coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

विदेशी पाइलटलार्इ १६ लाख तलब, नेपालीलार्इ २ लाख !

काठमाडौं– राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमका साना जहाज उडाउने पाइलटले महिनामा मुश्किललेसवा २ लाख रुपैयाँसम्म पारिश्रमिक हात पार्छन् । निजी वायुसेवाका पाइलटले त्यसको दोब्बरभन्दा बढी पाउँछन् ।

सधैं तलबभत्ता कम भयो भन्ने गुनासो गर्दै आएका निगमका पाइलटलाई अर्को आरिसलाग्दो खबर छ– निगमकै चिनियाँ जहाज उडाउन आएका एक विदेशी पाइलटले मासिक १६ लाख रुपैयाँ तलब खान थालेका छन् ।

वर्षदिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको चिनियाँ जहाज ‘कमान्ड’ गर्न आएका न्युजिल्यान्डका प्रशिक्षक पाइलट पेनिटालाई वायुसेवा निगमले मासिक १५ हजार अमेरिकी डलर (१५ लाख ९० हजार रुपैयाँ) तलब दिने सम्झौता गरेको छ ।

आफूसँग रहेको १७ सिट क्षमतायुक्त ‘वाई१२–ई’ सिरिजको एक मात्र जहाजलाई कुनै पनि हालतमा उडाउन निगमले दुई महिना लगातार खोजी गरेपछि न्युजिल्यान्डका प्रशिक्षक पाइलट पेनिटालाई भेटेको थियो । आफूसँग रहेका एक मात्र प्रशिक्षक पाइलट आङनुरी शेर्पाले अमेरिकाको स्थायी बसोबास (ग्रिनकार्ड) रहेको भन्दै अकस्मात राजीनामा दिएपछि निगमले बाध्य भएर ठूलो रकम तिर्ने गरी ती पाइलट ल्याएको हो ।
‘एक वर्षदेखि थन्किएको जहाज उडाउन नसकेर आपतै परेपछि विदेशी पाइलटलाई महिनाको झन्डै १६ लाख रुपैयाँ दिने सम्झौता गरी काममा लगाएका छौं,’ सम्बद्ध एक अधिकारीले बुधबार नागरिकसँग भने, ‘आफ्नै पाइलटलाई भने अहिलेसम्म आकर्षक तलब दिन सकिएको छैन । अहिलेलाई बाध्य भएर विदेशीलाई त्यति दिनुप¥यो ।’

उनका अनुसार प्रशिक्षक पाइलट पेनिटासँग पहिलो चरणमा तीन महिना उडान गर्ने गरी सम्झौता गरिएको छ । उनलाई दैनिक ५ सय डलर (५३ हजार रुपैयाँ) दिने सम्झौतामा उल्लेख छ । यस हिसाबमा उनले मासिक करिब १६ लाख रुपैयाँ हात पार्नेछन् ।
‘तीन महिनामा उनले निगमबाट ४५ हजार डलर (४७ लाख ७० हजार रुपैयाँ) पारिश्रमिक स्वरूप लानेछन्,’ ती अधिकारीले भने, ‘फेरि सम्झौता कस्तो छ भने चिनियाँ उडे पनि र नउडे पनि उनको पारिश्रमिक भने पाकिरहन्छ । तीन महिनामा एउटै उडान नभए पनि उनले सम्झौताअनुसारको रकम पाउँछन् ।’

उनका अनुसार आवश्यक परे तीन महिनापछि पनि पेनिटासँगको सम्झौताको म्याद थपिन सक्छ । बजार हिस्सा ओगट्न र उपस्थिति जनाइरहन पनि ठूलो रकम लगानी गरिएको हो । यो सुरुवाती लगानी हो ।
आकर्षक तलब पाएका प्रशिक्षक पाइलट पेनिटाले बुधबारै वाई१२–ई जहाज कमान्ड गरी दुई उडान भरेका छन् । यो जहाजले बुधबार बिहान काठमाडौंबाट पोखरा र भैरहवाका लागि एक–एक उडान गरेको हो । सिमरा उडान गर्ने पूर्वघोषणा गरिए पनि विविध कारण हुन नसकेको निगमको भनाइ छ ।
‘लामो प्रयासपछि वाई१२–ई जहाजले नियमित उडान सुरु गरेको छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले भने, ‘न्युजिल्यान्डबाट प्रशिक्षक पाइलट आएपछि जहाज उडेको हो । यो जहाज उडाउन हामीसँग १० जना को–पाइलट भए पनि प्रशिक्षक पाइलट थिएनन्, त्यही भएर जहाज एक वर्षदेखि थन्किएको थियो ।’

