१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

स्वतन्त्र कैदी

पढ्न मन थियो जिन्दगी
या पखाल्न मन थियो उसलाई
आफ्नै घरको दक्षिण कोठामा बसेर
मानौ एउटा स्वतन्त्र कैदी
केरमेट कविता लेखिरहेछ
कलम त उसले बच्चैमा समाउन सिकेको हो

एउटै आकारको कलमले एउटै रंगको मसीले
उस्तै कागजमा उस्तै अक्षर लेखेका हौं हामीले
उसको कापीमा किन सुल्टो देखियो अक्षर
र मेरो कापीमा कसले बनाइदियो उल्टो ?

एउटै प्रश्नको उस्तै उत्तर लेखिएको
एउटै गणितको उस्तै सूत्र लेखिएको
परीक्षाको उत्तर पुस्तिका जाँच्नेले
किन उसको पूर्णांक र प्राप्तांक उत्तानो राखियो
र मेरो प्राप्तांकलाई किन घोप्टो देखाइयो ?

एउटै गाउँका एकै ठाउँका
उस्तै उमेरका उस्तै उचाइका
एउटै स्कुलको एउटै कक्षामा पढ्ने
उसको बेन्च किन सबैभन्दा अगाडि भईदियो
र मलाई सबभन्दा पछाडि राख्नुको कारण के थियो ?

एउटै प्रांगणमा एकै तरिकाले
एउटै हारमा एकै लयले
सँगै कण्ठस्थ गाएको राष्ट्रिय गान
उसले गाउँदा किन ठूलो र मिठो सुनियो
मैले गाउँदा किन मसिनो र तितो भनियो ?

उसले मनमा भगवान राखेर
मन्दिरमा पूजा गर्ने संस्कार सिक्यो
मैले मस्जिदभित्र नमाज पढ्ने संस्कार जानें
अल्लाह त मेरो पनि मनमै बसेका हुन्छन्
कि उसको भगवान संसारकै ठूलो हो भन्देऊ
कि मेरो अल्लाह म भन्दा सानो हो भनेर प्रमाणित गरिदेऊ

उस्तै हो
उसले श्री गणेशाय नमः भनेर गर्दन छिनाउनु
र मैले विस्मिल्लाहि रहमानिर रहिम भनेर किल्किले रेट्नु
जसको जस्तो मन्त्रले पनि मृत्यु उस्तै जपेको हुन्छ

मलाई स्वतन्त्र कैदीको
मृत्यु जिन्दगीबाट मुत्त गरियोस्
मेरो नेपाली नागरिकतामा
उर्दू अक्षर लेखिएको छैन
तपाईँको हस्ताक्षर पनि उल्टो देखिएको छैन सरकार। 

प्रकाशित: २९ मंसिर २०७५ ०३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App