८ वैशाख २०८१ शनिबार
अर्थ

नेसनल माइक्रोफाइनान्सको मुनाफा साढे १३ करोड

धादिङ - नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले १३ करोड ४६ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको संस्थाले जनाएको छ। धादिङको नीलकण्ठ नगरपालिकामा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले हाल दुई अर्ब ६३ करोड लगानीमा रहेको कर्जामा नाफा गर्न सफल भएको अध्यक्ष केशवप्रसाद आचार्यले जानकारी दिए। 

धादिङबेसीमा भएको साधारणसभाले आव ०७४/७५ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांस गरी कुल ४० प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साधारणसभाले पारित गरेपछि संस्थाको चुक्ता पुँजी १२ करोड तीन लाख ५६ हजारबाट वृद्धि भई १५ करोड चार लाख ४५ हजार पुगेको अध्यक्ष आचार्यले बताए। 

‘लघुवित्त कार्यक्रममार्फत समाजमा रहेका विपन्न तथा गरिब वर्गको जीवनस्तर माथि उठाउने र राष्ट्रको गरिबी न्यूनीकरणमा टेवा पु-याउने काम गरिरहेका छौं,’ अध्यक्ष आचार्यले भने, ‘संस्थाबाट आएको नाफाबाट सेयरधनीलाई ४० प्रतिशत लाभांस समेत वितरण गर्ने निर्णय गरेका छौं।’ 

वित्तीय संस्थाले चार वर्षमा ३७ जिल्लामा ५० शाखामार्फत सेवा दिइरहेको छ। धादिङ जिल्लामा भने नीलकण्ठ नगरपालिकाको धादिङबेसी र गोगनपानीमा शाखा रहेको छ। त्यसका लागि संस्थाले नौ अर्ब ८६ करोड ६ लाख कर्जा वितरण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले जानकारी दिए। ‘सदस्यबाट ८४ करोड २२ लाख बचत संकलन गर्न सफल भएका छौं,’ कार्यकारी अधिकृत यादवले भने, ‘ग्राहकमा उद्यमशीलता विकास गर्नका लागि आवश्यकता पहिचान गरि सीप विकास तालिम कार्यक्रम तर्फ मुख्य केन्द्रित गरेका छौं।’ 

संस्थाले विपन्न परिवारलाई कुखुरापालन, तरकारी खेती, बाख्रापालन, बंगुरपालन, साना व्यावसाय तथा पसल सञ्चालन गर्न ऋण लगानी गर्दै आइरहेको छ। शाखा रहेका ठाउँका ४६ हजारभन्दा बढी घरपरिवारलाई आयआर्जनका हेतुले विभिन्न परियोजना सञ्चालन समेत गरिएको छ। साधारण सभाले सञ्चालकमा रविन सिजापती, बरुण श्रेष्ठ, राजिव गिरी र केशवप्रसाद आचार्यलाई सञ्चालकमा निर्वाचित गरेको छ। 

प्रकाशित: १ पुस २०७५ ०१:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App