यात्रा

पाथीभरामा हुस्सुको च्यादर

शनिबार, २९ मङि्सर २०७५, ०८ : ३३ हेमन्त विवश

यात्रामा भेटिन्छन् कविताका हरपहरू। संगीतको धुन अनि जिन्दगीको आनन्द। छुट्टै अनुभूति दिलाएर जिन्दगीलाई सार्थक तुल्याउँछ यात्राले। यादैयादका पल्ला ओढाएर जान्छन् यात्री बन्दाका घुम्तीहरू। तिनै यादहरू बनिदिन्छन् जिन्दगीका सुखद अनुभव पनि। विगत सम्झिने मध्यम बन्छन् क्यामेरामा कैद गरिएका कतिपय तस्बिरहरू, भिजुयलहरू। कहिलेकाहीँ लाग्छ चञ्चले मनले खोजिरहेका तमाम दृश्यहरू त कहाँ भेटिन्छन् र तस्बिरमा पनि। खास तस्बिरहरू त मुटुको कुना कुनामा गएर लुक्छन्। त्यस्ता दृश्य भेटिन्छन् पाथीभरा आसपासमा।

भनिन्छ, मान्छे स्वभावैले भ्रमणशील प्राणी हो। शरीरका अङ्गप्रत्यङ्ग सँगसँगै अझ भनाैं बाल्यावस्थादेखि नै खोजिरहन्छ नवीनता। नौलोपन भेटाउन पुग्छ मान्छे धर्तीको कुना काप्चामा। सायद यसरी नौलोपनको खोजीमा यात्रारत हुँदा भेटाए होलान् कोलम्बसले अमेरिका। मान्छेको उपलब्धि भन्नु नै नवीनताको खोजी हो। बाँचुन्जेलसम्म जिज्ञासुपन त हो साच्नुपर्ने पनि। कुनै कालखण्डमा झुल्किन्छ जिन्दगी र समयको बहावसँगै सिद्धिन्छ। त्यही कुनै निश्चित समयको अवशेष छोडेर जाने न हो जिन्दगी।

कात्तिक २७ गते प्रकृतिप्रेमी समूहको एउटा जुलुस तयार हुन्छ १० दिने यात्राका लागि। अन्तिम गन्तव्य पाथीभरा मन्दिर। त्यही जत्थामा मिसिने संयोग जु-यो मलाई पनि। ४५ जनाको समूह। बसभित्र हेरेंँ आफ्नो उमेर समूहका दुई–चार जना मात्र। अधिकांश अपरिचित। कतै बथान भुलेर अन्यत्र मिसिएको मृगझैं हेरिरहेँ केहीबेरसम्म सबैका मुहारमा  । सँगसँगै हिँड्दा मान्छेमान्छे बीच घुलमिल हुन धेरै समय नलाग्नुपर्ने हो। तर, पनि मलाई सबैसँग परिचित हुन पूरै १० दिन लाग्यो। 

त्यो यात्रा अर्थपूर्ण अभियान थियो डा. उमेश श्रेष्ठको। आफ्नो स्वास्थ्य आफ्नै हातमा। आफै हो आफ्नो डाक्टर। प्रकृतिप्रेमी समूहको यो नारा मानव हितका लागि अनि उपयोगी समाजका लागि चयन गरिएको हो। अभियानमा हृदयदेखि नै समर्पित छन्, सरिता डंगोल, यशोदा दाहाल, रामदेवी महर्जन लगायतका कैयौं मनहरू। 

यी देवी, देवता र फाल्गुनानन्द सबैको साझा थलोमा पुगेर फर्केका मान्छेहरू किन सिक्दैनन् सिक्नुपर्ने कुरा। ती देवदेवी र महागुरुलाई आस्थाको केन्द्र मानेर धाममा धाइरहने मान्छेहरू एकताबद्ध भएर प्रेमपूर्वक मिलेर किन बस्न सक्दैनन् समाजमा ?

