सत्तामा ‘ह्री’ को कथन

शुक्रबार, २८ मङि्सर २०७५, ०८ : ३९ सरोज धिताल

‘ह्रीः’ भन्ने एउटा एकाक्षरीय शब्द रहेछ, संस्कृतमा। झण्डै दुई दशकअघि प्रोफेसर मथुरा श्रेष्ठले एकचोटि गफगाफमा भन्नुभएको थियो— नेपाली भाषामा हामीले ‘मनमा हरि भएको’ भन्ने गर्छौं, नि ! यो ‘हरि’ भनेको वास्तवमा ‘ह्री’ बाट अपभ्रंश भएर आएको हो। सामान्य मानिसका निम्ति ‘हरि’ भन्न सजिलो पनि हुने, सोझो भाषामा ‘मनमा विष्णु भगवान् हुनु भनेको राम्रै त हो नि’ भन्ने लाग्ने हुँदा ‘हरि’ भन्न थालिएको हो ।’ 

जुनसुकै विधाको पनि ज्ञान भएका अध्यययनशील पाका विद्वान् हुनुहुन्छ, प्रोफेसर मथुरा। उहाँसँग एकैछिन् बस्दा पनि अनेक ज्ञानगुनका कुरा सुन्न पाइन्छ। उहाँबाट अविरल बगिरहने ज्ञानवाणी सधैँ सबै सम्झिन गाह्रो पनि हुन्छ म जस्ता अल्छीलाई। त्यसबेला पनि मैले यो ‘ह्रीः’को कुरा सुन्न त सुनेँ, ‘एऽऽ’ भनेँ, अनि छिट्टै बिर्सिएँ पनि। निकै पछि मात्र अरु नै प्रसंगमा थाह पाएँ– आफूले गरेका गल्ती, आफ्ना कमजोरी, आफ्ना असफलता आदि प्रति एक किसिमको लज्जाबोध हुनुलाई ‘ह्रीः’ भन्दा रहेछन्। प्राचीन कालदेखि नै असल मानिसका सद्गुणहरूमध्ये एउटा महत्वपूर्ण सद्गुणका रूपमा यसलाई पूर्वीय सभ्यतामा लिइँदो रहेछ।   

लोकप्रियताको ग्राफमा ठाडै तल झरिरहेको देखिएको सरकार अब भने ‘ह्री’को सिँढी चढ्दै उकालो लाग्न सकोस्। 

अचेल शीर्षस्थ नेताहरूका केही स्वीकारोक्तिहरू सुनिन थालेका छन्। प्रधानमन्त्रीको कुर्सीमा आँखा लगाइरहेका ठूला नेता भन्दै छन्– राजनीतिक आन्दोलनमा केही सफलता हासिल गर्न सके ता पनि राज्य सञ्चालनमा सफलता पाउन सकिएको छैन ।’ भित्री हृदयबाटै आएको उद्गार रहेछ भने त यो अत्यन्त आशाप्रद कुरा हो। नेताहरूका मनमा पनि ‘ह्रि’ वा ‘हरि’ कतै लुकेर बसेको रहेछ भन्न पाउनु वास्तवमै ठूलो कुरा हो। प्रधानमन्त्रीको कुर्सीमा अहिल्यै बसिरहेका अर्का ठूला नेताबाट पनि यस किसिमको ‘ह्रि’ भाव देखा पर्न थालेछ भने झनै बढी आशावादी हुने ठाउँ मिल्ने थियो ।

सफल क्रान्ति केलाई भन्ने बारेमा प्रशस्त विवाद हुनसक्छ। यथास्थितिप्रति जनताको व्यापक असन्तोषलाई उपयोग गरेर वा त्यसबाट उत्प्रेरित भएर सत्ता पल्टाउनुलाई नै प्रायः ‘क्रान्ति’ भन्ने गरिएको छ, राजनीतिक भाषामा। कुनै खास परिस्थितिमा यो काम अत्यन्त गाह्रो देखिन सक्छ– जहानियाँ राणाशासन होस् वा निरपेक्ष राजतन्त्र कुनै दिन विस्थापित होला जस्तो धेरैलाई लाग्दैनथियो। तर जनताको असन्तुष्टि चुलिँदै जाँदा कुनै एक वा एकभन्दा बढी राजनीतिक समूहले त्यो असन्तुष्टिको बलमा सजिलै सत्ता पल्टाइदिन र आफू सत्तामा स्थापित हुन सक्दा रहेछन्। जनताको असन्तुष्टिमा रहेको ऊर्जालाई प्रयोग गरेर सत्ता पल्टाउनु एउटा कुरा हो, तर जनताका अपेक्षा पूरा गर्नु भनेको बिल्कुलै फरक र अत्यन्त गाह्रो कुरा हुन्छ। यो कुरा यति बेला सत्तामा रहेका पार्टीका केही नेताहरूलाई मात्र भए पनि साँच्चै नै अनुभूत हुन थालेकै हो भने किन खुसी नहुने !   

