४ वैशाख २०८१ मंगलबार
अन्य

‘बुबाको साक्षीमा बिहे’

तस्बिर : कृष्पा श्रेष्ठ

‘सिक्ने कार्य स्कुल–कलेजमा औपचारिक रुपमा मात्र हैन जीवनपर्यत्न अनौपचारिक रुपमा सिक्न सकिन्छ। पढ्ने भन्ने कुरा जति पढे पनि सकिँदैन, जतिपढ्यो त्यति विस्तृत हुँदै जान्छ र गहिराइ बढ्दै जान्छ। जति जान्यो आफूलाई त्यति नजाने जस्तो हुन्छ। सायद ज्ञानको गहिराइको कुनै सीमा हुँदैन।’ सानैमा आफ्ना पिताबाट यस्तो शिक्षा पाएका लेखक तथा विश्लेषक श्याम श्रेष्ठ। अध्ययनशील व्यक्तिमा गनिन्छन् उनी। उनले अर्थ, साहित्य, शिक्षा, कल्चर, दर्शन आदिबारे निरन्तर लेखिरहन्छन्। दोस्रो संविधानसभामा मनोनित सभासद पनि भएका श्रेष्ठ वामपन्थी इतर व्यक्तिहरुमा पनि चर्चित मानिन्छन्। उनका विचार प्रायःले समर्थन गरेकै पाइन्छ।

शिक्षाप्रेमी बाबुआमा
२०१० साल पुस ९ गते काभ्रे जिल्लाको मंगलटार भन्ने गाउँमा पिता शंकरलाल श्रेष्ठ तथा माता गणेशमाया श्रेष्ठको चौथो सन्तानको रुपमा जन्मिएका हुन्। ‘त्यतिबेला मंगलटार बजार निकै चल्तीको थियो’, उनले भने, ‘पैदल यात्रा हुँदा सिन्धुली, रामेछाप, भोजपुर भएर हिँड्ने बाटो थियो। त्यहाँ ठूलो व्यापार चल्थ्यो। हाम्रा बुबा पनि साना किराना व्यापारी हुनुहुन्थ्यो। एक किसिमले भन्दा रमाइलो ठाउँमा हुर्किएका हौँ।’

५ भाइ र एक बहिनीको ठूलो जमातमा हुर्किएका हुन् श्रेष्ठ। व्यापार व्यवसायमा अगाडि भए पनि मान्छेको आवात–जावत बाक्लै भए पनि त्यहाँ स्कुल भने खुलेका थिएनन्। श्रेष्ठ भन्छन्, ‘त्यतिबेला भर्खर प्रजातन्त्र आएको थियो। गाउँगाउँमा विद्यालय खुलेका थिएनन्। त्यसको मारमा हामी पनि पर्यौँ।’ गाउँमा औपचारिक विद्यालय नखुले पनि शिक्षाप्रेमी उनका बुबाले कहिले भारतका कहिले कतैका शिक्षकहरु घरमा ल्याएर राख्थे। शिक्षकलाई खुवाउने बास बस्न दिनेदेखि शुल्कसम्म आफैँ भुक्तानी गर्थे तर पढाउन भने गाउँभरिका केटाकेटी पढाइदिन्थे। त्यो बेलाको कुरा सम्झिँदै श्रेष्ठ भन्छन्, ‘हाम्रो घरअगाडि ठूलो पीपलको रूख थियो। त्यो पीपलको रुखमुनि गाउँभरिका केटाकेटी जम्मा भएर ती शिक्षकले पढाउँथे। भुक्तानी चाहिँ हाम्रो बुबाले गर्नुहुन्थ्यो।’

दाइहरुले पढेको सुन्दै कण्ठ
एउटा शिक्षक भागे अर्काे शिक्षक खोजेर ल्याएर पढाउने उनको बुबाको बानीकै कारण उनका दाजुभाइहरु र बैनीले पढ्न पाए। ३–४ वर्षको हुँदा उनी पनि त्यही पीपलको रुखछेऊ जान्थे उनका दाजुहरुसहित गाउँका अन्य मान्छेहरु पढिरहेका हुन्थे। उनले पनि त्यो सुन्दै गर्दा सिकेँ। दाजुहरुले कराएर घोकेको कुरा उनलाई पो कण्ठ आउने भएछ।

‘कास्मिरबाट एकजना शिक्षक आएका थिए,’ श्रेष्ठ भन्छन्, उहाँले हाम्रो बुबालाई यो धेरै विद्वान बन्छ होला अरुले पढेको सुनेर कण्ठै पार्छ भनिदिएछन्। अनि अर्काे कुरा उनले हामीलाई भारतीय कोर्ष नै पढाउँथेँ। त्यो बेला राष्ट्रिय गान पनि भारतकै गाउन लगाइएको थियो त्यो देखेर हाम्रो बुबाले गाली गरिदिनुभयो अनि त्यसपछि उनले गाउन लगाएनन्।’

आँप चोरेर हाम्फाल्दा आँप धनीको काँधमा
सानोमा चकचक नगर्ने, छिमेकीको फलफूल चोरेर नखाने सायदै कमै हुन्छन्। श्रेष्ठ पनि कममा परेनन्। उनी र उनका साथीहरु मिलेर गाउँ नजिकैको आँपको बगैंचामा आँप चोर्न गएछन्। अरु थरिका आँप पब्लिक बगैंचामा भए पनि सबैभन्दा मिठो आँप काली बम्बैआँप भने निजी बगैंचामा पाइन्थ्यो। जोडले हाँस्दै उनी भन्छन्, ‘निजी बगैंचामा कालीबम्बै आँप चोर्न गएँ। म रुख चढ्न सक्थेँ, रुख चढेँ साथीहरुलाई आँप पुग्न दिएँ। आँपवाला घरबेटी पनि आइपुगे। त्यसपछि त मलाई के गर्नु न नगर्नुभयो। जोडले हाँस्दै उनी भन्छन् सबै साथीभाइहरु भागीहाले त्यसपछि म पनि रुखबाट हाम्फालेँ हाम्फाल्दा त आँपधनीको काँधमा परेँ। हाँसो...... त्यसपछि उनको काँधबाट हाम्फालेर भागेँ।’

नांगो ढाडमा बुबाले सिस्नोले हिर्काउँदा
रोसी खोलाको नजिकै हुर्केका श्रेष्ठ। गाई चराउन जाने पनि त्यही रोसी खोलाको छेउछाउ। अनि खोलाको माछा मारेर पोलेर खाने, चराचुरुङ्गी खाने अरिङ्गाल पोलेर खाने, के गरेनन् उनले। यसै क्रममा उनको दामली बाख्रालाई पाखोतिर लगाएर रोसी खोलामा पौडी खेल्न थालेछन्। पौडी खेलेर आरामले बालुवामा सुतिरहेका थियौँ उनी भन्छन्, ‘अहिलेको भाषामा भन्दा सन् वाथ लिइरहेका थियौँ। बुबा कति बेला आउनुभएछ र सिस्नोले नांगो ढाडमा हिर्काउनुभयो। त्यसपछि बुबाको अरु थप झटारो खानबाट बच्न खोलामा हाम्फालेँ।’ हाँस्दै...त्यसपछि यति त पोलेन। भएछ के भने उनी यता पौडी खेल्न व्यस्त भए उता बाख्राले छिमेकीको मकै भुसुक्कै पारेछ अनि उनका बाबु नराँकिने कुरै आएन। राँकिएर आएका उनका बाबु छोरालाई सिस्नाले मात्र हिर्काएनन् पौडी खेल्दा फुकालेका सबै लुगा लिएर घर गएछन्। उनी भन्छन्, ‘बुबाले सबै लुगा लिएर गइदिएपछि उनी खोलाको किनारामा नांगै रातिसम्म बसेछन् पछि आमाले लुगा ल्याइदिएपछि त्यो लुगा लगाएर घर पुगेछन्। आमाले एक थप्पड कुनै पनि सन्तानलाई नहिर्काएको बताउने उनी त्यसपछि भने बुबाको पनि कुटाइ नखाएको बताउँछन्।

