८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

श्रीलंकामा राजनीतिक संकट समाधानतर्फ उन्मुख

कोलम्बो (बिबिसी)– प्रधानमन्त्री नियुक्त भएको करिब ५० दिनपछि महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन्।
राष्ट्रपति मैथ्रिपला सिरिसेनाले रनिल बिक्रमासिंघेलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरी पूर्वराष्ट्रपतिसमेत रहेका राजापाक्षेलाई नियुक्त गरेका थिए। राष्ट्रपतिको उक्त कदमसँगै श्रीलंकामा उत्पन्न राजनीतिक संकट राजपाक्षेको राजीनामापछि समाधानतर्फ उन्मुख भएको बताइएको छ।

राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्रीमा राजापाक्षेको नियुक्तिसँगै संसद् भंग गरी नयाँ निर्वाचन मिति घोषणा गरेका थिए। उनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै राजापाक्षेलाई संसद्बाट अनुमोदन हुन आदेश दिएको थियो। संसद्मा राजापाक्षेले आफ्नो पक्षमा बहुमत पु¥याउन नसकेपछि उनका समर्थक र बर्खास्तमा परेका विक्रमासिंघे समर्थक सांसदबीच हात हालाहालसमेत भएको थियो। सर्वोच्च अदालतले संसद् विघटन गरेर देशलाई नयाँ निर्वाचनतर्फ लैजाने श्रीलंकाली राष्ट्रपति सिरिसेनाको कदम गैरकानुनी भएको फैसला बिहीबार सुनाएको थियो।
राजापाक्षेले शनिबार आफ्नै घरमा आयोजना गरिएको एउटा कार्यक्रममा राजीनामापत्रमा हस्ताक्षर गरेको बिबिसीले उल्लेख गरेको छ। राजापाक्षेका छोरा नमालले देशमा स्थिरता कायम होस् भनेर आफ्ना बुबाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको पनि बिबिसीले जनाएको छ।

अक्टोबरमा राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री पदबाट बिक्रमासिंघेलाई बर्खास्त गर्दै राजापाक्षेलाई नियुक्त गरेका थिए। सर्वोच्च अदालतको आदेश र राजापाक्षेको राजीनामा आएपछि बिक्रमासिंघेले आइतबार पुनः कार्यकाल सम्हाल्ने अपेक्षा गरिएको छ। ‘रनिल बिक्रमासिंघेलाई प्रधानमन्त्रीका रूपमा भोलि बिहान (आइतबार) १० बजे शपथग्रहण गराउन राष्ट्रपति सहमत भएका छन्,’ बिक्रमासिंघेको दलका प्रवक्ता हरिन फर्नान्डोलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। राजापाक्षेको राजीनामाले राजनीतिक गतिरोध अन्त्य भएको दाबी गर्दै फर्नान्डोले ५० दिनअघि सुरू भएको संकटका कारण मुलुक र अर्थतन्त्रले ‘ठूलो क्षति’ बेहोरेको बताए।
सर्वोच्च अदालतको आदेश आउनुभन्दा एक दिनअघि बुधबार संसद्ले बिक्रमासिंघेलाई नै प्रधानमन्त्रीका रूपमा विश्वासको मत दिएको थियो। बिक्रमासिंघेले संसद् र राजापाक्षेले राष्ट्रपतिको कदमको आडमा आफू नै देशको वैधानिक प्रधानमन्त्री भएको जिकिर गर्न थालेपछि राजनीतिक संकट गहिरिएको थियो। बिक्रमासिंघेले राष्ट्रपतिको कदमलाई चुनौती दिँदै प्रधानमन्त्रीको सरकारी निवास छाडेका छैनन्।

श्रीलंकामा उत्पन्न राजनीतिक घटनाक्रमलाई दक्षिण एसियाका क्षेत्रीय शक्ति मुलुक भारत र चीनले नजिकबाट नियालिरहेका छन्। त्यसैगरी संयुक्त राज्य अमेरिका र युरोपेली संघले पनि श्रीलंकाको राजनीतिक घटनाक्रमलाई चासोका सथा हेरिरहेका छन्।
श्रीलंकामा राजापाक्षे लोकप्रिय भए पनि उनको छवि विवादास्पद पनि छ। उनले श्रीलंकामा दुई दशकभन्दा लामो समयदेखि चलेको गृहयुद्ध अन्त्य गराएका थिए। उनले सन् २००९ मा गृहयुद्ध अन्त्य भएको घोषणा गरेका थिए। तामिल विद्रोहीसँगको युद्ध जित्न अपनाइएका उपायका कारण राजापाक्षेको आलोचना भने हुने गरेको छ। उनले गृहयुद्ध अन्त्य गर्ने नाममा अल्पसंख्यक तामिल समुदायलाई दमन गरेको आरोप लाग्ने गरेको छ।

 

प्रकाशित: १ पुस २०७५ ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App