जुनसुकै किसिमको ‘क्रान्ति’ भए पनि ती क्रान्तिकारीले सत्तामा जानेबित्तिकै झेल्नुपर्ने केही चुनौती उस्तै उस्तै हुन्छन्। यी चुनौतीको सामना उचित किसिमले गर्न नसक्दा नयाँ सत्ता विभिन्न किसिमका अप्ठ्यारामा फँस्दै जान्छ। उदाहरणका निम्ति:

हिजो सत्ता पल्टाउनका लागि उपयोग गरिएका ज्ञान, सीप, उपाय, साधन आदि कुनै पनि जनताका अपेक्षा पूरा गर्नका लागि काम लाग्दैनन्। तर यो नयाँ परिस्थितिका लागि चाहिने ज्ञान, सीप, उपाय र साधन प्राप्त गर्नेतर्फ चाहिने मेहनत भने गरिएको हुँदैन। यस्तो बेलामा जनतालाई भुलाइराख्नका निम्ति ‘सपनाका व्यापारी’ बन्नुपर्ने आवश्यकता नयाँ सत्ताधारीले अनुभूत गर्छन्। तर सधैँभरि नयाँ नयाँ सपना बेचेर मात्रै बस्दा जनताका अपेक्षा र असन्तुष्टि झन् झन् बढ्दै जाने हुन्छ ।

जनतामा रहेको असन्तुष्टिलाई उपयोग गरेरै सत्ता पल्टाइएको हुन्छ। त्यो असन्तुष्टि प्रायः तत्कालीन पुराना शासकप्रति लक्षित र केन्द्रित हुने हुँदा त्यसभित्र रहेको ऊर्जा प्रचुर हुन्छ, प्रयोग गर्न सजिलो हुन्छ। तर जनताका अपेक्षा भने त्यति स्पष्ट हुँदैनन्। के चाहिँदैन भन्ने कुरामा जनता जति स्पष्ट हुन्छन्, त्यत्तिकै स्पष्टता के चाहिएको हो भन्ने कुरामा भने हुँदैन। यसो हुँदा नयाँ सत्ताधारीका निम्ति आफ्नै विवेकको प्रयोग गर्नुपर्ने चुनौती हुन्छ। तर सम्पूर्ण बुद्धि, क्षमता, साधन हिजोको सत्ता पल्टाउने काममा मात्रै लगाएर आएको हुँदा रचनात्मक खुबीको विकास गर्न भ्याएकै हुँदैनन्। यसले पनि नयाँ सत्ता तीव्र गतिमा असफलतातर्फ धकेलिन्छ।  

जनताको असन्तुष्टि चुलिँदै जाँदा कुनै एक वा एकभन्दा बढी राजनीतिक समूहले त्यो असन्तुष्टिको बलमा सजिलै सत्ता पल्टाइदिन र आफू सत्तामा स्थापित हुन सक्दा रहेछन्। जनताको असन्तुष्टिमा रहेको ऊर्जालाई प्रयोग गरेर सत्ता पल्टाउनु एउटा कुरा हो, तर जनताका अपेक्षा पूरा गर्नु भनेको बिल्कुलै फरक र अत्यन्त गाह्रो कुरा हुन्छ।

जसरी क्रान्तिकालमा यथास्थितिप्रति जनताको असन्तुष्टिलाई सत्ता पल्टाउन उपयोग गरिएको थियो, त्यसरी नै रचनात्मक, सकारात्मक, जीवनोन्मुख परिवर्तनका निम्ति आफँैप्रति लक्षित भए पनि जनताका नयाँ असन्तुष्टिलाई उपयोग गर्ने चेत सत्ताधारीमा आउन सजिलो हुँदैन। फलस्वरूप जनताका असन्तुष्टिप्रति द्वेषभाव–निर्देशित आक्रामक व्यवहार गर्ने मूर्खता नयाँ सत्ताधारीहरू गर्न थाल्छन्। यसले अर्को सत्ता परिवर्तनको बीउ तयार भइसक्छ ।
यी र यस्तै अनेक चुनौतीहरूलाई सही ढंगले सामना गर्न नसक्दा नयाँ सत्ता एउटा डरलाग्दो भुमरीमा फस्छ– पहिलेभन्दा राम्रो जीवनका निम्ति जनताका अपेक्षा पटक्कै पूरा नहुने ( असन्तुष्टि झन् बढ्ने–जनआक्रोश अभिव्यक्त हुन थाल्ने–राज्य सुरक्षात्मक र आक्रामक हुने–झनै असन्तुष्टि बढ्ने ... यो कुचक्रबाट निस्कनका निम्ति सत्ताधारीमा नभई नहुने गुण हो ‘ह्रीः’।          

