coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘फेसनलाई लुगामा सीमित राख्दिनँ’

तस्बिर कृष्पा श्रेष्ठ

जेनिशा मोक्तान मलहोत्रा सन् २००९ की मिस नेपाल हुन्। युवा व्यवसायी दिकेश मलहोत्रासँग प्रेम विवाह गरेकी उनी अहिले आफ्नै वैवाहिक जीवनमा रमाइरहेकी छन्। उनै जेनिशासँग पुष्पा थपलियाले गरेको फेसन टक।

तपाईंको बुझाइमा फेसन के हो ?
फेसन भनेको लाइफस्टाइल हो। मानिसहरु लगाउने कपडा या गरगहनालाई मात्रै फेसन मानिरहेका हुन्छन्, त्यो त एउटा पार्ट मात्रै हो। हाम्रो घरपरिवार कसरी सम्हाल्छौं, आफ्नो परिवारलाई कुन तरिकाले ट्रिटमेन्ट गर्छौं, उनीहरुको अगाडि हामी कसरी प्रस्तुत हुन्छौं अनि सम्पूर्ण कुरालाई कसरी मेन्टेन गछौं, यी सबै फेसन हुन्। हामी वर्कआउट गर्छाैं, अफिसमा काम गर्छौं नि, हो ती ठाउँहरुमा कुन तरिकाले प्रस्तुत हुन्छौं यो नै फेसन हो। यो मान्छे त यस्तो टाइपको हो भनेर देखाउने एक किसिमको ओरा हुन्छ नि, त्यो नै मेरो लागि फेसन हो। इन सर्ट, मेरो बुझाइमा फेसन भनेको हाम्रो होल लाइफस्टाइल हो।

धेरैको बुझाइमा फेसन भनेको लगाउने भन्ने मात्रै छ नि ?
अँ, तपाईंले सही भन्नुभयो। मैले अघि पनि भनेँ, मानिसहरु फेसन भनेको लगाउने कपडा र गरगहनालाई मात्रै बुझ्छन्। जसले फेसनलाई त्यसरी बुझ्छन् नि, त्यो नै उनीहरुको फेसन हो क्या ! किनभने उनीहरुको बुझाइ पनि लाइफस्टाइलसँग रिलेटेड हुनेभयो, अनि उनीहरुको लाइफ स्टाइल जस्तो छ, त्यही नै फेसन भयो। उनीहरुले आफ्नो म्यानर, आफ्नो एटिट्युड, आफ्नो बिहेभियर, आफ्नो क्यारेक्टर त्यही अनुसारको बनाएका हुन्छन्, अनि त्यो नै उनीहरुको फेसन होला जस्तो मलाई लाग्छ।

मान्छेको लाइफस्टाइल कस्तो छ भन्दा पनि उसको बाहिरी आवरण हेरेर त्यो यस्तो भनेर जज गछौं नि हामी, हैन र ?
त्यो तपाईंले गर्नुहोला, त्यो तपाईंको फेसन भयो। म त्यसो गर्दिनँ, त्यो मेरो फेसन भयो। म कसैको बाहिरी आवरण हेरेर जजमेन्टल बन्दिनँ। जो मानिस फेसन भनेको लुगा कपडा र गरगहना मात्रै मान्छ, उसको नजरमा त्यही नै फेसन हुन्छ र उसले त्यही हेरेर मानिसलाई जज गर्छ। तर म फेसन भनेको लाइफस्टाइल भन्छु भने मैले उसको लाइफस्टाइल हेरेर नै उसको जज गर्छु नि ! म लुगामा उसलाई सीमित राख्दिनँ।

सधैं भेट भइरहने मानिसको फेसन त लाइफस्टाइलसँग दाँजौंला तर पहिलोपल्ट भेटेका पनि ‘वाउ, कस्तो फेसनेबल’ भन्ने हुन्छ नि ?
त्यसरी पहिलोपल्ट भेटेको मानिसलाई हामीले फेसनेबल भन्दा पनि स्टाइलिस्ट, ट्रेन्डी भन्न मिल्ला। कसैको बोलीमा, हाउभाउमा उसको फेसन जज गर्न भने सकिन्छ होला।

त्यसो हो भने सबै मानिसमा फेसन हुन्छ भन्न मिल्छ ?
मज्जासँग मिल्छ। सबै मानिसमा फेसन हुन्छ तर कोही कसैमा फेसन सेन्स भने नहुन सक्छ। आई थिंक फेसन सबैको हुन्छ तर त्यसलाई कसरी प्रिजेन्ट गर्ने भन्नेमा भने फरक पर्न सक्छ। यो मेरो पर्सनल भ्यु हो, अरु मानिसले यसलाई जसरी बुझ्दा पनि भयो, मेरै फलो गर्नुपर्छ भन्ने छैन।