सिन्धुलीको बाटो। जापनिजले बनाइदिएका नागबेली सडक। उहिले मेरी आमाले लगाउने गरेको गुन्यूका मुजाजस्ता सडकका बाक्ला घुम्तीहरू। ठट्यौला चालक र सहचालकको छेउमा क्याबिनको बसाई। एक यादगार यात्रा। साँझ बिर्तामोडमा बास बसेपछि इलामको कन्याम हुँदै अघि बढ्छन् पाइलाहरू। दोस्रो बास श्रीअन्तु डाँडाको होमस्टेमा। रायोको साग, इलामे चियाको घुट्कोसँगै मिठासपूर्ण बन्छ कोदाको रोटीको स्वाद। चिसो ठाउँ निश्चल, निष्कपट मनहरू। गाउँको त्यो सुन्दरता। जताततै चिया बगानहरू। बादलुको घुम्टो ओढिरहने इलामले खोलेन घुम्टो। देखिएनन् आफरमा तातेको फलामजस्ता देखिने बिहानपखका सूर्यनारायण पनि। नजानिँदो पाराले त्यसै पोखियो मनभरिको उत्सुकता। 

तेस्रो दिनको बास माइपोखरी। इलामका प्रखर वक्ता टंक आचार्य र सहयोगी मन बोकेका चुडामणी सञ्जेलसँगको मिलन। चौथो दिनको बास बस्ने ठाउँ पाँचथरको फिदिम बजार। दिनभरी बाटो देखाउने अगुवा थिए– पत्रकार गिरिराज बास्कोटा र पूर्वसभासद् अइन्द्र सुन्दर नेम्वाङ। हरेक दिन प्राय चार–पाँच घन्टा पैदल यात्रा। किराँत महागुरु फाल्गुनानन्दको समाधीस्थल सिलौटी र कर्मभूमि लब्रेकुटीको सुन्दरता अनि साधुटारबाट देखिने हिमालको दृश्यले जो कोहीलाई मन्त्रमुग्ध तुल्याएकै हुन्छ। समूहका तर्फबाट रामदेवी महर्जनले लुब्रेकुटीमा पुजारी एवम् किराँत अभियन्ता ध्रुब तुम्बापोलाई सहयोगस्वरूप १० हजार रूपैयाँ हस्तान्तरण गर्दाको दृश्य। 

भोलिपल्ट पुगिन्छ, ताप्लेजुङको सदरमुकाम फुङलिङबाट करिब चार किमि दूरीमा रहेको गुम्बाडाँडा होमस्टे। जुन यात्राभरिकै अविष्मरणीय बसाइँ थियो। होमस्टे विकासका निम्ति प्रकृतिपे्रमी समूहले १० हजार र शर्मिला श्रेष्ठले ५ हजार गरी १५ हजार रूपैयाँ गुम्बाडाँडा आमा समूहलाई हस्तान्तरण गरेको कार्य प्रशंसनीय थियो। ओझेलमा परेको गुम्बाडाँडा होमस्टे अनि गुरुङ संस्कृति झल्काउने सङ्ग्रहालय र त्यहाँका आमा दिदी बैनीहरूको सत्कारलाई जति नै शब्दमा व्यक्त गरे पनि कमै हुन जान्छ। उनीहरूले गरेको बिदाइ कार्यक्रममा परेलीका डील भत्केलान जस्ता बनिसकेका थिए। 

गन्तव्यमा पुग्नुपर्ने थियो। यात्रा सुरु भयो, सुकेटार, देउराली, छातेढुंगा, काफ्लेपाटी हुँदै माथिल्लो फेदीसम्मको। काफ्लेपाटीदेखि माथिल्लोफेदी पुग्दासम्म हरेक पसलमा देखिने पूजासामग्रीहरूको सजिसजावटले थपेको छ रौनकता। यात्रीहरूका मनमा सल्बलाउदा हुन् आस्थाका लयहरू। 

