coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चलखेलले अड्कियो अाइअाेएममा डिन नियुक्ति

काठमाडौं– त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी तीन दिनदेखि नवौंपटक अनशनमा छन् ।

यसपटक पनि केसीले आठौंमा जस्तै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा रिक्त डिन वरिष्ठताका आधारमा नियुक्त गर्नुपर्ने माग दोहो¥याएका छन् ।

उनीसँग आठौं अनशन टुंग्याउने क्रममा सरकारले साउन १० मा रिक्त डिन तत्काल नियुक्त गर्ने सम्झौता गरे पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । तत्कालीन डिन डा. राकेश श्रीवास्तवले विभिन्न दबाब थेग्न नसकेर गत फागुन २१ मा राजीनामा दिएसँगै उक्त पद रिक्त छ ।

दलहरुले वरिष्ठता मिच्दै निकटलाई पठाउने, पार्टी निकटकालाई डा. केसी अस्वीकार गर्ने दोहोरिइरहँदा नियुक्ति प्रक्रिया झन् जटिल

रिक्त पदमा सिफारिस गर्न फागुन २८ मै सर्च कमिटी बने पनि त्रिवि पदाधिकारीकै हस्तक्षेपले सिफारिस गर्न सकेको छैन । मेडिकल कलेज सम्बन्धन, कलेजका सिट निर्धारणलगायत प्रमुख विषयमा महŒवपूर्ण भूमिका हुने भएकाले आइओएम डिन नियुक्तिमा पार्टी र तिनका नेताले नै बढी चासो देखाउँदा डिन नियुक्ति प्रक्रिया अवरुद्ध भएको हो ।

पहिलो अनशनदेखि नै आइओएममा वरिष्ठताका आधारमा डिन नियुक्तिको माग उठाउँदै आएका डा. केसीले भनेअनुसार आउने उम्मेदवारलाई दलहरुले नमान्ने र पार्टीनिकटका मान्छेलाई केसीले अस्वीकार गर्नेक्रमा दोहोरिइरहँदा नियुक्ति प्रक्रिया झन् जटिल बनेको छ ।

अनशनरत डा. केसीले डिन नियुक्तिलगायत माग पूरा नभई अनशन नतोड्ने र कांग्रेसनिकटका नपरे प्रक्रिया नै अघि बढाउन नदिने त्रिवि उपकुलपति तीर्थ खनियाँको हठले यो अन्योल अझै बढ्ने देखिन्छ । सामान्यतः यसअघिका सर्च कमिटीले एकैदिन वा बढीमा सात दिनमा सम्भावित उमेदरवारको नाम सिफारिस गरेका थिए । त्रिवि कार्यकारी परिषद्द्वारा गठित समितिले तीन जनाको नाम सिफारिस गर्ने र तीमध्येबाट एकको नियुक्ति परिषद्ले गर्ने व्यवस्था छ । यसपालि समिति बनेको आठ महिनसम्म सिफारिसै हुन सकेको छैन ।

वरिष्ठता र कार्यक्षमताका आधारमा डिन नियुक्त नभए अनशन थाल्ने डा. केसीको चेतावनी बाबजुद विभिन्न दल र मेडिकल कलेजनिकट उम्मेदवारले चलखेल बढाएपछि प्रक्रिया अड्किइरहेको छ ।
डा. केसीले प्राध्यापक वा फ्याकल्टीका रुपमा संस्थान प्रवेशमध्ये एकलाई वरिष्ठताको आधार बनाउन सकिने जनाउँदै आएका छन् । यस आधारमा वरिष्ठ फिजिसियन डा. जगदीश अग्रवाल सबैभन्दा अगाडि छन् । ती बाहेक कांग्रेस पार्टी र नेताको दबाब निकट चिकित्सक डा. करवीरनाथ योगीलाई बनाउनुपर्नेमा छ ।
डा. योगीलाई डिन बनाउन पार्टी महामन्त्री डा. शशांक कोइरालाको बढी दबाब छ । सरकार पार्टीमा भएकै समयमा पार्टीनिकट चिकित्सकलाई डिन बनाउनैपर्ने भन्दै आइओएमका अधिकांश कांग्रेसनिकट चिकित्सकले साथ दिएका छन् । त्रिविले तीन वर्षअघि चोरबाटोबाट सम्बन्धन दिने गरी थालेको प्रक्रियामा समेत पूर्वाधारै नपुगेको काठमाडौं नेसनललाई पूर्वाधार पुगेको भन्दै रिपोर्ट दिएका कारण पनि केसीले योगीलाई ‘मेडिकल माफियासँग साँठगाँठ’ गरेको आरोप लगाउने गरेका छन् ।

