विवाह किन अत्याचारी संस्था हो ?

बिहिबार, २७ मङि्सर २०७५, २० : ४५ नागरिक

डा. कृष्ण भट्टचन

विवाह, परिवार र नातासम्बन्ध मानव समाजको सबैभन्दा पुरानो संस्थाहरु हुन् । यी तीनवटै संस्थाहरु अन्तरसम्बन्धित र विश्वव्यापी छ । विवाह दुवै परिवार र नातासम्बन्धसँग मात्र जोडिएको छैन, यो सँग अंश, वंश, पहिचान, थर, प्रथाजन्य कानुन र परम्परा, ऐन कानुन, नीति नियम, प्रथा र परम्परा, यौनसम्बन्ध, मायाप्रेम, न्याय, दासता, शोषण, द्वन्द्व, मुक्ति, मूल्य र मान्यता, धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक, नैतिक, राजनीतिक, पारिवारिक र व्यक्तिगतलगायतका यावत् कुरा जोडिएकोले यो आफैँमा विशाल संसार जस्तो छ । त्यसैले यो लेख विवाहको परिभाषाले के कुरा समेट्छ र विवाह किन अत्याचारी (अप्प्रेसिभ) संस्था हो भन्ने सम्बन्धमा नारीवादीहरु र अन्य समाजशास्त्री तथा मानवशास्त्रीहरुले दिएका विचारहरु के छन् त्यसमा केन्द्रित छ ।

विवाहको परिभाषा

विवाहको सर्वमान्य, र सबै मानव समुदायको विवाहको प्रथा र पम्परालाई समेट्ने परिभाषा पाइँदैन । विवाहका विज्ञ समाजशास्त्री एडवार्ड अलेक्ज्यान्डर वेष्टरमार्क, मानवशास्त्री एडमण्ड रोनाल्ड लिचलगायतका मानवशास्त्रीले गरेको विवाहको परिभाषा आनन्द (ल्पेजर) को सिद्धान्तमा नभएर प्रजनन (रिप्रडक्टिभ) को सिद्धान्तमा आधारित छ र उनीहरुले गरेको परिभाषामा विवाहको निम्न विशेषता भएको देखाउँछन्ः