पाँचौ दिनको बास बस्ने ठाउँ थियो माथिल्लो फेदी। घनश्याम पौडेलको होटेलमा संयोगवश भेट भयो पाँचथरका दिलबहादुर कार्की अर्थात् बलिगुरुसँग। १६ वर्षको उमेरदेखि पाथीभरा मन्दिरमा मारहान्ने कार्यमा सरिक छन्। सिजनमा हरेक दिन बिहान ४ बजे नै मन्दिरमा पुगिसक्छन् देवीको थानमा भेडा, बोका, पाठी गरी उनले दिनमा पाँच सयसम्म पनि काटेका रहेछन्। हिसाव गर्ने हो भने हालसम्म लाखौ काटिसके होलान्। कैयाैं ले भन्छन् रे उनलाई– यसरी हत्या गर्नु पाप हो यो काम नगर्नू। तर, सपनामा पनि छ्याकछ्याक मार हानिरहेको कुरा सुनाउँछन् उनी। मन्दिर परिसरमा पुग्ने बित्तिक्कै पलाइहाल्छ रे काट्ने रहर। यही पेशाबाट उनी सिजनमा ६० हजारसम्म कमाउँछन्। उनलाई थाहा छैन उनले पुण्य कमाइरहेका छन् या पाप। 

भोलिपल्ट बिहानै तयारी हुन्छ मन्दिरसम्मको यात्राको। फेदीबाट अलिकति हिँडेपछि देखिन्छ कान्छी पाथीभरा मन्दिर। माथि उक्लिन नसक्नेहरू त्यतै दर्शन गरेर फर्किदा रहेछन्। कान्छी पाथीभराका पुजारी ईश्वरी पौडेलका अनुसार तीन सय वर्ष अघिदेखि निरन्तर भइरहेछ पूजाआजा। हुस्सुले बाक्लो पछ्यौरी नहटाइदिँदा फोटोग्राफरहरूको रहर अधुरै रह्यो। लेकाली अङ्गेरी, गोब्रेसल्लो, धुपी र गुराँसे जंगल। जंगल बीचमा ढुंगा बछ्याएको टलक्क बाटो। किनारमा तानिएको सेतो धागो। 

मान्छे आस्था र विश्वास बोकेर गरिरहेको हुन्छ जिन्दगीको यात्रा। त्यही आस्था र विश्वासमा जगत अडिएको छ। प्रकृति पुजकका लागि सिंगो जगत नै आस्थाको केन्द्र बनिदिन्छ। मान्छेले आफैप्रति गर्न सक्नुपर्छ विश्वास। आफूले आफैमा विश्वास भरेर ऊर्जापूर्वक बाँच्नुको आनन्द छुट्टै छ। यात्रामा ७२ वर्षीय गणेश श्रेष्ठको आत्मविश्वास २५ वर्षीय जवानभन्दा कम थिएन। बाटोमा सुइय्य सुस्केरा हाल्दै उत्सुकताका साथ उकालो चढिरहेका देखिन्थे भक्तजनहरू। पूर्वदेखि पश्चिमसम्म कैयांै ठाउँमा कैयौंपल्ट सुनिन्छन् विभिन्न मन्दिरमा चोरी भएका समाचारहरू। तर, पाथीभरामा बाटोमै छरिएका देखिन्छन् सिक्काहरू। उठाउने हिम्मत गर्दैन् कसैले। मन्दिर हाताभित्र त जताततै छरिएका हुन्छन पैसाहरू। त्यहाँका रूपैयाँ, पैसा वा अन्य कुनै चिज उठाएमा अनिष्ठ हुन्छ भन्ने मान्यता छ। पछिल्ला दिनमा भेटि संकलन गरेर मन्दिरको कोषमा जम्मा गर्ने गरिएको छ। पछिल्ला चार महिनामा मात्रै करिव ५० लाख रूपैयाँ संकलन भएको छ। सुन, चाँदी र अन्य गरगहना पनि चढाएकै छन्। प्रहरीको रोहवरमा संकलित भेटी गणना गरिन्छ। मन्दिरमा चढाएको भेटी त्यहाँ कार्यरत कर्मचारीले संकलन गर्ने र प्रहरीको रोहवरमा माथिल्लो फेदीको अस्थायी प्रहरी चौकीमा ल्याएर राख्ने गरिन्छ। वर्षेनी लाखौं तीर्थयात्रुहरू माताको दर्शनका निम्ति पुग्ने गर्छन्। 

