१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विराटनगरमा प्रादेशिक दुई प्रतियोगिता

प्रदेश–१ मा हुने प्रतियोगिताका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्दै मन्त्री जीवन घिमिरे र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा। तस्बिर : चुमन/नागरिक

मोरङ – नेपाली फुटबल जगतमा अहिलेसम्म पूर्व क्षेत्र हालको प्रदेश–१ लाई फुटबल खेलाडीको उत्पादन स्थलका रूपमा लिइन्छ। देश संघीयतामा गएसँगै सबै अधिकार र स्रोतसाधनको बाँडफाँट हुँदै गएको छ। फुटबल खेलको विकासको जिम्मा लिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले काठमाडौं बाहेक अन्य क्षेत्रमा खासै प्रगति गर्न सकेको छैन।

यस प्रदेश खेलाडीको उर्वर क्षेत्र मानिए पनि एन्फाले फुटबल खेलका भौतिक संरचना बनाउन चासो नदिँदा पूर्ण रूपका मैदान छैनन्। प्रदेश–१ को अस्थायी राजधानी विराटनगर राजनीतिले मात्र चर्चा कमाउने गरे पनि पछिल्लो चरण विभिन्न गतिविधिका कारण चर्चामा आउने गरेको छ। त्यसैअनुरूप शुक्रबार विराटनगरमा दुई ठूलो प्रतियोगिता गर्न राजी हुँदै प्रदेश सरकार र एन्फाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

एन्फाको आयोजना तथा प्रदेश सरकारको सहकार्यमा ५ वर्षका लागि विराटनगरमा प्रतियोगिता गर्ने सम्झौता भएको हो। शुक्रबार विराटनगरमा कार्यक्रम आयोजना गरी प्रदेश सरकारको सहकार्यमा प्रदेश–१ स्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता र अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता हुने बताइएको छ।

प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे र एन्फाका तर्फबाट अध्यक्ष कर्माछिरिङ शेर्पाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा बोल्दै प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले भने, ‘नेपाली फुटबलको विकासका निम्ति प्रदेश सरकारले ऐतिहासिक सम्झौता गरेको छ।’

यो सम्झौतामात्र हुने होइन कि समयमै प्रतियोगिता गरी खेलकुदको विकास गर्नेछौं, राईले भने। ‘खेलकुद क्षेत्र विनाको विकास अधुरो हुने हुँदा प्रदेश सरकारले यसलाई विशेष ध्यान दिएको छ’, राईले भने,‘देशमा सूर्य उदाउँने ठाउँबाटै खेलकुदको विकासका लागि दुई ठूला प्रतियोगिता गर्न लागेका हौं’, राईले भने, ‘अब यो देखेर अन्य प्रदेशले खेलकुद विकासमा ध्यान दिनेछन्।’

सो अवसरका एन्फाका अध्यक्ष कर्मा छिरिङले प्रदेशका लागि दुवै प्रतियोगिता गौरवमय रहेको बताएका छन्। प्रदेश सरकारले कुल २ करोड रुपैयाँ उपलब्ध गराउनेछ। प्रदेश–१ स्तरीय मुख्यमन्त्री कप लिग फुटबलअन्तर्गत प्रदेशका १४ जिल्लाका टोलीले सहभागिता जनाउनेछन्। यस लिगमा उत्कृष्ट हुने शीर्ष दुई टोलीले अन्तर प्रदेश एन्फा प्रेसिडेन्ट कपमा भाग लिने छन्। 

त्यसैगरी, अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबलमा सातै प्रदेशका उत्कृष्ट टोली, ‘ए’ डिभिजनका ६ क्लब र तीन वटा अन्तर्राष्ट्रिय फुटबल क्लबको सहभागिता रहने एन्फाले जनाएको छ। प्रतियोगिताको मिति एन्फाले सार्वजनिक गरेको छैन। एन्फाले चाँडै प्रतियोगिताको मिति तय गर्ने र यस प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहने एन्फाले जनाएको छ।

प्रकाशित: २९ मंसिर २०७५ ०४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App