८ वैशाख २०८१ शनिबार
अर्थ

कृषकलाई स्याउ पोस्ट हार्भेस्ट तालिम

पोस्ट हार्भेस्ट व्यवस्थापनबारे तालिममा सहभागी। तस्बिर : शिखर/नागरिक

सोलुखुम्बु- सोलुखुम्बुका कृषक तथा प्राविधिकलाई स्याउ बालीमा पोस्ट हार्भेस्ट व्यवस्थापन तालिम दिइएको छ। बागवानी अनुसन्धान महाशाखा खुमलटारको आयोजनामा फाप्लुमा उक्त तालिम प्रदान गरिएको हो। तालिममा जिल्लामा स्याउ खेतीमा संलग्न कृषक तथा विभिन्न क्षेत्रमा परिचालित कृषक सहभागी थिए। 

तालिम कार्यक्रममा सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले नगरले आगामी वर्ष आलु, किवी र स्याउ खेतीका कार्यक्रम तर्जुमा पर्ने बताए। ‘यो वर्ष पनि कृषि ज्ञान केन्द्रमार्फत नगरपालिका क्षेत्रमा एक करोड ३६ लाख रुपैयाँ परिचालन हुने छ। उनले भने, ‘कृषिको व्यावसायिकता बिना अर्थतन्त्रमा सुधार आउँदैन।’ आगामी वर्ष कृषि र पर्यटनाई प्राथमिकतामा राख्ने मेयर शेर्पाको भनाइ छ।

बागवानी अनुसन्धान महाशाखा खुमलटारका वरिष्ठ वैज्ञानिक गिरीधरी सुवेदीले स्याउ उत्पादक कृषकले पोस्ट हार्भेस्टबारे थाहा नपाउँदा आम्दानी गुमाइरहेको बताए। ‘ज्ञान र सीप विस्तारका लागि तालिम उपयोगी बन्ने छ,’ उनले भने, ‘पोस्ट हार्भेस्टबारे थाहा पाएपछि गुम्दै आएको आम्दानी पनि कृषकको पोल्टामा पर्नेछ।’ उनले उत्पादनाई उपभोक्ताको हातसम्म सुरक्षित पु-याउन नसकिए उत्पादनले मात्र अर्थ नराख्ने बताए।

बागवानी केन्द्र फाप्लुका वरिष्ठ बागवानी अधिकृत चन्द्रमान श्रेष्ठले स्याउ बालीको सुधारका लागि तालिमले महत्वपूर्ण भूमिका निर्बाह गर्ने बताए। उनले भने, ‘तालिमपछि स्याउ फल बोटबाट टिपेपछि भण्डार गरेर सुरक्षित रुपमा उपभोक्तासम्म पु-याउन सक्षम भएका छन्।’ कृषि प्राविधिकलाई पनि तालिम दिएकाले अन्य कृषकलाई ज्ञान हस्तान्तरणको काम निरन्तर हुने उनले बताए।

ङिमा हर्टिकल्चर फार्मका सञ्चालक आङनुरी शेर्पाले उत्पादनलाई कसरी भण्डारण गर्ने भन्नेबारे थाहा नभएकालाई तालिमले फाइदा पु-याएको बताए। ‘उच्च घनत्वको स्याउ खेती प्रविधि सफल बन्दै गएको छ। जिल्लाको उत्पादनले स्थानीय बजारको मागलाई पनि धान्न सकेको छैन,’ उनले भने, ‘उत्पादन गर्न सके बजारको समस्या छैन।’ तालिमले स्याउ खेती गरिरहेका कृषकलाई फाइदा पु¥याएको उनको भनाइ छ।

सोलुखुम्बुमा पछिल्लो पटक उच्च घनत्वको स्याउ प्रविधि सफल देखिएको छ। जिल्लामा एक सय ९० हेक्टरमा स्याउ खेती भइरहेको छ। यसबाट गएको सिजनलाई आधार मान्दा एक हजार ६४ मेट्रिक टन स्याउ उत्पादन भएको छ। जिल्लामा उत्पादित स्याउले स्थानीय बजारको माग धान्नसमेत मुस्किल हुने बागवानी केन्द्र सोलुखुम्बुले जनाएको छ।

प्रकाशित: २८ मंसिर २०७५ ०३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App