coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

परिवर्तन सम्भव छ

हामी आजको यो समयमा हाम्रो देश र देशवासीको स्थितिका विषयमा चिन्तन गरौँ। देशको वास्तविक अवस्था बुझ्न हामीले हिमाल, पहाड र तराईको पूरै यात्रा गरिरहनु पर्दैन, काठमाडौँमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पर जानु पनि पर्दैन। त्यही विमानस्थलमा तपाईंहरू एकै समयमा दुईवटा बिलकुल अलग दृश्यहरू देख्न सक्नुहुनेछ। 
त्यहाँ तपाईंहरू शिक्षित युवाको एउटा समूह देख्नुहुनेछ। उनीहरूलाई उच्च शिक्षा अथवा रोजगारीको अवसर खोज्दै विकसित देशहरूतिर पलायन हुन लागिरहेको देख्न पाइन्छ। उनीहरूको परिवारका सदस्यको अनुहारमा गर्व, खुसी र ठूला–ठूला अभिलाषाहरू रहेको पढ्न सकिन्छ। 

त्यही ठाउँमा तपाईंहरू थोरै मात्र उत्साह बोकेका अल्पशिक्षित युवाहरूको अर्को समूह पनि देख्न सक्नुहुनेछ। उनीहरू श्रम गर्न अथवा सानातिना कामहरू गर्न बिदेसिन लागेका हुन्छन्। तिनका आफन्तहरू डर, आशा र पीडित हृदय बोकेर उनीहरूलाई बिदा गर्न उपस्थित भएका हुन्छन्। 

ती दुवै समूह हामीतिर हेरेर भनिरहेका हुन्छन् — ‘हामीले एउटा पूरै पुस्तालाई असफल बनाइदिएका छौँ।’ यसको अर्थ हो हामीले त्यो पुस्तालाई राम्रो शिक्षामा पहुँच दिन सकेनौँ, शिक्षित भएकाहरूलाई पनि स्वदेशमै रोजगारी दिन सकेनौँ। 

दुवै प्रकारका परिवार हामीसँग गुनासो गरिरहेका हुन्छन् — ‘हामीले एउटा पूरै पुस्तालाई असफल बनाइदिएका छौँ।’
हामी उनीहरूको आत्माले भन्न खोजेको कुरा बुझौँ। आफ्नो तन्नेरी छोरालाई बिदा गरिरहेको बाबुको आँखाबाट झरिरहेको आँसुलाई हेरौँ। आफ्नो लोग्ने कामको खोजीमा बिरानो देशतिर हिँड्न लागेकोमा रोइरहेकी महिलाको आँसुको अर्थ खोजौँ। आफ्नी आमा बिदेसिन लाग्दा डाको छोडेर रुने सानी छोरीको आँखाबाट हाम्रो देशलाई हेरौँ। 

यी सबैले कुनै न कुनै आवाजमा भनिरहेका हुन्छन् — ‘हामीले एउटा पूरै पुस्तालाई असफल बनाइदिएका छौँ।’हामी यो परिस्थितिलाई बदल्न सक्छौँ। आजको समारोहमा दुवै पुस्ताको प्रतिनिधित्व छ र हामीसँग यो परिस्थिति बदल्ने ऐतिहासिक अवसर पनि छ। हामीले यो अवसरको सदुपयोग गर्नैपर्छ। किनभने यही हो सामाजिक न्याय र नैतिक दायित्व। नागरिकका रूपमा लिनुपर्ने जिम्मेवारी पनि यही नै हो। 

हामी एउटा साझा लक्ष्य तय गरेर अघि बढौँ। त्यसका लागि उच्च स्तरका शैक्षिक अवसरहरू देशमै सिर्जना गरौँ। त्यस्तो अवसर समतामूलक होस्, स्थानीय रूपले सान्दर्भिक होस् र सबैले ग्रहण गर्ने सक्ने खालको होस्।

नेपाल प्रशस्त अवसर र सम्भावनाहरू भएको देश हो र जीवन्त प्रयोगशाला पनि हो। यो प्रयोगशालामा हामीले आविष्कार, नवीनतम खोज र सकारात्मक परिवर्तन गराउने कामको सुरुवात गर्नैपर्छ, गरिरहेका पनि छौँ। समुदायमा प्रत्यक्ष प्रभाव पार्ने कार्यहरू गर्न युवाहरूलाई शिक्षित पार्नैपर्छ, पारिरहेका पनि छौँ। यो कामलाई हामीले ‘कक्षाकोठालाई क्याम्पसबाट समुदायसम्म पु-याउने’ भन्ने गरेका छौँ। 

