coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘सुशासन र जनमैत्री सेवालाई मुख्य प्राथमिकता दिएको छु’

बासुदेव शर्मा,वडा अध्यक्ष, महालक्ष्मी नगरपालिका वडा नं ९

तपाईँ जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के–के काम गर्नुभयो ?
जनप्रतिनिधि भएर आएसँगै सुशासन, जनमैत्री सेवालाई मुख्य प्राथमिकतामा राखेर काम गर्दै आइरहेका छौं। जनप्रतिनिधि भएर आएसँगै गत आवमा बजेट तथा नीति कार्यक्रम ल्यायो। बजेट तथा नीति कार्यक्रमबाट २० भौतिक पूर्वाधार निर्माणसम्बन्धी योजना अघि सारेका थियौं। सामाजिक कार्यक्रम अन्तर्गतका सम्पूर्ण योजना पूरा गर्न सकेनौं। हाम्रो वडाको मुख्य समस्या भनेकै खानेपानीको हो। त्यसैले खानेपानीलाई मुख्य प्राथमिकतामा राखेर काम गारिरहेका छौं।

तपाईँको वडामा खानेपानीको हाहाकार छ, कसरी व्यवस्थापन गर्दै हुनुुहुन्छ ?
लामो समयदेखि वडामा खानेपानीको समस्या देखिएको छ। जनताको माग अनुसारको खानेपानीको पर्याप्त आपूर्ति गर्न नसक्दा नै खानेपानीको हाहाकार भएको हो। अन्य स्थानमा पनि खानेपानीको समस्या व्याप्त नै छ। वडामा तीव्र गतिमा सहरीकरण भएसँगै खानेपानीको समस्या उत्पन्न भएको हो। वडा कार्यालयले गत वर्षदेखि नै खानेपानीको व्यवस्थापनको लागि जुटिराखेको छ। अहिलेसम्म दुई वटा ड्रिप बोरिङ खनिसकेका छौं। अबको ६ महिनामा पाइपलाइन विस्तार गरेर खानेपानी वितरण गर्नेछौं। दुई ड्रिप बोरिङबाट करिब १२ सय घरधुरी लाभान्वित हुनेछन्। बाँकी रहेका तीन सय घरधुरीलाई विभिन्न स्थानमा रहेका मुहानलाई व्यवस्थित गरेर खानेपानीको वितरण प्रणालीलाई चुस्तदुरुस्त बनाउनेछौं। अबको केही समयभित्रै ‘एक घर, एक धारा’सहितको खानेपानीको व्यवस्थापन गर्ने रणनीति सहित अघि बढेका छौं।

तपाईँको वडामा अधिकांश कच्ची सडक छन्, कहिलेसम्म कालोपत्रे गर्नुहुन्छ ?
महालक्ष्मी नगरपालिकाकै सबैभन्दा धेरै क्षेत्रफल भएको वडामा मेरो वडा पर्छ। यहाँका अधिकांश सडक कच्ची रहेका छन्। वडामा सानाठूला गरेर करिव ३६  किलोमिटर सडक छन्। तीमध्ये करिव १२ किलोमिटर मात्रै कालोपत्रे भएका छन्। वडा कार्यालयको बजेटले वडामा रहेका सडक कालोपत्रे वा ढलान गर्न सक्ने अवस्थामा रहेका छैनौं। त्यसैले प्रदेश तथा संघीय सरकारसँग समन्वय गरेर सडक कालोपत्रे गर्ने योजना अघि सारेका छौं। वडा कार्यालयले भित्री सडकमा कच्ची सडकमा नाली राख्ने काम गरिरहेका छौं। तेह्रबिसे–शुभतारा सडक खण्ड, लुभुखोला–नेपालचौर सडक, गणेशस्थान सडक लगायतका १२ फिटे सडकलाई २० फुटे सडकका रूपमा विस्तार गरेका छौं। मेरो कार्यकालभित्रै वडामा रहेका सम्पूर्ण सडक कालोपत्रे गर्न सकिने अवस्था छैन। त्यसैले प्रदेश सरकार र नगरपालिकासँग समन्वय गरेर सडक कालोपत्रे गर्नेछौं।