तपाईंको पनि कुरा गरौं, कस्तो फेसन रुचाउनुहुन्छ ?
डिसेन्ट, प्रोफेसनल, डिसिप्लिन्ड। यी नै मेरो फेसन हुन्।

कसरी निर्धारण गर्ने त यो चैं डिसेन्ट हो, यो चैं डिसिप्लिन्ड हो भनेर ?
अब त्यो सबैले थाहा पाउनुपर्ने कुरा भन्दा पनि मैले थाहा पाउने कुरा हो। एभ्री डिसिजन आइ मेक, हरेक स्टेप जस्तो कि आज म के गर्छु, मेरो बच्चासँग कसरी व्यवहार गर्छु, मेरो इन लसँग कसरी प्रिजेन्ट हुन्छु, मेरो बूढा, मेरा आमाबाउलाई कसरी ट्रिट गर्छु यो सबै मैले नै डिसाइड गर्छु। जस्तो डिसाइड गर्छु, त्यो नै मेरो डिसिप्लिन हो। म यसलाई कसरी सन्तुलनमा राख्छु यो नै मेरो फेसन हो।

कसैले अलि झर्केर, फर्केर बोल्ला, त्यो पनि फेसन नै हो ?
त्यो उसको फेसन हो तर त्यसलाई कसैले एडप्ट गर्न पनि सक्छ र नगर्न पनि सक्छ। सबैको फेसन मलाई मनपर्ने पर्छ भन्ने छैन। कसैले स्टाइलिस्ट कपडा लगाउला तर उसको व्यवहार राम्रो छैन भने उसलाई कसैले पनि फलो गर्न चाहँदैन। अनि राम्रो र नराम्रो डिसाइड गर्ने त मानिसले नै हो नि, हैन र ? जस्तो कि कोही मानिस रिसाएर बोलिरहेको छ भने वाउ यसको त क्या एटिट्युड रैछ यार, मलाई मनप¥यो भन्ने पनि हुन्छन्, कसैले चैं, छ्या कस्तो रिसाएर बोलेको मलाई त मन परेन भन्ने पनि हुन्छन्। ह्वेदर आई एप्रिसेट द्याट फेसन अर नट्, त्यो मेरो व्यक्तिगत कुरा हो। मेरो व्यक्तिगत सोचाई हो। जस्तो कि, तपाईं जस्तो हुनुहुन्छ, त्यो तपाईंको फेसन हो, तपाईंका केही कुरा मलाई मनपर्न सक्छन् भने केही मन नपर्न पनि सक्छन्।

अहिले महिलाहरुमा कस्तो फेसन चलेको छ, तपाईंको नजरमा ?
मेरो भर्जनको फेसन हैन कि, टिपिकल फेसन अर्थात स्टाइलको कुरा गर्ने हो भने नेपालका हरेक मानिस एकदमै स्टाइलिस्ट भएका छन्। उनीहरुको ड्रेसअप निकै वेल छ। कसैलाई पंख बनेर हिँड्न मन छ। कसैलाई एथनिक बनेर हिँड्न परेको छ, कोही ड्रेसी बनेर हिँड्न रुचाउँछन्।

अनि पुरुषको ?
फेसनको कुरामा त मैले पहिले पनि भने, उनीहरुको जीवनशैली नै फेसन हो। पुरुषको पनि त होला नि जीवनशैली हैन र ? तर कपडाको कुरा गर्ने हो भने चाहीँ उनीहरुको फेसन कस्तो हुन्छ थाहा छैन। उनीहरु स्टाइलिस्ट भएको पनि मैले त देखेको छैन। उनीहरुको स्टाइलमा भेराइटी त छ तर एक्स्पेरिमेन्ट चैँ भएन होला भन्नुपर्यो।

आफ्नो फेसनका सामान कताबाट खरिद गर्नुहुन्छ त तपाई ?
जहाँ पायो त्यहीँबाट। जहाँ मलाई काम लाग्ने कुरा देख्यो त्यहीँ किन्ने हो। यही ठाउँ भन्ने नै छैन तर अहिले बच्चा भएपछि चैं त्यति बाहिर जान पाउँदिनँ। त्यसैले मोस्टली अनलाइन सपिङ गर्छु। अनलाइन सपिङमा पनि स्मार्ट डोको मेरो सबैभन्दा फेभरेट सपिङ स्पट बनेको छ अचेल। मलाई केही चाहियो, केही किन्न प¥यो भने अनलाइनमै यो ल्याइदेऊ भन्छु, उनीहरुले होम डेलिभरी गरिदिन्छन्।

