coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘नेतृत्वले सहरको सम्भावना खोज्ने सामर्थ्य राखेन’

उज्ज्वल थापा, नेता, विवेकशील साझा

तपाईँको बुझाईमा सहर भनेको के हो ?
सहर भनेको संरक्षित, सुरक्षित र सुविधासम्पन्न ठाउँ हो। त्यहाँ हरेक समुदाय मिलेर बसेका हुन्छन्। सहरको माहोल र बसाई गाउँभन्दा बेग्लै हुन्छ। सहरी प्रशासनले हरेक पक्षलाई सुरक्षित राखेको हुुनुपर्छ। मानवीय आवश्यकताको हिसाबमा पनि सहर अग्रपंक्तिमा हुन्छ। 

हाम्रा सहरले न्यूनतम सर्त पूरा गरेका छन् त ?
मानवीय आवश्यकता र विकासलाई हेर्ने हो भने हामी धेरै पछि छौं। सहरको विकासको अवस्था निम्छरो छ। न्यायपूर्ण विकास भएको छैन। त्यसकारण सहरले सबै पक्ष समेटेको हुनुपर्छ। सन्तुलन राखेको हुनुपर्छ। हरेक निकायबीच समन्वय हुनुपर्छ। सहरी विकासमा नागरिकको उत्साहजनक सहभागिता हुनुपर्छ। सहर सबैको बसोबासको साझा थलो भएकाले त्यसले सबै पक्षको अस्तित्व बोकेको हुनुपर्छ। तर, हाम्रा सहरले मानवीय आवश्यक मुस्किलले पूरा गरेका छन्। 

सहरको विकासको अवस्था निम्छरो छ। न्यायपूर्ण विकास भएको छैन। त्यसकारण सहरले सबै पक्ष समेटेको हुनुपर्छ। सन्तुलन राखेको हुनुपर्छ। हरेक निकायबीच समन्वय हुनुपर्छ। सहरी विकासमा नागरिकको उत्साहजनक सहभागिता हुनुपर्छ।

सहर किन बिग्रियो ?
सहरको नेतृत्व गर्नेको मानसिकता व्यक्तिवादी मात्रै भएर हुँदैन, सामाजिक चरित्रवादी हुनुपर्छ। त्यो नेतृत्वले सबैको लागि काम गरेको हुनुपर्छ। हाम्रा सहरमा नेतृत्व ठिक भएन। नेताहरूमा दूरदृष्टि भएन। सहरको आवश्यकता अनुसारको योजना भएन। 

घुमेकामध्ये मनपर्ने सहर ?
मैले लगभग विश्वका चर्चित सबैजसो सहरहरू घुमेको छु। न्युयोर्कको सेन्ट्रल पार्क सहर निकै मनप-यो। हामीले पनि बाग्मती किनारमा त्यस्तै पार्क बनाउन सकिन्छ। तर, यहाँको नेतृत्वले सहरका सम्भावना खोज्ने सामथ्र्य राखेन।

विदेशका सहर किन मनप-यो ?
विदेशका सहर जनसंख्या बढी भएर पनि यो सहर सुन्दर, सफा र व्यवस्थित छन्। सहरमा हरेक खाले सेवा–सुविधा छन्। राज्यले दिने हरेक सुविधा जनताले सहजै लिन पाएका छन्। सहरवासी पनि आत्मीय व्यवहार गर्छन्। सहरमा बस्ने सबै सहरको सुन्दरताप्रति सजग छन्। हाम्रोमा त्यस्तो छैन। 

काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं विश्वका नमुना सहर हो। भक्तपुरले पनि आफ्नो संस्कृति जोगाएको छ। पछिल्लो समय भएका विकासका गतिविधि हेर्दा हामी उधोगतितिर लाग्यौं भन्ने लाग्छ। अर्को कुरा, यहाँ हरेक सेवा–सुविधा छन्। यहाँको हावापानी संसारमै पाइन्न। यहाँका धेरै पक्ष ठीक हुँदाहुँदै पनि थोरै कुराले काठमाडौंलाई कुरूप बनाएको छ। अहिले जताततै फोहोर र व्यवस्थित मात्रै देखिन्छ। सहरभित्र आनन्द लिने ठाउँ छैनन्। 

उपत्यकाबाहिर मनपर्ने सहर ?
उपत्यका मनपर्ने सहर पोखरा हो। यो नेपालमा देखाउन लायक उदाहरणीय सहर पनि हो। यहाँ फेवाताल, हिमाल र अनेकौँ पदमार्ग छन्। सहरमै बसेर प्राकृतिक हराभरा हेर्न पाइन्छ। सडक र होटल पनि व्यवस्थित छन्। सबैतिर सफा र शान्त छ। नेपाल संसारको सुन्दर फूलबारी हो। प्रकृतिले नै यो सहरलाई सजाएको छ। 