तत्कालीन पदाधिकारीले आफूलाई भविष्यको डिन भन्दै यो प्रक्रियामा सघाउन भनेपछि स्थलगत अनुगमनमा गएको योगीले बताए । ‘ल यति गरी दे, डिन बनाइदिन्छु भनेपछि गएको हुँ,’ उनले भने ।
कुनै दलनिकट नदेखिएका डा. अग्रवाल स्वच्छ छवि भए पनि कडा स्वभावका कारण लोकप्रिय छैनन् । डा. अग्रवालले आफू सधैं सुधारका पक्षमा रहेरै आइओएमभित्र कुनै क्लिनिकल प्राक्टिस नगरी काम गरिरहेको भन्दै जिम्मेवारी पाएपछि नहट्ने बताए ।

‘म वर्षौंदेखि पदमा नरहँदा पनि चिकित्सा शिक्षा सुधारका विषयमा निर्मम ढंगले बोल्दै र काम गर्दै आएको मान्छे हुँ,’ अग्रवालले भने, ‘सुधारका कुरा गर्दा अलोकप्रिय भए पनि मलाई कुनै पर्वाह छैन, जिम्मेवारी पाए गरेर देखाउँछु ।’

आफूअनुकूल काम गराउन नसक्ने देखेर निजी कलेजदेखि आइओएमका वरिष्ठ चिकित्सकले अग्रवालभन्दा बढी वरिष्ठता अगाडि भएकी सायमीलाई स्विकार्न सकिने बताएका छन् तर डा. केसीले वरिष्ठता मिचेर बनाए आफूलाई स्वीकार्य नहुने बताएपछि त्रिवि पदाधिकारीले प्रक्रिया नै रोकेका हुन् ।
एमबिबिएस पढाइ सुरु नहुँदा अन्य सामान्य चिकित्सा विषय पढाउने शिक्षकका रुपमा नियुक्त भएको आधार मान्दा आफू वरिष्ठ भएको दाबी डा. योगीको छ ।

पूर्वप्रधानमन्त्री सुशील कोइरालाका फिजिसियनका रुपमा काम गरेका योगीलाई डिन बनाउन कांग्रेस महामन्त्री शशांक कोइरालाको पनि दबाब छ । डा. योगीले आफू कांग्रेसप्रति आस्था राख्ने भए पनि कार्यकर्ता नभएको बताए । ‘म चारवटा पार्टीका सभापतिको फिजिसियन हुँ, सबैसँग मेरो सम्बन्ध छ, म के सबै पार्टीको भएँ त ?’ उनले आफू ‘प्रोफेसनल हाइट’ मा रहेको जनाउँदै आफ्नो पक्षमा माहोल बनेकाले अहिले नभए संस्था नै त्याग्ने बताए ।

त्रिविले चोरबाटोबाट आइओएमलाई छलेर तीन वर्षअघि थालेको सम्बन्धन प्रक्रियामा साथ दिएको र पार्टीको कोटामा परेका कारण पनि डा. केसीले कुनै हालतमा योगीलाई डिन बनाउन नहुने अडान राख्दै आएका छन् ।

डा. अग्रवाल वरिष्ठतामा अगाडि रहे पनि कुनै पार्टीनिकट नरहेकाले कुनै दलको समर्थनमा परेका छैनन् । कुनै पनि हालतमा डा. अग्रवाललाई डिन बनाउन नहुने दबाब कांग्रेसनिकट चिकित्सकले उपकुलपतिलाई दिएका छन् । डा. योगीले ‘आइओएम डिन नियुक्ति प्रक्रियामा तथाकथित न्यट्रलका नाममा ठूला पार्टीमा आस्था राख्नेलाई पाखा लगाउने खेल भइरहेको बताए ।

‘न्युट्रल भनाउँदाले डा. केसीलाई ढाल बनाइरहेका छन्,’ उनले नागरिकसँग भने । त्रिविअन्तर्गतको भागबन्डामा आइओएम कांग्रेसको भागमा परेकाले पनि उपकुलपति खनियाँ बढी दबाबमा छन् । योगीलाई मेडिकल कलेज सञ्चालकहरुको समेत साथ छ ।

