coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अपराधीको अखडा बन्दै सीमाक्षेत्र

दमक - जिल्लाको दक्षिणी सीमावती क्षेत्र अपराधीको अखडा बन्दै गएको छ। हत्या, अपहरण र लुटपाटजस्ता आपराधिक घटना वृद्धि हुँदै जानुले यो तथ्यलाई पुष्टि गरेको छ। खुला सीमाका कारण आपराधिक क्रियाकलाप गरी भारततर्फ भाग्न सहज हुने भएकाले समेत यस्ता घटनामा वृद्धि भएको प्रहरीको भनाइ छ।

भदौयता सीमावर्ती क्षेत्रमा दुईजनाको हत्या भयो। हत्याको घटनामा भारतीय र नेपाली दुवैथरीको संलग्नता रहेको पाइएको छ। यसै साता एक भारतीय बालक फिरौतीका लागि अपहरणमा पर्यो। सो घटनामा पनि नेपाली र भारतीयको संलग्नता भेटिएको छ। गत भदौमा दमकका व्यवसायी खेमनाथ पौडेलको हत्या भयो। भदौ २५ गते पत्नी दीपासहित पसलको बाँकी उठाउन गएका खेमनाथ पौडेलको सीमावर्ती क्षेत्रमा हत्या गरियो। दीपालाई छक्याएर खेमनाथलाई एक्लै बनाएर हत्या गरिएको थियो। हत्यामा संलग्न भनिएका सद्दाम हुसेनलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।

यस्तै कात्तिक १६ गते सीमावर्ती गौरीगन्न्ज गाउँपालिका–२ का ५५ वर्षीय अलकचन राजवंशीको शव फेला परेको थियो। भारत किसनगन्ज जिल्लाको लुहागास्थित कासघारीमा गाडिएको अवस्थामा उनको शव फेला परेको थियो। झारफुकका लागि भन्दै गएका राजंवशीको शव नेपाल–भारत सीमादेखि पाँच सय मिटर दक्षिण भारतीय क्षेत्रमा गाडिएको अवस्थामा शव फेला परेको थियो।

केही दिनअघि झापाको गौरीगन्जसँग सीमा जोडिएको भारतको सुपौल जिल्ला बिहारका सात वर्षीय बालक अपहरणमा परे। १५ लमख रुपैयाँ फिरौती माग्ने उद्देश्यले उक्त अपहरण गरिएको तथ्य फेला परेको प्रहरीले बताएको छ। अपहरण गर्ने र फिरौती माग्ने सो धन्दामा संलग्न भारतीयसहित सीमावर्ती गौरीगन्ज गाउँपालिकाका तीन नेपाली पक्राउ परे। पक्राउ पर्ने नेपालीमा संघीय समाजवादी फोरमका तर्फबाट संसदीय निर्वाचनमा उम्मेदवारसमेत रहेका ४७ वर्षीय बद्री यादवसहित गौरीगन्ज–४ का ३१ वर्षीय श्रीप्रसाद मल्हा र गौरीगन्ज–४ की २७ वर्षीया अन्जु मुखिया छन्। भारत बिहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सद्दामका छोरा सात वर्षीय मैफुज आलमलाई गत मंसिर २० गते घरैबाट अपहरण गरी त्यहाँबाट गौरीगन्ज हुँदै दमकको एक होटलमा बन्धक बनाएर राखिएको अवस्थामा प्रहरीले फेला पारेको थियो।

भारतीय बालक अपहरण गरेर ल्याई फिरौती माग्ने धन्दामा नेपालीकै सहयोग र आश्रय पाइएपछि भारतीय अपराधीहरूले नेपाली भूमीमा बसेर सहज रूपमा आपराधिक गतिविधि गरिरहेको प्रहरीको भनाइ छ। भारतीयसँग नाता सम्बन्ध, आर्थिक लेनदेनसम्म हुने गरेपछि आवतजावत बढ्दै जाने र बिस्तारै अपराधमा मिलेमतो हुने गरेको देखिएको छ। अपराधमा संलग्न भारतीयहरूमाथि के–कस्तो कारबाही चलिरहेको छ भन्ने यकिन नभए पनि बालक अपहरण र फिरौती माग गर्ने यादवसहित तीनजनाविरुद्ध भने नेपाल प्रहरीले शरीर बन्धक तथा अपहरण मुद्दा चलाएको छ। इलाका प्रहरी कार्यालय गौरीगन्जका इन्सपेक्टर टेकेन्द्र पौडेलले अपहरणमा परेका ती बालकलाई भारतीय प्रहरीको जिम्मा लगाइएको बताए। गत आइतबार मात्रै गौरीगन्ज–२ भाकुरमारीबाट प्रतिबन्धित लागूऔषध ओसारपसारमा संलग्न एक भारतीयविरुद्ध पनि इलाका प्रहरी कार्यालय गौरीगन्जले लागूऔषध ओसारपसार मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाइरहेको छ।

‘अपराधमा संलग्नको पहिचान भारतमै गएर गरिए पनि कारबाहीका लागि भने भारतीय प्रहरीकै भर पर्नुपर्ने बाध्यता छ,’ पौडेलले भने, ‘त्यहीं कारणले समेत हामीलाई समस्या पर्ने गरेको छ।’ इन्सपेक्टर पौडेल सीमित जनजशक्तिका कारण सुरक्षा दिने चुनौती रहेको बताउँछन्। उनले सीमाक्षेत्रमा बढ्दो आपराधिक घटना नियन्त्रणका लागि प्रहरी सक्रिय रहेको उनको दाबी छ। ‘भूगोल ठूलो छ, ३० जनाको जनशक्तिले काम कसरी धान्न सक्छ,’ उनले भने, ‘हामीले सकेसम्म काम गरिरहेका छौं।’ पौडेलले सीमाक्षेत्रमा लागूऔषध दुर्व्यसनी सबैभन्दा ठूलो समस्या रहेको उल्लेख गरे। उनले भारतीय बजारमा पुगेर लागू औषध सेवन गर्ने र नेपालमा घटना घटाउने प्रवृत्ति रहेको बताए।

प्रकाशित: १ पुस २०७५ ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App