस्तार हुँदै गएको छ। ५० वटा ब्रोकरमार्फत् कारोबार भैरहेको छ।

पुतलीसडक–बगबजार क्षेत्रलाई सेयर कारोबारको अखडा मानिएकोमा आज सेयरको कारोबार देशव्यापी भएको छ। अझ अनलाइन कारोबारले त झन् विश्वका कुनै कुनामा बसेर पनि नेपालको सेयर बजारमा लगानी गर्न सकिने अवस्था रहेको छ।

अनलाइन कारोबारले नेपालका कुना–कुनामा रहेका व्यक्तिले सेयरको कारोबार गर्न सक्छन्। अनलाइनको कारोबारले सेयरबजारमा टाढा भएका व्यक्ति पनि सेयर बजारमा आकर्षित हुने देखिन्छ। अनलाइन कारोबारले सेयर बजारको पहुँच बढ्छ। इतिहास हेर्दा प्रविधिको विकाससँगै सेयर बजार पनि विस्तार भएको देखिन्छ।

अनलाइन कारोबारका केही बेफाइदा पनि हुन सक्छन्। अनलाइन कारोबारसँगै नयाँ लाखौँ लागानीकर्ता  पनि आउँछन्। अनलाइनमार्फत् कारोबार गर्दा पनि किनेबेच गरेको पैसाको निश्चित गर्ने काम ब्रोकरले गर्छ। जसको कारणले किन्ने बेच्ने दुवैलाई फाइदा हुन्छ। सेयर खरिद–बिक्रीको रकमको सुरक्षाका लागि पनि ब्रोकरको आवश्यकता छ। ब्रोकरको काम भने घट्ने देखिन्छ। इन्टरनेट आएसँगै कानुन पनि आउनु पर्छ। ब्रोकरले सेवा दिएवापत न्यूनतम ०.४ प्रतिशत र अधिकतम ०.६ प्रतिशत सेवा शुल्क लिन्छ।

कारोबारको सुरक्षाका लागि पनि प्रविधिको नियमन तथा नियन्त्रण गर्नुपर्छ। अनलाइन प्रणालीलाई व्यवस्थित गर्न नियम कानुनको आवश्यक हुन्छ। नेपालमा कानुनी व्यवस्था पनि अनलाइनकारोबार सँगसँगै आउन जरुरी छ।
                                                                          (राणाले उपेन्द्र खड्कासँग गरेको कुराकानीमा आधारित)

प्रकाशित: १ पुस २०७५ ०७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App