तपाईंहरूले कहिल्यै सोच्नुभएको छ — किन सयौँ वर्षअघि हाम्रा पुर्खाले बनाएका भव्य मन्दिरहरूको मर्मत–सम्भारका लागि हामी कठिन सङ्घर्ष गरिरहेका छौँ ? किन हामी आफ्ना जडिबुटीहरू निर्यात गरेर तिनका उत्पादनहरू दस गुणा बढी मूल्यमा आयात गरिरहेका छौँ ? किन हाम्रै जुजुधौ भक्तपुरभन्दा बाहिर पाउन मुस्किल छ, तर कोकाकोला भने देशभरिका प्रायः सबै पसलहरूमा किन्न पाइन्छ ?

अनि हामीले विचार गर्नुपर्छ — हाम्रो उर्वर जमिन बाँझो छ, तर हाम्रा सन्तानहरू विदेशका मरुभूमिमा पसिना बगाइरहेका छन्। हाम्रा भाषा, सङ्गीत र संस्कृतिहरू लोप हुन लागेका छन्, तर हामी बाँकी दुनियाँसँग सजिलै संवाद गर्न सकिरहेका छौँ। दुनियाँभरि घुम्न सकेर पनि आफ्नै देशका कैयौँ बस्तीहरू हाम्रा लागि अझै बिराना बनेका छन्।
म कहिलेकाहीँ एक्लै टोलाएर सोच्ने गर्छु — हामीले कसरी सिक्यौँ सिर्जना नगरी उपभोग मात्र गर्न ? हामीले कसरी सिक्यौँ लगानी नगरी खर्च मात्र गर्न ? हामीले कसरी सिक्यौँ नबढीकन फैलिन ?

विश्वविद्यालयका रूपमा हामीले सुरुदेखि नै कन्टेक्स्टबेस्ड एजुकेसन (सन्दर्भमा आधारित शिक्षा) मा जोड दिएका छौँ। यसमा हामी गर्व गर्छौं।

भूकम्पबाट क्षतिग्रस्त भएपछि हामीले पुनर्निर्माण गर्दै गरेको मन्दिर परिसरभित्र हाम्रो सङ्गीत विभाग सञ्चालन हुँदैछ, हाम्रा मेडिकलका विद्यार्थीहरू केही सिक्न र जनताको जीवनस्तर बदल्न ग्रामीण भेगतिर जान्छन्, हाम्रा इन्जिनियरिङका विद्यार्थीहरू जलविद्युत उत्पादन परियोजनाहरूमै पुगेर अध्ययन पूरा गर्छन्, हाम्रा कानुनका विद्यार्थीहरू स्थानीय सरकारका प्रतिनिधिहरूसँग सहकार्य गर्छन्। यति मात्र होइन, हाम्रा शिक्षाशास्त्रका विद्यार्थीहरू सार्वजनिक विद्यालयमा सिक्छन् र सिकाउँछन्, हाम्रा व्यवस्थापनका विद्यार्थीहरू स्वदेशी उद्यमीहरूसँग हातेमालो गर्छन्, हाम्रा बौद्ध अध्ययनका विद्यार्थीहरू बौद्ध स्तुपहरूमा बसेर अध्ययन गर्छन्। 

हामीसँग यस्ता धेरै उदाहरणहरू छन्। तर हामीले विश्वविद्यालयका लागि र समग्र देशका लागि अझ धेरै नै कामहरू गर्नुछ। 

यसै क्रममा अहिले हामीसँग आफ्नै देशमा भएका पाँचवटा अवसरका विषयमा म स्पष्ट पार्न चाहन्छु।

पहिलो महत्वपूर्ण अवसर हो — हाम्रै जीवनकालमा समृद्ध नेपाल निर्माण गर्न शिक्षालाई उच्चतम प्राथमिकता दिने अवसर।

