६ वैशाख २०८१ बिहीबार
राजनीति

मुख्य विषय छाडेर कांग्रेसको ध्यान अन्यत्रै

काठमाडौं – नेपाली कांग्रेसको महासमिति बैठक सुरु हुन एकदिन मात्र बाँकी रहे पनि पार्टी विधानमा शीर्ष नेताबीच समझदारी बन्न सकेको छैन। शुक्रबारबाट काठमाडौंमा सुरु हुने कांग्रेस महासमिति बैठकको मुख्य अजेन्डा नै नयाँ संविधानअनुसार पार्टीको सांगठनीक संरचना बनाउनु हो। नेताहरुको गुटगत र व्यक्तिगत स्वार्थका कारण मंसिर १३ देखि जारी केन्द्रीय समिति बैठकले विधान संशोधनको प्रस्ताव पारित गर्न सकेको छैन।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान मस्यौदा समितिले पेस गरेको प्रस्तावमा नेताहरुले एक दर्जनभन्दा बढी फरकमत राखेपछि उक्त विषय टुंगो लाग्न सकेको छैन। विधानमा देखिएको असमझदारी टुंगो लगाउन नेताहरुले अनौपचारिक छलफल थालेपनि सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्ष आ–आफ्नो अडानमा कायमै रहेपछि कुनै निकष्र्षमा नेताहरू पुग्न सकेका छैनन्।

विधानमा सहमति नजुटाइ महासमिति बैठक सुरु हुँदा पार्टीभित्रको विवाद सतहमा आउने भन्दै संस्थापन पक्ष त्यसलाई टुंगोमा पु¥याएर मात्र बैठक सुरु गर्ने पक्षमा देखिएको छ। तर, असन्तुष्ट पक्ष महासमिति बैठकको उद्घाटन गरेर सभापतिलाई थप दवावमा पार्न सकिने निष्कर्षमा छ। महासमितिमा अन्य प्रस्तावमाथि छलफल अघि बढाउँदै विधानमा सहमति खोज्नुपर्ने पक्षमा देखिएका छन्। नेता कृष्णप्रसाद सिटौलाले २०६६ कात्तिकमा भएको महासमिति बैठकमा पनि विधानमा अन्तिम समयमा सहमति जुटेको तर्क गर्दै उक्त विषयमा पछि सहमति खोज्नु पर्ने तर्क गरेको एक नेताले सुनाए।

‘पार्टीमा एकअर्कालाई असफल सिद्ध गर्ने खेल भइरहेको छ,’ सभापति निकट एक सदस्यले भने, ‘विधानको कुरा टुंगो नलगाइ महासमिति सुरु भए पार्टी दुर्घटनामा पर्नपनि सक्छ।’नेताहरुको ध्यान अन्य विषयमा केन्द्रीत रहेको सुनाउँदै ती सदस्यले भने, ‘मुख्य विषय विधान हो त्यसलाई थाती राखेर अन्य प्रस्तावमाथिको छलफलमा समय खेर फालिरहेका छन्।’

कांग्रेसमा सैद्धान्तिक र वैचारिक मतभेद नरहेको भन्दै एक नेताले भने, ‘जेमा समस्या छ त्यसमा समधानमा पुग्नुप¥यो।’ सभापति देउवा र असन्तुष्ट पक्षबीच पदाधिकारीको संख्या थप गर्ने वा नगर्ने, थप गरे कुन कुन पद बढाउने भन्नेमा मतभेद छ भने उनीहरूको छनोटका विषयमा पनि विवाद छ। केन्द्रीय समितिको आकार, संसदीय, अनुशासनसहितका समितिहरुको गठन र चयनसहितका एकदर्जन विषयमा दुई पक्षबीच विवाद छ।

केन्द्रीय समिति बैठकले महासमिति बैठकमा पेस गर्ने आर्थिक प्रतिवेदन पारित गरे पनि राजनीतिक, सांगठनीक, लेखा समितिको प्रतिवेदनमाथिको छलफल अझै सकिएको छैन। बुधबारको केन्द्रीय समितिमा मात्र एक दर्जन नेताले राजनीतिक, सांगठनिक सहितका प्रस्तावमाथिको छलफलमा सहभागी भएक छन्। बैठकले प्रस्ताव पारित गरेपछि मात्र महासमितिमा पेस हुन्छ। ती प्रस्ताव महासमिति बैठकको दुई तिहाइले पारित गरेपछि मात्र त्यो कार्यान्वयनमा आउने छ। तर, केन्द्रीय समितिले प्रस्ताव सर्वसहमतिले पारित गर्न नसकेका प्रस्तावको टुंगो मतदानबाट लगाउनुपर्ने हुन्छ।

प्रकाशित: २७ मंसिर २०७५ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App