७ वैशाख २०८१ शुक्रबार
अर्थ

लक्ष्यभन्दा बढी राजश्व संकलन

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिकाले चालू आर्थिक वर्ष ०७५–७६ को ४ महिनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ। नगरपालिकाले चालू आवमा ५ करोड ४ लाख १३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ४ महिनाको अवधिमा ८ करोडभन्दा बढी राजश्व संकलन गरेको हो।

नगरपालिकाले मंसिरको मध्यसम्म ८ करोड ३४ लाख ९७ हजार ७७८ राजश्व संकलन गरेको उपप्रमुख सविता रसाइलीले जानकारी दिए। उनका अनुसार आन्तरिक उत्पादन करबाट ३ करोड ६७ लाख ५४ हजार ५००, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री ठेक्काबाट २ करोड ६७ लाख ८६ हजार, नवीकरण, सम्पत्ति मूल्याङ्कन, नाता प्रमाणित, व्यक्तिगत घटना दस्तुर, विद्युत् सिफारिशलगायतबाट १ करोड २१ लाख संकलन भएको छ।

स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएको वर्ष लक्ष्यभन्दा कम राजश्व संकलन गरेको नगरपालिकाले चालू आवमा भने लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको रसाइलीले बताए। नगरपालिकाले गत आवमा ६ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ४ करोड मात्रै संकलन भएको थियो।

नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री ठेक्काबाट प्राप्त हुने राजश्वलाई पहिलो प्राथमिकतामा राखेको छ। आन्तरिक स्रोत वृद्धि गर्न करको दायरालाई फराकिलो बनाउँदै लगिएको उनले जानकारी दिए।    (रासस)

प्रकाशित: २७ मंसिर २०७५ १०:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App