शैक्षिक संस्थाहरूमा गरिने लगानी दिगो विकासको मुख्य बाटो हो। त्यस्तो लगानी कुनै एउटा मन्त्रालयको मात्र जिम्मेवारी ठानिनु हुँदैन। प्राज्ञिक निकायहरूले समाज र सरकारका विविध पक्षहरूमा प्रभाव पार्न सक्छन्। त्यसैले हरेक मन्त्रालय र प्राज्ञिक संस्थाका बीचमा सहकार्य हुनुपर्छ। यसबाट सरकार र प्राज्ञिक समुदायका बीच अहिले देखिने गरेको दूरी धेरै हदसम्म घट्न सक्छ। विश्वविद्यालयका विज्ञहरूले सरकारी नीतिनिर्माण र निर्णायक निकायमा सहभागी भएर सहकार्य गर्न पाए भने त्यस्तो संस्थागत साझेदारी विकासका लागि फलदायक बन्छ।

शिक्षामा गरिएको लगानीले समतामूलक र गुणस्तरीय शिक्षाप्रणालीको विकास गराउँछ। शिक्षालाई सुलभ बनाउनका लागि त्यस्तै खालका संयन्त्रहरूको विकास गर्नुपर्ने हुन्छ। शिक्षामा गुणस्तर सुनिश्चित गर्न गुणस्तरको स्वरूप र त्यसलाई हासिल गर्ने बाटो पनि देखाउन सक्नुपर्छ। त्यसैले हामी सुरुमा आफैँ ठीक तवरले काम गरौँ, ठीक बाटो प्रदर्शन गरौँ, अनि अरूलाई ठीक बाटो अँगाल्न सिकाऔँ।  

हामी असल संस्कारको विकासका लागि आफ्नो ऊर्जा खर्च गरौँ। काम गर्नेले नै गल्ती गर्छ, तर काम गर्दा गल्ती भयो भने उसले दण्डित बन्नुपर्ने अवस्था छ। काम नगर्नेले गल्ती पनि गर्दैन, तर काम नगरेर भएको असफलताप्रति समाज मौन बसिदिन्छ। यो संस्कार बदल्न सकिएन भने आफू निष्क्रिय रहने र अरूमाथि शङ्का गर्नेहरूको मात्र सङ्ख्या बढ्नेछ। त्यस्ता व्यक्तिहरू अरूको कमजोरी केलाउनमा मात्र आफूलाई व्यस्त राख्नेछन्। 

दोस्रो महत्वपूर्ण विषय हो — प्रादेशिक तथा स्थानीय सरकारहरूसँग सहकार्य गर्न हाम्रा अगाडि रहेको अवसर। 
हाम्रो परिवेशसँग मिल्दाजुल्दा कार्यक्रमहरू चलाउने विश्वस्तरका प्राज्ञिक संस्थाहरूको स्थापना गर्नु अहिलेको आवश्यकता हो। त्यसैले जलवायु परिवर्तनसम्बन्धी अध्ययन–अध्यापन गर्ने संस्थाहरू उच्च हिमाली भेगमा स्थापना गरौँ, अतिथि व्यवस्थापनसम्बन्धी संस्थाहरू पर्यटकीय स्थलहरूमा सञ्चालन गरौँ, कृषिसम्बन्धी संस्थाहरू तराईका खेतबारीहरूमा निर्माण गरौँ, जलस्रोत व्यवस्थापनसम्बन्धी संस्थाहरू पहाडी क्षेत्रमा स्थापना गरौँ, संस्कृति र सम्पदा

अध्ययनसम्बन्धी संस्थाहरू पुराना गाउँबस्तीमा निर्माण गरौँ। यस कुरामा म एउटा उदाहरण दिन चाहन्छु। सन् १८६२ मा तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले राज्यको स्वामित्वमा रहेका जग्गाहरू विश्वविद्यालय स्थापना गर्न दिने कानुनमा हस्ताक्षर गरेका थिए। त्यसैअनुसार उनी राष्ट्रपति भएकै बेलामा दिइएका जग्गाहरूमा एमआइटी, भर्जिनिया टेक, कर्नल युनिभर्सिटी, मिचिगत स्टेट युनिभर्सिटीजस्ता विश्वस्तरका विश्वविद्यालय स्थापना गरिए र विकसित सहरहरू पनि बने। त्यो कानुनले अमेरिकाको प्राज्ञिक परिदृश्य नै बदलिदिएको थियो र स्थानीय समुदायलाई समृद्धिका अवसरहरू पनि प्रदान गरेको थियो। 