उपचार गरिँदिँदा सरकारी सेना घरमा
उनका बुबा ज्वरो, घाउ खटिरा सामान्यको उपचार पनि गर्थे। वैद्य उनको बाबुको साथी भएको कारण पनि रुघाखोकी, घाउ आदिको उपचार उनैका बाबुले गर्थे। त्यो पनि घरेलु औषधिको प्रयोग गरेर।

एक चोटी भएछ के भने। तामाङहरुको त्यतिबेलाको चलनमा जारी प्रथा व्याप्त थियो, त्यो बेलामा त्यही श्रीमती लगेको निहुँमा जारीलाई काटेमा बात लाग्दैन भन्ने थियो। उनी भन्छन्, ‘जार काट्ने भनेर उदाएको टाउको छल्दा खुट्टामा लागेछ। अनि त हाम्रो घरमा ल्याइपुर्याउँदा त साप्रो निरको भागको छाला मात्र चुँडिन बाँकी थियो। त्यसपछि बाले जडिबुटी र काप्रो लगायतका सामान लिएर बाधेँर सञ्चो बनाउनुभयो पछि त त्यो मान्छे हिँड्यो।’ त्यस्तो जडिबुटी आफूहरुले नसिकेकोमा अफसोच लागेको उनी बताउँछन्।

सात सालताका पनि उनका घरमा सरकारी सेनाले बुबालाई घेरा हालेछन् भएछ के भने उनका बुबा पनि विद्रोही। मुक्ति सेना अबिरे कामीलार्ई सरकारी सेनाको गोली लागेको खुट्टा लिएर उनको घरमा आइपुगेछन्। उनका बाबुले त्यो गोली झिकेर औषधि गरिदिएछन्। त्यही निहुँमा उनको बाबुलाई सरकारी सेनाले मार्ने योजना बनाएछन्। तर उनका बाले मानवीय नाताले सहयोग गरेको भनेर बताएपछि भने सेनाले बुबालाई छोडिदिएको कुरा बाबुले सुनाएको श्रेष्ठ बताउँछन्।

एकैचोटी चार कक्षामा भर्ना
अनौपचारिक शिक्षा गाउँमै पढेका उनी घरदेखि २ कोष पर वाल्टिङ भन्ने ठाउँमा एक प्रावि विद्यालय खुलेपछि भने उतैको विद्यालयमा पढ्न पुगे। उनलाई आम चुनावमा उनकै घरअगाडि चुनावी सभा भएको पनि सम्झिए। उनी भन्छन्, ‘चुनावपछि गाउँनजिकै कात्तिके भन्ने ठाउँमा स्कुल खुल्यो। म एकैचोटी लेख्न, पढ्न सक्ने भएकोले ४ कक्षामा भर्ना भएँ, तै पनि द्वितीय भएँ।’

उनी पाँच कक्षा उत्तीर्ण त भए तर त्यहाँभन्दा माथिको शिक्षाका लागि विद्यालय थिएन। त्यसपछि उनी फेरि गाई बाख्रा गोठालो भए। उनी हाँस्दै भन्छन्, ‘मलाई गाई, बाख्रा चराउन र घाँस काट्न आउँछ। अर्काे विद्यालयको टुंगो नलागुञ्जेल यस्तै काम गर्नुपथ्र्याे।’ अहिले सिन्धुलीको बाटो भएर पूर्व जाने भएपछि नेपालथोक भन्ने ठाउँ आउँछ। त्यही नेपाल थोक जसलाई दुम्जा पनि भनिन्छ त्यहाँ निमाविसरहको स्कुल खुलेपछि उनी एकैचोटी कक्षा सातमा पढे।

