८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

‘फेसबुक लाइभ’ डाक्टर

काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालका मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल नाम चलेका चिकित्सक हुन्। उनी नेपालका अति व्यस्त डाक्टरमा पर्छन्। व्यवस्तताका बीच पनि एक वर्षदेखि उनले एउटा यस्तो स्वास्थ्य अभियान सञ्चालन गरिरहेका छन्, जसले उनको  चर्चा अझ चुलिएको छ। 

त्यो अभियान हो– फेसबुक लाइभ। जसमार्फत् उनले निःशुल्क स्वास्थ्य सल्लाह दिँदै आएका छन् ।  गत वर्षदेखि सञ्चालित ‘फेसबुक लाइभ’ मा देश–विदेशमा रहेका नेपाली सहभागी हुने गरेका छन् र आफूलाई परेको स्वास्थ्य समस्याको समाधान पाउने गरेका छन्। अहिलेसम्म यसका १२ लाखभन्दा बढी ‘फलोअर’ भइसकेका छन्। 

समय पुगेसम्म डा. अनिलले कार्यक्रममा सहभागी सबैका स्वास्थ्य समस्या सम्बोधन गर्ने गरेका छन्। विदेशमा रहेका र आपत्मा परेका बिरामीलाई उनले भ्याएसम्म इनबक्समार्फत् जेनेरिक नामका औषधि लेखिदिने गरेका छन्। जुन औषधि खाएर सञ्चो हुनेहरूले उनलाई धन्यवादरूपी पुष्पगुच्छा बर्साउने गरेका छन्।  

भविष्यमा उनी युवालाई सम्बोधन गर्ने यस्तो कार्यक्रम ल्याउने योजनामा छन्, जसको सहयोगमा घरमै बसी–बसी उपचार सेवा लिन सक्नेछन्। 

यो फेसबुक लाइभ गर्न उनले आफ्नो कम्प्युटरमै विशेष स्टुडियो बनाएका छन्। उनको लाइभ समय पनि टेलिभिजनको जस्तै पूर्वघोषित हुन्छ। मानाैं, उनी टेलिभिजनमा समाचार नै वाचन गर्न जाँदैछन्। उनको यो लाइभमा अभ्यस्त दर्शक उनको प्रस्तुती कहिले आउला भनेर पर्खेर बस्ने गरेका छन्। घरदेखि टाढा गएका बेला पनि डा. अनिल समय मिलाएर लाइभमा उसैगरी हाजिर हुन्छन्। 

उनले अहिलेसम्म मुटुरोग, उच्च रक्तचाप, मोटोपनाजस्ता रोगबाट बच्न के–कस्तो खानपान गर्ने, कस्तो जीवनशैली अपनाउने, कस्तो व्यायाम गर्ने आदि विषयमा फेसबुक लाइभमार्फत् जानकारी दिइसकेका छन्। साथै रोग लागिहालेमा कसरी बच्ने÷बचाउने, कस्ता बिरामीले कस्ता व्यायाम गर्ने तथा कस्ता खानाले कस्ता रोगलाई असर पु-याउँछन् भन्ने विषयमा पनि उनले बताइसकेका छन्। 

पहिले प्रत्येक शनिबार राति ८ बजे ‘फेसबुक लाइभ’ गर्ने गरेका उनले हालै समय परिवर्तन गरेका छन्। अचेल उनको लाइभ साँझ ७ बजे आउने गरेको छ। यो समय सबैका लागि अनुकूल हुने भएकाले परिवर्तन गरिएको डा. अनिल बताउँछन्। 

आफ्नो पेसामा अति व्यस्त चिकित्सक अनिलले फेसबुक लाइभ किन थाले त ? नयाँ बिरामी आकर्षित गरी आफ्नो व्यवसाय बढाउन त उनलाई पक्कै यसको आवश्यकता परेन होला ? यसबारे डा. अनिलले आफ्ना कहानी यसरी सुनाए। 
००० 

डा. अनिल सन् २०११ मा अलइन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस(एम्स) डिएम अध्ययन पूरा गरेर नेपाल फर्के। लगत्तै उनले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटुरोग विशेषज्ञ भएर सेवा सुरु गरे। यहाँ दैनिक बिरामीको उपचार गर्ने क्रममा उनले के थाहा पाए भने मुटुरोगसहित अन्य रोगहरू कसरी लाग्छन् भन्ने सामान्य जानकारी पनि सर्वसाधारणलाई रहेनछ। यसैकारण उनीहरूको जीवनशैली र खानपान रोग निम्त्याउनेतिरै उन्मुख भएको रहेछ। उच्च रक्तचाप, मुटुरोगजस्ता नसर्ने रोगहरू तीव्र रूपमा बढ्नुको कारण पनि यही हो भन्ने उनलाई लाग्यो। 

यो कुराले डा. अनिलको मन पोल्न थाल्यो। र, मनमनै विचार गरे– आम नागरिकलाई स्वास्थ्यबारे कम्तीमा आधारभूत जानकारी दिने कुनै माध्यम भए हुन्थ्यो। सबै नेपालीलाई शारिरीक तथा मानसिक रूपमा स्वस्थ बनाउन पाए हुन्थ्यो। तर कसरी ? यसको उपाय के होला भनेर उनले सोच्न थाले। 
०००

