coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सम्बन्ध विच्छेद गर्न अदालत धाउने पुरुषकाे संख्या बढ्दै

सिन्धुपाल्चोक - मुलुकी देवानी संहिता ऐन कार्यान्वयनमा अाएपछि पुरुषसमेत सम्बन्धविच्छेदका लागि अदालत धाउन थालेका छन्। गएको भदौ १ गतेदेखि ऐन कार्यान्वयनमा आएपछि सम्बन्ध विच्छेद गर्न अदालतमा निवेदन दिने पुरुषको संख्या बढिरहेको हो।

पुरानो मुलकी ऐनलाई विस्थापित गर्दै आएको नयाँ कानुनले पुरुषलाई महिलासरह सम्बन्ध विच्छेदको अधिकार दिएको छ। यसअघि महिलाले चाहेमा मात्रै सम्बन्ध विच्छेद गर्न पाउने कानुनी प्रावधान थियो। ‘संहिताले महिला, पुरुषलाई बराबरी अधिकार दिएपछि सम्बन्ध विच्छेद गर्न पुरुषको समेत धमाधम निवेदन आइरहेको छ,’ सिन्धुपाल्चोक जिल्ला अदालतका स्रेस्तेदार लेखनाथ पौडेलले भने, ‘श्रीमतीसँग छुट्टिन चाहने पुरुषको संख्या दिनदिनै बढिरहेको छ।’

देवानी संहिता कार्यान्वयनमा आएको चार महिना नबित्दै १९ पुरुषले सम्बन्ध विच्छेद गर्न जिल्ला अदालतमा निवेदन दिइसकेका छन्। वर्षेनी बढिरहेको सम्वन्ध विच्छेद यो संहिता कार्यान्वयनपछि अझै बढ्ने देखिएको स्रेस्तेदार पौडेल बताउँछन्। सोही अवधिमा सम्बन्ध विच्छेद गर्न चाहेका ५५ महिलाको निवेदन अदालतमा परेको छ।

देवानी संहिता कार्यान्वयनमा आएको चार महिना नबित्दै १९ पुरुषले सम्बन्ध विच्छेद गर्न जिल्ला अदालतमा निवेदन दिइसकेका छन्। वर्षेनी बढिरहेको सम्वन्ध विच्छेद यो संहिता कार्यान्वयनपछि अझै बढ्ने देखिएको स्रेस्तेदार पौडेल बताउँछन्। सोही अवधिमा सम्बन्ध विच्छेद गर्न चाहेका ५५ महिलाको निवेदन अदालतमा परेको छ। संहिता कार्यान्वयनमा आउनुअघि गएको साउनमा महिला बादी भएको १५ सम्बन्ध विच्छेद निवेदन अदालतमा परेको थियो।

नयाँ आर्थिक वर्ष सुरु भएको पाँच महिनाभित्रै सम्बन्ध विच्छेदका लागि अदालतमा ७९ महिला तथा पुरुषका निवेदन परिसकेको छ। गत आर्थिक वर्षमा १ सय २२ निवेदन परेका थिए। ती सबै महिलाको मात्र थियो। अदालतको तथ्यांक अनुसार पछिल्ला पाँच वर्षमा सयको हाराहारीमा सम्बन्ध विच्छेद निवेदन अदालतमा पर्दै आएको छ।

‘संहिता कार्यान्वयनमा आएको पहिलो वर्षको छोटो समयमै परेको पुरुषको सम्बन्ध विच्छेद निवेदन अपेक्षा भन्दा बढी हो,’ स्रेस्तेदार पौडेल भन्छन्, ‘बराबरी अधिकारपछि सम्बन्ध विच्छेद निवेदन अझै बढ्ने देखियो।’ उनका अनुसार श्रीमती घरमा नबसेको, खान लाउन नदिएको, शारीरिक र मानसिक यातना दिएको जस्ता कारण देखाउँदै पुरुष सम्बन्ध विच्छेद गर्न अदालत धाइरहेका हुन्।

देवानी संहिता अनुसार अंश लिई भिन्न बसेको अवस्थामा, पत्नीले पतिको मञ्जुरी नलिइ लगातार तीन वर्ष अलग बसेमा, पत्नीले पतिलाई खानलाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अंगभंग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको चाल वा प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौनसम्वन्ध राखेको ठहरेमा पतिले सम्बन्ध विच्छेद गर्न पाउँछन्। त्यस्तै पत्नीले सम्बन्ध विच्छेद गर्न पाउनेमा उल्लेखित सबै लगायत पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा भन्ने बुँदा थप उल्लेख छ।

