coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

बेरुजु चाङमाथि स्थानीय सरकार

रोल्पा – गत आर्थिक वर्ष २०७४/०७५ मा रोल्पाका दश स्थानीय तहमा १२ करोड ५१ लाख १३ हजार ६ सय ७ रुपैयाँ रकम बेरुजु देखिएको छ। जथाभावी पेश्की लिएर त्यसलाई फछर्याैट नगर्नु, बिल भर्पाई नमिलाएरै भुक्तानी गर्नु र पाउनै नपर्ने भुक्तानी पाएकाबाट असुल उपर गर्नुपर्ने करोडाैँ रकम बेरुजुका रुपमा देखिएको हो।

सबैभन्दा बढी माडी गाउँपालिकाको ४ करोड ५४ लाख ४६ हजार ८ सय २१ रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परिक्षकको कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय रोल्पालाई दिएको लेखा परिक्षण प्रतिवेदन अनुसार दोश्रोमा लुङग्री गाउँपालिकाको २ करोड ७० लाख ५५ हजार ५२ रुपैयाँ बेरुजु देखिन्छ। त्यसैगरी रुन्टीगढी गाउँपालिकाको नाममा २ करोड १५ लाख ८७ हजार ३ सय ६ रुपैयाँ बेरुजु देखिएको छ।

उता गंगादेब गाउँपालिकामा १ करोड २३ लाख ६० हजार २ सय ९९ रुपैयाँ बेरुजु देखिएको छ भने सुनछहरी गाउँपालिकाको १६ लाख ४२ हजार ४ सय २८ रुपैयाँ बेरुजु रहेको छ। रोल्पा नगरपालिकाको नाममा १८ लाख ४१ हजार ७ सय ५० रुपैयाँ, थवाङ गाउँपालिकाको ६ लाख ४१ हजार ५ सय रुपैयाँ, सुनिल स्मृती गाउँपालिकाको ५० लाख ३८ हजार ९ सय १६ रुपैयाँ बेरुजु रहेको छ। त्रिबेणी गाउँपालिकाको ९० लाख ७८ हजार ५ सय ७३ रुपैयाँ र परिवर्तन गाउँपालिकाको ४ लाख २० हजार ९ सय ६२ रुपैयाँ बेरुजु देखिएको हो। 

‘बेरुजु तीन किसिमको हुन्छ। एउटा नियमित गर्नु पर्ने, एउटा पेश्की फछर्याैट गर्नु पर्ने र अर्को असुल गर्नु पर्ने। रोल्पाका स्थानीय तहमा देखिएको बेरुजु नियमित गर्नु पर्ने र पेश्की फछर्याैटगर्नु पर्ने बढी देखिएको छ।’ कोष तथा लेखा नियन्त्रक कार्यालय रोल्पाका कोष नियन्त्रक नरेन्द्र बिष्टले भने,‘असुल गर्नु पर्ने बेरुजु खतरनाक हुन्छ। यसको अन्य बिकल्प छैन पैसा नै दाखिला गर्नु पर्छ। नियमित गर्ने र पेस्की फछर्याैट नभएको हकमा कागजात पुग्यो भने वा पेश्की लगेको तर कार्य सम्पादन नभएकाको हकमा काम सक्यो भने बेरुजु घट्न सक्छ।’

सबैभन्दा असहज मानिएको असुल वा दाखिला गर्नु पर्ने बेरुजु रोल्पाका दश स्थानीय तहमा ८४ लाख ६ सय ४० रुपैयाँ रहेको छ। परिबर्तन गाउँपालिकामा २१ हजार ४ सय ९० रुपैयाँ, सुनिल स्मृती गाउँपालिकामा १७ लाख ९७ हजार ५ सय ७४ रुपैयाँ, रोल्पा नगरपालिकामा ३१ हजार ७ सय ५० रुपैयाँ असुल वा दाखिला गर्नुपर्ने बेरुजु रहेको देखिन्छ। त्यस्तै माडि गाउँपालिकामा १३ लाख ६० हजार ८ सय ५० रुपैयाँ, रुन्टीगढी गाउँपालिकामा ९ लाख ४५ हजार ५ सय १० रुपैयाँ, सुनछहरी गाउँपालिकामा १५ लाख १९ हजार ८ सय ६९ र गंगादेब गाउँपालिकामा २७ लाख १५ हजार ५ सय ९७ रुपैयाँ असुल गर्नुपर्ने बेरुजु देखिएको हो।

