coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

चोभार डाँडामा उभिँदै मञ्जुश्री

चोभारमा बनेको नेपालकै अग्लो ढुंगेमूर्तिका रुपमा उभिएका मञ्जुश्री। तस्विर : चाँदनी हमाल

काठमाडौं - ऐतिहासिक पात्र मञ्जुश्री चोभारको डाँडामा उभिएका छन्। चित्र र कल्पनामा रहेका मञ्जुश्रीलाई अब मानिसले भौतिक रुपमै भेट्न पाउने छन्। उनको अग्लाई उचाइमा मात्र हैन, ऐतिहासिक रुपमा पनि उचो छ। यहाँ मूर्तिकार चन्द्रश्याम डंगोलले झण्डै ६ वर्षदेखि मेहनतबाट ३३ फिटको मञ्जुश्रीको मूर्ति तयार पारेका छन्। चोभारमा डंगोलले नै उभ्याएको मञ्जुश्रीको अन्तिम सिंगारपटार भइरहेको छ। ‘तीनवर्ष त खोकनाको आफ्नै मूर्ति पसलमा यसको आकृति तयार पार्न लाग्यो,’ डंगोलले नागरिकसँग भने, ‘तेह्रवटा ढुंगाको टुक्राबाट यस्तो विशाल मूर्ति बनाउन निकै गाह्राे भयो।’ उनलाई सहयोग गर्ने सहयोगीको साथ र रातदिनको मेहनत सफल भएपछि डंगोल दंग छन्। मञ्जुश्री बनाउनु डंगोलका लागि चानचुने कुरा थिएन। फोटोहरूमा हेर्दा मञ्जुश्रीको मुहार महिलाको जस्तै कोमल र सुन्दर देखिन्थ्यो। त्यसैले पनि केही अध्यताहरू मञ्जुश्री महिला पात्र थिए भनेर दाबी गरिरहन्थे। तर इतिहासको पानामा भने नेपाल भ्रमणमा आएका मञ्जुश्रीसँग अन्य दुईजना महिला पात्र रहेको भन्ने उल्लेख रहेको भेटिएपछि भने डंगोललाई मञ्जुश्रीको शारीरिक ढाँचा निर्माण गर्न सहज भएको थियो।

मञ्जुश्रीसँग बरदा र मोक्षदा नामका दुई महिला आएका थिए। मञ्जुश्रीको अग्लो मूर्ति बनाउन एउटै ठूलो ढुंगाको खोजी गर्न भने डंगोल सफल भएनन्। उनले फर्पिङबाट ल्याउन खोजिएको ढुंगा अन्तिम समयमा कानूनी अड्चनका कारण रोकिएपछि साना ढुंगाका टुक्राबाटै विशाल मञ्जुश्रीको कल्पना गरिएको बताए। आकृतिका लागि रविन्द्र ज्यापु, सुखसागर श्रेष्ठ, नरेशमोहन बज्राचार्य, सत्यमोहन जोशीलगायतका संस्कृतिकर्मीको निरन्तर रेखदेख रह्यो। ‘प्रत्येक टुक्राको फरक चित्रण र कलात्मकतालाई सन्तुलित ढंगले एउटै शारीरिक ढाँचामा ल्याउनुपर्दा मन र मस्तिष्क एउटै बनाएँ,’ उनले भने, ‘अझ मञ्जुश्रीलाई नेपाली पाराको कलात्मकतामा ढाल्न त्यही खालको मेहनत लामो समय ग¥यौं।’ उनका अनुसार चित्रका विभिन्न भाग जोडेर एउटा सम्पूर्ण चित्र बनाउन जति सहज हुन्छ। त्यो भन्दा कयौं गुणा असहज ढुंगा जोडेका एउटै मूर्ति बनाउन हुन्छ। झण्डै दुई महिनाको मेहनत पछि बल्ल मञ्जुश्रीको आकृति अनुहारमा निकाल्न सकेको उनी सम्झन्छन्। उनको निर्देशनमा अन्य आठ कालीगढले टुक्रामा बुट्टा भर्ने काममा सघाएका थिए। डंगोललाई शीरको मुकुटमा सातवटा चुच्चो, पाँचवटा कपालका चुल्ठो, चोभारको डाँडो काटेको खड्ग र ज्ञानको संकेत बोल्ने प्रज्ञापारमिता पुस्तक जस्ता चिजको सम्मिश्रण ठूलो मूर्तिमा गर्नु अर्को चुनौती थियो। 

