६ वैशाख २०८१ बिहीबार
विचार

प्रचण्डपथमा कांग्रेस

निर्दलीय पञ्चायत व्यवस्था ढलेपछि झन्डै १२ वर्ष नेपाली कांग्रेसले पटकपटक सत्ताको नेतृत्व लियो। त्यहीबीचमा माओवादीले विदेशीद्वारा लिखित, निर्देशित, संरक्षित र सञ्चालित रहस्यमय नाटक खेले। गोन्जालोको साइनिङपाथको नक्कल गर्दै सशस्त्र विद्रोहका राजनीति, कार्यनीति र मार्गचित्रलाई ‘प्रचण्डपथ’ भनियो। देहरादुन निकट चक्राटास्थित इन्डो–टिबेटन बोर्डर पुलिसको प्रशिक्षण केन्द्रमा भारतीय गुप्तचर संस्थाले माओवादीलाई तालिम दिएका समाचारहरू आए। केहीलाई लखनउको गोमतीनगरस्थित रअको क्याम्पमा राखेर प्रशिक्षित गरियो। ‘इन्डियन इन्टरभेन्सन इन श्रीलंका’ पुस्तकमा प्राध्यापक रोहण गुणरत्नेले हरियाणाको जंगलमा नेपालका खम्पा विद्रोहीलाई भारतले हतियारको तालिम दिएको उल्लेख गरेका छन्। 

राजा महेन्द्रले नागरिकता प्रमाणपत्रको व्यवस्था नल्याएको भए नेपालमा नेपाली नै अल्पमतमा पर्ने थिए ।

भारतीय प्राध्यापक सुखदेव (एस.डी.) मुनीले नेपालका माओवादीलाई भारतकै आज्ञाकारी दास भएको कुरा आफ्नो ‘नेपाल इन ट्रान्जिसन : फ्रम पिपल्स वार टु फ्रजाइल पिस’ पुस्तकमा लेखेका छन्। बाबुराम भट्टराई र रअका तत्कालीन प्रमुख पिके हर्मिस थाराकनबीच सुमधुर सम्बन्ध रहेकाले माओवादीलाई रअले खेलाएको मुनीको तर्क छ। दिल्लीमा ‘बाह्रबुँदे’ सहमति गराउने योजनाकार पनि रअ नै थियो। 

२०६९ साउनमा दिल्लीमा प्रा. मुनीको पुस्तक लोकार्पण समारोहमा बोल्दै नेपालका निम्ति पूर्वभारतीय राजदूत श्यामशरणले त पुष्पकमल (प्रचण्ड) दाहालले भारतलाई नटेर्ने छाँटकाँट देखाएपछि दुई ठाउँमा संसदीय चुनाव हारेर घरमा बसेका माधवकुमार नेपाललाई भारतले नै प्रधानमन्त्री बनाउने खेल खेलेकोसमेत खुलासा गरे। तराईकेन्द्रित दलहरूलाई प्रयोग गरेर भारतले माओवादी नेतृत्वको सरकार ढाल्दिएको श्यामशरणको तर्कले राजतन्त्र ढलेपछि नेपाल दरबारको सम्पूर्ण शक्ति दिल्ली दरबारमा सरेछ भन्ने बुझ्न गाह्रो पर्दैन। त्यसैले २०६२/६३ सालपछिको नेपाली राजनीति र कूटनीति बाह्यशक्तिकै तागतले चलिरहेको रहेछ भन्ने छर्लङ्ग हुन्छ। जनता त भोट दिने यन्त्रमात्रै रहेछन् ।

आज नीति, दर्शन, सिद्धान्त, रणनीति, कार्यनीति, दृष्टिकोण, अठोट र मार्गचित्र एकातिर छ भने कांग्रेस अर्कोतिर। गुटहरूका बीचमा कांग्रेस कहाँ छ भनेर वाग्मतीमा एक गाग्री स्वच्छ पानी खोजेझैँ खोज्नुपर्ने अवस्था छ। महासमिति बैठकमा स्वघोषित महामानवहरूले तर्क–वितर्क र कुतर्क गर्लान् तर प्रचण्डपथमा नहिँड्ने हो भने कांग्रेस अझै पनि सुध्रन सक्छ। 


