coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

१३ औं साग लक्षित विशेष प्रशिक्षण सुरु

काठमाडौं - राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी खेलाडीको विशेष प्रशिक्षण सुरु गरेको छ।

हाललाई इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदका पदक विजेतासहित उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष प्रशिक्षणमा सामेल गरिएको छ। एसियाडमा नेपालले सहभागिता जनाएको २९ खेल मध्ये भारोत्तोलन, बक्सिङ, आर्चरी, सुटिङ, एथलेटिक्स, टेबलटेनिस, कराते, ब्याडमिन्टन, तेक्वान्दो, पौडी, जुडो, उसु र प्याराग्लाइडिङ गरी १३ खेलका ४३ खेलाडी विशेष प्रशिक्षणमा सहभागी छन्। प्याराग्लाइडिङले पुरुष टिम क्रस कन्ट्रीमा नेपाललाई रजत दिलाएको थियो। उक्त पदक नेपालले १८ औं एसियाडमा हासिल गरेको एक मात्र पदक थियो। विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सम्मिलित टोलीले रजत जितेका थिए।

माघ ५ गतेसम्म चल्ने प्रशिक्षण मंसिर २५ गतेदेखि सुरु भएपनि औपचारिक उद्घाटन भने शनिबार मात्र गरिएको हो। राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रशिक्षणको एक कार्यक्रमबीच उद्घाटन गरे। प्रशिक्षणको जिम्मेवारी सम्बन्धित १३ खेलका १६ प्रशिक्षकलाई दिइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव विष्टले पदक ल्याउन असफल भएपनि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई १३ औं सागको तयारीलाई मध्यनजर गरी विशेष प्रशिक्षणको व्यवस्था मिलाइएको जानकारी गराए। ‘राष्ट्रलाई पदक दिलाउने खेलाडीलाई त हामीले नगदसहित सम्मान गरिसकेका छौं', उनले भने, 'पदक विजेतासहित पदक जित्न असफल भएपनि आ–आफ्नो विधामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीको सम्मानका खातिर र १३ औं सागको तयारीलाई लक्षित गरी हामीले विशेष प्रशिक्षणको थालनी गरेका हौं।’

सदस्य–सचिव विष्टले प्रशिक्षकको हकमा सिनियर/जुनियर, स्थायी/अस्थायी नहेरी राम्रो र सक्षम प्रशिक्षकलाई प्रशिक्षणको जिम्मेवारी दिइने बताउँदै बाँकी खेलाडीलाई आठौं राष्ट्रिय खेलकुद पछि प्रशिक्षणमा राखिने बताए।

राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकले पहिले तोकिएको मिति भन्दा आठौं राष्ट्रिय खेलकुद पछि सरेकोले तत्काललाई १८ औं एसियाडमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मात्र समावेश गरी तालिम सुरु गरिएको बताए।कार्यक्रममा विशेष प्रशिक्षणमा सहभागी खेलाडी र प्रशिक्षकलाई सदस्य–सचिव विष्टले ट्रयाकसुट पनि प्रदान गरेका थिए।

प्रकाशित: २९ मंसिर २०७५ १४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App