हो, पक्कै पनि राज्य संयन्त्रका सीमा हुन्छन्। राज्यले काम गर्दा निश्चित ढाँचामा मात्र काम गर्न सक्छ। तर जीवनले भने लचकता र तरलताको माग गर्छ। जनताले खोज्ने भनेको राम्रो जीवन हो, जीवनका विविध आयाममा प्रगति–उन्मुख सन्तुलन हो, सुख र शान्ति हो। कुन योजनामा ठ्याक्कै कति खर्च गर्दा, कहाँ के कुरा बनाउँदा, कानुनको कुन बुँदामा कस्तो परिवर्तन गर्दा खोजेको जस्तो जीवन, प्रगति, सुख, शान्ति पाइएला भनेर आम जनताले भन्ने हैन। नत्र सरकार, राज्ययन्त्र जस्तो महँगो साधन किन चाहिन्थ्यो मान्छेलाई? किन चाहिन्थे नेता, शासक, सुरक्षायन्त्र, पेसाकर्मी  आदि ? 

यो सुझबुझ हुनेहरूको हातमा  सत्ता हुँदा मात्र कुनै क्रान्ति सफल भएको मान्न सकिन्छ। तर यसका निम्ति शासन प्रणालीमा सृजनशील लचकता र तरलताको आवश्यकता हुन्छ। जुन देश वा समाजमा यो लचकता र तरलता जति धेरै छ, त्यहाँ लोकतन्त्र पनि त्यत्तिकै विकसित छ भन्ने सकिने हुन्छ ।

तर जीवनमा लयात्मकता पनि त्यत्तिकै आवश्यक हुन्छ। कुनै पनि देशमा लोकतन्त्रको परिपक्वताको मापन जीवनको लचकता र तरलतासँगै लयबद्धता कति छ भन्ने कुराले गर्छ। र यो लयबद्धताका निम्ति आवश्यक हो अनुशासन। अनुशासन दुई किसिमका हुन्छन्। एक किसिमको अनुशासन बाहिरबाट लागू गराइने हुन्छ– नीति, नियम, कानुन आदि यही बाह्य अनुशासनका उदाहरण हुन्। विवेक र ज्ञानले सृजित, स्वधर्म पालनाका क्रममा प्रस्फुटित स्वअनुशासन, आन्तरिक अनुशासन अर्को किसिमको अनुशासन हो। यी दुई थरीमा निश्चय नै स्वअनुशासन उत्तम हो। यथार्थमा यी दुईको तुलना नै हुँदैन। सत्ताले ‘बाह्य’ अनुशासनलाई लयबद्धताका निम्ति चाहिने महत्वपूर्ण औजारका रूपमा उपयोग गर्दा लोकतन्त्रलाई मलजल गर्ने काम गर्छ। हैन, नियन्त्रणको हतियारका रूपमा ‘अनुशासन’लाई दुरुपयोग गरिरहेको छ भने लोकतन्त्रलाई कमजोर बनाइरहेको हुन्छ। जनता स्वतःस्फूर्त आन्तरिक अनुशासनले भरिएका बनून् भन्ने चाहन्छ सरकार भने सबभन्दा पहिले नेतृत्व आफैँ नै त्यो स्वअनुशासनमा नरही हुँदैन। र यति बेला नेतृत्वमा सबभन्दा बढी खाँचो नै यही स्व–अनुशासनको छ, बुद्धि र क्षमताको भन्दा पनि बढी। जुनसुकै पार्टी पनि सत्तामा पुग्नेबित्तिकै तिनीहरूका आशय र ध्येयमा स्खलन भइहाल्छ भन्ने त हैन। तर जीवनले खोज्ने तरलता र लचकता एकातिर र सत्ताले खोज्ने जडताकाबीचको तानातानमा जस्तै क्रान्तिकारी भनिने पार्टीहरूको पनि घोषित ध्येयको स्खलन हुनसक्ने सम्भावना भने जहिले पनि हुन्छ। दुर्भाग्य, अहिले त्यो स्खलनको उदाहरण जताततै देखिँदैछ।

एक वर्ष पनि नपुग्दै लोकप्रियताको ग्राफमा ठाडै तल झरिरहेको देखिएको सरकार अब भने ‘ह्री’को सिँढी चढ्दै उकालो लाग्न सकोस्। छिप्पिँदै गरेको यो हिउँदमा ठण्डा दिमाग र न्यानो हृदय लिएर देशका सारथिहरू सही दिशामा रथ हाँक्न सकून्। शुभ होस् ! मंगल होस् ! 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

Ncell Footer Ad