coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

६ सय करोडका ५ ठूला उद्योग स्थापना गराउने लक्ष्य

सुर्खेत लगानी वर्ष–२०७३ को शुभारम्भ गर्दै महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाललगायत ।

सुर्खेत– ६ सय करोडको लगानी र एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यसहित सुर्खेत लगानी वर्ष–२०७३ को सुरु गरिएको छ । स्थानीय सार्वजनिक–निजी–सहकारी परामर्श मञ्चमार्फत सुरु भएको लगानी वर्षको दौरानमा ६ सय करोड बराबरका पाँचवटा ठूला उद्योग, चालु आर्थिक वर्षको अन्त्यसम्ममा तीन हजारलाई रोजगारी सिर्जना र एक लाख बाह्य तथा आन्तरिक पर्यटक जिल्लामा भित्र्याइने छ । लगानी वर्षको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले बुधबार गरे ।

चलु आर्थिक वर्षभित्रै ग्याँस प्लान्ट, जडीबुटी प्रशोधन केन्द्र, शीत भण्डार, मासु प्रशोधन केन्द्र, चौकुने सिमेन्ट उद्योग र प्याराग्लाइडिङका लागि ६ सय करोड रुपियाँ भिœयाइने योजना रहेको स्थानीय सार्वजनिक–निजी–सहकारी परामर्श मञ्चका सहसंयोजक एवं सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।

६ सय करोडमध्ये ४ सय करोड मुक्तिश्री प्रालिले चौकुने सिमेन्ट उद्योगमा लगानी गर्नेछ । चौकुने सिमेन्ट सञ्चालनका लागि मुक्तिश्रीले दुई महिनादेखि उद्योगस्थलसम्म बाटो निर्माणको काम गरिरहेको छ । ‘बा“की दुई अर्ब लगानी शीत भण्डार, ग्यास प्लान्ट, जडीबुटी प्रशोधन केन्द्र, मासु प्रशोधन केन्द्र र प्याराग्लाइडिङका लागि जुटाइनेछ’ सहसंयोजक अधिकारीले भने, ‘सबै लगानीको सुनिश्चितता भएपछि लगानी वर्षको सुरुवात गरेका हौं ।’

  • आठ महिनामा तीन हजारलाई रोजगारी
  • ग्याँस प्लान्ट, जडिबुटी प्रशोधन केन्द्र, शीत भण्डार, मासु प्रशोधन केन्द्र, चौकुने सिमेन्ट उद्योग र प्याराग्लाइडिङ सञ्चालन
  • मंसिरमा लगानी मेला र कर्णाली एक्पोको आयोजना

यस्तै खानी तथा खनिज क्षेत्र, एक हजार बिघाको औद्योगिक क्षेत्र, लखरपाटा सिमेन्ट आयोजना, वन क्षेत्र, जडीबुटी, पर्यटन, कृषि तथा पशुपालन उद्यम, उच्च मूल्यका वस्तु, शिक्षा, स्वास्थ्य, ऊर्जालगायतमा पनि थप लगानी भिœयाइने उनले जानकारी दिए । ‘उद्योग व्यवसाय स्थापना हुनु, जलविद्युत योजना निर्माण हुनु, सडक निर्माण हुनु, खानेपानीको योजना बन्नु, शिक्षालय निर्माण हुनु, विमानस्थल बन्नु आदि सबै लगानी बढ्ने पक्ष हुन्,’ स्थानीय सार्वजनिक–निजी–सहकारी परामर्श मञ्चका संयोजक एवं स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले भने, ‘जिल्लामा भएका लगानीलाई संस्थागत गर्न, लगानी विस्तारका लागि व्यवसायीको क्षमता विकास गर्न, लगानीमैत्री वातावरण विकास गर्न र थप स्वदेशी वा विदेशी लगानी आकर्षण गर्न लगानी वर्षको परिकल्पना गरिएको हो ।’