यही क्रममा उनले नेपाल आएको तीन वर्षमै अर्थात् सन् २०१३ मा ‘तपाईं पनि डाक्टर’ पुस्तक प्रकाशित गरे। जहाँ उनले रोग लाग्नै नदिने तथा लागिसकेपछि कसरी उपचार गर्ने भन्ने विषयमा विस्तृत जानकारी दिए। त्यसको एक वर्षपछि सन् २०१४ मा उनले जनचेतना फैलाउने उद्देश्यले मुटुरोगसम्बन्धी स्वास्थ्य शिविर आयोजना गरे। त्यसयता प्रत्येक वर्ष विश्व मुटुरोग दिवस पनि उनकै नेतृत्वमा भव्यताका साथ मनाउने गरिएको छ। जसबाट धेरैले मुटुरोगका विषयमा जानकारी प्राप्त गर्ने अवसर पाएका छन्। 
०००

गत वर्ष नोभेम्बर अन्तिम साताको कुरा। काठमाडौं उपत्यकामा जाडो बढिरहेको थियो। जाडोमा जिउ तताउन भन्दै रक्सी पिउनेहरूलाई देखे। यसरी रक्सी खाँदा मुटुलाई कति असर गर्छ भन्ने कुरा उनीहरूलाई कसरी सम्झाउने ? उनी सोच्न थाले। 

यही क्रममा उनको दिमागमा एउटा उपाय फु-यो– सामाजिक सञ्जालको यो युगमा ‘फेसबुक लाइभ’ सञ्चालन गर्ने। जसबाट धेरैभन्दा धेरै मानिससम्म जानकारी पु-याउन सकिन्छ। 

त्यही दिन साँझ उनले परीक्षणका रूपमा ‘फेसबुक लाइभ’ सुरु गरी पनि हाले। नभन्दै पहिलो दिनमै हजारौं सहभागी भए र सयौंको उत्साहनजक प्रतिक्रिया आए। यो फेसबुक लाइभ निरन्तर गर्नुप-यो भन्ने सल्लाह–सुझाव पनि प्रशस्तै पाए। 

त्यसपछि उनलाई लाग्योे– वास्तवमा मान्छेहरू स्वास्थ्यबारे जानकारी लिन कति इच्छुक छन्। त्यस दिनदेखि डा. अनलिले हरेक शनिबार साँझ ‘फेसबुक लाइभ’ लाई निरन्तरता दिए। 

उसो त यो सञ्चालन गर्न त्यति सजिलो कहाँ छ र ! त्यसमा पनि स्वास्थ्यजस्तो संवेदनशील विषयमा बोल्नुछ। यसकारण शनिबार हुने लाइभका लागि उनी शुक्रबारदेखि नै तयारी थाल्थे।  

उता अस्पतालमा हुने व्यस्तताका बीच हप्ताको एक दिन पाउने छुट्टीको प्रतीक्षामा परिवार बसिरहेको हुन्छ। त्यही समय कटौती गरेर उनी फेसबुक लाइभमा जानुपर्ने !  ‘सुरु–सुरुमा त मैले समय नदिएको भन्दै परिवारका सदस्य दुःखी पनि भए, अहिले सबैले कुरा बुझिसके,’ डा. अनिल सुनाउँछन्। 

उनको फेसबुक लाइभ हेर्ने नियमित दर्शक छन्। जसमध्ये कतिले उक्त कार्यक्रमको सामग्रीबाट आफ्नो जीवन नै परिवर्तन गरिसकेको उनी बताउँछन्। यही कारण उनलाई फेसबुक लाइभ छाड्न मन लाग्दैन। ‘कतिले डा.सा’प मैले मासु खान छाडिसकें, तौल घटाएँ, दिनको कम्तीमा आधा घण्टा हिंड्छुँ भनेर भन्छन्,’ डा. अनिल सुनाउँछन्। फेसबुक लाइभ हरेरै कतिपयले चुरोट–रक्सीसमेत छाडेको उनको दाबी छ। 

आफ्नो फेसबुक लाइभ हेरेर कतिपय उच्च ओहदाका व्यक्तिहरूले समेत आफू बदलिएको बताउँदा आफूमा झन् उत्साह थपिएको डा.अनिल सुनाउँछन्।  

योभन्दा महत्वपूर्ण कुरा त के छ भने विदेशमा रहेका नेपाली युवा जो भनेकै बेला अस्पताल जान पाउँदैनन्। तिनले फेसबुक लाइभमा सहभागी भएर आफ्नो रक्तचाप बढेको, अस्पताल जान नमिलेको कुरा लेखेर पठाउँछन्। त्यतिबेला डा. अनिलले इनबक्समा औषधि लेखिदिन्छन्। जुन औषधि खाएर निको भएपछि खुसी हुँदै ‘धन्यवाद डाक्टर सा’प म बाँचे’ भनेर मेसेज पठाउँछन्। यो कुराले आफूलाई उच्च तहको आत्मसन्तुष्टि प्राप्त हुने डा. अनिल बताउँछन्। 