नेपालभन्दा बाहिर कुन–कुन देशका सहर पुग्नुभएको छ ?
अमेरिका, भारत, थाइल्याण्ड, मलेसिया लगायत देशका सहरलाई राम्ररी बुझेको छु। यी देशका सहर अत्यन्तै सुन्दर छन्। विदेशका सहरमा हरेक खालका सेवा–सुविधा लिन नागरिकले सास्ती खेप्नुपर्दैन। पुराना ऐतिहासिक वस्तु सहरी इलाकामा संग्रहित गरेर राखिएको छ। हाम्रोमा भएका कला र सम्पदा पनि मासिँदै छन्। 

विदेश र हाम्रा सहरबीच के भिन्नता पाउनुभयो ?
विकासको हिसाबले विश्वका अरु सहर धेरै नै अघि छन्। ती देशका सहरजस्तै हाम्रा व्यवस्थित छैनन्। ऐतिहासिक हिसाबमा हामी अगाडि छौं। विदेशका सहरमा बस्ने सबै नागरिक चेतनशील छन्। हामीमा चेतना भएर पनि नभएजस्तै छ। अर्को कुरा, सहरी ढाँचाको कुरा गर्दा, हरेक देशका सहरको आ–आफ्नै ढाँचा, शैली र विशेषता छ। नेपालकै कुरा गर्दा यो ठाउँ विश्वकै एउटा बेग्लै महत्व बोकेको ठाउँ हो। यहाँ शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेका थिए। विश्वको ध्यान तान्ने अग्लो सगरमाथा पनि यहीँ छ। अनेकौँ किंवदन्ती बोकेका ऐतिहासिक दरबार पनि यहीँ छन्। मौसम र हावापानी पनि धेरै राम्रो छ। 

काठमाडौंको मन नपर्ने पक्ष ?
काठमाडौं कंक्रिटको सहर भयो। यहाँको विकासबारे गुरुयोजना तय भएन। विकासका योजना छरिएका छन्। सहरको शैली पनि एउटै छैन। 

राम्रो लाग्ने पक्ष ?
यहाँका सहरमा लामो इतिहास लुकेको छ। हामी कुनैबेला संसारको सुन्दर सहरभित्र थियौं। तर, अहिले सुन्दरता मेटिएको सहर भएको छ काठमाडौं। ऐतिहासिक र भौगोलिक पक्षलाई हेर्दा हाम्रा सहर अरु देशका भन्दा धेरै राम्रा छन्। सरकारले सहरको विकासतर्फ ध्यान नदिँदा भएका सम्भावना पनि लुकेर बसेका छन्। विदेशका सहरका आधुनिक छन्। प्रविधियुक्त सहर छन्। बनाउने हो भने यहाँका सहर संसारकै नमुना बन्न सक्छन्। काठमाडौंकै एउटा पुरानो सहर असनकै कुरा गर्ने हो त्यो बेग्लै छ। त्यहाँ हरेक खालमा सामानहरू पाइन्छन्।

तपाईँ कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ? 
सुन्दर, एकदमै सुुरक्षित, सुविधायुक्त र सहरमा बसेका हरेकले एकैखाले सुविधा लिन पाउने सहरको कल्पना गर्छु। हाम्रो सहरमा असमानता बढेको छ। सहरमा शक्ति र पहुँच हुनेले मात्रै अवसर पाएको छ। साच्चै नै तल्लो र विपन्न वर्गबाट आएको राम्रो मान्छेले पनि जागिर पाएका छैनन्। राजनीतिक दलका नेताहरूले गर्दा नै सहर असमान भएको हो भन्ने लाग्छ। 

हाम्रा सहर बिग्रनुको कारण के लाग्छ ? 
सहरको विकास नहुनुमा सरकार नै दोषी हो। सरकारले विकासका काम राम्ररी सञ्चालन गर्न सकेन। गुरुयोजना तय गर्न सकेन। त्यसकारण पनि सहर बिग्रिएको हो। आम नागरिकले पनि सरकारलाई सहयोग गरेको देखिन्न। कुन समयमा के काम गर्दा ठिक हुन्छ भन्ने सोच सरकारी निकायमा व्यक्तिमा भएन।  

सहरलाई कसरी सफा राख्न सकिएला ?
सहर सफा राख्नको लागि त्यहाँको राजनीतिक अवस्था पनि व्यवस्थित हुनुपर्छ। सरकारी तवरबाट चलेका हरेक निकाय जिम्मेवार र जवाफदेही हुनुपर्छ। सहरवासीले तोकिएको स्थानमा फोहोर फाल्ने बानीको विकास गर्नुपर्छ। त्यस्तै, विकास निर्माणका कामलाई समयमै सक्ने, जिम्मेवार निकायमा बस्नेले विकास निर्माणका काममा दूरदृष्टि राख्नेलगायत कुरामा ध्यान दिने हो भने सहर सफा बन्न सक्छ जस्तो लाग्छ।

सहरवासीका बानी कस्तो लाग्छ ? 
सहरमा बस्नेहरू सहरप्रति सचेत छैनन्। जताततै फोहर मिल्काउँछन्। सरकारी निकायलाई मिलेर घच्घच्याउन सक्दैनन्। 
     प्रस्तुति : शिवहरि घिमिरे 

प्रकाशित: २८ मंसिर २०७५ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App