आठ कक्षा उत्तीर्ण गरेपछि उनको पढाइ फेरि रोकियो। तर त्यो समय धेरै रहन पाएन। उनका माइला दाजुले बाँसबारी चप्पल कारखानामा काम पाए र उनी दाजुसँगै लैनचौरको विद्यालयमा पढ्न आए। तर दुर्भाग्य उनको दाजुको जागिर छुट्यो सँगै उनको पढाइ पनि। उनी फेरि मंगलबजारमै गाई चराउन पुगे। केही समय गाई चराएपछि उनका दाजुको जागिर सिन्धुलीमा भयो। त्यसपछि उनी जेठा दाजुको साथ लाएर सिन्धुलीस्थित कमल हाइस्कुलमा कक्षा १० मा भर्ना हुन गए। त्यतिबेला उनका सहपाठी थिए प्राध्यापक डाक्टर विद्यानाथ कोइराला। उनी भन्छन्, ‘कोइराला र म साथी थियौँ। उहाँ पनि पढ्ने म पनि पढ्ने दोस्ती खुब जम्थ्यो। ’

एसएलसीको नतिजा १० दिनपछि थाहा पाउँदा
२०२४ सालमा एसएलसी उत्तीर्ण गरेका श्रेष्ठ परीक्षा दिएपछि उनी घरमै बस्न थाले। नतिजा प्रकाशन भएको रेडियोले भने पनि पास फेलको कुनै थाहा पत्तो लागेन। उनी भन्छन्, ‘के भएँ होला भनेर छटपटी त बढ्थ्यो तर अरू केही उपाय नै थिएन।’ उनका दाजुले नतिजा प्रकाशन भएको १० दिनपछि चिठी पाए अनि थाहा भयो उनी एसएलसी उत्तीर्ण भएको कुरा।

उनको बुबाको व्यापार सुस्ताउन थालेको थियो। तर पनि घरको भरथेग गर्ने बा पछिको दाइ भनेझैँ उनका दाजुले समालेछन्। उनका दाजुको जागिर भएको कारण पनि त्यति गाह्रो नभएको बताउँछन्। एसएलसी उत्तीर्ण गरेपछि उनले २ वर्ष प्राविमा पढाए। त्यसपछि उनका जेठा दाइले भाइको तेज बुद्धि देखेर पढाउन काठमाडौं पठाए।

त्यो समयको त्रि–चन्द्र कलेज
उच्च शिक्षाका लागि राजधानी हानिएका श्रेष्ठको रोजाइमा त्रि–चन्द्र कलेज पर्यो। उनी भन्छन्, ‘त्यतिबेला साइन्स पढ्न परे अस्कल र आर्टस पढ्न परे त्रि–चन्द्र रोजिन्थ्यो। मैले पनि त्यहीँ रोजेँ।’ त्यतिबेलाका पढाउने प्राध्यापकहरु पढाउने मात्र हैन आफ्नो विषयमा साहित्यिक सिर्जना पनि गर्थे। उनी भन्छन्, ‘मलाई पढाउने प्राध्यापकहरुमा डा. तारानाथ शर्मा, श्रीधर लोहनी, धु्रवचन्द्र गौतम, डाक्टर ज्योति, यदुनाथ शर्मा लगायत हुनुहुन्थ्यो।’ धोवीधाराको धोवीकै घरमा बसेर कलेज आउनेजाने गरेको उनी बताउँछन्।

