coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भारतीय अध्यागमनले एनओसी खोज्दा नेपालीलाई अप्ठेरो

काठमाडौं - भारत हुँदै विभिन्न नौ मुलुक जाने नेपालीलाई नो अब्जेक्सन सर्टिफिकेट ‐एनओसी) अनिवार्य गरिएकोमा भारतीय अध्यागमनले जुनसुकै मुलुक जान चाहने नेपालीसँग पनि उक्त पत्र माग्न थालेको छ। दुई देशबीचको कूटनीतिक सहमति नाघेर भारतको अध्यागमनले भारतीय मार्ग हुँदै तेस्रो मुलुक जान चाहने नेपालीका लागि एनओसी अनिवार्य गरेको हो। एनओसी नयाँदिल्लीस्थित नेपाली दूतावासले दिने व्यवस्था छ तर दूतावासले तोकिएको नौवटा मुलुकका लागि मात्रै एनओसी जारी गर्दै आएको छ। मानव तस्करी बढी हुने नौवटा देशका लागि एनओसी चाहिने प्रावधान राखिएको हो।

दूतावासका प्रवक्ता हरि ओडारीका अनुसार नेपाल सरकारले मध्यपूर्वका र मलेसिया गरी नौ मुलुकका लागि मात्र एनओसी अनिवार्य हुने भनी भारतसँग सहमति गरेको छ। भारतले भने अन्य मुलुकमा जान चाहने नेपालीका लागि पनि एनओसी अनिवार्य गरेको उनले जानकारी दिए। ‘सहमतिअनुसार हामीले नौवटा मुलुकका लागि मात्र एनओसी जारी गर्दै आएका हौं, तीबाहेक अन्य मुलुकका लागि होइन,’ ओडारीले भने।

नेपाल सरकारले मध्यपूर्वका र मलेसिया गरी नौ मुलुकका लागि मात्र एनओसी अनिवार्य हुने भनी भारतसँग सहमति गरेको छ। भारतले भने अन्य मुलुकमा जान चाहने नेपालीका लागि पनि एनओसी अनिवार्य गरेको छ।

सबै मुलुकका लागि एनओसी अनिवार्य गरेर भारतको अध्यागमनमा कडाइ गरेपछि नेपाली यात्रुले झन्झट भोग्दै आएका छन्। नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेका अनुसार भारतको अध्यागमनले तोकिएका मुलुकबाहेकमा समेत एनओसी माग गर्ने र अनावश्यक सोधपुछ गर्ने गरेकाले नेपाली यात्रुले झन्झट भोग्नुपरेको हो।

नेपाली यात्रुले झन्झट भोग्नुपर्ने अवस्था आएपछि भने इमेलमार्फत समेत एनओसी बनाइदिने गरेको प्रवक्ता ओडारीले जानकारी दिए। परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकाल अन्य मुलुकमा जान चाहने नेपाली यात्रुको पनि एनओसी मागिएको सुन्नमा आएको बताउँछन्। तर समस्या समाधान गर्न भने कुनै पहल भएको छैन।

मानव तस्करी रोक्ने उद्देश्यले चालिएको कदम सकारात्मक भए पनि दिल्ली भई तेस्रो मुलुक जानुपर्ने नेपालीले समस्या भोगिरहेकोमा पाण्डे चिन्ता व्यक्त गर्छन्। व्यापार, व्यवसाय, अध्ययन, घुमघामको उद्देश्यले भारतको बाटो हुँदै अन्य मुलुक जान चाहने नेपालीले एनओसीका कारण दुःख पाएको गुनासो गरे पनि सुनुवाइ भएको छैन। पाण्डेले भने, ‘मापदण्ड नतोकी सबैलाई एउटै डालोमा राखेर नो अब्जेक्सन सर्टिफिकेट अनिवार्य गर्दा नयाँ समस्या आएको छ।’

प्रवक्ता ओडारी नेपालीले भारतको विमानस्थल हुँदै तेस्रो देश जानुपर्दा निकै झन्झट बेहोर्नुपरेको गुनासो आइरहेको स्विकार्छन्। दूतावासकै एक अधिकारीले भने मानव तस्करी रोक्ने उद्देश्यले गरिएको एनओसीसम्बन्धी व्यवस्थाको बचाउ गरे। उनले भने, ‘हाम्रो मनशाय सर्वसाधारण नेपालीलाई दुःख दिने होइन।’ एनओसीको व्यवस्थाले नेपालीहरु मानव तस्करको हातमा पर्ने घटनामा कमी आएको उनको भनाइ छ। भारतका मुख्य सहरहरुमा पछिल्लो समय मानव तस्करको हातमा पुगेकाको उद्धार गरिएका घटना सार्वजनिक हुनुमा एनओसी मुख्य कारण रहेको उनको बुझाइ छ। प्रवक्ता ओडारीले नेपालीलाई तेस्रो मुलुक जान नेपालकै विमानस्थल प्रयोग गर्न प्रोत्साहित गरिएको बताए।

प्रकाशित: २९ मंसिर २०७५ ०३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App