डाँडाको टुप्पामा अवस्थित धाम प्रशिद्ध शक्तिपीठका रूपमा हेरिन्छ। सदरमुकामबाट १९.४ किमि उत्तर पूर्वमा पर्ने ३७९४ मी. उचाइमा अवस्थित उक्त पहाडको टुप्पो अन्न भरेको पाथीझैं देखिने हुँदा यसलाई पाथीभरा र यहाँ उत्पत्ति भएकी माइलार्ई पाथीभरा माई भनिएको बताए पुजारी टीकाराम पौडेलले। लिम्बु समुदायले पाथीभरालाई ‘मुक्तुवुङ‘ भनेर चिन्छन्। जसको अर्थ हुन्छ शक्ति वा बलको स्रोत। 

किंवदन्ती भन्छ– परापूर्वकालमा पाथीभरा आसपासमा भेडीगोठहरू थिए। एकदिन अचानक ठूलो संख्यामा भेडाहरू गायव भएछन्। दुई/तीन दिनसम्म पत्ता नलागेपछि  गोठालाहरू निकै नै निराश र हतप्रद भएछन्। हैरानीका साथ गोठमा पल्टिएका गोठालालाई मध्यरातमा देवीले दर्शन दिइछन्। आफ्नो उत्पत्तिस्थल र आकृतिको बोध गराएछन्। भेडाको बलिसहित पूजाअर्चना गर्न निर्देशन पाएका गोठालाले दोस्रो दिन बिहानै भनेबमोजिम नै पूजा अर्चना गरेछन्। तत्पश्चात् बादल फाटेर घामका किरण देखिएझैं एकाएक देखापरेछन् हराएका भेडाहरू। यो दृश्य देखेर आश्चर्यचकित भएका गोठाला देवीको जयजयकार गर्न थालेछन्। त्यही दिनदेखि गोठालाहरू नित्यरूपमा पूजा गर्न थालेछन्। गोठालालाई माध्यम बनाएर मानव बस्तीमा आफ्नो पहिचान गराउन देवीले भेडा अलप गराएकी हुन् भन्ने मान्यता छ। यी कालिका भगवती भएको र ठाउँ विशेषले यिनको नाम पाथीभरा माई रहन गएको सुनाए पौडेलले। 

यो प्राचीन कथा हो। आस्था र विश्वासमा अडेका मनहरू पुग्न थाले पाथीभराको टुप्पोमा र गर्न थाले पूजा। यी देवीलाई हेर्न थाले अटल सौभाग्यकी प्रतीकका रूपमा। चढाउनथाले सौन्दर्य प्रसाधनका सामग्रीहरू– सिन्दूर, टीका गाजल, काइयो आदि। हातमा खड्क त्रिशूल बिणा बोकेर सिंहामथि विराजमान देवीको नयाँ बनेको मूर्ति पूर्वदेखि पश्चिमसम्मका मन्दिरहरूमा देखिने देवीका मूर्तिहरू मध्येकै अग्लो मानिन्छ। हिजोआज पशुपंक्षी बलि दिनुको सट्टा नरिवल फोड्ने र मिठाइ चढाउने गरेको पाइन्छ। पाथीभरा प्रांगणभित्रै करिब सय पाइला जति हिँडेपछि देखिन्छ किराँतहरूका देवताको धाम। नजिकै अवस्थित छ, किराँत महागुरु फाल्गुनानन्दको शालिक। सबै देवदेवी मिलेरै बसेका छन् डाँडाको टुप्पोमा। 