- फरक परिवारको एक वा बढी पुरुष र महिलाबीचको सम्बन्ध ।

- प्रथाजनित वा कानुनी वा सामाजिकमान्यता ।

- श्रीमान् र श्रीमतीमध्ये एक वा दुवैलाई यौनिकतामा एकाधिकार ।

- श्रीमान् र श्रीमतीमध्ये एक वा दुवैलाई अर्कोको श्रममा अधिकार ।

- श्रीमान् र श्रीमतीमध्ये एक वा दुवैलाई अर्कोको सम्पत्तिमा अधिकार ।

- जन्मिएका बच्चाहरुको सम्बन्धमा खास अधिकार र कर्तव्य ।

- श्रीमान् र श्रीमतीको परिवार र नातेदारबीच नाता सम्बन्ध ।

- व्यक्तिगत तहमा जैविक सन्तुष्टि (यौन चाहना) ।

- मनोवैज्ञानिक सन्तुष्टी (बच्चा पाउने) ।

- सामूहिक तहमा समूह र यसको संस्कृतिको दोहोरो निरन्तरताको सुनिश्चितता ।

आनन्दको सिद्धान्तमा आधारित विवाहको परिभाषामा पनि माथि उल्लेख भएका धेरै कुरा आउँछ तर फरक के हो भने विवाहमा परिवारको एक वा बढी पुरुष पुरुष वा महिला महिलाबीच पनि सम्बन्ध हुनसक्छ र यो सन्तान जन्माउनका लागि नहुन सक्छ । समाजशास्त्री र मानवशास्त्रीहरुले पहिलेको विवाहलाई पवित्र (स्याक्रामेण्ट) को रुपमा परिभाषा गरेका छन् भने आजकलको विवाहलाई करार (कन्ट्रयाक्ट) को रुपमा । विवाहलाई पवित्रताको रुपमा परिभाषा गर्दा एक पटकमा एउटा केटाले एउटा केटीसँग जीवनभर र हिन्दू धर्म र संस्कृतिमा सात जुनीका लागि, विवाह बन्धनमा बाँधिने, महिला कुमारी हुनैपर्ने, छोरीलाई बाबु–आमाले दान दिन पर्ने, दुलही श्रीमान्को घर जान पर्ने, छोरा पाउनै पर्ने, घरगृहस्थीको काममा सीमित हुनुपर्ने, श्रीमान्लाई श्रीमतीसँग श्रीमतीको मञ्जुरी भए पनि नभए पनि चाहेको बेला यौनसम्बन्ध राख्न पाउने लाइसेन्स, र पारपाचुके गर्न नपाउने लगायतका कुराहरु समेट्छ । विवाहलाई करारको रुपमा पभिाषा गर्दा विवाह कर र बाध्यताको कुराभन्दा केटा र केटीको ईच्छा र छनोटको कुरा भएकोले विवाहपूर्व वा विवाह ईतर यौन सम्बन्ध, विवाह नगरिकन बस्ने वा लिभिङ् टुगेदरमा बस्ने, पारपाचुके गर्ने, बच्चा नपाउने, गर्भपतनगर्ने लगायतका कुराहरु पर्दछन् । करारको अत्यधिक प्रयोगको कारणले विवाहको संस्था भत्किँदै गएको र एक दिन अन्त्य हुने कुरा एकातिर छ भने यो जतिसुकै अत्याचारी संस्था भए पनि अधिकांश महिला र पुरुषहरु वैवाहिक जीवनप्रति लालायित छन् भन्ने पनि छ । जे भए पनि कतिपय नारीवादी र समाजशास्त्री तथा मानवशास्त्रीहरुले विवाहको संस्था अत्याचारको अखडा भएकोले विवाह नाम संस्थाको अन्त्य नभएसम्म महिला मुक्तिको सपना यथार्थमा परिणत हुन सक्दैन भन्ने धारणा बलियो छ ।

विवाहलाई प्रजननको सिद्धान्तबाट होस् वा आनन्दको सिद्धान्तको आधारमा होस्, पवित्रताको आधारमा होस् वा करारको सिद्धान्तको आधारमा होस्, वा जुनसुकै आधारमा जे जसरी परिभाषित गरे पनि विवाहको संस्थालाई यीमध्ये कुनैले पनि नकार्दैन । नारीवादी र कतिपय समाजशास्त्री तथा मानवशास्त्रीले भनेझैं विवाहको संस्था नै अत्याचारी भएको अवस्थामा विवाह र महिला मुक्तिसँगै रहन नसक्ने कारणहरु के–के हुन् त्यस सम्बन्धमा गहिरो विचार विमर्श हुन आवश्यक छ । नेपालमा महिला मुक्तिको आन्दोलन र प्राज्ञिक क्षेत्र दुवैमा यस सम्बन्धमा सघन र गहिरो बहसको नितान्त अभाव छ ।

विवाहमा हुने संस्थागत अत्याचार

विवाहको परिभाषा जे जस्तो भए पनि विवाह किन अत्याचारी (अप्प्रेसिभ) संस्था हो भन्ने सम्बन्धमा विज्ञहरु, विशेष गरी नारीवादी, समाजशास्त्री र मानवशास्त्रीले दिएका निम्न विचार र तर्कलाई केलाएर हेर्नुपर्ने हुन्छ । 

फेमिनिजम एण्ड साइकोलोजीको सन् २००३ को नोभेम्बरको अंकमा प्रकाशित सारा—जान फिनले र भिक्टोरियाको लेख ‘असुविधाको विवाह ?’ विवाहका सम्बन्धमा नारीवादी दृष्टिकोण शीर्षक लेख र अन्य नारीवादी दृष्टिकोणबाट लेखिएको लेखहरुमा विवाह किन अत्याचारको थलो हो भन्ने सम्बन्धमा विभिन्न विचारहरु उल्लेख छन् :

- विवाह सामाजिक करार हो जसमा महिलालाई विवाहमा दिइन्छ, युद्धमा लिइन्छ, अनुग्रहमा सट्टापट्टा गरिन्छ, उपहारको रुपमा दिइन्छ, व्यापार हुन्छ, खरिद हुन्छ,  विक्री हुन्छ । (गेल रुबीन) ।

