४ वैशाख २०८१ मंगलबार
राजनीति

जनप्रतिनिधिको भ्रमण मोह : खर्च लाखौं, उपलब्धि शून्य

सुर्खेत-सुर्खेतका तीनवटा स्थानीय तहका पाँच जनप्रतिनिधि १५ दिने थाइल्यान्ड भ्रमण गरेर स्वदेश फर्किए। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ताओ एसोसिएसनको निमन्त्रणामा थाइल्यान्ड गएका उनीहरु अहिले आआफ्नो स्थानीय तहबाट खर्चको भुक्तानी लिने तयारीमा छन्। चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उपाध्यक्ष निर्मला राना, लेकबेंसी नगरपालिकाका उपमेयर शान्ति छन्तेल र सोही गाउँपालिका वडा नम्बर–८ का अध्यक्ष टोपबहादुर टंलामी तथा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१ का सदस्य डम्बर नेपालीसहितको टोली थाइल्यान्ड गएको थियो।

लेकबेंसी नगरपालिकाले उपमेयर र वडाध्यक्षलाई थाइल्यान्ड जाँदा र आउँदा लागेको हवाई टिकटको पैसा दिने निर्णय गरिसकेको छ। चौकुने गाउँपालिकाले कार्यपालिका बैठकमा यससम्बन्धी प्रस्ताव लैजाने तयारी गरेको छ। ‘थाइल्यान्ड गएको र फर्केको हवाई टिकटका आधारमा रकम भुक्तानी दिने निर्णय भएको छ’, लेकबेंसी नगरपालिकाका मेयर गगनसिं सुनारले भने, ‘एकदुई दिनभित्रै उपमेयर र वडाध्यक्षको टिकटमा लागेको खर्चको भुक्तानी हुन्छ।’ उपमेयर छन्तेलले प्रतिव्यक्ति टिकटमा ६६ हजार रुपैयाँ खर्च भएको बताइन्।
पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिको विदेश मोह बढ्दै गएको देखिन्छ। नौवटा स्थानीय तह रहेको सुर्खेतका अधिकांश जनप्रतिनिधि विदेश पुगेर फर्केका छन्। सुर्खेतमा मात्रै होइन् कर्णाली प्रदेशका ७९ स्थानीय तहका अधिकांश जनप्रतिनिधि विदेश पुगिसकेका छन्। जनप्रतिनिधिले विभिन्न उद्देश्य राखेर विदेश र अन्तरजिल्ला भ्रमण गरे पनि उपलब्धि भने शून्यजस्तै रहेकोे एक जनप्रतिनिधिले बताए।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढा र निमित्त प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर धरला कात्तिक पहिलो साता चीन भ्रमण गए। जिल्लामा पाँचतारे पर्यटकीय होटल निर्माण, बहुउपयोगी सिबक्थ्रोन (डालेचुक) को प्रचारप्रसार र प्राविधिक शिक्षालय निर्माणका लागि आर्थिक सहयोग जुटाउने भन्दै चीन गएका उनीहरूले लाखौं रुपैयाँ खर्चिए।
स्रोतका अनुसार उनीहरूको चीन भ्रमण क्रममा नगरपालिकाको छ लाख रुपैयाँ खर्च भएको छ। नगरप्रमुख र प्रशासकीय अधिकृतका लागि जनही एक लाख ५० हजार र सिबक्थ्रोन (डालेचुक) को किताब नेपाली, अंग्रेजी र चिनियाँ भाषामा लेखन तथा प्रकाशनबापत दुई लाख ५० हजारसमेत गरी ६ लाख रुपैयाँबराबरको रकम खर्च भएको छ। नगरप्रमुख ओमबहादर बुढाले नगरकै खर्चमा भ्रमण गरिएको भए पनि खर्च विवरणबारे आफूलाई जानकारी नभएको बताए। गत वर्ष पनि अंगुर खेतीको स्थलगत अवलोकन र अध्ययन नाममा जनप्रतिनिधिहरु भारतको नासिक र मुम्बई गएका थिए। अंगुर र स्याउको व्यावसायिक खेती अवलोकनका लागि गएको सो टोलीले पनि लाखौं रुपैयाँ खर्च ग¥यो।

दुई नगरपालिका र छ गाउँपालिका रहेको डोल्पामा गत वर्ष काइके र जगदुल्ला गाउँपालिकाबाहेक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले विदेश तथा अन्तरजिल्ला भ्रमणका नाममा दुई करोड रुपैयाँभन्दा बढी खर्च गरेका थिए।
कात्तिक पहिलो साता जुम्ला तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने चीन गए। स्थानीय तहको विकास, समृद्धि र ऊर्जा क्षेत्रको सम्भाव्यता अध्ययन अवलोकनका लागि भन्दै उनले एक साता लामो चीन भ्रमण गरे। भ्रमणमा उनले चीनको सिचुवान प्रान्तका विभिन्न स्थानको अवलोकन गरे। अध्यक्ष न्यौपानेका अनुसार गाउँपालिकाको विकासका लागि चिनियाँ विकास मोडल र लगानी ल्याउन भ्रमण केन्द्रित थियो। ‘हाम्रो गाउँपालिकालाई समृद्ध बनाउन चीनको वस्तुस्थिति बुझ्न गएको हुँ,’ उनले भने, ‘उज्यालो गाउँपालिका बनाउने लक्ष्य छ। वायु ऊर्जा उत्पादनका लागि आवश्यक लगानी भिœयाउने भ्रमणको प्रमुख लक्ष्य राखेर भ्रमण भएको हो।’