त्रि–चन्द्र कलेजमा एकचोटी भारतीय प्राध्यापक आइछन् शकुन्तलादेवी। उनी त्यतिबेला जस्तोसुकै गणितको समस्या पनि हल गर्नेमा चर्चित थिइन्। कलेजका दिन सम्झिँदै श्रेष्ठ भन्छन्, ‘त्यतिबेला मित्रप्रसाद देवकोटाको कक्षामा उहाँ पनि आउनुभयो मित्रप्रसाद देवकोटाले ल्यार्कोड भरिको गुणन दिनुभयो देवीले त हेर्ने बित्तिकै उत्तर भनिदिनुभयो। देवकोटाले उत्तर गलत भनिदिनुभयो। उहाँहरु दुवैले हिसाब गर्न थाल्नुभयो आखिरमा शकुन्तला देवी नै सही रहिछिन्। उहाँ जस्तो जान्ने मान्छे नै मैले त्यतिबेला देखेकै थिइनँ।’

एक्लै समको लेक्चर सुन्दा
कलेजमा उनको ध्यान साहित्यतर्फ गएछ। उनी भूपि शेरचनको रामै्र फ्यान भएछन्। उनको लेखाइ पनि तिखारिएको बताउँछन्। उनी निबन्ध प्रतियोगितामा दोस्रो भए। केही समयको अन्तरालपछि भएको कविता महोत्सवमा उनी प्रथम भएछन्। त्यसपछि आफू निकै हौसिएको बताउँछन्। त्रि–चन्द्र कलेजमा कविता प्रतियोगिता भएछ। सिद्धिचरण श्रेष्ठ, भूपि शेरचन, बालकृष्ण सम अतिथि भएर आएछन्। संयोग उनले भने, ‘त्यो कविता प्रतियोगितामा म नै प्रथम भएँ।’ त्यसपछि भने उनलाई देवकोटा बन्ने धुन चलेछ। उनी त्यतिबेलाको साहित्यकारलाई भेट्ने आँट गरेछन्।

यसै क्रममा उनी बालकृष्ण समको घर गएछन्। समको घर ज्ञानेश्वरमा थियो। घरअगाडि ढोकामै कविता लेखेको थियो उनी भन्छन्, ‘यो कुनै बास हो मेरो नित्य जीवन मार्गको, म कतै हिँड्ने छु स्वप्न पूरा भएपछि’ मलाई त्यो कविताले यति आकर्षण ग¥यो कि सीमा नै रहेन।’ त्यसपछि उनले समको ढोका ढकढक्याएछन्। समले भित्र ऐनाबाट को आएको भनेर चियाएछन्। श्रेष्ठलाई देखेपछि ढोका खोलेछन्। कुरा के रहेछ भने उनी भन्छन्, ‘समले आफूलाई मन नपरेको मान्छेसँग भेट नगर्ने रहेछन् कुराको चुरो खोल्दै उनले थपे ऐनाबाट चियाएपछि मात्र भेट्ने नभेट्ने निक्र्याेल गर्ने रहेछन्। ’ त्यही कविता प्रतियोगितामा प्रथमपटक भेट भए पनि समले चिनेर उनीसँग राम्ररी बोलेनन् मात्र उनलाई केही दर्शनको कुरा अनि श्रेष्ठलाई भूपि शेरचन शैलीको कविता लेख्नुहुँदोरहेछ भनिदिएछन्।

मंगलटारमा कविता सुनाउँदा
श्रेष्ठलाई आफ्नो ठाउँमा कविता महोत्सव गर्ने हुटहुटी लागेछ। आयोजना गरेछन् पनि। त्यो कविता महोत्सव गर्दा राम्रो पाठ सिकेको उनी बताउँछन्। भएछ के भने २८–२९ सालको कुरा त्यतिबेला उनले गाउँमा कविता महोत्सव आयोजना गरेछन्। गाउँका एकजना तामाङहरुको समुदायको गन्यमान्य व्यक्तित्व पञ्चमान लामाले आफूले पनि कविता सुन्ने बताएछन् उनीहरुले समय दिएछन् उनको कविताको अंश आफूले अहिलेसम्म नबिर्सिएको बताउँछन्। उनको कविताको अंश ‘कविता कविता भुत्रोको कविता, भोकमरीको हेरन रमिता’ त्यतिबेला गाउँमा अनिकाल लागेको रहेछ अनि उनले यस प्रकारको कविता सुनाएका रहेछन्। श्रेष्ठ भन्छन्, ‘भोकमरीको बेला कविता महोत्सव गरिएकोमा व्यंग पनि थियो त्यो।’