उनका अनुसार प्रशिक्षक पाइलट पेनिटाले जहाज कमान्ड गर्दै तीन महिना निगमका को–पाइलटलाई निश्चित घन्टा उडाउँछन् र स्तरोन्नति गरी क्याप्टेन बनाउने छन् । त्यसपछि ती क्याप्टेनले जहाज कमान्ड गर्न पाउँछन् ।  सुरुआतमा यो जहाजबाट दैनिक तीन उडान गर्ने तालिका बनाइएको छ ।  
२०७२ असोजतिर जहाजनिर्माता कम्पनीबाट आएका एक प्रशिक्षक पाइलटको कार्यअवधि सकिएका कारण ‘ग्राउन्डेड’ भएको वाई१२–ई १० महिनापछि उड्न तयार भएको थियो । निगमकै प्रशिक्षक पाइलट शेर्पाको कमान्डमा परीक्षण उडान गरेपछि इन्जिनमा समस्या आएपछि जहाज पुनः थन्किएको थियो जब जहाज तयार भयो तब शेर्पाले राजीनामा दिएपछि जहाज अलपत्र परेको थियो ।

‘आफ्नै प्रशिक्षक पाइलट नभएका कारण बाध्य भएर विदेशी पाइलट ल्याउनुपरेको हो तर जे भए पनि हाम्रा १० जना को–पाइलटलाई क्याप्टेनमा स्तरोन्नति गर्नु प्रमुख उद्देश्य हो,’ शर्माले भने, ‘त्यसबाहेक चिनियाँ जहाज नियमित उडानमा फर्किएको छ भने दसैंका बेला यात्रुलाई सरल मूल्यमा सहज तरिकाले गन्तव्य पु¥याउन पाउँदा खुसी छौं ।’

यो जहाजमा अमेरिकी इन्जिन निर्माता कम्पनी प्राट एन्ड ह्विट्नीमा उत्पादित इन्जिन जडान गरिएको छ । जहाज निर्माताले १८ सिटयुक्त भने पनि यसमा १७ यात्रुमात्र अट्छन् । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ‘९एन–एकेएस’ कलसाइन पाएको यो जहाजलाई निगमले ‘कोइली’ चराको नाम दिएको छ ।

निगमका अनुसार २०७१ माघबाट २०७२ कात्तिकसम्म नौ महिना उडान गर्दा वाई१२–ईले १ करोड २२ लाख ८८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो तर यसलाई उडाउन भने ६ करोड ७५ लाख ६३ हजार ९ सय ४७ रुपैयाँ सञ्चालन खर्च लागेको थियो । त्यति अवधिमा इन्धनका लागि १ करोड ४९ लाख खर्च भएको थियो ।

यसको बिमाबापत ४ करोड १९ लाख ७९ हजार ९ सय १२, ल्यान्डिङ र पार्किङमा १० लाख ६४ हजार ७ सय ७५ र चालकदलको खाना÷खाजा खर्च ९५ लाख ९२ हजार २ सय ७० रुपैयाँ खर्च भएको थियो । यो जहाज नौ महिनासम्म उडाउँदा निगमले ५ करोड ५२ लाख ७६ हजार रुपैयाँ नोक्सान बेहोरेको छ । यो भनेको दैनिक नोक्सानी २० लाख ४ हजार ७ सय २५ रुपैयाँबराबर हो ।

प्रकाशित: १३ आश्विन २०७३ ००:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App