‘डोजरसंग एकातिरको संझौता अर्को तिर भुक्तानी र तेलको भ्याट बिलले पनि बेरुजु बढेको हो। खरिद प्रकृया पुरा नगरेका कारण थपिएको बेरुजु शिक्षाले बिल क्लीयर नगरी दिँदा झनै बढेको देखिएको छ।’ एक स्थानिय तहका लेखापाल भन्छन ‘जन्रतिनिधिले प्रकृया नै मिलाउँन खोज्दैनन्। हामी नै सरकार प्रमुख हो भन्दै जबरजस्ती काम गराउँछन् अनि त बेरुजु बढिहाल्छ नि। चार पाँच वटा मोटरसाइकल एकै पटक किनेर लेखापालसंग भुक्तानी माग्ने जनप्रतिनिधि यतै छन।’

रोल्पामा गत वर्ष बिभिन्न दश स्थानिय तहले अर्बौ बजेट खर्चेका थिए। रोल्पा नगरपालिकाले ४६ करोड ७५ लाख २७ हजार बजेट रहेकोमा ३८ करोड १२ लाख ६५ हजार ५ सय ४५ रुपैयाँ खर्च गरेको थियो। परिवर्तन गाउँपालिकाले २९ करोड ९७ लाख ७२ हजार ५ सय ४७ रुपैयाँ बजेट रहेकोमा २७ करोड ६२ लाख १० हजार १ सय १० रुपैयाँ खर्च गरेको छ। त्यसै गरि त्रिबेणी गाउँपालिकाले ३२ करोड १९ लाख ५ हजार मध्य ३१ करोड ७८ लाख १३ हजार ८ सय रुपैया खर्च गरेको छ। महालेखा परिक्षकले कोलेनिकालाई दिएको प्रतिवेदन अनुसार सुनिल स्मृती गाउँपालिकाको ३७ करोड ५० लाख ५९ हजार ९ सय ३२ जम्मा बजेट रहेकोमा ३३ करोड ६१ लख ४३ हजार ८० रुपैयाँ खर्च गरेको छ।

उता थवाङ गाउँपालिकाको १९ करोड ४३ लाख ५३ हजार १ सय १६ रुपैयाँ बजेट रहेकोमा १४ करोड ४१ लख ८४ हजार ६ सय ७३ हजार खर्च गरेको छ। माडी गाउँपालिकाको २७ करोड ३६ लाख ५६ हजार ७ सय ५१ रुपैयाँ मध्ये २३ करोड ८८ लाख ८३ हजार ९ सय ३८ रुपैया खर्च भएको छ। रुन्टीगढी गाउँपालिकामा ४० करोड ४ लाख ४३ हजार ४२ रुपैयाँ रहेकोमा ३४ करोड ४१ लख ३ हजार ७१ खर्च भएको छ। सुनछहरी गाउँपालिकाको जम्मा बजेट २६ करोड ५७ लाख ३१ हजार ८ सय ५ रुपैया रहेकोमा २४ करोड ६८ लाख ९४ हजार ८ सया ८४ रुपैयाँ खर्च भएको देखिन्छ।

त्यसैगरी गंगादेब गाउँपालिकाको कुल बजेट २७ करोड ४४ लाख १२ हजार २ सय ७८ रुपैयाँ रहेकोमा २१ करोड ३७ लाख ५० हजार ४ सय ९० रुपैयाँ खर्च गरिएको छ। लुङग्री गाउँपालिकाको ३० करोड २६ लाख ७७ हजार ३ सय ५४ जम्मा बजेट रहेकोमा २७ करोड ५२ लाख २८ हजार ४ सय १९ रुपैयाँ खर्च भएको छ।

प्रकाशित: १ पुस २०७५ ०६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App