साम्राज्यवाद र विस्तारवाद समस्या हो तर ‘राजतन्त्र समस्या होइन’ भन्दै पोखराको चिप्लेढुंगामा भाषण दिएपछि मदन भण्डारीले पूर्वपञ्चहरूबाट पनि समर्थन पाए। उनको मृत्युपछि एमालेमा बलियो राष्ट्रवादी नेतृत्व नदेखिएको र महाकाली सन्धिमा एमालेका अधिकांश नेताले जनभावनाविरुद्ध भारतपरस्त बाटो लिएको सोही दलका ऋषिराज लुम्साली र वामदेव गौतमलगायत नेताले तर्क गरेका थिए। नेपाली कांग्रेसलाई भारतवादी भन्ने आरोप लाग्दै आएको अवस्थामा महाकाली सन्धिमा सो दलले दिल्लीका शासकसँग मिलेर सहयोगीको भूमिका खेलेको स्पष्ट देखियो। महाकाली सन्धिमा तटस्थ बस्न राजा वीरेन्द्रले मनोनित सांसदहरूलाई निर्देशन दिए पनि राजाज्ञ उल्लंघन गर्दै प्रायः सबैले दिल्ली दरबारलाई साथ दिएका थिए। पर्दापछाडिबाट यसमा अपार धन खर्च भएको पत्रपत्रिकाको टिप्पणी थियो ।
दिल्लीले नेपालको जलस्रोत आफ्नो कब्जामा राख्न चाहेको जगजाहेर छ। संसद्मा तराई क्षेत्रबाट भारतपरस्तहरूको अत्यधिक प्रतिनिधित्व गराउन नेपाली नागरिकताको प्रावधान भारतको अनुकूल बनोस् भन्ने दिल्लीका ‘दाजु’ हरू चाहन्छन्। यसका लागि नेपालका दलहरूलाई प्रयोग गरेर लाखौँ भारतीयलाई नेपाली नागरिकता प्रमाणपत्र दिलाइयो। २०६२÷६३ सालको ‘परिवर्तन’ (?) नेपाल र नेपालीका लागि थियो कि भारतका लागि? यो प्रश्न अनुत्तरित नै छ। तर राजा महेन्द्रले नागरिकता प्रमाणपत्रको व्यवस्था नल्याएको भए नेपालमा नेपाली नै अल्पमतमा पर्ने थिए। 

२०४७ सालको संविधानमा नेपालको नागरिकता प्राप्त गर्न सच्चा नेपाली नै हुनुपर्ने प्रावधान थियो। संसद्का दुइवटा सदनको बहुमतले मात्र प्राकृतिक स्रोत साधनका बारेमा निर्णय गर्न सक्ने उल्लेख थियो। यस्तै, राष्ट्रियतालाई सुदृढ बनाउने अन्य कैयन् स्पष्ट प्रावधान थिए। यो कुरा भारतले रुचाएको थिएन। त्यसैले २०४७ सालको संविधान ५ वर्षको छँदै ‘माओवादी’ नामको फौज खडा गरेर विद्रोह गराइयो। वास्तवमा यो छद्मयुद्ध (प्रोक्सी वार) मात्र थियो। तर नेपाली कांग्रेसले २०४७ सालको संविधान जोगाउन कुनै प्रयत्न नै गरेन। बरु त्यो छद्मयुद्धलाई समर्थन थियो र प्रचण्डपथलाई अनुमोदन ग-यो ।

माओवादीमार्फत बाह्य शक्तिले अघि सारेका प्रस्ताव सही छन् कि गलत भनेर सोच्ने गम्भीर दायित्व नेपाली कांग्रेसकै थियो। किनभने २०४७ सालको संविधान निर्माणको नेतृत्व कांग्रेसले गरेको थियो। आफैँले बनाएको संविधान खरानी बनाइँदा पनि कांग्रेसले किन लडाइँ जितेझैँ उत्सव मनायो? आफ्नो पार्टीको मुख्य लाइन किन परित्याग ग-यो ? नेपाली कांग्रेसले राजतन्त्रको लाइन त्यागेर प्रचण्डपथ स्वीकार गर्नुपर्ने के बाध्यता थियो? एमाले–माओवादीलगायतका कम्युनिस्टहरूले संवैधानिक राजतन्त्र एवं संसदीय प्रजातन्त्रलाई हृदयदेखि अस्वीकार गर्नु अनौठो थिएन र होइन पनि। २०४७ सालको संविधान बनाउँदा कम्युनिस्ट प्रतिनिधि पनि थिए। तर एमाले गठन भएपछि सो पार्टीले संविधानप्रति ‘आलोचनात्मक समर्थन’ रहेको अभिव्यक्ति दिएर दोहोरो चरित्र देखायो। 