‘युवाहरू शारिरीक तथा मानसिक रूपमा स्वस्थ भए मात्र मुलुक राम्रो बन्छ,’ उनी भन्छन्,’ मेरो मुख्य उद्देश्य पनि स्वस्थ समाजको सिर्जना गर्नु हो।’ 

डा. अनिलले मुटुलाई स्वस्थ राख्ने जानकारी समेटिएको तस्बिरहरू पनि फेसबुक लाइभमा राख्ने गरेका छन्। जसले दर्शकलाई सजिलै कुरा बुझ्न सजिलो होस्। पछिल्लो समय भिडियो बनाएर पनि राख्ने गरेको उनले सुनाए। यी सबै काम गर्न उनले फोटो तथा भिडियो सम्पादकलाई सेवा शुल्कसमेत तिर्ने गरेका छन्। डा.अनिल भन्छन्, ‘जनचेतनाका लागि फोटो समरी, लेख तथा भिडियो तयार गर्न मेरो २०/२५ लाख रुपैयाँ खर्च भइसकेको छ।’ 

यसरी आफ्नै खर्च भए पनि यस्तो सामाजिक काम गर्न पाउँदा आफूलाई आनन्द आउने गरेको उनी बताउँछन्। 
०००

महोत्तरीको एक किसान परिवारमा जन्मिएका डा. अनिल गाउँकै सामान्य स्कुलमा पढेका हुन्। पढाइमा तेजिला उनले उच्च शिक्षा सधैं छात्रवृत्तिमै पढ्ने अवसर पाए। हजारौंमध्ये एक जनाले मात्र अवसर पाउने अलइन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस(एम्स) मा डिएम पनि उनले छात्रवृत्तिमै पूरा गरेका हुन्। एउटा सामान्य परिवारमा जन्मेका उनी आफ्नै खर्चमा यति गर्न सम्भव थिएन। 

‘यसैकारण मैले मानव हितमा काम गर्नुपर्छ भन्ने लाग्छ,’ उनले भने। ‘मैले यही समाजबाट कमाइ गरेको छु, मैले पनि समाजलाई केही दिनुपर्छ, यो मेरो सामाजिक उत्तरदायित्व हो,’ उनले भने। 

उनी अगाडि भन्छन्, ‘फेसबुक लाइभका कारणले १५ सय जनाले चुरोट छाडे भने यसको लाभ कसलाई मिल्छ ? अवश्य जनस्वास्थ्यमा।’

डा. अनिल पेसाले चिकित्सक भए पनि आध्यात्मिक चिन्तनले पनि उत्तिकै ओतप्रोत छन्। उनी भौतिक सुखका लागि पनि पहिले मानिसको सोचाइमा परिवर्तन आउनुपर्ने धारणा राख्छन्। 

आफूले सञ्चालन गरिरहेको फेसबुक लाइभले मानिसको सोच परिवर्तन गर्न ठूलो मद्दत पुगेको डा. अनिलको दाबी छ। ‘कति मानिस शाकाहारी बनेका छन्, कतिले तौल घटाएका छन्, कतिले दूध खान छाडेका छन्, कतिले नियमित उच्च रक्तचाप र कोलेस्ट्रोरेलको औषधि खान थालेका छन्,’ उनले सुनाए। यसले स्वस्थ र सभ्य समाज निर्माणमा योगदान पुग्ने डा. अनिलको दाबी छ। 

फेसबुक लाइभमार्फत् आफूले दर्शक तथा बिरामीबाट पाएको माया नै जीवनको सबैभन्दा ठूलो सुख र सन्तोष भएको उनी बताउँछन्। उनी भन्छन्, ‘तपाईंले यो सन्तुष्टि पैसाले किन्न सक्नु हुन्छ ? त्यही सन्तुष्टि मलाई मिलेको छ।’ 

काम र सेवामा विश्वास राख्ने डा. अनिल आफ्नो अस्पतालमा आउने अति विपन्न बिरामीलाई निःशुल्क पनि उपचार गर्छन्। राम्रो काम र सेवा गरेकै कारण उनले हालै राष्ट्रपतिबाट सुप्रबल जनसेवा श्रीको सम्मान पनि पाए। 

भविष्यमा उनी युवालाई सम्बोधन गर्ने यस्तो कार्यक्रम ल्याउने योजनामा छन्, जसको सहयोगमा घरमै बसी–बसी उपचार सेवा लिन सक्नेछन्। त्यो योजना यस्तो छ कि बिरामी आफैंले आफू मुटुरोगको  जोखिममा छु कि छैन भन्ने कुरा पत्ता लगाउन सक्ने उनको दाबी छ। 

हुनेले केही बढी रकम तिर्नुपर्ने तर विपन्न युवाले कम खर्चमै उपचार गर्न सक्ने नीति तथा कार्यक्रम ल्याउने तयारी आफूले गरिरहेको उनको भनाइ छ। उनले भने, ‘स्वस्थ समाज निर्माणका लागि म निरन्तर लागिरहने छु।’

प्रकाशित: २९ मंसिर २०७५ ०३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App