coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पशुपति क्षेत्रमा अवैध निर्माण

काठमाडौं– मारवाडी सेवा समिति नेपालले पशुपति क्षेत्र विकास कोष क्षेत्रमा पर्ने राजधानीको गौशालास्थित श्री पशुपति गौशाला धर्मशाला परिसरभित्र अवैध रुपमा भवन निर्माण गरिरहेको खुलेको छ ।

पुरातत्व विभागले मापदण्ड विपरीतको अवैध निर्माण तत्काल रोक्न कोषमार्फत् निर्देशन दिए पनि समितिले निर्माण जारी राखेको छ । कोषका सदस्यसचिव गोविन्द टण्डनले विभागको निर्देशन अनुसार समितिलाई निर्माण रोक्न पत्राचार गरेको र निर्माण रोकिएको दाबी गरे । कोषले भवन दुई तला ढलान भइसकेपछि निर्माणमा रोक लगाए पनि समितिले अझै निर्माण रोकेको छैन ।

धर्मशाला सञ्चालन गरिरहेको समितिले गत वर्षको भूकम्पमा गाईगोठ क्षतिग्रस्त भएकाले ममर्त गर्न कोषसँग स्वीकृति मागेको थियो । कोषले दिएको मर्मत स्वीकृतिकै आधारमा समितिले दुई वटा भवन निर्माण गरेको छ । एउटा भवनको दुई तला र अर्को भवनको तीन तला ढलान भइसकेको छ । कोषका सदस्यसचिव टण्डनले भने, ‘समितिले काठमाडौं महानगरपालिकाबाट नक्सापास र पुरातत्वबाट डिजाइन स्वीकृत नगराउन्जेल भवन निर्माणमा रोक लगाइएको छ ।’

समितिले भवन निर्माण गर्न पुरातत्वबाट समेत स्वीकृति लिएको छैन । पुरातात्विक क्षेत्रमा कुनै पनि निर्माण गर्न विभागबाट स्वीकृति लिनुपर्ने कानुनी प्रावधान छ । पुरातात्विक क्षेत्रमा सिमेन्ट र छडलगायत आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण गर्न पाइँदैन । समितिले भने विभाग र कोषले निर्माणमा लगाएको प्रतिबन्ध उल्लंघन गर्दै आधुनिक निर्माण सामग्री प्रयोग गरी अवैध निर्माण जारी राखेको छ ।
पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले विभागबाट स्वीकृति नलिएकाले भवन निर्माणमा रोक लगाएको बताए । ‘गौशालाको धर्मशाला परिसरमा भवन निर्माण गर्न समितिले विभागबाट स्वीकृति लिएको छैन,’ प्रवक्ता कुँवरले भने, ‘भवन निर्माण गर्न कोषको समन्वयमा नक्सा र डिजाइन पेस गरेपछि मात्र विभागले भवन निर्माणबारे निर्णय गर्छ ।’

समितिले काठमाडौं महानगरपालिकाबाट भवनको नक्सापास समेत गराएको छैन । महानगरपालिकाका भवन निर्माण विभाग प्रमुख रविन्द्र पौडेलका अनुसार गौशालास्थित धर्मशाला परिसरमा भवन निर्माण भइरहेको महानगरपालिकालाई कुनै जानकारी नरहेको बताए । ‘भवन निर्माण गर्न समितिले नक्सा पेस गरेको जानकारी छैन र लाग्ने दस्तुर पनि बुझाएको छैन,’ पौडेलले भने ।

कोषले समितिलाई भवन निर्माणमा रोक लगाएको पत्र पठाएको जनाउँदै सदस्यसचिव टण्डनले भने, ‘गौशाला प्रहरी प्रभागमा समेत मापदण्ड विपरीत गरेको भवन निर्माण रोक्न जानकारी गराएका छौं ।’ तर टण्डनले निर्माण रोकिएको दाबी गरे पनि नागरिक संवाददाता धर्मशाला पुग्दा भवन निर्माण जारी थियो ।
कोषका एक पूर्वअधिकारीले कोष र विभाग दुवैलाई अवैध निर्माणबारे जानकारी भए पनि दुवैले थाहा नपाएजस्तो गरेको आरोप लगाए । उनले कोष र विभाग दुवैको मिलेमतोमा समितिले अवैध निर्माण गरिरहेको दाबी गरे । पुरातात्विक क्षेत्रमा विभागको स्वीकृतिबिना कुनै निर्माण गर्न नपाइने र स्वीकृतिबाटै निर्माण गरे पनि आधुनिक निर्माण सामग्री प्रयोग नपाउने नियम उल्लंघन हुँदा समेत दुवैले आँखा चिम्लेको उनको भनाइ थियो ।

मारवाडी सेवा समितिका महासचिव कैलाश गोयलले भवन निर्माणबारे आफूलाई कुनै जानकारी नभएको बताए । समितिका प्रवक्ता भरतराज चौंलागाईंसँग निर्माणबारे जानकारी माग्दा उक्त विषय आफ्नो मातहत नपर्ने भन्दै पन्छिए । तसर्द समितिका अध्यक्ष चिरन्जीविलाल अग्रवालसँग यसबारे सम्पर्क गर्न खोज्दा उनी उपलब्ध भएनन् । समितिको न्युरोड फसिकेवस्थित कार्यालयका कर्मचारीले अध्यक्षबारे आफूलाई कुनै जानकारी नभएको बताए ।
 

प्रकाशित: १३ आश्विन २०७३ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App