coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

जीतगढी किल्लामा कर्णेल उजिरसिंहको शालिक बन्ने

रुपन्देही- अंग्रेज साम्राज्यलाई परास्त गरेको ऐतिहासिक बुटवलको जीतगढी किल्लालाई धरोहरको रुपमा विकास गर्ने अभियान थालिएको छ। गुरुयोजना बनाएर बुटवल उपमहानगरले जीतगढी किल्लामा नेपालको ठूलो राष्ट्रिय झन्डा र स्व. कर्णेल उजिर सिंह थापाको पूर्ण कदको शालिक निर्माण गर्न गालेको हो।

नेपाली फौजले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको ऐतिहासिक स्थल जीतगढीको महत्वलाई उजागर गर्न नेपाली सेनाका नेतृत्वकर्ता उजिर सिंह र गौरवको प्रतिक स्वरुप राष्ट्रिय झन्डा फहराउने योजना अघि सारिएको उपमहानगरले जनाएको छ। उपमहानगरपालिकाले ९ फिट उचाईको तामाको पूर्णकदको शालिक र ९ फिट उचाईकै झण्डा बनाएर राख्ने भएको छ।  उजिरसिंहको उत्तरतर्फ फर्केको अर्धकदको सानो शालिक छ। अब दक्षिणतर्फ फर्केको पूर्ण कदको बन्नेछ। सोही शालिकको छेउमा विशाल राष्ट्रिय झण्डा स्थापित गरिने छ। दुबै संरचना बनाउन ४४ लाख ५२ हजार ६ सय ८१ रुपैयाँमा ठेक्का सम्झौता भएको छ। यो कामको शुक्रबार शिलान्यास भएको छ। नगर प्रमुख शिवराज सुवेदीले शिलन्यास गर्दै जीतगढी राष्ट्रियताको प्रतिक र बुटवलको पहिचानका रुपमा विकास गर्न लागिएको बताए।

शालिक र राष्ट्रिय झण्डाको टावर निर्माण कम्पनी हेभेन कन्स्ट्रक्सन प्रालिसंग उपमहानगरले ठेक्का सम्झौता समेत गरिसकेको छ। दुवै संरचना दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ। शालिक राख्न जमिनमाथि साढे दुई मिटर अग्लो र त्यसमाथि २५.७६ वर्ग मिटर उचाईको बेसमेन्ट बन्ने छ भने झण्डा राख्न २५ वर्ग मिटर उचाईको बेसमेन्ट बनाइने इन्जिनियर धर्मराज ढकालले जानकारी दिए।

बेसमेन्ट माथि नेपालको राष्ट्रिय झण्डा ४२ फिटको उचाईमा फहराउने छ। शालिकको बेसमेन्टको बाहिरी भाग जीतगढी किल्लामा रहेका पुराना  इट्टा जस्तै देखिने गरी इट्टाको आवरण झल्किने गरी बनाइने छ। झण्डाको माथिल्लो टावर स्टिलबाट र भुईको बेसमेन्ट कंक्रिटबाट बन्नेछ।

जीतगढी किल्लाको बेग्लै ऐतिहासिक र पर्यटकीय महत्व भएकाले यसको संरक्षण, सम्वद्र्धन र विकासका लागि अघिल्लो आर्थिक वर्ष ५० लाख वजेट छट्टाएर काम थालेको र यसपटक एक करोड वजेट विनियोजन गरी गुरुयोजना बनाइरहेको प्रमुख सुवेदीले बताए। जीतगढीको छुट्टै गुरुयोजना निर्माण गरेर जीतगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल (वडा नं १) लाई  प्राचीन बजार र पुरातात्विक स्थलको रुपमा विकास गर्ने, जीतगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना रहेको छ। उजिरसिंहको पूर्णकदको शालिक स्थापना र नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराउन थालेपछि जीतगढी किल्लाको मुहार फेरिने र आकर्षक पर्यटकीय स्थलको रुपमा विकास हुने उपमहानगरको विश्वास छ।

वि.सं. १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा गत वर्षदेखि उपमहानगरले जितगढी विजय उत्सव दिवस समेत मनाउन थालेको थियो। वडा नं १ का अध्यक्ष महेन्द्र लिगल श्रेष्ठले किल्ला क्षेत्र अतिक्रमण गरेर बनेका घर र अन्य संरचनाहरुलाई उचित मुआब्जा दिएर हटाइने बताए। जीतगढीको विकासका लागि  प्रदेश सरकारले एक करोड ५० लाख र संघीय सरकारले ५० लाख वजेट विनियोजन गरेका छन्।  

 

 

प्रकाशित: २८ मंसिर २०७५ ११:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App