२०४७ सालको संविधान निर्मूल गर्न कांग्रेस नै प्रचण्डपथको प्रवल मतियार भएपछि पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले झन्डै ६० वर्षसम्म समर्पित रहेको आफ्नो मुटुभन्दा प्यारो पार्टी परित्याग गरे। त्यो उनको सिद्धान्त, निष्ठा, इमान र समर्पणको परिचय थियो। २०४७ सालको संविधान र त्यसले पकिल्पना गरेको प्रजातन्त्र गलत थिएन भन्ने भट्टराईको दृढ विश्वास थियो। २०६३ साल वैशाख ११ गतेपछि कूटनीतिक, आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, मनोवैज्ञानिक समस्या, चुनौती तथा अनिश्चितता थपिएका छन्। १२ वर्षपहिले विदेशमा श्रम गरेर पेट पाल्ने नेपालीको संख्या एघार लाख थियो भने आज त्यो संख्या बढेर ५० लाख नाघेको छ। भ्रष्टाचार जस्तो महारोग ‘थाम्नै नसक्ने’ अवस्थामा पुगेको शासकहरूकै कथन सुनिन्छ। आज पनि जनताले भोग्नुपरेका धेरै समस्यामध्ये बेरोजगारी, भ्रष्टाचार, असुरक्षा, महँगी प्रमुख हुन्। भारतसँग सिमाना जोडिएका कैयन् स्थानमा सीमास्तम्भहरू हराउने, सीमा मिचिने र स्थानीय बासिन्दाको जग्गा भारतले मिच्दा पनि सरकार मौन बस्ने गरेको पाइन्छ ।

नेपाली कांग्रेसले त राष्ट्रियताका प्रश्नमा विरलै आवाज उठाउने गरेको छ। नेपालविरुद्ध भारतले नाकाबन्दी लगाउँदा (२०४५ सालमा) नेपाली कांग्रेस खुसी हुँदै त्यसलाई ‘प्रजातन्त्रका निम्ति भारतको नैतिक समर्थन’ भन्न पनि लाज मानेन। पछिल्लो नाकाबन्दीका बेला नेपाली जनताले कष्ट भोगिरहँदा कांग्रेस बोलेन। ‘त्यो ठूलो भूल थियो’ भन्दै केही कांग्रेसी नेताले पछुतो गरेको पनि सुनियो। जिब्रो नचपाइ भन्ने हो भने तीन तहको निर्वाचनमा कांग्रेसले कार्यकर्ता र पार्टीका पुराना हितैषीको मात्र होइन, कम्युनिस्ट विरोधी परम्परावादीहरूबाट झण्डै तत्कालीन एमालेको हाराहारीमा मत पाए पनि युवा वर्गको समर्थन पाएको देखिएन। १८ देखि ३८ वर्षबीचका युवक÷युवतीले पछिल्लो कालखण्डमा कांग्रेसले राष्ट्र र जनताका पक्षमा आवाज मुखरित गरेको अनुभव नै गर्न पाएनन्। पराजयको दोष पार्टीका नेताहरूले एकअर्कालाई थोपर्ने प्रयास त गरे तर वस्तुपरक विश्लेषण गरेनन् ।