डंगोलले मूर्तिमा प्रयोग गरिएको गहना र कपडामा नेपाली चिनिया शैलीको झल्को दिएका छन्। बौद्धमार्गीका रुपमा चित्रण गर्न ज्ञानमुद्राको हातसँगै कोमलता र शुद्धता चित्रण गर्ने मञ्जुश्री उभिएको कमलसमेत मूर्तिकै भागमा पर्छ। 
तेह्रवटा टुक्रामा बाँडिएको मञ्जुश्रीलाई चोभारमा बोन टाइटबाट जोडेर एउटै बनाएर उभ्याएपछि यसको विशालता देखेर कलाकार डंगोल आफै छक्क परेका छन्। अनुमानित ६० टनको ढुंगाबाट बनेको मूर्तिको आफ्नै भागमात्रै २५ फिटको छ। भूकम्प प्रतिरोधी बनाउन अझ थप आठ फिटको ढुंगाको स्थायी जमिमाथि थपिएको छ। मूर्तिमा मानव अंगको रङ र कपडा गहनाको रङ छुट्याउने गरी उनले अर्को मेहनत गरेका छन्। प्रायजसो ढुंगाको मूर्तिमा कुन कपडा हो र कुन अंगको भाग हो भन्ने छुट्टिदैन। तर मञ्जुश्रीको मूर्तिमा त्यो फरकपन भेटिन्छ। झण्डै सात सय वर्ष अघि बुढानीलकण्ठमा भगवान् विष्णुको शेषनाग माथि बनेको विशाल मूर्ति बनेको इतिहास नेपालमै छ। त्यसपछि बनेको सबैभन्दा ठूलो ढुंगाको मूर्ति मञ्जुश्रीकै रहेको दाबी डंगोल गर्छन्। स्थानीय जलविनायक सामुदायिक वनको रेखदेखमा रहेको मञ्जुश्री पार्कको भूमिमा यो मूर्ति बनाउन हालसम्म झण्डै दुई करोड खर्च भईसकेको वनका कोषाध्यक्ष सुजिन्द्र महर्जन बताउँछन्। 

महर्जनले वरिपरिको सजावट र कम्पाउण्डसहित अन्तिमसम्मको खर्च झण्डै पाँच करोड लाग्ने बताए। ‘पहिले त सानो मानव कदको मूर्ति राख्ने सोचेका थियौं,’ उनले भने, ‘तर उपत्यकाको इतिहास दर्शाउने मूर्तिको इतिहास बनाउनकै लागि विशाल मूर्ति बनाउने निर्णय ग-यौं।’ 

निर्माणाधिन विशाल मञ्जुश्री हेर्न स्थानीय र विदेशी पर्यटकको अहिलेदेखि नै भिड लाग्ने गरेको छ। चोभारस्थित मञ्जुश्री पार्क पारी पट्टीको पिकनिक क्षेत्र र फिल्म सुटिङका लागि प्रख्यता डाँडोमा मञ्जुश्री बनाइएको छ। सिंगो मूर्ति स्वतन्त्र रुपमा ठडिन अझै ६ महिना लाग्ने कलाकारले बताए। 

त्यो डाँडाबाट उत्तरपट्टी हिउँदमा सुन्दर हिमश्रृंखलाका बीच सगरमाथा देखिन्छ। सुनौलो रङमा देखिने सगरमाथासँगै विशाल मञ्जुश्रीको आकर्षण नेपाली र विदेशी पर्यटकमा बढाउने प्रयास सामुदायिक वनले गरिरहेको छ। काठमाडौं उपत्यकाको उत्पत्तिसँग चोभार डाँडाको बलियो साइनो छ। चीनबाट आएका मञ्जुश्रीले चोभार डाँडालाई खड्गले काटेर उपत्यकालाई मानिस बस्न योग्य बनाएको किंवदन्ती ऐतिहासिक ग्रन्थमा पाइन्छ। पानीले भरिएको काठमाडौंलाई पानी मुक्त बनाउन चोभार डाँडा काटेर चोभारको गल्छी हुँदै बाहिर पठाउने उनै मञ्जुश्री अब चोभारमै उभिएर आउनेजाने आन्तरिक तथा बाह्य पर्यटकको स्वागत गर्न तयार छन्।

मूर्तिमा प्रयोग गरिएको गहना र कपडामा नेपाली चिनिया शैलीको झल्को दिएका छन्। बौद्धमार्गीका रुपमा चित्रण गर्न ज्ञानमुद्राको हातसँगै कोमलता र शुद्धता चित्रण गर्ने मञ्जुश्री उभिएको कमलसमेत मूर्तिकै भागमा पर्छ।

प्रकाशित: १ पुस २०७५ ०३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App