यसबाट के प्रस्ट हुन्छ भने विश्वविद्यालयहरूले तालिमप्राप्त सिर्जनशील जनशक्तिको उत्पादन गर्छन्, आफू रहेको क्षेत्रको समग्र परिवर्तनमा मद्दत पु-याउँछन् र स्थानीय तहमा आर्थिक बृद्धि र भौतिक विकास लगायत प्राज्ञिक तथा अन्य अवसरहरू बढाउनमा योगदान पु-याउँछन्। 

काठमाडौँ विश्वविद्यालयका कारणले धुलिखेल र वरपरका क्षेत्रमा विभिन्न रूपबाट बढ्न गएको समृद्धिलाई नै यसको उदाहरणका रूपमा लिन सकिन्छ। हामीले हेर्दाहेर्दै २०–२५ वर्षभित्र यी ठाउँहरूमा धेरै परिवर्तन आइसकेको छ भने अबको २२–२५ वर्षपछि यी ठाउँहरू कस्ता बन्छन् होला, एकछिन कल्पना गरिहेरौँ न !

हामीसँग भएको तेस्रो ठूलो अवसर हो — उद्योगधन्दा, निजी क्षेत्र र अन्य सरोकारवालासँगको साझेदारी। प्राज्ञिक संस्थाले उद्योग र उद्यमशीलताको विकासमा विशेष भूमिका खेल्छ। तर यस्तो सम्बन्ध आफैँ स्थापित हुँदैन। सम्बन्ध त सिर्जना गर्नुपर्छ, हुर्काउनुपर्छ र सुदृढ राख्नुपर्छ। 

त्यसैले हामी औद्योगिक क्षेत्र, निजी क्षेत्र र नयाँ उद्यमीहरूलाई विश्वविद्यालयसँग हातेमालो गर्न आह्वान गर्दछौँ। 
विश्वविद्यालयको मातहतमा पनि औद्योगिक क्षेत्र वा उद्यमीसँग सम्बन्ध बढाउने र उद्यमशीलताका नमुनाहरू तयार गर्ने केन्द्रहरू खोलिनुपर्छ। यसका लागि शिक्षामा विभिन्न विधासँग सम्बन्धित नवीन सोचको विकास हुनु आवश्यक छ, किनभने विकास र समृद्धितर्फको प्रयास कुनै एक पक्ष वा विधाको एकल प्रस्तुतिले मात्र सम्भव हुँदैन, धेरै विधा र पक्षहरूको सङ्घर्षको संयोजनबाट मात्र सम्भव हुन्छ। 

हामीसँग भएको चौथो अवसर हो — नेपाली डायस्पोरा र अलुम्नाईहरूसँगको सहकार्य। 
हामीले विदेशका विश्वस्तरका अधिकांश संस्थाहरूमा नेपाली विशेषज्ञहरूले काम गरेको भेटेका छौँ। हामीले भेटेका हरेक नेपालीले नेपालको विकासमा योगदान पु-याउने चाहना व्यक्त गरेका छन्। हामीकहाँ त्यस्तो ठूलो र सिर्जनशील जनशक्तिलाई नेपालको विकासमा सहजै सहभागी गराउन सक्ने संयन्त्रको खाँचो छ। म सरकार, प्राज्ञिक संस्थाहरू र डायस्पोरा समुदायलाई सहकार्यका छरिता संयन्त्रहरू बनाउन अनुरोध गर्दछु। 

हाम्रो विश्वविद्यालयमा हामीले ग्लोबल इन्गेजमेन्ट इनिसियटिभ मार्फत् नेपाली डायस्पोरासँगको सहकार्यलाई फलदायी बनाउने योजना बनाएका छौँ। यो कार्यक्रमको सफलताका लागि हामी सबैको सक्रिय संलग्नता र धैर्यको आवश्यकता रहेको छ। 

हामी निराश र चिन्तित नबनौँ। निराशा र चिन्ताले हामीलाई पिरोल्न थाले भने हामी आफैँलाई सोध्ने गरौँ — म अरूलाई कसरी बढीभन्दा बढी प्रभाव पार्न सक्छु होला ? अनि त्यसैअनुसार कार्य गरौँ। किनभने त्यस्तो प्रभावले नै जीवनमा ठूलो महत्व राख्छ। 