अनलाइन सपिङ गर्दा, फोटोमा राम्रो देखाउँछ, घरमा चैं नराम्रो ल्याइदिन्छ, कति त डिफेक्ट सामान समेत पर्छ भन्छन् नि ?
त्यस्तो पर्यो भने त एक्सचेन्ज गरिदिइहाल्छ नि ! कतिपयमा चैं नो एक्सचेन्ज सर्भिस पनि हुन्छ, त्यस्तो पोलिसी राम्रो हैन। हामी पनि जहाँ राम्रो पोलिसी छ त्यहाँ जानुपर्यो नि ! अहिले नेपालमा अनलाइन सेलिङ यति धेरै बढेको छ नि, योसँगै विकृति पनि बढेको छ। मानिसहरु घरमा सामान ल्यायो अनि आफैँ बेच्योसमेत गर्न थालेका छन्। उनीहरु व्यावसायीक तरिकाले प्रस्तुत भइरहेका छैनन्, त्यो बिजनेस हैन। उनीहरुको  बिजनेस पोलिसी पनि हुँदैन, तिनीहरु रजिस्टर्ड पनि हुँदैनन्। त्यसैले हामीले जहिले पनि आफूले कस्तो अनलाइनबाट सपिङ गरिरहेका छौँ, त्यसको पोलिसी कस्तो छ बुझेर मात्रै कारोबार गर्नुपर्छ।

अनलाइन सपिङ गर्दा के–के कुरामा ध्यान दिनुपर्ला त ?
आई फिल भ्याट बिल इज भेरी इम्र्पोटेन्ट। जब हामीले भ्याट बिल पाउँछौं, त्यसमा ट्याक्स तिरेर ल्याएका सामान हुन्छन् न कि एक दुईओटा सुटकेसमा कोचेर ल्याएका। अहिले त त्यसरी सुटकेसमा सामान ल्याएर फेसबुकमा बेच्ने चलन पनि मज्जासँग मौलाएको छ। हामीले भ्याट बिल लियौं भने यस्ता व्यावसायिक नभएकाहरुसँग बेच्छौं, अनि देशलाई ट्याक्स पनि तिर्छौं। त्यसैले हामीले राम्रोसँग बुझेर, उनीहरुको पोलिसी पढेर मात्रै कारोबार गर्नुपर्छ।

कत्तिको ब्रान्ड कन्सियस हुनुहुन्छ, अनि मनपर्ने ब्रान्ड कुनकुन हो ?
ब्रान्ड कन्सियस नै त छैन तर पनि मलाई सबै ब्रान्ड मनपर्छ। जस्तो कि, फरएभर ट्वान्टीवान, एचएनएम, जारा, सिस्पेन्सस आदि। मैले लगाउने प्रायः सर्ट प्यान्ट नै हुन्छन्, जसमा जारा, एचएनएम मेरा फेभरेट हुन्। सुजको लागि चैं मलाई आल्डो मनपर्छ। वाच चैं म स्मार्ट नै लगाउँछु, सामसङको।

अनि मेकअप सामान नि ?
मेकअपमा धेरै म ल्यामकप चलाउँछु। मिसेल फ्यानको ब्रान्डका पनि प्रायः मेकअप सामान युज गरिरहेको हुन्छु। कोरियन ब्रान्डहरु पनि युज गर्छु। लिपस्टिीक चैँ मलाई ल्यानको मनपर्छ। लरियल र ल्यान ब्रान्डको सामान चैं म अलि बढी चलाउँछु।

एक्कैछिन नेपालमा आयोजना हुने फेसन सोका बारेमा पनि कुरा गरौं। कसरी हेर्नुहुन्छ नेपालको फेसन सोलाई ?
यसलाई म हाफ एन्ड हाफ तरिकाले मूल्यांकन गर्छु। कुनै एकदमै राम्रा हुन्छन्, धेरै स्ट्यान्डर्ड बढाएर फेसन सो आयोजना गर्नेहरु पनि छन् तर कतिपय भने स्पोन्सर पाइहालियो गर्दिऊँ न त भनेर एकदमै ब्याड्ली म्यानेज गरेर फेसन सो चलाउँछन्।

तपाईं आफै पनि मिस नेपाल भइसक्नु भयो। पहिलेका र अहिलेका फेसन सोहरुलाई कसरी हेर्नुहुन्छ ?
पहिला हेरेर त अहिले निकै इम्पु्रभ भएको छ। अर्गनाइज हुने तरिकाले हैन फेसन डिजाइनमा सुधार भएकाले इम्प्रुभ भएको हो। म मिस नेपाल हुँदा कतै जान परे कपडा नै पाइन्थेन। पाइहाले पनि राम्रो डिजाइन हुँदैनथ्यो। अहिले त नाप–नापमा कुन कार्यक्रमका लागि कस्तो चाहिने हो, सबै बनाइदिन्छन् फेसन डिजाइनरले। पहिले बनाउने ठाउँ पनि कम थिए। यो पाँच सात वर्षमा फेसन डिजाइनरको डिजाइन निकै राम्रो भएको छ।  फेसन सो भनेको त त्यही र्याम्पमा हिँड्ने मात्रै त हो, जबसम्म डिजाइनरको क्षमता बढ्दैन, मोडलले मात्रै त केही हुँदैन। अहिले त डिजाइनरको क्षमता पनि बढेको छ, अनि मोडलहरुको स्ट्यान्डर्ड पनि।

बिहेअघि र पछिको फेसन चैं चेन्ज हुँदो रहेछ कि नाईँ ?
मलाई त म्यारिजले कत्ति पनि चेन्ज गरेको छैन तर बिहे गरेपछि मोटाइयो नि, अनि चैं अलि गाह्रो हुँदोरहेछ। पहिले दुब्लो हुँदा जस्तो लुगा पनि सुहाउँथ्यो, अहिले सुहाउँदैन। त्यो चैं मेरो फिजिकल चेन्जले हो, बिहेले हैन। अहिले पनि म वन पिस लगाउँछु तर पहिले यसो हेर्यो, मन परे लायो, अहिले ट्राई नै गर्नुपर्छ।

फेसनका लागि खर्च कत्तिको छुट्याउनुहुन्छ ?
मैले सपिङ नगरेको त कति भइसक्यो ! के को खर्चका कुरा गर्नु ? फेरि यति भयो, उति भयो भनेर हिसाब पनि राखिन्न। बाहिरै गइयो भने त अलिअलि हुन्छ नै। फेरि मलाई त मेरो सासुको च्वाइस, उहाँको फेसन साह्रै मनपर्छ, उहाँकैबाट चलाउँछु। उहाँको ड्रेस निकालेर लगाइदिन्छु म त।

सपिङ कत्तिको गर्नुहुन्छ ?
मलाई जे कुराका लागि पनि मरिहत्ते गर्न मन लाग्दैन। सानैदेखि त्यस्तै बिन्दास भइयो। सपिङ गर्नलाई झनै अल्छी पो लाग्छ मलाई त ! बरु मलाई त कप प्लेट, कटिङ मेसिनहरु, रमाइला रमाइला मिक्सरहरु किन्न मनपर्छ। राम्रा राम्रा भेजिटेवल काट्ने कुराहरु किन्न भनेपछि मलाई खुब जाँगर चल्छ।

अनि बच्चाको लागि सपिङ ?
९५ प्रतिशत सपिङ मेरा बूढाले गर्ने हो। मैले किन्ने भनेको डाइपर, पाउडर, स्याम्पु आदि मात्रै हुन्। अरु सबै किन्ने बुढाले नै हो। मैले भने नि मलाई सपिङको खासै इच्छै लाग्दैन।

विदेश जाँदा के किन्न मन लाग्छ ?
यहाँ नपाउने चिजहरु नै किनिन्छ। मलाई अहिलेसम्म विदेशबाट ल्याएको चिजमध्ये भियतनामबाट ल्याएको टावेल निकै राम्रो लागेको छ। त्यो टावेल चैं बाँसको फाइबरबाट बनाएको हो। त्यसले एकदमै छिट्टो पानी सोस्दोरहेछ। नुहाएपछि कपालमा सट्ट राख्नेबित्तिकै पानीजति सबै सोस्ने। मैले र मेरो सासूले त्यस्तो टावेल र कपडा टन्नै किनेका थियौं, अहिले बच्चालाई पनि म यही युज गर्छु। नुहाउनेबित्तिकै त्यसले र्याप गरिदिएपछि सबै पानी सोस्छ।

मनपर्ने कलर ?
ब्ल्याक नै हो। सधैं त्यही लगाउन मनपर्छ। म धेरै फर्मल लगाउँछु त्यसैले ब्ल्याक नै हुन्छ। मलाई फेरि तिरमिरे भएर हिँड्न मन पनि लाग्दैन।

मनपर्ने कपडा ?
फर्मल कपडा। पहिले साडी लगाउन पनि निकै मनपथ्र्यो। अहिले बच्चा भएपछि चैं साडीमा अलि गाह्रो हुन्छ।

प्रकाशित: २९ मंसिर २०७५ ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App