- विवाह (र प्रेम) ले महिलालाई दोस्रो दर्जाको हैसियतमा राख्छ र महिला स्वयंले आफ्नो अत्याचारका लागि अत्याचारी पुरुषलाई सहयोग गर्दछ (टी. एटकिन्सन् लगायतका नारीवादीहरु) ।

- विवाह नामक सामाजिक करारले पुरुषलाई महिलामाथि प्रभुत्व, र महिलामाथि समान यौनमा पहुँच उपभोग गर्ने अधिकार दिन्छ (क्यारोल पेटम्यान) ।

- पितृसत्ताअन्तर्गत विपरीत लिंगीबीचको सम्बन्धका लागि विवाह र स्वामीभक्ति अनिवार्य हुन्छ (जे. पी. स्टेलबम) ।

- विवाहको जरा एक पटकमा एउटा मात्र विवाह (मनोग्यामी) को सङ्कथनमा गाडिएको छ जसले विशेष, प्रभुत्व र ईष्र्याको संयन्त्र माध्यम पुरुष र पुंजीवाद दुवैको स्वार्थ पूरा गर्न सहयोग गर्दछ (भी. रबीनसन) ।

- विवाहले महिलाको यौनिक स्वतन्त्रतामा पहुँचलाई निषेध गर्दछ र महिलालाई एक आपसमा छुट्टिनेलाई निरन्तरता दिन्छ (बी. रोजा) ।

- श्रीमतीलाई दोस्रो दर्जाको नागरिक, आर्थिकरुपमा निर्भर, सम्मानपूर्वक आत्मसमर्पणकर्ताको रुपमा लिइन्छ (एम्. जोनसन) ।

- संसारमा सबै नभए पनि अधिकांह मुलुकमा घरगृहस्थी र देखभालको मुख्य जिम्मेवारीको निरन्तरता छ (भ्यान एभेरी) ।

- महिलाबाट परिवारका लागि पैसा नपाउने श्रमको आशा राखेको हुन्छ र पुरुषले, सी. बञ्चका अनुसार महिलाको श्रमबाट, र जग्गरका अनुसार यौनिकता र प्रजननमा नियन्त्रण राखेर फाइदा लिन्छ (सी. डेल्फी र डी. लियोनार्ड) ।

- विवाह भनेको अन्तरंग उपनिवेश (ईन्टिमेट कोलोनाइजेसन) हो (के. एल. हेगन) ।

विकीपेडियामा विवाहको आलोचनाका सम्बन्धमा निम्न विचारहरु उल्लेख छः

- विवाह कमनवेल्थको प्राकृतिक शत्रु हो (प्लेटो) ।

- औद्योगिक युगमा विवाह कानुनी वेश्यावृत्तिभन्दा केही बढी हो भनेका छन् (सारा फिल्डिङ, मेरी हेज, मेरी वल्ष्टन क्राफ्ट) ।

- विवाह, अस्तित्वको आधारमा बुझ्दा, दुईजना दासलाई एउटै शिरमा राख्न प्रस्ताव राख्दछ, र प्रत्येकको स्वन्त्रता र पूर्ण जगलाई नकार्दछ (ब्रायन सवेयर) ।

- भएका विवाहहरुमध्ये आधा पारपाचुकेको कारणले ध्वस्त भइसक्दा पनि विवाहलाई कानुनी मान्यता दिनु भनेको कुनै रेष्टुराँको खाना खानेमध्ये आधालाई झाडावान्ता लागे पनि अरुलाई त्यो खाना खाउ भने जस्तै आश्चर्य हो ) लयोनले टाईगर) ।

- विवाह सधैँभरि महिलालाई पुरुषको अधिनस्थ राखिरहने सांकेतिक संस्था हो (क्लयर च्याम्बर्स) ।

- धेरैले विवाहलाई घरेलु हिंसा र वैवाहिक बलात्कारको घरको रुपमा लिने गरेका छन् ।

- विवाहको माध्यम राज्यलाई नागरिकको व्यक्तिगत जीवन र गोपनीयतामा अनावश्यक शक्तिको प्रयोग र नियन्त्रण गर्दछ (क्लउडीया कार्ड) ।