तपाईँको वडामा भूकम्पपीडितको समस्या कस्तो छ ?
भूकम्प गएको साढे तीन वर्ष बितिसक्यो। तर, अधिकांश भूकम्पपीडित अझै टहरामा नै रहेका छन्। वडामा आपेक्षाकृत रूपमा भूकम्पपीडितले आफ्नो घर बनाउन सकिरहेका छैनन्। भूकम्पपीडितसँग पर्याप्त रकम नहुनु, लालपूर्जा नहुनु, जग्गा विवाद लगायतका कारणले घर बनाउन सकिरहेका छैनन्। पहिलो किस्ता वापतको रकम लिने तर घर नबनाउनेको संख्या पनि अत्यधिक छ। अर्काेसँग उनीहरूसँग प्रक्रियागत लम्बेतान र कानुनीगत जटिलताको कारणले केही भूकम्पपीडितले राहत बापतको रकम लिन पाइरहेका छैनन्। २०७२ सालको भूकम्पले वडामा करिब तीन सय भूकम्पपीडितको घर पूर्ण क्षति भएका थिए। अहिलेसम्म ६० प्रतिशत भूकम्पपीडितको घर बनिसकेको छ। अन्यको अझै पनि बन्न सकेको छैन।

सार्वजनिक जग्गाको अतिक्रमण कस्तो छ ?
वडामा करिव नौं सय रोपनीभन्दा धेरै सार्वजनिक जग्गा छ। हामी जनप्रतिनिधि निर्वाचित भएर आउनुअगावै सार्वजनिक जग्गा अतिक्रमणमा परेका हुन्। हामी निर्वाचित भएर आएपछि सार्वजनिक जग्गा अतिक्रमणमा परेको छैन। वडामा करिव ५० देखि एक सय रोपनी जग्गा अतिक्रमणमा परेको अनुमान गरेका छौं। खोला वरपर, प्लटिङ स्थान लगायतका स्थानमा सार्वजनिक जग्गा मिचिएका छन्। वडा कार्यालयले सार्वजनिक जग्गा संरक्षण गर्नेबारे काम गर्दै आइरहेको छ। गत साता अतिक्रमणमा परेको दुई रोपनी सार्वजनिक जग्गा फिर्ता ल्याउन सफल भइसक्यौं। नापी कार्यालयसँग समन्वय गरेर सार्वजनिक जग्गा फिर्ता ल्याउनेछौं।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट गत आर्थिक वर्षमा वडा कार्यालयका लागि ७५ लाख रूपैयाँ बजेट विनियोजन भएको थियो। विनियोजित बजेटबाट २० योजना अघि सारेका थियौं। तीमध्ये सम्पूर्ण योजना सफलतापूर्वक सम्पन्न गरेका छौं। चालू आर्थिक वर्षमा पनि ७५ लाख रूपैयाँ नै बजेट विनियोजन गरेका छौं। केन्द्रीय सरकारबाट आउने अनुदानको रकम यस आवमा घटेकाले बजेट कम भएको हो। वडामा सीमित बजेट भएकाले जनताको आंकाक्षा अनुसार काम गर्न सकेका छैनौं। वडा कार्यालयले खानेपानी, सडक, कृषि, महिला तथा लक्षित वर्गलाई समेटेर  बजेट तर्जुमा गरेका छौं।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?
महालक्ष्मी नगरपालिका पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । हाम्रो वडा ऐतिहासिक र धार्मिक हिसाबले प्रसिद्ध क्षेत्र हो। त्रेतायुगमा राजा दशरथले आफ्नो छोरा जन्माउनको लागि बशिष्ठ ऋषिलाई डाकेर पुत्रुठी यज्ञ गरेको स्थान छ। वडामा प्रशस्त जंगल क्षेत्र छ। यहाँ  पैदलमार्ग, साइक्लिङको प्रचुर सम्भावना छ। त्यसैले वडामा व्यवस्थित ढंगले पर्यटन प्रवद्र्धन गर्ने योजनासहित काम अगाडि बढाइरहेका छौं। वडामा रहेका बेरोजगार युवालाई स्वरोजगार बनाउने लक्ष्यसहित धमाधम काम गरिरहेका छौं। वडामा खानेपानी, स्वास्थ्य, शिक्षा, सडक लगायतका आधारभूत आवश्यकता परिपूर्ति गर्ने योजना बनाएको छु। मेरो वडा नगरकोट र काभ्रेसँग जोडिएको छ। त्यसैले पर्यटकीय सम्भावना प्रचुर भएकाले आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउने सपना देखेको छु।
                                                                                                          प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: २८ मंसिर २०७५ ०५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App