कहिल्यै गयल हुन मन नलाग्ने
उनी कलेजमा कहिल्यै गयल भएनन्। निरन्तररुपमा कलेज गइरहे। जण्डिस भएर लत्तो पर्दा पनि उनले कलेज छुटाएनन्। केही महिना डेरा बसेर उनी छात्राबासमा सरे। छात्राबासको बसाइले लजालु स्वभावले उनी बोल्ने तर छात्राबासको बसाइको एक दुई घटना भने अहिले पनि उनी सम्झिरहन्छन्। उनले स्वभाव धेरै बदले। उनले भने, ‘दाजुले महिनाको १५० रुपैयाँ पठाउनुहुन्थ्यो। त्यसैले पुर्याउने अझ जोगाएर आमा, भाउजु र भाञ्जीलाई कपडा लगिदिन्थेँ।’

छात्राबासको बसाइको एकदुई घटना भने उनी अझै सम्झिरहन्छन्। भएछ के भने धरानतिरका केटाहरु जो छात्राबासमा बस्थे उनीहरुले न्युरोडबाट एकजना ‘लाटी’ महिला उठाएर लिएर आई बलात्कार गरेछन्। पछि तिनी कराइछन् होस्टल इन्चार्जले थाहा पाएछन्। केटाहरुले माफी मागेपछि र केटाहरुलाई आन्तरिक कारबाही भएपछि घटना सामसुम भएछ।

अर्काे घटना भएछ के भने उनी र एकजना साथी एउटै रुममा बस्दा रहेछन्। त्यो साथीले एकदिन बुबा बिरामी भएको बताएछन्। उनले पनि सहयोग गर्नुपर्ने ठानेर के गरौँ मैले भनेछन् श्रेष्ठ खिसिक्क हाँस्दै भन्छन् ‘दाइले मलाई भर्खरै १५० रुपैयाँ एक महिनाको खर्चका लागि पठाउनुभएको थियो आफूलाई २५ रुपैयाँ राखेर पठाइदिएँ। तर त्यो साथीको बा पनि बिरामी भएका रैनछन् ऊ पनि फर्केर आएन। म ३ दिनसम्म भोकै परेँ। त्यतिबेला मारवाडीको मेसमा उतिबेलै पैसा तिरेर खानुपथ्र्याे पैसा तिर्न नसकेर पानी खाएर बसेँ। साथीहरुले एक छाक खाए पनि सधैँ कहाँ सक्थे र ?’ त्यसपछि भने दाजुलाई भनेर खर्च ल्याएको बताउँछन्। अर्काे पनि करिब त्यस्तै घटना घटेछ। श्रेष्ठका दाजुले पैसा पठाएछन्। उनी बैंकमा जम्मा गर्न भनेर न्युरोड गएछन्। त्यहाँ धेरै आरुहरु देखेछन्। उनको जिब्रो सल्बलाएछ, उनी भन्छन्, ‘गाउँमा आरु खाएर हुर्केको म आरु देख्नेबित्तिकै खान मन लाग्यो किन्नलाई लाइन लागिहालँे आरु पनि खाएँ। एकछिन पछि पर्स छाम्छु त छैन पैसा चोरी भइसकेछ।’

राजनीति
वामपन्थी राजनीतिमा झुकाव राख्ने श्रेष्ठ कलेज पढ्दा भने राजनीतिमा खासै भुलेनन्। उनी भन्छन्, ‘कलेज पढ्दा मैले राजनीति गरिन तर म पहिलेबाट नै प्रोगे्रसिभ नेचरको रहेँछु, स्टुडेन्ट युनियनको चुनावमा भने प्रोग्रेसिभ र प्रजातान्त्रिकमध्ये प्रोग्रेसिभलाई नै भोट हालेको हो।’