- साहित्यिक पुस्तक र चलचित्रहरुमा विवाहको रुमानी छवि प्रक्षेपण गरी बाल्यकालदेखि नै विचारमा नियन्त्रण गर्दछ र विवाहका सम्बन्धमा वस्तुगत छवि देख्न असमर्थ बनाइन्छ ।

- विवाहको माध्यम राज्यले विभिन्न प्रकारको भेदभावलाई निरन्तरता दिन्छ । 

- धेरैजसो देशमा विवाहभन्दा बाहिर आपसी सहमतिमा भएको यौन सम्बन्धलाई अनावश्यकरुपमा अपराधीकरण गर्दछ ।

- विवाहलाई उन्मूलन नगरेसम्म महिलाको मुक्तिको लडाइँ जित्न सकिँदैन (शीला क्रोनान) ।

- विवाह एउटा संस्थाको रुपमा व्यवहारतः बलात्कारबाट विकास भएको हो (एण्ड्रीया डारकीन) ।

- परम्परागत विवाहले समलिंगी विवाहलाई मान्यता दिँदैन (क्लयर च्याम्बर्स) ।

नारीवादी शीला क्रोनानले विवाह नामक पुस्तकमा उल्लेख गरे अनुसारः

- आन्दोलनले हामी महिलाले पारिवारिक क्रान्तिमा विवाहलाई कामदारहरुको अधिनायकत्वको रुपमा उपयोग गर्न सकिन्छ भन्ने कुरा आत्मसात गरेको देखिन्छः (क्याथि साराचाइल्ड) ।

- सबै प्रकारको विभेदको मोडल विवाह हो ।

- जसरी दास प्रथाको संस्थाले दासलाई मालिकले संरक्षण दिन्छ भन्नु र विवाहको संस्थाले महिलालाई पुरुषले संरक्षण दिन्छ भन्नु एउटै कुरा हो ।

- विवाह दासता भएकोले आन्दोलनले विवाहको संस्थामै आक्रमण गर्न पर्दछ ।

- महिलाको स्वाधीनता, विवाह नामक संस्थाको अन्त्यविना सम्भव छैन ।

सेसील चादविकका अनुसार विवाहका सम्बन्धमा नारीवादीहरुको विचार यस्तो छः

- केही नारीवादीको विचारमा विवाह महिलामा संस्थागत पहुँच हो ।

- यो बुझ्न सकिने कुरा हो कि यो समाधान खोज्न आतुर हुन्छ, विशेषगरी जब महिलाका पेशाहरु खासै फलदायक छैनन् र कम पैसा पाउँछन्... आफूभन्दा उच्च अवस्था भएको श्रीमान् खोज्छन्, श्रीमान् जो आफूभन्दा छिटो र परसम्म अघि बढ्न सक्ने होस् भन्ने आशा राख्दछ (सिमोन द बोउवा) ।

- विवाह घरेलु श्रमको करार मात्र हो ।

- विवाह एउटा यौनिक करार हो जस्मा श्रीमतीले श्रीमानको अधिनता स्वीकार गर्दछ (क्यारोल पेटम्यान) ।

- अन्तरव्यक्तिगत सम्बन्ध, खासगरी आत्मीय र यौन सम्बन्धलाई स्वीकार गरिसकेकोले श्रीमान्लाई घरमूलीको रुपमा मञ्जुरीविना नै स्वीकार गरिएको हुन्छ ।

अन्य केही विचारहरु यस प्रकार छन् :

- विवाह सम्बन्ध पुरुषको सर्वोच्चतामा आधारित छ र यसको घोषित उद्देश्य बच्चा जन्माउने र बच्चाको पिता निर्विवाद हुने, जसले गर्दा पिताको सम्पत्ति छोरामा सजिलै हस्तान्तरण गर्न सकियोस् भनी उल्लेख गरेको छ (फ्रेडरिक एङ्गेल्स) ।

- पितृसत्ताअन्तर्गत विवाहले श्रीमतीलाई माइतीको परिवारका सदस्य, नातेदार र साथीबाट टाढा अर्थात् श्रीमान्को घर परिवारमा लगेर महिलालाई अत्यन्त कमजोर र निरीह बनाएर पुरुषले प्रभुत्व जमाइरहन्छ (बारवरा स्मट) ।