सम्बन्ध विच्छेदका लागि निवेदन दिएका अधिकांश पुरुषले श्रीमती लगातार तीन वर्षदेखि घरमा नबसेको कारण देखाइरहेका छन्। महिलाले भने श्रीमानले मादकपदार्थ सेवन गरी कुटपिट र यातना दिने गरेको उल्लेख गरेका छन्।

सम्बन्ध विच्छेदका लागि निवेदन दिएका अधिकांश पुरुषले श्रीमती लगातार तीन वर्षदेखि घरमा नबसेको कारण देखाइरहेका छन्। महिलाले भने श्रीमानले मादकपदार्थ सेवन गरी कुटपिट र यातना दिने गरेको उल्लेख गरेका छन्। तर स्रेस्तेदार पौडेल सिन्धुपाल्चोकमा सम्बन्ध विच्छेदको प्रवृत्ति अन्यत्र भन्दा फरक रहेको अनुभव सुनाउँछन्। ‘निवेदनमा उल्लेख नगरे पनि यहाँ वैदेशिक रोजगार सम्बन्ध विच्छेदको प्रमुख कारण देखियो,’ उनले भने। उनका अनुसार श्रीमती वैदेशिक रोजगारीमा रहँदा पुरुषले दोस्रो बिहे गर्ने, अन्य महिलासँग यौन सम्बन्ध राख्ने, विदेश गएकी महिलाले उतै बिहे गर्ने, रोजगारीबाट फर्केकी महिला श्रीमानकाे घरमा नजाने लगायत कारण सम्बन्ध विच्छेद हुने गरेको छ। सिन्धुपाल्चोक वैदेशिक रोजगारीमा बढी संलग्न जिल्लामध्येमा पर्छ।

संहिता अनुसार पति–पत्नी दुबैले चाहेमा कुनै पनि समय सम्वन्ध विच्छेद हुन सक्छ। पतिले चाहेमा पत्नीको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेदको निवेदन दिनसक्ने व्यवस्था पहिलो पटक भएको हो। यसअघि पुरुषले सम्बन्ध विच्छेद गर्न चाहे स्थानीय तह हुँदै आउनु पर्थ्याे। त्यहाँ मेलमिलाप हुन नसकेपछि निवेदन अदालत आइपुग्थ्यो। तर महिलाको मञ्जुरी नभए सम्बन्ध विच्छेद हुँदैनथ्यो। गत वर्ष पुरुष बादी भएको दुईटा सम्बन्ध विच्छेद मुद्दा स्थानीय तह हुँदै अदालत आएको थियो।

संहिता अनुसार पति–पत्नीमध्ये जसले पनि निवेदन दिन सक्ने व्यस्था भए पनि एक पक्षले मञ्जुरी नदिएमा तत्काल सम्बन्ध विच्छेद हुँदैन। यस्ता निवेदन उपर एक वर्षभित्र मेलमिलापको प्रयास गर्नुपर्छ। ‘सो अवधिभित्र मेलमिलाप हुन नसकेमा सम्बन्ध विच्छेद गरिदिनु पर्ने प्रावधान छ,’ स्रेस्तोदार पौडेलले भने। सम्बन्ध विच्छेदका लागि अदालत पुग्ने महिला–पुरुष मेलमिलाप गर्न नरुचाउने उनको अनुभव छ। मेलमिलाप गर्नेको संख्या नगन्य हुने गरेको छ। ‘सम्बन्ध विच्छेदको पुरुष निवेदनमा मेलमिलाप प्रयास र अनुभव हुँनै बाँकी छ,’ उनले भने, ‘पुरुष बादी रहेको केही सम्बन्ध विच्छेद निवेदनमा महिलाले मञ्जुरी दिएका छैनन्।’

अधिवक्ता पुष्य खनाल मन नमिलेपछि पति–पत्नी छुट्टिनु उचित भए पनि बढ्दो सम्बन्ध विच्छेदले पारिवारिक बिखण्डन निम्त्याउने खतरा देख्छन्। ‘महिला–पुरुषले सम्बन्ध विच्छेदका लागि बराबरी अधिकार पाएसँगै यस्तो खतरा झन् बढ्न सक्छ,’ उनले भने। मिल्न सकिने तहसम्मका सम्बन्ध विच्छेद निवेदन मेलमिलापकै माध्यमबाट टुंग्याउनु पर्नेमा मेलमिलापकर्ता समेत रहेका खनालकोे जोड छ।

प्रकाशित: २७ मंसिर २०७५ १२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App