पछि उनी गाउँमा जाँदा भने माओका पर्चाहरुबाट प्रवाहित भएछन्। त्यहाँ लेखिएका समानताको नाराले उनलाई आकर्षित गरेछ। एकचोटी श्रेष्ठ चाइनिज एम्बेसीको बाटो भएर कतै जाँदै थिए। त्यहाँ एक चाइनिजले चीनको व्याख्या गर्दै माआको ‘रेड बुक’ दिएछन्। हिन्दी भाषीको उक्त पुस्तक पढेपछि भने उनी पूरै कम्युनिष्ट भए।

सालीको कारण प्रेम
बीए पढ्दासम्म उनको प्रेम सम्बन्ध भएन। जसै बीएडको कोर्ष गरे त्यसपछि भने प्रेम सम्बन्ध भयो। उनी कीर्तिपुरस्थित कीर्तिपुर माविमा शिक्षक हुन आए। सुरुमा होस्टलमा बसे पनि पछि भने उनी रुम लिएर बसे। खाना खान भने त्यहाँ सामूहिक रुपमा खुवाउने होम स्टेमा गएर खान्थेँ। संयोग के भयो भने उनी जहाँ खाजा खान्थे त्यही घरकी एक छोरी उनकी विद्यार्थी थिइन्। उनी भन्छन्, ‘होस्टलमा बस्न झ्याउ भएपछि मैले विद्यार्थीलाई डेरा खोजिदेओ न भनेँ त्यहीँ खाना खान जाने विद्यार्थीले मलाई उसैको घरनजिकै खोजीदिइन्। कारण के रहेछ भने उनले आफ्नो दिदीलाई मेरो गफ लगाउँदीरहिछन्। मसँग प्रेम गर्न भन्दिरहिछन्। त्यसपछि त के नै चाइयो र ?’ जोडले हाँस्दै ...

प्रेमिल दिनहरु कसरी बिते त ? उनी भन्छन् तपाईंले त मलाई जवानीमा पो पुराउन लाग्नु भो त ? हाँस्दै...औपचारिक लभ परेको ६ महिनामा हामीले विवाह गरिहाल्यौँ। त्यही ६ महिनामा उनी र म कलेजबाट पिकनिक जाने भनेर हिँड्यौँ। तर, फिल्म हेर्न गयौं।

नेवारी समाजमा प्रेमलाई उति साह्रो ठूलो इस्यु मानिन्न। त्यतिबेला पनि मानिन्नथ्यो। उनले प्रेमलाई विवाहमा परिणत गर्नका लागि घरबाट आमालाई ल्याए। अघिल्लो दिनसम्म मख्ख आमा भोलिपल्ट त हुँदैन भनेर गम्किन्छिन्। उनी भन्छन्, ‘आमाले हुन्न भन्नुभयो दाइलाई सोधेँ उहाँले पनि अस्वीकार गरेपछि बालाई सोधेपछि विवाह गर मेरो साथ छ भनेपछि हामीले डिल्लीबजारमा गएर मेरा बाको साक्षीमा विवाह गर्यौँ। बुबालाई साक्षी राखेँ।’

पछिको करियर
पढाइले नै आफूमा आमूल परिवर्तन गरेको श्रेष्ठ बताउँछन्। उनले कोर्सका किताब मात्र पढेनन्, फिक्सनदेखि ननफिक्सन सम्मका किताबहरु पढे। उनी भन्छन्, ‘मैले यो पढ्छु, यो पढ्दिन भनेर छुट्टाइन जे–जे पाइन्छ त्यही त्यही पढेँ।’

प्रकाशित: २९ मंसिर २०७५ ०६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App