- विवाह अत्याचारी संस्था भएकोले म नारीवादी हुँ भन्दै विवाहलाई नारीवादी धारमा बदल्छु भनेर विवाह गर्नेले विवाह नारीवादी कार्य होइन भन्ने बुझ्न जरुरी छ (जुली बिन्देल) ।

- विवाह महिलाका लागि जीवनयापनको सबैभन्दा सामान्य तरिका हो, र महिलाले भोग्दैगरेको कुल जम्मा अनिच्छित यौन शायद वेश्यावृत्तिमा भन्दा विवाहमा बढी हुन्छ (ब्रण्टेड रशेल) ।

जैविक संरचनामा भएको फरकसँग पितृसत्ताअन्तर्गत समाजको मूल्य मान्यता, धर्म, ऐन कानुन, प्रथा परम्परा र लैंगिक विभेद आदिको कारणले धेरैजसो महिला जीवनभर पुरुषमा निर्भर हुन र श्रीमान्सँग अनिच्छित यौनसम्बन्ध राख्न बाध्य छन् । सन् १९९१ मा आएर मात्र वैवाहिक बलात्कारलाई कानुनीरुपमा दण्डित गर्ने व्यवस्था आएको भए पनि अझै पनि ४० देशमा वैवाहिक बलात्कारलाई बलात्कार मानिँदैन र कानुनी व्यवस्था भएको देशमा यसको व्यावहारिक प्रयोग अझै पनि सीमित छ ।

अन्तमा, विवाह नगर्नेले विवाह नगरेकोमा पछुताउँछन् र विवाह गरेकोले विवाह गरेकोमा पछुताउँछन् भन्नुको पछाडि उपरोक्त उल्लेखित कारणहरु पनि हुनसक्छ भन्ने प्रष्टै देखिन्छ ।

विवाह सबैभन्दा अघि जन्मिएको संंस्था हो र यो अन्तिम समयसम्म रहने पक्का देखिन्छ । विवाह जतिसुकै अत्याचारपूर्ण संस्था भए पनि विवाह गर्ने महिला, पुरुष र यौनिक अल्पसंख्यकहरुको कमी छैन । विवाहका बारेमा जतिसुकै रुमानी र यो सबैको सुखद् सपना भए पनि पारपाचुके गर्नेको संख्या बढेर पचास प्रतिशतसम्म पुगिसकेकोले क्षतविक्षत पनि छ । विवाह गर्ने, पारपाचुके गर्ने, पुन विवाह गर्ने, एकल बस्नेलगायतका सबै महिलाले सबै प्रकारका भेदभावबाट मुक्ति खोजेको छ । यो प्रयासमा कोही केही सफल छन् तर पूर्णरुपमा छैनन् भने अधिकांश असफल छन् । विवाह अत्याचारपूर्ण संस्था हो र यसभित्र सुधार सम्भव नभएकोले यसको अन्त्य कुर्नपर्ने हो भने प्रत्येक महिला, पुरुष र यौनिक अल्पसंख्यकले या म धेरै थोरै जे जति अत्याचार हुन्छ त्यो सबै मेरा लागि स्वीकार्य छ र म सकभर त्यसविरुद्ध संघर्ष गर्छु भनेर विवाहमा होमिने वा विवाह अत्याचारको थलो भएकोले म विवाह नामक संस्थालाई निषेध गर्छु भनेर लिभिङ टुगेदरमा रहने, अविवाहित रहनेलगायतका विकल्पमा जान प¥यो । छनोट आ–आफ्नो हो ।







यसमा तपाईको मत

अन्य समाचार

हुवावेले ल्याउँदै छ आफ्नै म्याप्स - गुगल म्याप्सलाई चुनौती

हुवावेले ल्याउँदै छ आफ्नै म्याप्स - गुगल म्याप्सलाई चुनौती

गुगल म्याप्सलाई टक्कर दिँदै हुवावेले आफ्नै म्याप्स ल्याउने भएको छ ! ...

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति विकास बैंकले रेमिट सेवाका लागि रेमिट टू नेपालसँग सम्झौता गरेको छ । ...

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन् । ...

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँं प्रविधि नेपाल भित्रिने भएको छ। ...

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ। ...

Ncell Footer Ad