खनियाँले नियुक्तिका लागि गठित समितिले सिफारिस नदिएकै कारण नियुक्ति हुन नसकेको बताए । ‘एउटै संस्थामा ९÷९ पटक अनशन भन्ने हुन्छ ?’ डा. केसीको अनशनबारे खनियाँले भने, ‘उहाँका माग डिन नियुक्ति मात्र होइन, सर्च कमिटी डिनको खोजीमा लागिरहेको छ, सिफारिस गर्नासाथ नियुक्ति हुन्छ ।’
डा. केसीले २०६९ पुसमा प्रथमपटक अनशन बस्दादेखि नै राजनीतिक भागबन्डाका कारण संस्था धराशयी भएको भागबन्डा नभई वरिष्ठताका आधारमा डिन नियुक्तिको माग राख्दै आएका छन् । डा. केसीले पटकपटक अनशनक्रममा वरिष्ठलाई आधारमा हुनुपर्ने माग राखेपछि वरिष्ठताका आधारमा नियुक्त हुन थालेको थियो । यस क्रममा डा. कुमुद काफ्ले, डा. प्रकाश सायमी र डा. राकेश श्रीवास्तव नियुक्त भइसकेका थिए । त्यो वरिष्ठताबाहिर गएर यसबीच डा. धर्मकान्त बास्कोटा र डा. शशि शर्मासमेत नियुक्त भए पनि डा. केसीको अडानकै कारण सरकारले बर्खास्त थियो ।

यसबीच वरिष्ठताका आधारमा आएका काफ्ले एक महिनामै उमेरहदका कारण अवकाश पाए पनि सायमी र श्रीवास्तवले दबाबकै कारण राजीनामा दिनुपरेको थियो । डिनकै बलमा सम्बन्धनदेखि सिटनिर्धारणसम्म ठूलो सहयोग हुने भएकाले आइओएम डिन पदमा आर्थिक तथा राजनीतिक लबिङ बढी हुने गरेको छ ।
डा. केसीसँगको सम्झौतापछि डा. काफ्ले डा. प्रकाश सायमी र डा. श्रीवास्तव वरिष्ठताका आधारमा डिन भएका थिए । तीमध्ये सायमी र श्रीवास्तवले तोकिएको समयमा काम गर्न सकेनन् । सायमी सम्बन्धनका लागि तत्कालीन त्रिवि पदाधिकारीले दिएको दबाबपछि पद छाडेका थिए भने श्रीवास्तवले पनि सम्बन्धनको विषयमा आएका दबाब लत्याउँदै गएका थिए तर पछिल्लो समय किस्ट मेडिकल कलेजको सिट निर्धारण, म्यारिट भर्नालगायत विषय लागू गर्न नसकेपछि उनले छाडेका थिए । त्यसलगत्तै सहायक डिन डा. सिन्हालाई निमित्तको जिम्मेवारी दिइएको थियो ।

डा. केसी उपचार टोली

स्वास्थ्य क्षेत्र सुधारका माग राखेर तीन दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेपछि अस्पतालले उपचारका लागि विशेषज्ञ समिति गठन गरेको छ ।

पटकपटकको अनशन र बढी उमेरका कारण स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै अस्पताल प्रशासनले यसपटक तेस्रो दिनमै उपचार टोली बनाएको हो ।

चिकित्सा शिक्षा विधयेक यही संसद् अधिवेशनबाट पास गर्नुपर्ने, तत्काल आइओएममा डिन नियुक्त गर्नुपर्नेलगायत माग राखेर डा. केसी सोमबारदेखि नवौं अनशनमा छन् ।

आठांै अनशनमा आठौं दिन मात्र उपचार टोली बनाएको अस्पताल प्रशासनले यसपटक डा. प्रदीपकृष्ण श्रेष्ठ संयोजकत्वमा समिति बनाएको छ । समितिमा डा. दिव्यासिंह साह, डा. सुभाष आचार्य, डा. जेन्टलसुन्दर श्रेष्ठ, डा. रवीन नेपाली, नर्सिङप्रमुखमा शोभना भुजू छन् ।

यसैगरी, डा. केसीको समर्थनमा विद्यार्थी, रेजिडेन्ट एवं समर्थकले अनशनसँगै आन्दोलनलाई पनि चर्काउने भएका छन् । उनीहरुले शनिबार माइतीघरबाट बानेश्वरसम्म ¥याली निकाल्ने र यस अवधिमा विभिन्न निकायमा धर्नालगायत कार्यक्रमसमेत बढाउने बताएका छन् ।

 

प्रकाशित: १३ आश्विन २०७३ ००:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App