७ वैशाख २०८१ शुक्रबार
अर्थ

डिपिआर तयार गर्न चीन सकारात्मक

काठमाडौं - प्रस्तावित केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न चीन सकारात्मक देखिएको छ। केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिसकेको चीन डिपिआर तयार गर्न पनि सकारात्मक देखिएको छ।

काठमाडौंमा चलिरहेको तेस्रो दुईपक्षीय बैठकमा नेपालले अन्तरदेशीय रेलमार्गको डिपिआर तयार गर्न अनुरोध गरेसँगै चिनियाँ पक्ष यसमा सकारात्मक देखिएको हो। ‘हामीले डिपिआर पनि तयार गर्न अनुरोध गरेका छौं,’ रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘उहाँहरु सकारात्मक देखिनुभएको छ।’

यसअघि नेपाल र चीनबीच उक्त रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो। उक्त समझदारी अनुसारको प्रतिवेदन चीनले नेपाललाई बुझाइसकेको छ। अब डिपिआर तयार गर्न अर्को सम्झौता हुने विभागले जनाएको छ। चीनले नै सबै खर्च बेहोर्ने गरी डिपिआर तयार गर्न नेपालले चीनलाई अनुरोध गरेको छ।   
चिनियाँ कम्पनी चाइना रेलवे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरेको थियो। वैशाख दोस्रो साता चीनमा भएको संयुक्त दोस्रो बैठकले उक्त रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गर्न उक्त कम्पनीलाई नियुक्त गरेको थियो।

तेस्रो बैठकको लागि नेसनल रेलवे अथोरिटीका उच्च अधिकारीको नेतृत्वमा १६ सदस्यीय टोली आइतबारदेखि नेपालमा छ। उक्त टोलीले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बैठक गरेसँगै मंगलबार काठमाडौं–केरुङ रेलमार्गको स्थलगत अध्ययनको लागि नुवाकोटको सीमासम्म पुगको थियो।

उक्त टोली बुधबार काठमाडौं–पोखरा रेलमार्गको पनि अध्ययन गर्न पोखरा पुगेको मिश्रले जानकारी गराए। उक्त टोलीसँग बिहीबार मन्त्रालयमा थप छलफल हुने र बिहीबारै स्वदेश फर्कने तय भएको छ। साथै, अगामी चौथो चरणको बैठक चीनमा गर्ने समेत तय भएको छ।

गत वर्ष कात्तिकमा चिनियाँ उच्च अधिकारीको टोलीको केरुङ–काठमाडौं रेलमार्गको पहिलो स्थलगत अध्ययनपछि तीन चरणको बैठक सम्पन्न हुँदैछ। अहिलेसम्म पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार भइसकेको छ भने डिपिआर गर्ने विषय छलफल सुरु भएको छ।  

पूर्वसम्भाव्यता अध्ययनले केरुङ–काठमाडौं रेलमार्ग बनाउने भूभाग उच्च र विकट भए पनि बनाउन सम्भव रहेको देखाएको छ। उक्त टोलीमा संसारकै अग्लो स्थान तिब्बतमा रेलमार्ग बनाएको कम्पनीका इन्जिनियर, प्राविधिक समेत सहभागी थिए।

उक्त मार्ग ७२ किलोमिटर लामो हुनेछ भने यसको अधिकांश ठाउँमा पुल र सुरुङ हुने अध्ययनले देखाएको थियो। प्रतिघन्टा एक सय २० किलोमिटर दौडने उक्त रेलमार्गमा ९० प्रतिशतभन्दा धेरै पुल र सुरुङ रहनेछन्। त्यसै गरी, चार हजार मिटरबाट एक हजार चार सय मिटरमा झर्नुपर्ने भएकाले ओरालो भूबनोट रेलमार्गका लागि चुनौती भएको चिनियाँ टोलीले बताएको थियो।

गत वर्ष चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीले केरुङ–काठमाडौं रेलमार्ग बनाउन दुई खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिसकेका छन्। तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणको बेला उक्त रेलमार्ग निर्माणमा सहयोग गर्ने प्रारम्भिक सहमति चीन सरकारले गरेको थियो। महराले रेलमार्गको अध्ययन गर्न चिनियाँ अधिकारीलाई अनुरोध गरेर स्वदेश फर्केका थिए। त्यसैको सिलसिलामा चिनियाँ टोली नेपाल आएर स्थलगत अध्ययन गरेको हो।

केरुङ–काठमाडौं बाहेक काठमाडौं–पोखरा रेलमार्ग बनाउने विषयमा पनि चीनले चासो देखाउँदै आएको छ। उक्त रेलमार्ग निर्माणको विषयमा पनि थप छलफल अघि बढोस् भनेर चिनियाँ टोलीलाई पोखरा भ्रमणमा लगिएको मिश्रले जानकारी गराए।

सरकारले काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन सकिसकेको छ। अध्ययन अनुसार उक्त रेलमार्ग एक सय ८७ किलोमिटर लामो हुनेछ र यसले ६ वटा जिल्लालाई जोड्ने छ। काठमाडौंबाट सुरु भएको रेल नुवाकोट, धादिङ, गोरखा, तनहुँ हुँदै पोखरा पुग्ने अध्ययनमा उल्लेख छ। यो रेलमार्गले अहिले गाडीबाट पोखरा पुग्न लाग्ने करिब सात घन्टा लामो यात्रालाई दुई घन्टामा झार्ने अध्ययनले देखाएको छ। योसँगै सरकारले पोखरा–लुम्बिनी जोड्ने रेलमार्ग बनाउने योजना पनि अघि सारेको छ।

प्रकाशित: २७ मंसिर २०७५ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App