पाथीभराबाट देखिने कञ्चनजंघा, कुम्भकर्ण, काङबाचेन, लोत्से र नोत्से हिमालको मुहार लुकाइरह्यो बाक्लो हुस्सुले। घाँटीमा झुण्डिएका क्यामेराहरू निरिह बनिरहे। सकेनन् तिनले त्यहाँबाट हिमालको सुन्दरता आफूमा कैद गर्न। सानोमा मनभरि पलाउथ्यो जिज्ञाशा– डाँडापारि के छ होला ? यो डाँडो नभइदिए कति राम्रो हुन्थ्यो होला ? पाथीभराको टुप्पोमा पुगेपछि त्यस्तै प्रश्नहरू उब्जिन थाले मनमा। आकाश खुलेका बेला कस्ता देखिदा हुन् ति हिमाल ? बिहान छेवैमा सूर्यका कलिला किरणहरू पोखिँदा कति सुन्दर देखिदो हो परिवेश आदि...। नभन्दै स–साना नानीलाई केही कुरा देखाउँदै अनि स्वाट्ट लुकाउँदै गरेर जिस्क्याएजस्तो गर्न थाले घामका किरणहरू। राम्ररी हेर्न नपाउँदै तुरुन्तै लपेटिए हुस्सुको आँचलमा। उचित प्रचारप्रसार र बाटोघाटोको सुधार गर्ने हो भने लाखौ यात्रीहरू पुग्ने निश्चित छ पाथीभराको दर्शनार्थ। यसरी यात्रुको संख्यामा वृद्धि हुँदै गएमा पूर्वको समृद्धिका लागि अरु धेरै कुरा सोचिरहनु पर्ला जस्तो लाग्दैन। 

पाथीभराको टुप्पोमा सप्को हालेको हुस्सु। चिसो हावा। बाटो किनारका रुख। भाकल गरेबमोजिम भक्तजनले रुखको फेदमा बुट्यानको टुप्पामा बेर्दैबेर्दै मन्दिरसम्म पु-याएको टाढैबाट टल्किने घागो पथप्रदर्शक बनेको छ यात्रीका लागि। देवीको दर्शनका लागि मात्र नभएर प्राकृतिक सुन्दरताको मनमोहक आनन्द लिन सकिने प्रमुखस्थलमा पर्छ पाथीभरा।
फर्किदा टकटक आवाज दिन्थे बिछ्याएका ढुंगाले। तर, मनको एउटा कुनामा उब्जिन्थ्यो प्रश्न, कतै उनीहरू भन्दै त छैनन् – यति चाडै किन फर्किन थालिस् ? भोलि घाम लाग्नेछ। हुस्सु भाग्नेछ। हिमाल देखिनेछ। आज फेदीमै बसेर भोलि पुनः आइजा है ? थाहा छ ढुंगा निर्जीव हुन्, बोल्दैनन्। फेरि पनि मनको कुना कन्दरामा बोलिरहेका थिए।

फर्किदा बाटोमा कैयौंपल्ट सम्झिन्छु डाँडाको टुप्पोमा रहेकी देवीको आँगन। नजिकै रहेका किराँतहरूका आराध्य देव। त्यहाँ बौद्ध धर्मावलम्बीहरू पुग्छन्। हिन्दूहरू पुग्छन्। त्यहाँ जानलाई कुनै जात, धर्मावलम्बिको भेदभाव छैन। फेरि प्रश्न उब्जिन्छ मनमा यी देवी, देवता र फाल्गुनानन्द सबैको साझा थलोमा पुगेर फर्केका मान्छेहरू किन सिक्दैनन् सिक्नु पर्ने कुरा। ती देवदेवी, महागुरुलाई आस्थाको केन्द्र मानेर धाममा धाइरहने मान्छेहरू एकताबद्ध भएर प्रेमपूर्वक मिलेर किन बस्न सक्दैनन् समाजमा ?

 







यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad