८ वैशाख २०८१ शनिबार
अर्थ

किसानलाई कफी खेती तालिम

खोटाङ – व्यावसायिक कफी खेतीका लागि खोटाङको ऐसेलुखर्क गाउँपालिकाका किसानलाई कफी खेती सम्बन्धी तालिम दिइएको छ। कफी खेतीको सम्भाव्यतालाई मध्यनजर गर्दै गाउँपालिकाका ७ वटै वडाका दुई सय १० किसानलाई कफी खेती सम्बन्धी तालिम दिइएको हो। 

गाउँपालिका र इकोहिमालको सहयोगमा अर्गानिक कफी को–अपरेटिभ लिमिटेड ऐसेलुखर्कले सबै वडामा अर्गानिक कफी विस्तारका लागि किसानलाई तालिम दिएको हो। मंसिर १६ गते माक्पाबाट सुरु गरिएको तीन–तीन दिनको तालिम सबै वडामा पूरा गरिएको अर्गानिक कफी को–अपरेटिभ लिमिटेडका सचिव किशोर राईले बताए। 

व्यावसायिक कफी खेती लगाएर आर्थिक समृद्धि प्राप्तिका लागि हरेक वडाका ३०–३० जना किसानलाई कफी खेती सम्बन्धी तालिम दिइएको हो। किसानलाई कफीको बिरुवा रोप्नेदेखि कप (उत्पादन गरेर खाने) सम्मको विधिबारे जानकारी दिइएको छ। 

किसानलाई कफीको नर्सरी उत्पादन गर्ने, बीउ छर्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, हाँगा काँटछाँट गर्ने, बढी फल फलाउने, टिप्ने, बोक्रा छोडाउने, सुकाउने, पिस्नेदेखि बजार व्यवस्थापनबारे तालिम प्रदान गरिएको अर्गानिक को–अपरेटिभका सचिव राईले बताए।

‘किसानलाई कफी रोप्नेदेखि कपमा हाल्नेसम्मका चरणका बिषयमा तालिम दिइएको छ,’ सचिव राईले भने, ‘किसानले स्वःतस्फुर्तरुपमा लगाएका कफीको बोटले राम्रो फल दिइरहेको र गुणस्तर पनि राम्रो पाइएकाले यस क्षेत्रमा कफीको सम्भावना राम्रो देखिएको छ।’ 

सम्भाव्यता अध्ययनकाक्रममा ऐसेलुखर्कका हरेक वडामा कफीको सम्भावना उत्कृष्ट देखिएकाले कफी खेती बिस्तारको काम थालिएको हो। हालसम्म किसान आफैले लगाएका कफी बाली राम्रो देखिएकाले गाउँपालिकाका हरेक जग्गा खाली नराख्नेगरी काम अघि बढाइएको अर्गानिक कफी को–अपरेटिभ लिमिटेडले जनाएको छ। कफीको व्यवसायीक खेतीका लागि किसानलाई गाउँपालिकाले २ लाख ५० हजार र इकोहिमालले तालिम, प्राविधिक, उपकरण लगायतका सहयोग गरेको छ। तालिमका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्ड सञ्चालक सदस्य भोजराज प्रधान, कफी प्राविधिक गंगा अधिकारी, मिठाराम जमर्कट्टेलको टोली ऐसेलुखर्क गाउँपालिका आएका थिए।

किसानलाई कफीको नर्सरी वितरणका साथै उत्पादन सम्बन्धी समेत ज्ञान समेत प्रदान गरिएको छ। गाउँमा कफी उत्पादन, बजारीकरणदेखि आफै उद्योग स्थापना गरेर प्रशोधन गर्नेसम्मको लक्ष्य राखिएको सचिव राईले बताए। ‘तत्कालका लागि किसान आफैले कफी उत्पादन गर्ने र बजारीकरणको काम गर्ने छ,’ राईले भने, ‘त्यसपछि आफै कफी उद्योग स्थापना गरेर प्रशोधन गर्ने हाम्रो लक्ष्य छ।’ 

प्रकाशित: १ पुस २०७५ ०१:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App