coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

कोहलीले फर्काए भारतको लय

पर्थ – कप्तान विराट कोहलीले समालिएर ब्याटिङ गरेपछि पर्थमा जारी अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा शनिबार भारत लयमा फर्किएको छ। 

कोहलीले नटआउट ८० रन बनाएपछि भारतले दोस्रो दिन निकै निराशाजनक स्थितिबाट सुधार गर्दै तीन विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो। अस्ट्रेलियाले प्रस्तुत गरेको ३ सय २६ रनलाई पछ्याएको भारत सात विकेट बाँकी हुँदा अझै १ सय ५४ रनले पछि छ।

अजिन्क्या रहाने पनि ५२ रनमा नटआउट छन्। चौथो विकेटका लागि विराट र अजिन्क्या रहानेले दोस्रो दिनको समाप्तिसम्म ९० रनको साझेदारी गरेका छन्। पहिलो टेस्ट जित्दै उत्कृष्ट सुरुआत गरेको भारतले दोस्रो टेस्टको बिहानी सत्रमै बिर्सनलायक ब्याटिङको सामना ग-यो।

अस्ट्रेलियन बलर मिचेल स्टार्कले भारतका ओपनर मुरली विजयलाई खाता नखोल्दै पवेलियनको बाटो देखाए। त्यसपछि ५.१ ओभरमा अर्का ओपनर लोकेश राहुललाई २ रनमै जस हाजलेउडले आउट गर्दै भारतलाई ठूलो झड्का दिए। दुई ओपनर बिहानी सत्रमै आउट हुँदा भारतको खातामा ६ रन मात्र थियो।

त्यसपछि ब्याटिङ गर्न आएका चेतेश्वर पुजारा पनि २४ रन बनाएर आउट भए। चेतेश्वर तेस्रो विकेटको रूपमा आउट हुँदा भारतको खातामा ३६ रन मात्र थियो। तर, त्यसपछि ब्याटिङ गर्न आएका रहाने र विराटले समालिएर ब्याटिङ गर्दै भारतीय इनिङ समाले। दुवैले १ सय ३६ रन बनाउँदा भारत लयमा फर्किन सफल भयो।

समालिएर ब्याटिङ गरेका विराटको इनिङमा ९ चौका मात्र छ। उनले टेस्टमा करियरको २५औ अर्धशतक प्रहार गरे। रहानेले ६ चौका र एक छक्का प्रहार गरे। भारतको बलिङमा ईशान्त शर्माले चार विकेट लिँदा जसप्रीत बुमराह, उमेश यादव र हनुमान बिहारीले समान दुई विकेट निकालेका थिए। त्यसअघि अस्ट्रेलियाका लागि ओपनर मार्कुस ह्यारिसले ७० रन र एरोन फिन्चले ५० रनको योगदान दिए। 

उनीहरूले पहिलो विकेटका लागि १ सय १२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए। ह्यारिसले १ सय ४१ बल खेल्दै १० चौका प्रहार गरे। फिन्चले १ सय ५ बलमा ६ चौका हिर्काएका थिए। फिन्च र ह्यारिस पवेलियन फर्किएपछि केही धरमराएको अस्ट्रेलियाको इनिङ सन मार्स र ट्राभिस हेडले पाँचौं विकेटका लागि ८४ रनको साझेदारी गर्दै उकासेका थिए। 

मार्स ४५ र हेड ५८ रन बनाएर आउट भएका थिए। पहिलो दिनको खेल समाप्तिमा अस्ट्रेलियाले २ सय ७७ बनाउँदा ६ विकेट गुमाएको थियो। तर, कप्तान तथा विकेटकिपर टिम पायने ३८ रनमा र प्याट कमिन्स १९ रनमा आउट भएपछि घरेलु टोलीले दोस्रो दिन थप ४९ रन मात्र जोड्न सफल भयो। 

 

प्रकाशित: १ पुस २०७५ ०१:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App