राजा महेन्द्रसँग दूरी बढेपछि ८ वर्ष जेल बसेर बिपी कोइराला भारत गए। सारनाथमा झण्डै ७–८ वर्ष बसे। लेण्डुप दोर्जेले त्यहाँ पुगेर सिक्किमको राजतन्त्र निर्मूल गर्ने र गणतन्त्र स्थापना गर्ने उपाय के छ भनेर बिपीसँग सल्लाह मागे। सो सम्वादका बेला बिपी निवासमै रहेका बलदेव मजगैया (दाङ निवासी) पुराना कुरा सम्झन्छन्। उनका अनुसार बिपीले लेन्डुपलाई सम्झाएका थिए– हेर्नूस, राजा हटाउन भारतले तपाईँलाई उकास्दैछ तर राजतन्त्र नरहेमा भारतले तपाईँको देशमा ढलीमली गर्नेछ। सिक्किम पराधीन हुनेछ। त्यसकारण राजतन्त्रको विकल्प नखोज्नु होला। त्यो घातक हुनेछ ।
राजा महेन्द्रले प्रधानमन्त्री पदबाट अपदस्थ गरे पनि, दलहरूमाथि प्रतिबन्ध लगाए पनि र आफूलाई ८ वर्ष थुने पनि बिपीले राजतन्त्रको विकल्प सोचेनन्। सुरुसुरुमा बिपीका विचार उत्तेजक, अराजक र गैरजिम्मेवार भएको कतिपय विश्लेषकको धारणा छ तर उमेर छिप्पिदै जाँदा उनको वचन र व्यवहार परिपक्व देखियो। राजसंस्था र प्रजातन्त्र एक–अर्काका परिपूरक हुन् भन्ने बिपी–विचारको सार हो। त्यसैले उनी राजासँग सहकार्य गर्न २०३३ सालमा नेपाल आए। कांगेसीहरू आज पनि बिपी फर्किएको दिनलाई राष्ट्रिय मेलमिलाप दिवस मान्छन् तर मेलमिलाप प्रचण्डपथमा अग्रसर छ ।

बीपीकी जेठी बुहारी सुष्मा कोइरालाले उनकै निवासमा पंक्तिकारसँग भनेकी थिइन्–‘राजा महेन्द्रको स्वर्गवास भएको बेला (२०२८ साल माघ १७ गते) म बनारसमा कलेज पढ्थेँ। मनीषा सानै थिई। महेन्द्रको स्वर्गवास भएको खबर सुन्दा मेरा ससुरालाई दुःख दिने राजा मरेछन्, राम्रै भयो भन्ने लागेर म खुसी भएकी थिएँ। बिपी बाबाले मलाई त्यसबेला बेस्सरी झपार्नु भयो। महेन्द्र परलोक भएको खबरले उहाँ निकै दुःखी बन्नुभएको थियो ।’ उहाँले भन्नुभएको थिया– महेन्द्र साँच्चै राष्ट्रवादी राजा थिए। विदेशीले नेपाललाई नहेपुन् र राष्ट्रको प्रगति होस् भन्ने उनको मनसाय थियो। अब विस्तारै विदेशी शक्तिले नेपाललाई अप्ठ्यारोमा पार्न सक्छन् ।

नेपाली कांग्रेसले बीपीको निधन (२०३९ साल) पछि विदेशीलाई नेपालमै बोलाएर सार्वभौमसत्तामाथि नै धावा बोल्ने वातावरण बनाइदियो। पार्टीको झन्डामा अंकित ‘चार तारा’ २०४७ सालपछि सत्ता, सम्पत्ति, सुरा र सुन्दरीको प्रतीक भयो। ‘किन कांग्रेसी बन्ने ?’ भनेर नयाँ पुस्ताका कतिपय नेतालाई सोध्यो भने उनीहरू भन्छन्– धन कमाउन । आज नीति, दर्शन, सिद्धान्त, रणनीति, कार्यनीति, दृष्टिकोण, अठोट र मार्गचित्र एकातिर छ भने कांग्रेस अर्कोतिर। गुटहरूका बीचमा कांग्रेस कहाँ छ भनेर वाग्मतीमा एक गाग्री स्वच्छ पानी खोजेझैँ खोज्नुपर्ने अवस्था छ। महासमिति बैठकमा स्वघोषित महामानवहरूले तर्क–वितर्क र कुतर्क गर्लान् तर प्रचण्डपथमा नहिँड्ने हो भने कांग्रेस अझै पनि सुध्रन सक्छ।सेक्सपियरले ट्यामिङ अफ द स्रिउमा भनेका छन्– ‘कुहिएका स्याउको थुप्रोमा एउटा राम्रो स्याउ खोज्न गाह्रो हुन्छ।’ त्यस्तै दोेषमुक्त नेतृत्व खोज्न हरेक दलमा समस्या छ। नेपाली कांग्रेसमा पनि बिपीका सच्चा अनुयायीको खडेरी परेको देखिन्छ। कांग्रेसमा जताततै भेटिन्छ, तत्काल नाफा खोज्ने फौबन्जारहरूको बथान।

प्रकाशित: २८ मंसिर २०७५ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App