लगानी वर्ष–२०७३ भित्र जिल्लामा आर्थिक विकासका हिसाबले सम्भावना रहेको उच्च मूल्य कृषि, पर्यटन, खानी, खनिज, पशुपालन, वनजन्य क्षेत्रलगायतका सम्भाव्य क्षेत्रको विस्तृत अध्ययन पूरा गरिएको रेग्मीले जानकारी दिए । लगानी वर्षको अवसर पारेर मंसिरमा कर्णाली एक्पो र अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गरिने छ भने जिल्लाभित्र लगानी भिœयाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तासँग छलफल गरिने छ ।

लगानी वर्षको सुभारम्भ गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले अबको विकासको सुरुवात छैठौं प्रदेशको सम्भावित राजधानी सुर्खेतबाट भएको बताए । ‘सुर्खेत आफैंमा प्राकृतिक स्रोत र साधनले भरिपूर्ण जिल्ला हो,’ ढकालले भने, ‘लगानी वर्षको शुभारम्भसँगै विकासको पनि सुरुवात भएको छ ।’ उनले सुर्खेतको विकासका लागि विमानस्थल बाधक रहेको बताए । ‘राजधानी र अरु क्षेत्रसँग नियमित पहुँचका लागि यहाँको विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउनुपर्छ’ उनले भने, ‘विमानस्थल नियमित हुनेबित्तिकै बाहिरी जिल्लाका लगानीकर्ता सुर्खेत आउँछन् ।’

उनले माथिल्लो कर्णाली आयोजना, पश्चिमको चौकुने सिमेन्ट, दैलेखका पर्यटकीय क्षेत्रहरु सुर्खेतका लागि समृद्धिका आधार रहेको भन्दै यसको सञ्चालनका लागि राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताए । बाह्य लगानी भएकै कारण माथिल्लो कर्णाली आयोजनामा विभिन्न अवरोध भइरहेको भन्दै माथिल्लो कर्णालीलाई निर्वाध सञ्चालन हुन दिनुपर्ने उनको भनाइ छ ।

महासंघका उपाध्यक्ष शेखर गोल्छाले देशमा राजनीतिक परिवर्तन धेरै भएको बताउँदै अब आर्थिक परिवर्तनमा सबै केन्द्रित हुनुपर्ने औंल्याए । उनले लगानी वर्षको सुरुवातसँगै राजनीतिक दलहरुले लगानीका लागि आवश्यक पर्ने पूर्वसर्तहरु पालना गर्ने प्रतिबद्धता जनाउनुपर्ने बताए । ‘तपाईंहरु (राजनीतिक दल) कसम खाएर भन्नुहोस् हामी बन्द÷हडताल गर्दैनौं, लगानी भिœयाउन सहयोगी भूमिका खेल्छौं,’ उपाध्यक्ष गोल्छाले भने, ‘राजनीतिक दलहरुले पूर्वसर्त पालना गर्नेबित्तिकै लगानी भित्रिन सुरु हुन्छ ।’

उनले अबको विकास मध्य र सुदूरपश्चिमबाट सुरु हुने भन्दै त्यसका लागि राजनीतिक दलहरुले वातावरण बनाउनुपर्ने बताए । उनले देशको समृद्धिका लागि युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्ने बताए । ‘युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न निजी क्षेत्र लगानी गर्न तयार छ,’ उनले भने, ‘त्यसका लागि राजनीतिक दलहरुले पनि प्रतिबद्धता जनाउनु प¥यो ।’

महासंघका सदस्य चन्द्र ढकालले पर्यटन र ठूला सम्भावनाका उद्योगमा आफू लगानी गर्न तयार रहेको बताए । उनले सुर्खेतमा केबुलकारको सम्भावना रहेको भन्दै स्थानीय सार्वजनिक–निजी–सहकारी परामर्श मञ्चले कार्ययोजना पेस गरेमा आफू लगानी गर्न इच्छुक रहेको बताए । ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले लगानी वर्षको अवसर पारेर सुर्खेतमा स्थापना हुने सानादेखि ठूला उद्योगहरुलाई बैंकको तर्फबाट सक्दो लगानी गर्ने प्रतिबद्धता पनि जनाए ।


 

प्रकाशित: १३ आश्विन २०७३ ०३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App