१४ हजार जनसंख्या रहेको सो गाउँपालिकाका अधिकांश बस्तीमा विद्युत् पुग्न सकेको छैन। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईंले चिनियाँ लगानी भिœयाउन गाउँपालिकाको निर्णय अनुसार अध्यक्षको चीन भ्रमण भएको बताए। कार्यपालिकाको निर्णयअनुसार बैकल्पिक प्रबद्र्धन केन्द्रले उनलाई चीन भ्रमणमा लगेको थियो। स्थानीयले भ्रमणबाट सिकेको उपलब्धि गाउँपालिकामा कार्यान्वयनमा ल्याउन सुझाएका छन्।
अन्तरजिल्ला भ्रमणका नाममा पनि उस्तै

स्थानीय तहहरूले अन्तरजिल्ला भ्रमणका नाममा पनि लाखौं रुपैयाँ खर्च गरिरहेका छन्। सुर्खेतको बराहताल गाउँ कार्यपालिकाको टोली चालु आर्थिक वर्षको पाँच महिनामा दुईपटक भ्रमणमा निस्कियो। पछिल्लो समय मंसिर १८ देखि २३ गतेसम्म भएको अन्तरजिल्ला भ्रमणमा कार्यपालिकाका सदस्य र कर्मचारी पूर्वको धनकुटादेखि सिन्धुलीगढी हुँदै काठमाडौंको चन्द्रागिरीसम्म पुग्न भ्याए। ‘खासमा धनकुटाको हिलेमा जनजातिले सञ्चालन गरेको होमस्टे अवलोकन गर्ने कार्यक्रम थियो’, कार्यपालिकाका सदस्य मणिराज कार्कीले भने, ‘पूर्वका धेरैजसो पर्यटकीय क्षेत्रको पनि भ्रमण गरेर आयौं।’
गाउँपालिकाले पाँचदिने भ्रमणका लागि पाँच लाख रुपैयाँ छुट्याएको थियो। धनकुटाबाट फर्किने टोली सिन्धुली हुँदै काठमाडौं पुगेपछि भ्रमण खर्च दोब्बर भएको छ। चालु आवको सुरुमै गाउँपालिकाले तीन लाख रुपैयाँ खर्चेर वडा १ र २ का महिलाहरुलाई पनि यस्तै भ्रमण गरायो। ‘ज्येष्ठ नागरिक, अरु वडाका महिला स्वास्थ्य स्वयंसेवीकालाई पनि भ्रमण गराउने कार्यक्रम छ’, कार्यकारी अधिकृत यादव सापकोटाले भने, ‘वडावडाबाट पनि छुट्टै भ्रमणका कार्यक्रम बनेका छन्।’

गाउँ कार्यपालिकाको पहिलो बैठकले पाँचवर्षे कार्यकालभित्र सबै महिला स्वास्थ्य स्वयंसेवीकालाई भ्रमण गराउने नीतिगत निर्णय नै गरेको थियो। कार्यकारी अधिकृत सापकोटाले सभा सदस्यले पनि भ्रमण गराउन माग गरेको बताए। ‘आगामी गाउँसभाबाट उहाँहरुको भ्रमणका लागि पनि बजेट व्यवस्था गर्छौं’, उनले भने, ‘भ्रमणमा जाँदा नयाँ कुरा सिकिन्छ, यसलाई अन्यथा लिनुहुन्न।’
कालिकोटका अधिकांश स्थानीय तहले पनि भ्रमणका नाममा लाखौं बजेट खर्च गरेका छन्। गत आर्थिक वर्षमा अन्तरजिल्ला भ्रमणमा जनप्रतिनिधि र कर्मचारीले लाखौं रुपैयाँ खर्चेका हुन्। कृषि, पर्यटन, भेटेनरी र सहकारीलगायत क्षेत्रको अवलोकन तथा भ्रमण गर्ने भन्दै बजेट खर्च गरेको पाइएको छ। शुभकालिका गाउँपालिकाले पूर्वको इलामको चियाबगान, मुस्ताङ, तनहुँलगायत ठाउँको भ्रमण गरेको थियो। गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले भ्रमणमा १५ लाख बजेट खर्च भएको बताए। गाउँपालिकाले भ्रमणमा लाखौं बजेट खर्च गरेपछि चौतर्फी आलोचना भएको थियो। चालु आर्थिक वर्षमा भने भ्रमणतर्फ बजेट विनियोजन नगरिएको अध्यक्ष चौलागाईंले सुनाए।

खाँडाचक्र नगरपालिकाले पनि अवलोकन तथा भ्रमणका लागि ५ लाख बजेट खर्च गरेको छ। जनप्रतिनिधि, किसान र कर्मचारीले अन्तरजिल्ला भ्रमण गरेर ५ लाख बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत कासीप्रसाद पंगेनीले बताए।
रास्कोट नगरपालिकाले पनि भ्रमणमा ७लाख ५० हजार रुपैयाँ खर्च गरेको छ। कृषि तथा भेटेनरीको अवलोकन भन्दै केही जनप्रतिनिधि, कर्मचारी र किसानले चितवन र पोखरा घुमेका छन्। कृषि र भेटेनरीतर्फको अध्ययन अवलोकन भ्रमणमा साढे सात लाख खर्च भएको रास्कोट नगरका लेखापाल ज्ञानबहादुर वलीले बताए।

–नगेन्द्र उपाध्याय, सुर्खेत, डिबी बुढा, जुम्ला, विष्णु देवकोटा,डोल्पा र पवित्र शाही,कालिकोट

प्रकाशित: १ पुस २०७५ ०२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App