हामीसँग भएको पाँचौँ र अन्तिम महत्वपूर्ण अवसर हो — प्राज्ञिक समुदायमा निहित शक्ति। 
‘नेतृत्वका लागि गुणस्तरीय शिक्षा’ भन्ने लक्ष्य काठमाडौँ विश्वविद्यालयका लागि तय गर्दै गर्दा हाम्रा संस्थापकहरूले के बुझ्नुभएको थियो भने प्राज्ञहरू आआफ्ना विधाका अगुवा हुन्छन्। प्राज्ञिक अगुवाका रूपमा हामीले आफ्नो व्यावसायिक भविष्य, आफ्ना विद्यार्थीहरूको भविष्य र आफ्नो समाजको स्वरूपलाई उचित मार्ग देखाउनुपर्छ। 
अवसरहरू आफैँ आइहाल्छन् भन्ने बहानामा हामी निष्क्रिय बस्न सक्तैनौँ। हामीले आफ्ना अवसरहरू आफैँले सिर्जना गर्नुपर्छ र यसका सम्भावनाहरू प्रशस्त छन्। अन्य विश्वविद्यालय तथा सङ्घ–संस्थासँग सहकार्य गर्ने सम्भावना पनि धेरै नै छन्। 

हामी जहाँ–जहाँ गएका छौँ, त्यहाँ–त्यहाँ हामीसँग सहकार्य गर्न चाहने मानिसहरू भेटेका छौँ। सहकार्य कसरी बढाउने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने कुराको जिम्मेवारी हाम्रै हो। समाजमा भएका हरेक चुनौतीहरू हाम्रा लागि सिक्ने, सिकाउने अनि सम्बोधन गर्ने अवसर हुन्। प्राज्ञिक समुदायले सामाजिक समस्याहरूलाई मूकदर्शक बनेर हेरिरहन मिल्दैन, बरू परिवर्तनको संवाहकका रूपमा अघि सर्नुपर्छ। 

खोजी गर्ने हो भने ज्ञान आफैँ आउँछ, तर खोजी गर्नु पनि ध्यान अथवा तपस्यामा समर्पित हुनुजस्तै हो। ज्ञानको खोजी पवित्र कार्य हो। अन्य चाहना र अभिलाषाहरू मिसाइयो भने ज्ञानको खोजी गर्ने कार्य धमिलो र प्रदूषित बन्छ। अनि त ज्ञान दिने थलो पनि प्रदूषित भइ नै हाल्छ। 

कन्फ्युसियस र चाणक्य जस्ता विद्वान्हरू व्यक्तिगत इच्छा पूरा गर्न खोजेर महान् शिक्षक भएका होइनन्। उनीहरूले ध्यान, बलिदान, समर्पण र दृढ निश्चयले गर्दा बौद्धिकताको उच्च स्थान हासिल गरेका हुन्। 

आज यो कार्यक्रमबाट निस्किँदा तपाईंहरू आफू वरपरको दुनियाँलाई हेरेर विचार गर्नुहोस् — आफूले कीर्ति राख्ने क्षेत्रहरू कहाँ–कहाँ छन् ? किनभने हाम्रो देशको अहिलेको अवस्थालाई बदल्ने दायित्व तपाईं–हाम्रै काँधमा छ। हामीले आफ्नो विधाअनुसारको काम इमानदार बनेर गर्दै गयौँ भने कुनै दिन हाम्रो विमानस्थलमा फर्केर कहिल्यै विदेश नजाने गरी घर आइरहेको आफ्ना बुबा वा वर्षौं अँगालो नदिएकी आफ्नी आमाको स्वागतमा खुसीले उफ्रिरहेका बालबच्चाहरू देख्न पाइनेछ, वर्षौंपछि भेट भएका श्रीमान्लाई देख्ता आँखाभरि हर्षका आँसु लिई अँगाल्न तत्पर बनेका महिलाहरूलाई देख्न पाइनेछ, लामो समय विदेशमा रही स्वदेश फर्केका आफ्ना छोराछोरीलाई मायाले सुमसुम्याउन उभिएका वृद्ध आमाबुबाहरूलाई देख्न पाइनेछ। परिवर्तन सम्भव छ, समृद्ध नेपाल सम्भव छ र हाम्रै जीवनकालमा यी दुवै सम्भव छन्। 

काठमाडौं विश्वविद्यालय, धुलिखेलको चौबीसौं दीक्षान्त समारोहको दोस्रो कार्यक्रममा शुक्रबार उपकुलपति प्रा. डा. श्रेष्ठबाट प्रस्तुत स्वागत मन्तव्यको सम्पादित अंश

प्रकाशित: २९ मंसिर २०७५ ०२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App