काठमाडौं – भैरहवा ग्लाडीयटर्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौं किंग्स राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) को प्ले अफमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ। यसअघिनै भैरहवा र ललितपुर प्ले अफमा पुगिसकेका छन्।
एक खेल बाँकी छँदै काठमाडौं प्ले अफमा पुगेको हो। काठमाडौंले ३ खेलमा जित र १ मा हार ब्यहोर्दै ६ अंक जोडेको छ। भैरहवाको भने चौंथो खेलमा यो पहिलो हार हो। भैरहवाले पनि समान खेलबाट ६ अंक बनाएको छ।
कीर्तिपुरस्थित टियु मैदानमा शनिबार सम्पन्न पहिलो खेलमा भैरहवाले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य काठमाडौंले १९.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। काठमाडौंका लागि अमित श्रेष्ठले सर्वाधिक अर्धशतक बनाउने क्रममा ५१ रनको पारी खेले। ४६ बलको सामना गरेका अमितले ४ चौंका र २ छक्का प्रहार गरेका थिए।
त्यस्तै कप्तान रोहन मुस्तफाले २४ बलमा ३ चौंका र २ छक्काको मद्दतमा ३६, केभिन ओ ब्राएनले १५ बलमा नटआउट ३३ र सागर पुनले १३ रनको योगदान दिए। नरेश बुढाऐर ४ रनमा नटआउट रहे। भैरहवाका लागि भुवन कार्की र सरद भेषावकरले एक–एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १४९ रन बनाएको थियो। भैरहवाका लागि रबी इन्दर सिंहले सर्वाधिक ८६ रन बनाएपनि टोलीको हार टार्न सकेनन्। सिंहले ६१ बलमा ६ चौंका र ४ छक्का प्रहार गरेका थिए। त्यस्तै कप्तान सरद भेषावकरले ३१ बलमा ३ चौंका र १ छक्काको मद्दतमा ३९ र रायन टेन डोसकाटेले १२ रनको योगदान दिए।
काठमाडौंका लागि जितेन्द्र सिंह मुखियाले २ विकेट तथा प्रदिप साहु र केभिन ओ ब्रायनले एक–एक विकेट लिए। अव चितवन र विराटनगर मध्ये एक टोलीले प्ले अफमा स्थान बनाउने छन्।
प्रकाशित: २९ मंसिर २०७५ ०७:३६ शनिबार